जलेश्वरबाट अञ्चल अस्पताल जनकपुर सरोस् भन्ने इच्छा बल्ल पुग्यो तर कुनै पनि परिवर्तनले धेरै कुरामा असर पर्ने हुन्छ। त्यो जलेश्वरबाट जनकपुर हुँदा मैले र परिवारले पनि राम्रै गरी अनुभूति गर्ने मौका पायौँ। सर्वप्रथम अस्पताल सर्ने क्रममा हामीले भन्दा पनि बिरामीले ज्यादै ठूलो असुविधा तथा हानि नोक्सानी सहनु पर्यो। हामीले एकपल्टको असुविधा सहेर फेरि आफ्नो रहनसहन धेरै मात्रामा व्यवस्थित पार्न सक्यौंँ तर जलेश्वर अस्पतालको सुविधा उपभोग गर्न पाएर रमाएकाहरूले सधैंँका निम्ति त्यो गुमाए। कसरी त्यसलाई तिनीहरूले पचाए त्यसको कुनै सर्वेक्षण छैन। त्यो सबैको व्यवस्था, अध्ययन र मानवीय असर ख्याल गरेर निर्णय लिइन्थ्यो भने जनकपुर अञ्चल अस्पताल जुन ठाउँमा भएपनि जलेश्वर अस्पतालको पनि स्तर उन्नति हुन्थ्यो होला तर भएको सुविधा रेटेर अस्पतालको पदोन्नति– घटुवा गरियो। कुन ठाउँका नागरिकलाई कतिसम्म स्वास्थ्य सुविधा दिनै पर्छ र दिन सकिन्छ भन्ने रूपरेखा व्यवहारमा नभएपछि के भन्ने ? पूर्वतयारी गर्दा जनताको चासोभन्दा पनि केही व्यक्ति र समूहलाई खुशी पार्ने प्रवृति भएपछि के प्रश्न गर्ने? ह्वात्तै जलेश्वर अस्पतालको स्तर खस्नाको कारण त्यही हो। जनकपुर अञ्चल अस्पतालको उपयुक्त स्थान त जनकपुर नै हो त्यसमा दुई मत गर्नै मिल्दैन।
जनकपुर अस्पतालभित्रका क्वाटर मेरा निम्ति उपलब्ध हुन सकेनन्। मैले अस्पतालबाहिर डेरा लिएर बस्नु पर्ने भयो। अस्पतालमा क्वाटर नपाए काम गर्दिन भन्ने पनि त कुरा भएन। एउटा नयाँ बन्दै गरेको घर हेरेर अस्पतालभित्र क्वाटर, खाली नहुञ्जेल त्यही डेरा जमाउने विचार गरेँ। यसले मेरो आर्थिक अवस्थामा निकै ठूलो प्रहार गर्यो। अर्काे त्यो ठाउँ सगोलको बिचमा कलधारा, एउटा चर्पी छ परिवारमध्ये जो पहिला उठ्ने उसैले पहिलो पालो पाउने भइहाल्यो। त्योभन्दा पनि राति उठ्नु परे सर्पको पीर। बन्दै गरेको घर। हामीले छोडुञ्जेलसम्म पनि झ्यालमा सिसा लागेनन्। जाडोमा तन्नाको पर्दाले झ्याल ढाकियो। लामखुट्टे धपाउन “म्याट” बाल्नु पर्ने भइहाल्यो। भर्खर सर्दा शुरुको एकहप्ता हामी मनकारी सहयोगमा रमाउने न्यायाधीश गम्भीरमान राजभण्डारीज्यूकै क्वाटरमा बस्याँै–खायौँ। साँगुरो तर मन मिलेपछि उहाँको क्वाटर हामी दुवै परिवारलाई भयङ्कर ठूलो भयो। उहाँका तीन बच्चा, हाम्रा दुई जना मस्तीसँग खेलेर रमाए। मेरो डेरालाई बस्नयोग्य बनाउन उहाँहरूले ठूलो सहयोग गर्नुभयो। कहाँ पकाउने ? के पकाउने ? शुरुका निम्ति सबै जोगार उहाँहरूको निर्देशनमा भयो। मट्टीतेल, स्टोभ, लाल्टिन सबै व्यवस्था गरिदिनु भयो। त्यस्तो हृदय भएको साथी पाउनु कत्रो हाम्रो सौभाग्य !
जनकपुर आगमनले सबैभन्दा ठूलो असर आर्थिक अवस्थामा नै पर्यो। सरकारले दिने तलब ने.रु. ६५०। त्यसमध्ये रु.६००। मैले घरभाडा भनेर बुझाउनु पर्ने। कुन पैसाले हामीले के खाने ? खाने मैले किन भनेको भने लुगा हामी कसैलाई किन्न पर्दैनथ्यो। जे छ त्यसैले काम चलाउने। भएकैमा सन्तोष मानेर आफूलाई सिङ्गार्ने। थियौ हामी जवान त्यो बेला। त्यसैले सिङ्गार्नु पर्ने पनि थिएन। हामी त्यसै सुन्दर, रसिला, हँसिला, ऊर्जावान र जाँगरको छेलोखेलो तर पनि खानलाई त पैसा चाहिन्थ्यो।
आलु हामीलाई किन्नै पर्ने प्याज, लसुन नभई नहुने। दाल, चामल, नुन, तेल, माछा, मासु, दुधदही फलफूल पनि त बिना पैसा पाइने कुरै भएनन्। त्यसैले कतै ‘‘होमकल’’ आयो भने नजिक टाढा नभनेर अस्पताल बाहिरको समयमा मिलाएर जाने गर्थँे। यसले अर्काे एउटा फाइदा के दियो भने त्यस बेलाका जनकपुरका गन्यमान्य पञ्चायती नेता सबैको घर चहारियो। अर्का थरीका मेरा बिरामी सरकार र पञ्चायती नेताबाट तिरस्कृत तर जनमानसमा बढी भिजेका कम फूर्ति लगाउने बढी सक्रियता प्रदर्शन गर्ने काङ्ग्रेस, कम्युनिस्ट, एड्भोकेट, साहुमहाजनका घरघरमा पुगियो। रकम म भन्दिनथेँ न भन्न सक्थें न भन्न आउने, जति खल्तीमा घुसारी दिन्थे त्यो नै धेरै सम्झन्थँे। मुख्यतः मैले हेरेको बिरामीलाई फाइदा–निको हुनै पर्यो। थियो मेरो भित्री आसय। सामान्यतया धेरै नजिक हुँदा ५० रु. होइन भने १०० देखि २०० सम्म पनि खल्तीमा छिराइदिन्थे।
घर पुग्यो, हेर्यो आफैं दङ्ग – फुरुङ्ग निकै कमाइ भएको मान्ने। घरकलमा कहिले त एउटै घरमा रक्तचाप हेर्नु पर्ने ४–५ जनाकै, छाती सुनी दिनु पर्ने २–३ जनाकै। पञ्चायती नेता हुन् भने त सबै श्रीमतीहरूको अलग अलग व्यथा।
सुन् सबैको गन्थन हडबड् गरेकोजस्तो गर्नै नमिल्ने। केही मेरा बिरामी धनी घरका वृद्ध व्यक्ति। थाकेको जीर्ण शरीर, थप घरमा पहिलेको आदर भाउ गुमाएका त्यसैले मानसिक चोटले गर्दा न निद्राको ठेगान न खानाको स्वाद।
दिसापिसाबमा पुरानो परम्परागत नियमितता पूर्णरूपमा गुमाएका। त्यसैमा घरमा धेरैको कटु आलोचना, आक्षेप। समय उनीहरूलाई प्रायः दिन कोही नमान्ने तर खुशी भएको सबैलाई हेर्ने रहर भई राख्ने। यस्तो अवस्थामा मलाई त्यस्तो होमकलबाट फुत्किन डेढ दुई घण्टा पनि लाग्थ्यो तर मनमा भने मेरो सन्तोषको ठूलो लहर चल्थ्यो। कमसेकम एक वृद्धको मनको भारी त बिसाउन सहयोग पुर्याउन पाइयो। सिङ्गो जीवन बाँचेको मान्छे। अन्तमा आफ्ना दुई चारवटा अतीतका तीतामिठा सम्झने साथी–मानव पनि कोही नपाउँदा तड्पिरहेछ खाटमा। कत्रो बिडम्बना ! सबै हडबड्मा। सबै फुर्सद नभाका!!! ....... यसरी मैले होमकलमा समय र धैर्य दिए बापत वास्तवमा मैले धेरै कमाएँ पैसा होइन साथीको उपाधि, व्यवहारिक अनुभव र नयाँ बिरामी, जसलाई म बिना पैसा अस्पतालमा हेर्थँे तर तिनीहरूबाट म धेरै कुरा सिक्थेँ पनि। ती मलाई सबै सबै अनुभवी चिकित्सकको उपाधि पाउन सहयोग गर्थे। पैसा पनि त जो अलिअलि थपिदै जान्थ्यो। लाग्थ्यो मानौँ सित्तैमा कसैले दिदैछन्। पुरुषार्थ त्यसै आइपर्यो वा भाग्योदय चिठ्ठा जुन मेरो अतीतको सम्झनामा काठमाडौंको टुँडिखेलमा खुल्थ्यो।
होमकलको उपचारको राम्रो नतिजा आएपछि उनीहरूकै नातेदार, साथीभाइ म कहाँ अस्पतालमा भिड लाग्न थाले। तुलनात्मक रूपमा ज्यादै छोटो समयमा थुप्रै परिवारका बिच मेरो लोकप्रियता बढ्यो। उनीहरूले उल्लेख गर्दै पठाएका बिरामीले मलाई अस्पतालमा घेर्न थाले तर धेरैजसो बिरामी औषध उपचार गर्ने चिकित्सकले हेर्नु पर्ने खालका हुन्थे। उनीहरू माझ कुन व्यक्तिको शल्यक्रिया गर्नु पर्ने रोग छ। त्यो छुट्याउनका लागि उनीहरूले गरेको गुनासो र सिकायतमा सीमित नभएर थुप्रै अरु प्रश्न सोध्ने गर्थे। त्यो बाहेक खासै धेरैले मन नपराउने अलोकप्रिय शरीरजाँच गरेर विस्तृत विवरण प्रत्येक बिरामीमा आफ्नो माथामा सञ्चय गर्थेँ। यसको पुरस्कारबापत म हर्निया, हाइड्रोसिल, हेमारोइडस्, शरीरका विभिन्न फोका–टुटिला, योनि बाहिरै झरेको पाठेघर, आफ्नो ठाउँबाट सरेको मूत्रथैली, आँखाको छेउमा पलाएको मासु जसले नानी ढाक्न तम्सेको
हुन्थ्यो सबै पत्ता लगाउँथे।
कसैको नाकभित्रका झिल्ली फुलेर पोलिप भएर नाक थुनेको पाइन्थ्यो। साना बच्चाका नाक, कानमा खेल्ने सिल्सिलामा घुसारिएका वस्तु भेटिन्थे। त्यो बेलासम्म नाक, कानबाट फोहोर पीप बग्ने मात्र होइन ती ठाउँ झिँगाप्रिय हुने भएकाले स्याउँस्याउँ कीराले भरिएका हुन्थे।
यस्ता कीटडिम्ब देख्नासाथ बिरामीकै आफन्त तर्सिएर भागाभाग गर्थे। बच्चाको कान वा नाकबाट कीटडिम्ब निस्केको वास्तवमै मार्मिक दृश्य हुन्थ्यो। हल्लिएका दुधे दाँत वा वृद्धका सुत्नै नदिने दन्त पीडासमेत लिएर आउँथे। थियो मसित डेन्टल सेट। उखेलिदिन्थेँ दुधे दाँत भुल्याउँदै बच्चालाई अनि गजमा पोको पारी उसैलाई दिन्थेँ घरमा गएर बाजेबजैलाई देखाउन भन्दै। ती आफ्नो दर्द र त्रास बिर्सदै हुन्छ भनी बाटो लाग्थे। वृद्धका दाँत निकाल्दा किराले खाएका भाग जरातिर बाँकी रहने सम्भावन प्रशस्त तर जिब्रो नघोच्ने गरीकन चुच्चोभाग निकालेपछि ती आफ्नै जिब्रोले छाम्दै मलाई अरु के गर्ने बाटो देखाउँथे। खैनीका सौखिनको जिब्रोको छेउतिर ठूला घाउहरू भएका छन् कि ? यस्तो फेला पार्न लागेको समय म खेर गएको गन्दैनथेँ। एक प्रकारको स्वास्थ्य शिक्षाको कक्षा चलाउन म पछि पर्दैनथँे। जब खैनी र बिडीका सौखिनका जमात भेट्थेँ।
यस्तैमा बहिरङ्ग विभागमा पनि मेरो समय बितिराख्थ्यो। यसले मलाई आत्मसन्तोष थप्थ्यो। सामान्य एक्सरे, अल्ट्रासाउण्ड केही थिएन। रक्तपरीक्षण, रक्तसमूह जाँच र रक्तदानको सुविधा छँदै थिएन तर यी सुविधा र परीक्षण मेरा बिरामीलाई आवश्यक थिएन भन्नेचाहिँ होइन। धेरै पछिमात्र विभागबाट सामान्य रक्त परीक्षण गर्ने प्राविधिकलाई पठाए। कत्रो सहयोग अञ्चल अस्पतालको कत्रो स्तरोउन्नति।
अब हामी कम्तीमा बिरामीको हेमोग्लोबिन, पिसाबमा पीप र रगतका कण देख्ने भयौं। बायोकेमेष्ट्री, रक्तसमूह जाँच मैले जनकपुर छोड्दासम्म हुँदैनथ्यो। उपचारमा अस्पताल प्राइभेट जहाँ भए पनि खटिन्थ्यो परे २४ घण्टा। अस्पतालप्रतिको धारणा मानसिक चित्रण निकै सुध्रिँदै आयो।
जनकपुरमा प्राइभेट प्राक्टिस गर्ने खास गरेर बिहारबाट आएका चिकित्सक र क्वाकहरू अञ्चल अस्पताललाई दुश्मन नम्बर एकमा गन्न थाले। ती ठ्याक्कै अस्पतालको मुख्य ढोकाअगाडि विराजमान थिए। बजारमा पनि छरिएर बसेका थिए। सरकारी र प्राइभेट डाक्टरबिच सायद एक प्रकारको भयङ्कर ठूलो ‘कोल्डवार–शीत युद्ध’ को वातावरण बनेको थियो। प्रायः अस्पताल धाउने बिरामी दलाललाई दुई पैसा पनि दिन नसक्ने चिकित्सकलाई त्यो बेलाको सरकारबाट तोकिएको ७ वा १० रु. चढाउन नसक्ने हुन्थे तर ठूलो अपवादमा थिए सरकारी जागिरदार, जेलका बिरामी, मुद्दा मामिलाको जालोमा फसेका व्यक्ति, सरकारी सर्टिफिकेट नभई नहुनेहरू। ती अस्पताल नै आउँथे त्यसको पछाडि उनीहरूमा आफ्नै बाध्यता थियो र स्वार्थ पनि तर हामीलाई अस्पतालमा बिरामीको अभाव छँदै थिएन।
त्यसबेला अस्पतालमा भएका प्रायः सबै चिकित्सकको लक्ष्य नै आफ्नो ज्ञान व्यावहारिक बनाएर आफूलाई पूर्ण सफल डाक्टरका रूपमा विकास गर्ने हुन्थ्यो। केही चिकित्सक २–४ वर्ष काम गरेर उच्च शिक्षा तथा ज्ञान हासिल गर्न सरकारी छात्रवृित्त पाउन लालायित तथा प्रयत्नरत थिए। जे होस् समाजमा सबै एकअर्काको अस्तित्व स्वीकार्दै आफ्नो कार्यमा व्यस्त थिए। खाली काम गर्ने इच्छा, जाँगर, शक्ति हुनुपथ्र्याे काम छेउमै आइपुग्थ्यो।
जनकपुर आएपछि अर्काे महत्वपूर्ण कार्य थियो– नयाँ शल्यकक्षलाई व्यवस्थित पारेर सुरक्षित तरिकाले शल्यक्रिया सञ्चालन गर्न सक्ने स्थितिमा पुर्याउने। त्यसको निम्ति परिचारिकासँग बसेर छल्फल गर्ने, शल्यकक्ष र त्यसको पृष्ठपोषण गर्ने स्थानको लेखा जोखा गर्ने। सबैसँग बसेर केही दिन छल्फल गरेपछि सबैको राय बमोजिम निर्णय लियौं। कुन स्थान कुन कार्यकानिम्ति ? यकिन भएपछि ती सबै ठाउँको सरसफाई द्रुतगतिमा चल्यो र विसङ्क्रमण कार्य सम्पन्न भयो। अब चिकित्सकसँग बसेर को शल्यकार्यमा सहभागी हुन इच्छुक छन् पहिल्याउनु थियो। त्यो कार्य पनि एक दुई दिनमै सम्पन्न भयो।
त्यसपछि हाम्रो शल्यचिकित्सकीय टिम खडा भयो। अब कुनै बेला पनि अस्पतालमा शल्यक्रिया गर्नुपर्ने बिरामी आएमा हामी सेवा दिन तयार थियौं। पूर्ण अचेत अवस्थामा शल्यक्रिया गर्नु पर्नेको निम्ति इएमओ भन्ने इथर दिएर बिरामीलाई पूर्ण रूपमा अचेत बनाउने विधि पनि प्रयोग गर्न तयार गर्यौं। डा. रामबहादुर सिंहले इथर दिने र उहाँले नै दुई जना नर्सलाई यो विधि– उपकरणमा प्रशिक्षण दिने जिम्मा लिनु भयो। यसको सट्टामा मैले उहाँलाई हर्निया शल्यक्रिया गर्न सहयोग गर्ने। यो हामी दुबैका निम्ति अति उत्तम योजना थियो। किनकि डा. रामबहादुर सिंह हर्निया अप्रेसन गर्न निकै उत्सुक र इच्छुक हुनुहुन्थ्यो। म पनि कसैलाई आफूले जानेको सिप सिकाउन लालायित थिएँ। त्यसका अलावा अचेत गराएर गर्नु पर्ने शल्यक्रियामा उहाँले इएमओको प्रयोगबाट मलाई सहयोग गर्छु भने पछि त म त्यसै एक तह होइन धेरै माथि उक्लिने भएँ। अब म धेरै शल्यक्रिया गर्न सक्ने भएँ।
हामी बिचको अलिखित कबुलियतनामा उहाँ अस्पतालमा रहुञ्जेलसम्म कसैबाट पनि उलङ्घन भएन। यस्तो मौका पर्दा हामी दुवै अत्यन्त खुशी भई एकअर्कालाई सहयोग गथ्र्याैं। मलाई सम्झना हुन्छ उहाँजस्तो सिभिल सर्जन नपाएको भए मलाई खाली हर्निया र हाइड्रोसिल अप्रेसन गरेर मात्र आफूलाई सर्जनको अनुभूति गर्नु पथ्र्याे।
धेरै धेरै वर्ष पछि म वीर अस्पताल काठमाडौंमा युरोलोजिष्ट विभाग प्रमुख भई कार्यरत थिएँ। मेरो ओ. पी. डी. थियो। बिरामी जाँच्दै थिएँ। एक अग्लो, ज्यादै सर्लक्क परेको शरीर, दुब्लो व्यक्ति ढोकैनेर देखा पर्नुभयो। म तुरुन्त ढोकातिर गएँ र उहाँलाई हात समातेर भित्र ल्याएँ। नजिकैको मेचमा बसालेँ। उहाँसँग स्वीकृति लिएर हेरिरहेको बिरामीको पूर्ण जाँच इत्यादि सकेपछि एकछिन् नयाँ बिरामीहरू भित्र नपठाउन ढोकामा भएकी दिदीलाई अनुरोध गरँे। मेरो पेशेवार साथी, मेरो आदरणीय गुरु, मेरो मित्र जसबाट मैले नेपाली समाजमा चिकित्सक भएर कसरी आफूलाई अस्तित्वमा राख्न सकिन्छ, सिकँे शुरुका दिनमा .....।
डा. सिंहलाई कल्पनामा समेत म मोटो चित्रण गर्न सक्दिन। उहाँ सधैँ भोजवृक्ष जस्तै अग्लो र सर्लक्क शरीर भएको तर उहाँलाई पेटको पीडाले सधैँ मनमा त्रास उत्पन्न गराइराख्ने। मोटो आन्द्राको जीर्ण समस्या कतै अर्बुदमा परिणत भयो कि भन्ने पीर सधैँ चस्किरहने मनमा। पछिल्लो समय उहाँ उमेर तर्कसङ्गत मूत्र समस्याले आहत हुनुहँुदो रहेछ। प्रोष्टेटको क्यान्सरले कतै हड्डी छियाछिया त पारेन ? उहाँको चिन्ताको नयाँ विषय थियो। कस्तो बिडम्बना यो शङ्का र त्रासको रोगले कतिसम्म मानिसलाई अशान्ति ल्याउने......... लखेट्ने। ......... सम्झना उहाँको दुर्बल हुँदै गएको रहेछ।
मेरा आँखाबाट खालि वर्षामात्र हुन सकेनन्। मुटुमै कालो आँसुले भरिएको बादल केही पछि हावाले कता हो उडायो। त्यति प्यारो र आदरणीय व्यक्तिको अवस्था देख्दा मन खिन्न रहिरह्यो।....आधा घण्टापछि उहाँ उठ्नु भयो। म आफैं उहाँसँग गई तल, पर पुर्याएँ। .....जाँदा हात मिलायौं उहाँका चिसा तर मनैदेखि तातिएर आएका हात। म फेरि भेट्न आउँछु है स्वीकृति माग्न खोजेको जसरी। मैले आफ्नो ओ.पी.डी र शल्यक्रियाका दिन बताएँ लेखेर मागेकाले त्यसै गरेँ।
नभन्दै उहाँ दुईपल्ट ओ.टीमा पनि आउनु भयो। उहाँको आगमन सधैँस्वर्ण अतीतको सम्झनाका रूपमा लिन्थँे। खालि वर्तमान उहाँको कमजोर स्वास्थ्यका कारण बादल लागेर गुम्सिएको आकाशजस्तो भान हुन्थ्यो। न्यानो र सौहाद्र्र वातावरण भएकाले मैले जनकपुरमा आफूलाई जनरल सर्जनको रूपमा प्रस्तुत गर्न सकेँ। थिए मसँग थुप्रै किताब। सबै मेरा गुरु। व्यवहारिक र वर्तमानका गुरु थिए मेरा बिरामी जसलाई म शल्यचिकित्सा गर्ने टेबलमा अध्ययन गर्थँे। दिन प्रतिदिन शल्यक्रिया गराउनेको सङ्ख्या उल्लेखनीय वृद्धि हुँदै थियो। काम गर्ने वातावरण औधी सौर्हाद्रपूर्ण। एक पछि अर्काे गरिकन जलेश्वरमा गर्न नपाइएका शल्यक्रिया म गरिराख्थेँ। कसैलाई नफर्काएर हामीले शल्यक्रिया गर्यौं। थुप्रै ज्यादै महत्ववपूर्ण अप्रेसन भए।
बाँच्दैनन् होला भन्ने अवस्थामा आएका बिरामी खुशी भएर हिँडेर गए ! तर केही बिरामी जो कुनै हालतमा पनि मर्नु नपर्ने थिए बिते, मलाई नयाँ पाठ पढाएर। मेरो मुटुमा कहिल्यै नहराउने नराम्रो खत छोडेर जुन पाठ मैले न मेडिकल न इन्स्टिच्युटमै पढेको थिएँ न रुसी, ब्रिटिस, अमेरिकन र भारतीय किताबमा। केही बिरामीको वस्तुस्थिति मलाई अहिलेसम्म पनि अज्ञात छ। ती मेरा मस्तिष्कमा नाचिरहेछन्। बेलाबेलामा जब ती थाक्छन् म तिनीहरूलाई नियाल्छु। सबैतिरबाट फेरि अध्ययन गर्न खोज्छु। कहाँ म चुकेँ ? कहाँ थियो खाडल ? कसरी मैले देखिन र खसँे ? कसरी त्यो हुनै न पर्ने पूर्वानुमानसँग मेलै नखाने अप्रत्यासित घटना यथार्थ हुन आयो ? किन मैले समयमै त्यसलाई रोक्न सकिन ? खालि एकपछि अर्काे प्रश्नको ताँती चल्छ तर कुनै पनि प्रश्नको उत्तर कतैबाट पनि आउँदैन। अनि म सर्जरीको लेक्चरमा सन १९६९ मा एक गुरुले भनेको सम्झन्छु: ‘सबै सर्जनका असफलताका चिहान हुन्छन्’ अनि म गौण हुन्छु। आफूले गरेको ज्यान बचाउने कार्यको नाउँमा कतै अपराध त गर्दैछैन ?
जनकपुरको त्यसबेलाको मेडिकल तथा सर्जिकल प्राक्टिस भनेको मुख्यतया बिरामीको शरीरको तापक्रम, नाडीको गति, रक्तचाप र श्वासप्रश्वासको गति हेरेर शल्यक्रिया गर्नुपथ्र्याे। आफैंलाई पनि के अनुभूति हुँदै गयो भने कुनै पनि दुइटा शल्यक्रिया भलै चार्ट र रजिष्टरीमा लेख्दा एउटै नाम किन नहुन् ती फरक छन् थप त्यसमा मानिस भूल प्रतिरक्षित छैन। कुन बेला ऊ भूल गर्न सक्छ त्यो पूर्वानुमान गर्न उत्तिकै गाह्रो छ। भूल गर्नेले वा टिममा समावेश हुनेहरूले त्यो अलि अगाडि नै थाहा पाउने भए सम्भवतः त्यसको सङ्ख्या घट्थ्यो होला तर त्यो कल्पना गरे पनि पूर्ति नहुने शर्तनामा हो।
जे होस् जलेश्वरबाट हामी जनकपुर सङ्घर्ष गर्न उभियौं। सङ्घर्षको दौडानमा सधैँ सजिलो, सफलता र निरन्तर बिना कुनै व्यवधान अगाडि मात्र बढ्न पाइने ग्यारेन्टी कहाँ छ ? सङ्घर्ष भनेकै गाह्रो ,सारो, अप्ठेरो, अभाव, दरिद्रता, असफलता इत्यादि पार गर्दै पाउने फल हो। आत्मसन्तोष, जुन मैले मेरी श्रीमती अक्सानाले र बच्चाहरू समेतले प्राप्त गरेर स्मृतिमा राख्यौँ। जनकपुर अस्पतालले र जनकपुरवासी तथा जनकपुर अस्पताल धाउने बिरामीले के पाए ? त्यसको मूल्याङ्कन उनीहरूले नै गरे होलान्–गर्लान्।