हात्तीपाइले रोग मेरा निम्ति नयाँ होइन। २०१३ सालतिर काठमाडौं आइपुग्दा नै यो रोगको परिचय हामी बसेको कालिकास्थानमै पाइयो। डा यादवप्रसाद पन्तको घर पछाडिको एउटा सानो घर भाडामा लिएर हामी बसेका थियौँ।
विद्यार्थी बनेर भविष्यको जग हाल्न। हामी बसेको घरपछाडि राणाजीको खेतमा एउटी वृद्धा काम गर्थिन्। उनको देब्रे खुट्टा दाहिनेको दाँजोमा निकै मोटो र फुलेको अनौठो खालको थियो। त्यही बेला उनी हात्तीपाइले रोगग्रस्त छिन् भन्ने सुनेको थिएँ। २००७ सालमा म ५ वर्ष उमेरको भए पनि प्युठानमा हात्ती देखेको सम्झना ऐलेसम्म पनि ताजै छ। काठमाडौँ आएपछि हात्तीसारबाट हात्ती आफ्नो खाना पिपलका हाँगा, पात र बाँस बोकेर यताउता हिँडेको अतीतको सम्झना उत्तिकै टड्कारो छ। हात्ती देखेकै बच्चा बेलामै भएकाले पनि मलाई किन ती वृद्धाको खुट्टालाई हात्तीपाइले भनेको बुझ्न त्यति गाह्रो थिएन।
अप्राकृतिक तरिकाले ठूलो भएको खुट्टालाई हात्तीपाइले भन्दा रहेछन् भन्ने बुझाइमा म धेरै वर्ष बाँचिरहेँ। यसको विकल्प पनि थिएन मसँग। बच्चाले झैं सबै जान्न खोजे पनि त्यो बेला ममा सोध्ने न हिम्मतै थियो, न प्रश्न गरेको धैर्यसाथ सुन्ने समाजै थियो। धेरै जान्न खोजे, प्रश्न गर्दै हिँडे गाली र पिटाइ भने जिन्दगीभर सम्झने र अघाउने गरेर खान पाइन्थ्यो। केही गरी कसैले उत्तर दिने चेष्टा गरे पनि “भगवान्ले त्यस्तै बनाए, पाप गरेर त्यस्तो भएको वा उसको कर्म नै त्यस्तो” भन्ने मात्र गर्थें। उत्तर सधैं तयार रहन्थ्यो। समतुल्य अपरिवर्तित ढलोट गरिएका काँसका मूर्तिजस्तै तर चित्त बुझाउन नसक्ने। नयाँ कारण बुझेँ भनेर गौरव गर्न नमिल्ने।
तर, जब मेडिकल इन्स्टिच्युटमा पढ्न थालियो हात्तीपाइले रोगको बाहिरी, भित्री कारण, असर पूर्ण विवरण घोक्नु पर्यो। माथाभित्र सबै नघुसुन्जेल र मस्तिष्कमा सुरक्षित भएर एक ठाउँ ती नबसुञ्जेल। नबिर्सियोस् भन्न सुत्नु अगाडि दोहोर्याएर घोकी राख्नु पर्यो बिस्तरामै। अनिद्रा पीडित बिरामीले निन्द्रा बोलाउन एक, दुई, तीन ...गन्दै कोल्टे फेरेजस्तो हात्तीपाइलेका लामखुट्टेवाहन, ब्याधी विभिन्न लक्षण, रोग निदान, उपचार, औषध तथा शल्यउपचार इत्यादिको सम्पूर्ण अभिनय गरियो। एक रात होइन धेरै।
त्यसपछि हात्तीपाइले मेरा निम्ति फाइलेरिआसिसमा परिणत भयो। विशेष प्रकारका लामखुट्टेले टोक्दा मान्छेमा सर्ने रोग। लामखुट्टेले सङ्क्रमणलाई सेतो रगतको नसामा (लिम्प्याथिक भेसल ) जसले लिम्फ सञ्चालन गर्दछ, पुर्याउँछ।
त्यसैले यो सङ्क्रमण लिम्फ धमनी र प्रणालीलाई नराम्रो असर पुर्याउँछ। मेडिकल इन्स्टिच्युटमा मैले एउटा बिरामी पनि यो रोगग्रस्त देख्ने अवसर पाइँन। यो रोग हामीलाई ट्रोपिकल मेडिसिन भन्ने अलग्गै अस्पताल र विभागमा पढाइन्थ्यो। बढी मात्रामा माइक्रोस्कोप स्लाइड्स देखाएर, फोटोमा बिरामीको फुलेको अवस्था देखाउँदै। यो रोग सम्बन्धी एउटा मोनोग्राफी पनि मैले किनेँ। मेरी आमाले रामायण पढेजस्तै यो पुस्तक मैले धेरैपल्ट सुुरुदेखि अन्तसम्म अध्ययन गरेको थिएँ।
म बहिरङ्ग विभागमा बिरामी हेर्दै थिएँ। एक वृद्ध व्यक्ति औधी दुब्लो मानौं छालाले बेरिएको अस्थिपञ्जर तर अग्लो, भिजेकोजस्तो छोटो धोती लगाएको, थकित, विशेष प्रकारको दुर्गन्ध दिएर कोठाभित्र प्रवेश गर्यो १२÷१५ वर्षको बच्चासँगै। केको यो दुर्गन्ध? मलाई ठम्याउनै आएन तर यो दिसा वा पसिनाको पक्कै होइन। शरीरको पसिना गनाएको हुँदै होइन। केको गन्ध? म गन्धको कारण ठम्याउन ध्यान भङ्ग अवस्थामा थिएँ। एकछिनमा मैले बिरामी आफ्नो ठिक अगाडि फलामको मेचमा बसेको पाएँ। दुर्गन्ध अझ प्रचुर भएर आयो। म यकिन भएँ यो वृद्ध बिरामीबाटै हुनुपर्छ। मेचबाट उठेर म बिरामीको छेउमै आएर उसको पूर्ण परीक्षण गर्न लागेँ।
बिरामीको एउटै आग्रह थियो, “मलाई भिज्नबाट बचाऊ डाक्टर ..।” यस्तो दृश्य म पहिलोपल्ट देख्दै थिएँ।
फाइलेरियासिसको बिरामी किन समाजबाट उपेक्षित हुन सक्दा रहेछन्, त्यो खुद आफैं महसुस गरेँ। उसको भिजेको धोती जुन वास्तवमा तिघ्राको आधा भाग र कम्मरमुनिमात्र खाली लाज ढाक्न पुग्ने थियो, बिरामीको अनुमति लिएर मैले दुवै हातले उठाएँ। जब ढाकेको भाग मैले देखेँ तब मेरो नाकले दुर्गन्ध महसुस गर्नै बिर्सेँ। म भावुक हुनै खोजेँ। मेरा आँखा रसाए, मन आत्तिएर आयो, छातीभरि करुणा र माया जागेर आयो। मेरो अगाडिको वृद्ध कसैको जीवनसाथी होला, पक्कै पनि कसैको बुबा, बाजे, काका, दाजु–भाइ इत्यादि। ऊ छिमेकी पनि हो, साथी वा मान्नु पर्ने व्यक्ति पनि ऊ पक्कै हो। एउटा कोराको टुकडा निचोर्न मिल्ने गरिकन भिजेको, अण्डकोष ज्यादै ठूलो र बनावटै फरक।
अण्डकोषको छाला रसाइरहेको पहाडजस्तो तर सेतो–पहेंलो बीचको रङ केही बाक्लो तरल पदार्थ निरन्तर रसाइरहेको। औंलाले थिच्दा भने बाक्लो तरल पदार्थ बग्ने केही थपियो। मैले तुरुन्तै बिरामीलाई भर्ना गरेँ।
ऊ कृतज्ञ भएर रुन लाग्यो। उसको नातिले बिरामीकै गम्छाले आँसु पुछिदियो तर धेरै बेरसम्म उसका आँखामात्र होइनन् हृदय पनि रुँदै ग¥यो। मलाई अड्कलसम्म काट्न गाह्रो भयो केके सम्झेर उसका आँसु झर्दैछन् !
वृद्ध व्यक्ति कागजमा ६५ वर्ष दर्ता भयो। मैले भर्नाको डकुमेन्ट तयार गर्दैगर्दा ढोकामा बस्ने पाले दाइलाई एउटा गाउन लिएर आउन भनेँ। वृद्ध गाउनले सिङ्गारिए। ऊ सानो बच्चाले नयाँ लुगा हेरेजस्तै हेरेको हेर्यैैै भयो। ऊ हाँस्न र मुस्कुराउन भने भ्याएन, उल्टै झन् रोयो तर भित्री मनको खुसी व्यक्त गर्दै। सायद जिन्दगीमा पहिलोपल्ट आफ्नो मानवीय व्यवहार गरेको पाउँदै थियो। उसको नाति बाजेदेखि दङ्ग पर्यो र सट्टामा निकै मुस्कुरायो कालो अनुहार उज्यालो पार्दै।
सर्वप्रथम अस्पताल वृद्धका निम्ति बिनापैसा दाल, भात, तरकारी दिनको दुई पल्ट खाने पाँचतारे होटल बन्यो। मानिसको जुनी! दुई छाक दाल, भात, तरकारी खान पाउनु पनि बिरामी परेर संयोगले सरकारी अस्पताल भर्ना हुनु पर्ने! भन्नुहोस्, म शल्यचिकित्सक, अपरेसन गर्ने चाहनाको भोगी, लोभी नभएको भए किन र कसरी ऊ भर्ना हुन्थ्यो? ढोकामा बस्ने पाले दाइलाई मैले बोलाएर भनेँ, कृपया यो बिरामीलाई बिस्तारै लगेर बेडमा राखेर आउनुहोस् अरु सबै पछि आफैं गएर सिष्टरलाई भन्छु। जब बिरामी सकिनसकी आफ्ना खुट्टामा उभियो उसलाई मतलब थिएन मान्छेले भनेको लाज अब उसलाई एक मनको भारीभन्दा ठूलो बोझ भइसकेको थियो। उसले त्यो भार बिसाउन सक्दैनथ्यो।
भर्खर लगाएको गाउनले एकपल्ट पूरै पुछ्यो तर त्यो रसाउन छाडेन। त्यो सबै दृश्य देख्दा मेरो मनमा लाजको परिभाषा मानवले फेर्न ढिलो भई सक्यो जस्तो लाग्यो। मेरो मन ग्लानिले भरिएर आयो। यो वृद्ध जसले बिना कसुर आफ्नो बाल्यकालमा, जवानीमा फाइलेरियासिस भन्ने रोग लामखुट्टेबाट प्राप्त गर्यो। अविकसित समाजले लदाएको उपहार÷पुरस्कार गरिब भएवापत सम्पूर्ण जीवनका लागि। यो समाज, देश, विश्व यस्ता व्याधीबाट मुक्त हुन सक्छन्। त्यसका निम्ति मानिस मानव हुनुपर्छ। अन्ततोगत्वा समाजले, देशले उसलाई जीवनभरका निम्ति एक मनको बोराभन्दा पनि गह्रुङ्गो बोझ बोक्न बाध्य पार्यो। मानिस आफूलाई सभ्य र बुद्धिमान सम्झन्छ तर उसलाई कत्ति पनि लाजै छैन। सँगै उसकै भाइ मुक्त हुन सकिने रोगले ग्रस्त छ। यही रोगका कारण हात र खुट्टा भए पनि ऊ अपाङ्ग छ।
मानसिक अवस्थामा उसलाई नराम्रो चोट लागेको छ। यद्यपि, उसको शिरमा बाहिर कतै सानोतिनो घाउ पनि छैन। ऊ रोगका कारण न कहीं काम गर्न जान सक्छ न कसैले उसलाई कामै दिन्छन्। छ ऊ जिउँदो तर सबैबाट तिरस्कृत। परिवार र समाजको निम्ति मृत– तर पीडा अनुभव गर्ने। परिवारकै सदस्यले उसलाई जिउँदो भएकोमा खुसी हुने आधार भेट्दैनन्। नाता छ तर नजिक आएर सँगै बस्न सक्दैनन्। बाँचेकोमा ऊ आफ्नै जीवनप्रति क्रुद्ध छ। सामाजिक र पारिवारिक कलङ्क, अपकीर्ति बोकेर कति बाँच्ने? किन बाँच्ने? कसका लागि बाँच्ने? प्रायः ऊ सोचिराख्छ एक्लै टाढा बसेर, जहाँबाट उसलाई प्राणवायु दिई गएको हावा अरुलाई बिटुल्याउन नपुगोस्। ऊ आत्महत्याको सहारा लिन खोज्छ तर सक्दैन। उसमा बेचैनी, उदासिनता, शिथिलता छ तर झिनो आसाले आत्महत्याबाट रोकिराख्छ।
फाइलेरियासिसले संसारमा करौडाैँ मानिस पीडित छन्। यसलाई धेरैले हात्तीपाइले भनेर चिने पनि असर यसको हात, खुट्टा, स्तन र जनेन्द्रीय अङ्गमा देखा पर्न सक्छ। छाला बाक्लो, स्थुल चर्म यसको पहिचान भएर आउँछ। यसको कारण छालामा सेतो रक्त लिम्फको सञ्चालन अवरोध हुनु हो। बुकेरेरिया बेन्क्रोफ्टाइ सङ्क्रमणले माथि उद्धृत अङ्गहरूमा असर गर्छ। तीन प्रकारका फिल्यारियासम्बन्धी जुका हुन्छन्। बुकेरेरिया बेन्क्रोफ्टाइ ९० प्रतिशत कारक हुन्छ। बाँकी दुईथरी बु्रगिआ मालायी र बु्रगिआ टिमोरी १० प्रतिशत रोगका कारक हुन्।
आँखामा माइक्रो फिल्यारिया छिरे अन्धोपन विकसित हुन्छ। यो संसारमै अन्धोपनको एउटा प्रमुख कारण हो। यी जुकाहरू आठ वर्षसम्म पनि लिम्फटिक धमनीमा गुण बनाएर थुप्रै साना माइक्रोफइल्यारिया उत्पादन गर्दछन्। जो रक्तसञ्चारमा शरीरभर यात्रारत हुन्छन्, बढी रात्री समयमा सुतेको बेला। यस्तो बिरामीलाई लामखुट्टेले टोक्दा बाँकी जीवनचक्रको केही भाग पूरा गर्न अपरिपक्व किट डिम्ब (लार्भा लामखुट्टेको आन्द्राको बीच भागमा पुग्छन्। त्यसपछि छातीको मांसपेसीभित्र छिरेर लार्भाको तेस्रो श्रेणीसम्म विकास हुन्छ। त्यस्ता विकसित लार्भालाई लामखुट्टेले फेरि अर्काे मान्छेको छालाभित्र पुर्याउँछन्। यस्तै रूपले यी जुकाहरू लामखट्टेबाट आफ्नो जीवनचक्र पूरा गर्न चक्कर मार्छन्।
मेरो बिरामीको जस्तो जीर्ण रूपमा पुगेको फाइलेरियासिस अवस्थामा शरीरमा माइक्रोफिल्यारिया प्रायः हुँदैनन्। त्यसैले यस्ता बिरामीलाई लामखुट्टेले टोक्दा रोग अरुमा सार्ने डर भने हुँदैन तर पनि सामान्य रक्त परीक्षणसमेत नहुने मेरो अस्पतालमा राति बिरामी सुतेको बेला लिनुपर्ने उसको रक्तपरीक्षण हुने प्रश्नै थिएन। यद्यपि, सिसाको टुक्रो (स्लाइड–काँचको प्लेट) मा रगतलाई बाक्लोसँग घसेर रंगीन बनाएर माइक्रोस्कोपमा हेर्नु पर्ने हो। यो सुविधा कहाँ पाउनु हामी आफैंले आफूलाई गरिब बनाएको देशमा? देवताको नाउँमा सबै गरिबी, रोग, भोक र अभाव सहेर बसेको देशमा! कहिले उपनिवेश नभएको तर प्रायः उपेक्षित भएर विज्ञान विकासलाई भित्रिन नदिएको राज्यमा। आफ्नै सौख र मोजमस्तीका निम्ति राज्य चलाउने सरकारको निरन्तरता भएको देशमा।
कमसेकम मेरो बिरामीले खान पाएको थियो– उसको भोको पेट शान्त भएपछि ऊ त्यसै पनि केही राहत महसुस गर्दै थियो। त्यो बेला डक्सिसाइकिलिन, आलबिन्डाजोल, आइभरडिटिन थिएनन्। मैले दिने भनेको टेट्रासाइकिलिन र डिएथाइल कारबामाजिन हो त्यो सुरु गरेँ। प्रत्येक दिन साबुनपानीले बिहान बेलुका धोएर सामान्य पट्टी गर्दा दुर्गन्ध पनि तीन दिनमा पूरै हरायो। मेरो प्लान दस दिन जतिमा बिरामी केही तङ्ग्रिएपछि शल्यक्रिया गर्ने। मैले आफैं स्पाइनल आनास्थेसिया दिन सुरु गरिसकेको थिएन। वृद्ध त्यसमाथि निकै शिथिल बिरामी भएकाले इथर इमो भन्ने मेसिनबाट दिएर अप्रेसन गर्नमा पूर्ण रूपमा असहमत थिएँ। त्यसैले कि त अप्रेसननै नगरिकन बिरामी घर पठाउनु थियो वा नदुःख्ने औषधि अप्रेसन गर्ने ठाँउमा दिएर लाटो पार्दै शल्यप्रक्रिया समाप्त गर्नु थियो। ठूलो घेरामा घाउ पार्नु पर्ने हुँदा रक्तस्राव धेरै भएर समस्या हुन्छ कि? त्यो मेरो गहिरो चिन्ताको विषय थियो तर अर्काे कुनै उपाय मेरो माथामा फुर्न सकेको थिएन। धेरै डाक्टर साथीहरू ‘‘बुढोलाई नचलाऊँ’’ भन्दै शल्यक्रियाको विपक्ष हुनुहुन्थ्यो। मैले प्रत्येक दिन बिरामीलाई अप्रेसन गर्ने या नगर्ने भनेर सोधी राखेँ।
ऊ अस्पतालबाट बिना अप्रेसन जादिनँ बरु यहीं प्राण त्याग्छु भन्ने गथ्र्याे। यस्तो अवस्थामा घर जानुभन्दा जे हुन्छ होस् नराम्रो भए म कसैलाई दोष दिने छैन। उसको रटान थियो दोहोर्याई–तेहर्याई। यो मेरा निम्ति राम्रो मौका तर ठूलो चुनौती पनि थियो। यो कार्य सफल पार्न शल्य टिमसँग निरन्तर म सहकार्य गरिरहेको थिएँ। एक जना मेडिकल अफिसरले यो केस लिएर हामी सफल हुन्नाैँ बरु वृद्ध व्यक्तिलाई गुमाएर नराम्रो सन्देश मात्र प्रवाह हुनेछ भन्ने धारणा दिए पनि उहाँसँग म सहमत हुन सकिनँ। उहाँको मुख्य सोचाइ के रहेछ भने डिएथाइल कार्वामाजिन औषधिले यसको उपचार भइहाल्छ। उसको रसाउने अण्डकोष सुकिहाल्छ तर त्यो पूर्ण रूपमा गलत धारणा र बुझाइ थियो। फाइलेरियासिस भएको ठाउँबाट लिम्फ चुहिने भनेको स्थायी अवस्था होइन। त्यो लाग छाडको नियममा चल्छ। त्यो कुनै बेला पनि सुरु हुन र रोकिन सक्छ। रोकिनु भनेको अब फेरि हुन्ने भन्ने कदापि होइन।
डिएथिलकार्बामाजिन भन्ने औषधिले माइक्रोफाइलेरियालाई मार्ने हो जुन सम्भवतः हाम्रो बिरामीमा छँदै छैन। जेहोस्, पछि हामी सबै शल्यउपचार गर्ने निर्णयमा सहमत भयौँ तैपनि खास गरेर शल्यटिम केही चिन्तित, त्रसित तर उत्सुक भने थियो। बिरामी ९ बजे बिहान टेबुलमा पुर्याइयो। ऊ विल्कुलै हतोत्साही र चिन्तित थिएन। राम्रो भएर घर फर्कन्छु भन्ने उसको विश्वास थियो। मैले उसको शल्यक्रिया गर्ने ठाउँ तीनपल्ट साबुनपानीले समय दिँदै मिहिनेत गरेर आफैं धोएँ। किनकि, म उसलाई स्पिरिट र आयोडिनले पोल्ने हुँदा त्यसको प्रयोग गर्न चाहन्नथेँ। उसका खुट्टालाई अग्लो पारेर राख्दै लिथोटोमी स्थिति कायम गरेँ।
काँछका जोर्नी निकै जाम अवस्थामा भएकाले यसरी खुट्टा राख्न निकै पीडादायी कार्य थियो तर यो पोजिसन ठिकसित दिनु अप्रेसन गर्न मलाई अनिवार्य थियो। बिरामीलाई पोजिसनमा राखेपछि म स्व्रब गर्न, गाउन र पञ्जा लगाउन गएँ। हामी सबै तत्पर भएपछि पनि जनेन्द्रीय एरिया फेरि तीनपल्ट नर्मल सेलाइनले सफा गरेँ। आयोडिनले पेटको तल्लो भाग र तिघ्रा, खुट्टा पेन्ट गरेँ। त्यसपछि निर्जलीय कपडाले सबै ठाउँ ढाक्यौँ। अण्डकोषको मुनि दुईटा ठूला गजबाट बनाएका चार तह भएका बाक्ला ‘टेट्रा’ नामकरण भएका कपडा पट्याएर राखेँ
जब मैले स्थानीय नदुख्ने औषधि दिन थालेँ। बिरामी आफ्नो अनुहार दुखेको झल्काउँदै थियो तर प्रश्न गर्दा ‘दुख्दैन’ उसको उत्तर एकनासको रह्यो। वास्तवमा लिथोटाभी पोजिसन उसको निम्ति निकै ठूलो सजाय थियो। फाइलेरियाले ग्रस्त छालाको करिब एक सेन्टिमिटर बाहिर मैले चिनो लगाएँ। चिनोभन्दा भित्रको छाला मोटो, बाक्लो, अडिलो र कडा थियो। चिनो लगाएको अनुसार अण्डकोषको दायाँबायाँ, माथितल मैले चक्कुले चिरेँ।
छिटो अप्रेसन सिध्याउने मेरो विचार र बाध्यता थियो। त्यो समयमा अहिलेको जस्तो एलेक्ट्रोकट्रीको सुविधा थिएन। सबै रक्तधमनी बाँध्ने हो भने समय भुसुक्कै खान्थ्यो। त्यसैले काम भइरहेको ठाउँ बाहेक अरु सबैतिर टेट्रा रुमालले जोडले थिच्ने कार्य सहयोगीले निरन्तर गरिरहनुभएको थियो। अलि ठूला रक्तधमनी काटिँदा मात्र म धागोले बाँध्ने गर्थेँ। मेरो लक्ष्य दुवैतिरका अण्डाशय र शुक्रीयरसी जस्तो संरचनालाई बचाउने थियो। त्यो भन्दा अझ बढी मलाई लिङ्ग र मूत्रनली सुरक्षित राख्नु थियो। यो कार्यमा मूत्रनलीभित्र हालेको रातो रबरको क्याथेटरले मलाई निकै ठूलो सहयोग पुर्याएको थियो। थप त्यसमा लिम्फाडेमा भएको छालाले लिङ्गलाई डुबाएको अवस्था पनि थिएन। यी सबै चासोका विषयमा म सफल थिएँ। खालि रक्तस्रावदेखि म विल्कुलै खुसी र सन्तुष्ट हुने ठाउँ छँदै थिएन।
म लामो समय लगाएर प्रत्येक रक्तधमनी बाँध्दै अप्रेसन गर्न सक्ने अवस्थामा छँदै थिएन। ट्रेट्रा तातो पानीमा भिजाएर निचोर्दै घाउमा थिच्दै थियाैँ। दाहिनेतिरको शुक्रग्रन्थी करिब तीन सेन्टिमिटरको तर निकै नरम थियो। देब्रेतिर सानो सुकेको शुक्रग्रन्थी झण्डै साडेएक सेन्टिमिटरको वरिपरि त्यसको तरल पदार्थ– धमिलो, चिल्लो र बाक्लो (हाइड्रोसिल)। त्यो फाइलेरियासिसको कारणले हुनुपर्छ। अन्तमा रोगीको अण्डकोष काटेर छुट्याइदिएँ उसको शरीरबाट, पछि दुखेर बिरामीलाई हैरान नगरोस् भन्ने उद्देश्यले। घाउको दुवैतर्फ जस्तापाता जस्ता रबरका लाम्चा टुक्रा राख्दै घाउलाई दुई तहमा सिलाउन सुरु गरेँ। टाँका लगाउँदा कतै रक्तस्राव छ भने त्यसको पनि रोक्ने कार्य होस् भनी ध्यान दिएँ। बाहिर चर्ममा फेरि टाँका, शल्यक्रिया सफल भयो। पट्टी लगाएर घाउलाई जोडसँग थिच्दै माथिबाट टेप तान्याैँ।
त्यसपछि तुरुन्तै खुट्टालाई सिधा गरेर अप्रेसन टेवलमा सजिलो हुने गरी राख्यौँ। यसले बिरामीलाई ज्यादै ठूलो राहत दियो होला। यो बिचमा बिरामी पटकपटक ‘‘भगेले” भयो भन्दै सोधेको सोध्यैे नै थियो सायद लिथोटोमी पोजिसन उसका आंशिक रूपमा जाम भएका वृद्ध जोर्नीका निम्ति सबैभन्दा ठूलो सजाय र गाह्रो थियो। म आफैं चकित परेँ कत्रो मनोबल! सधैँ रसाइराख्ने, दुर्गन्ध दिने र आफ्नै मान्छेबाट टाढिन बाध्य असाधारण अण्डकोषबाट मुक्त हुन ऊ कति लालायित थियो। उसले आफ्नो साहस र मनोबलको पुरस्कार आज पायो।
ऊ योग्य सुपात्र हो। वास्तविक अधिकारी र हकदार। मूत्रनलीको रातो रबरको क्याथेटर जो सामान्य नली मात्र हो, नखसोस् भन्न दस मिनट लगाएर टेप, धागो, गज सबै मिलाएर बाँधे। त्यो समयमा अहिलेजस्तो सुविधायुक्त पिसाब थैलीमा राख्ने नली पाइँदैनथ्यो। सम्झन्छु, फोलिक्याथेटर दुई मुखे र तीन मुखेले हामीलाई कति काम घटाएको छ र बिरामीलाई सुविधा थपेको छ। बिरामीलाई उसकै खाटमा पुर्यायाैँ। अब पालो हाम्रो सन्तोषको श्वास फेर्ने, आफ्नै सफलतामा आफैं रमाउने बिरामीलाई सुरक्षित फर्काउन पाएकोमा। म बिरामीको अनुहार पढ्दै थिएँ। लाग्थ्यो, हाम्रोभन्दा धेरै खुसी उसले व्यक्त गरिरहेको थियो। दुई कुरामा– प्रथम खुट्टा सिधा राखेर पल्टन पाएकोमा। उसको बीचबीचमा रसाउने बोक्नै गाह्रो अण्डकोष निकालेर उसलाई देखाएकामा। निकालेको भाग परीक्षणको निम्ति पठाउनु पर्ने नै हो तर सामान्य रक्तपरीक्षण नहुने अस्पतालमा तन्तुजाँचको कल्पना पनि कसरी गर्नु!
बिरामीलाई आरामसँग कोठामा सुताएपछि फेरि पञ्जा लगाउँदै निकालेको अङ्ग चिरेर टुक्राटुक्रा पारी नियालेँ। काट्दा सामान्य चर्मभन्दा अर्कै अनुभूति। कडा मानौं, कुर्कुरे हाड बन्ने प्रयत्नरत तन्तु ती हुन्। मेरो आश्चर्य र खुसी– सिङ्गै दिन र रात पट्टी विल्कुलै भिजेन, रगतले धेरै भिज्छ कि भनी मैले गरेको चिन्ता झुठा निस्क्यो। दुई दिनपछि दुवै राता जस्तापाते रबरका टुक्रा निकालिदिएँ। बिरामी हिँड्ने, खाना रुचि गरी खाने भयो। दुई दिनपछि दिसा पनि भयो, बिना जुलाव। चार दिनपछि मूत्रनलीमा राखेको रातो रबरको नली पनि निकालिदिएँ। बिरामीको अनुहार बढी उज्यालो हुँदै आयो। दिनमा ५–७ पल्ट ऊ हिँडिराख्थ्यो। शल्यक्रियाको बाह्र दिनपछि मैले उसका टाँकाहरू निकालेँ। दुई ठाउँमा बाहेक अरु ठाउँमा घाउ राम्ररी ढाकिएको जुटेको, छाला जुटेको।
अरु तीन दिन बिरामीलाई अस्पतालमै राखेर घाउ पट्टी गर्नु पर्ने अवस्थामा नभएपछि अस्पतालबाट पठाउने निर्णय गरेँ। यद्यपि, ऊ टाँका निकालेकै दिन घर जान ज्यादै लालायित थियो। सायद ऊ घर पुगेर आफ्ना परिवारका सदस्य सबै नातेदार र पडोसीलाई भन्न चाहन्थ्यो, “म अब दुर्गन्ध लिएर हिँडिरहेको छैन।” उसलाई समाजले छिःछिःदूरदूर गरेको भारी बिसाइसकेको थियो। ऊ अब कुनै पनि अरु वृद्धहरू जस्तै गाउँ र समाजमा सबै ठाउँमा भाग लिन सक्थ्यो। सबै उसका रोकटोक कफ्र्यु अब फुक्का भइसकेका थिए। अब ऊ मानौँ जेलमुक्त छ। लाग्थ्यो अब समाजमा फर्केर ऊ आफ्नो उपयुक्त स्थान ग्रहण गर्न चाहन्छ।
बिना कुनै पट्टी बिहान स्नान गरेर मैले नै उपहार दिएको सुकिलो कमिज र हाफपैन्ट लगाएर बिरामी डिस्चार्ज स्लिप बोकेर घर जाँदैछ। घाँटी ननिहुराएर सोझो पर्दै अस्पताल गेटमा नातिसँग उभिएर पछिल्लो प्रणाम गर्दैछ ऊ। कृतज्ञता व्यक्त गरेर अनुहार र आँखाबाट धन्यवादको फोहरा छोड्दै दाहिने हातले आँखा पुछ्दै ऊ पूर्वतर्फ मोडियो।