शल्य चिकिल्सकले अप्रेसन कुनै पनि व्यक्तिको पेसा, जात, भात, धर्म, मान्यता, गरिब, धनी इत्यादिको आधारमा गर्ने होइन। अप्रेसनको आफ्नो नियम र विधि हुन्छ। शल्य चिकित्सा सबैलाई पूरै नियम र विधि पालना गरेर मात्र गरिन्छ।
जनकपुरका एक जना बहालवाला न्यायाधीश आफ्नो पिठ्युँको लामो समयदेखिको डल्लोबारे परामर्श गर्न जलेश्वर बहिरङ्ग विभागमा मलाई भेट्न आउनुभयो। सुरुमा उहाँले आफ्नो परिचय नदिएरै आठ वर्ष पुरानो रोगबारे बेलिबिस्तार लगाउनुभयो। सबै जाँच गरिसकेपछि यो सामान्य सिवेसिअस सिस्ट हो भन्ने आफ्नो निर्णय सुनाएँ। यो फोकोको उपचार औषधिबाट हुँदैन। यदि तपाईंलाई यसले असजिलो पारेको छ वा मनमा कतै क्यान्सरजस्तो नराम्रो रोग हो भन्ने भावनाले पिरोलेको छ भने शल्यक्रिया गरेर पूर्ण रूपमा थैलोसँगै निकाल्नुपर्छ भनेँ तर त्यतिमा मात्र उहाँ सन्तुष्ट हुनुभएन।
किन यो रोग हुन्छ? उपचार नगरे के समस्या यसले निम्त्याउन सक्छ? यसको शल्यक्रिया कति जटिल हुन्छ? शल्यक्रियापछि घाउ पूर्ण निको हुन कति दिन लाग्छ? यसको अप्रेसनपछि भविष्यमा के समस्या देखा पर्न सक्छन्? यी सबै प्रश्न सुन्दा म ज्यादै खुसी भएँ। पहिलो बिरामी, आफ्नो रोगबारे यति राम्रो परामर्श गर्न चाहनुहुन्छ भनेर अनि मैले उहाँका प्रश्नको उत्तर दिने चेष्टा गरेँ।
शरीरको छाला र रौंहरू सुख्खा नहुन् भन्न एक प्रकारको तेल चिल्लो पदार्थ ‘सिबम’ बन्ने गर्दछ। त्यो बनाउने ग्रन्थीलाई ‘सिबम’ भनिन्छ। यो चिल्लो पदार्थ ग्रन्थीको नली हुँदै बाहिर निस्कन्छ। ग्रन्थीको नली जुनसुकै कारणले भए पनि बन्द हुन गएको खण्डमा उत्पादन हुने गरेको सिबम चिल्लो पदार्थ थुप्रिएर डल्लो–फोकोको रूप लिन्छ।
सामान्य अवस्थामा यो दुःख्दैन तर कुनै कारणवस त्यो भित्र सङ्क्रमण भए दुःख्ने, बाहिर छाला रातो हुने र फुट्न पनि सक्छ। त्यस्तो अवस्थामा गन्हाउने, कनिका जस्तो लेसाइलो पदार्थ भित्रबाट निचोरिएर बाहिर निस्कन्छ। त्यससँगै डल्लो हराएको जस्तो हुन सक्छ तर केही समयपछि हराएको डल्लो विस्तारै भरिएर पहिलेकै जस्तो रूपलिने वा झन् ठूलो पनि हुन सक्छ। शल्यक्रिया प्रायः स्थानीय ठाउँ नदुख्ने बनाएर गरिन्छ तर थैलो त्यसको पूर्ण रूपमा निकाल्नु पर्दछ। होइन भने फेरि दोहोरिने सम्भावना भविष्यमा उच्च हुन्छ। उपचार गर्दै नगरे पनि यो प्रायः क्यान्सरमा रूपान्तरण हुने हुँदैन। यदि यस्ता ग्रन्थी पाँच सेन्टिमिटरभन्दा ठूला छन् भने क्यान्सरमा रूपान्तरण हुने सम्भावना हुन्छ।
सङ्क्रमण भएको खण्डमा पाक्ने दुख्ने, सामान्य ज्वरो पनि देखिन सक्ने र यसको आयतन बढ्न सक्छ। शल्य उपचारपछिको जटिलता भनेको कसैको खत मोटो हुने, छुँदा दुख्ने, चिलाउने इत्यादि सम्भावना हुन्छ। धेरैजस्तो यस्ता डल्ला टाउको, अनुहार, घाँटी, अण्डकोष र पिठ्युँमा देखा पर्दछन्।
यसरी सबै परामर्श भइसकेपछि बिरामीले कहिले शल्यक्रिया गर्न मिल्छ भनी सोधे। बिरामीले शल्यक्रिया गर्ने निधो गरेको अनुभूति भएपछि मैले उहाँको पारिवारिक आनुवांशिक इतिहास सोध्न सुरु गरँे। मधुमेह र उच्च रक्तचाप वंशमा नभएको थाहा भयो। बिरामीले तीन महिना अगाडि शल्यक्रिया गराउन रक्त परीक्षण गराएका रहेछन्। हेमोग्लोविन र चिनीको मात्रा काठमाडाँैमा ठिकै देखा परेको रहेछ। कुन कारणले त्यसबेला अप्रेसन भएन मैले खोतल्न उपयुक्त सम्झिनँ। शल्यक्रियाको गते, समय इत्यादि सबै लेखेर दिएपछि उहाँ जानुभयो।
दिएको समयमा बिरामी आउनुभयो। यो बेला उहासँग श्रीमती, दुई बच्चा र अरु केही व्यक्ति थिए। बुझ्दै जाँदा उहाँ जनकपुरको बहालवाला न्यायाधीश हुनुहँुदोरहेछ। पिठ्युँमा आयोडिनले पेन्ट गरेपछि फेरि एक पल्ट स्पिरिटले सफा गरँे। बीचमा प्वाल–आँखा भएको एउटा लामो कपडाले शरीर ढाकँे। बिरामी घोप्टो परेर टेबुलमा पल्टिएको अवस्था थियो, प्रत्येक इन्जेक्सन दिँदा कस्तो छ? अलिकता सुरुमा पक्कै दुख्छ होला है भन्दै म बिरामीलाई सामान्य दुखाइ सहन सहयोग तथा अनुरोध गर्दै थिएँ।
अन्तमा शल्यक्रिया गर्नु पर्ने ठाउँ लाटो भएपछि लानगेर्स रेखा अनुरूप इलिप्सोइड– दीर्घावृत्ताकार घाउ पारेर सिबम फोकाको बाहिरी भागसम्म पुगेँ। दीर्घवृत्ताकार र अलि लामो (फोकाको पूरा लम्बाइभन्दा अलि कम) घाउ बनाएर गएको हुँदा त्यो छेउछेउ हुँदै म दुवैतर्फबाट फेदसम्म पुगेँ। ‘मायो कैंची’ले (टुप्पो फर्काएर केही बाङ्गो बनाइएको तर थेप्चो अन्त भएको कंैची) विस्तारै फोको वरिपरिको भागबाट छुट्याएर निकालेँ–सम्पूर्ण एक अक्षत। यो व्यासमा भन्ने हो भने ३.५ से.मि.को थियो। तातो नर्मल सेलिनले भिजाएको गजको टुक्राले भरेर खाँदेर अनि माथिबाट घाउको खाल्टोलाई ३ मिनट थिचेर राखेँ। एक पल्ट वरिपरि आयोडिनले लिपेँ–पुछेँ। त्यसपछि खाँदेर राखेको गज निकाल्दै रक्तस्राव भए नभएको अवस्थाको टुङ्गो लगाएँ।
ओबानो घाउ आँखा र दृश्य अगाडि परेपछि ढुक्क भइकन अप्रेसनको घाउ बन्द गर्ने विचार गरेँ तर पनि पछि केही रक्तस्राव भए पनि ढुक्क हुन खाल्टोमा एउटा सानो जस्ता पाते रातो रबरको टुक्रा निष्काशनका निम्ति राखेर घाउ पूर्ण रूपमा सिलाएर बन्द गरेँ। छालामा टाँका दिएपछि राम्रोसँग च्याप्प थिच्ने गरिकन पट्टी लगाएर बिरामीलाई उठाएँ। अर्काे खाटमा घाउ थिचिने गरी आधा घण्टा सुताएपछि पिठ्युँमा रक्तस्राव छैन भन्ने यकिन गरेर मात्र बिरामीलाई घर जान दिएँ। ४८ घण्टापछि घाउमा राखेको निकास निकालेँ। रक्तस्रावका कुनै लक्षण थिएनन्।
टाँका १२ दिनपछि निकालेँ। घाउ निकै राम्रोसँग जुटेको अवस्था थियो। किन यो शल्यक्रिया मलाई सम्झनामा र लेखनमा आयो? बिरामी थिए गम्भीरमान राजभण्डारी। जनकपुर र जलेश्वर हाम्रो बसाइ सुखद पार्न औधी सहयोग पु¥याउनुभएका व्यक्ति। अहिलेसम्म पनि हाम्रो पारिवारिक सम्बन्ध गाढा छ। उहाँ मेरो साथी मात्र होइन, धेरै व्यावहारिक ज्ञान दिने गुरु तथा अभिभावक पनि। धेरै वर्षपछि जब म वीर अस्पतालमा युरोलोजिस्ट भएर काम गर्न थालेँ, गम्भीरमानजी पेटको समस्या लिएर आफ्नो घर वीरगञ्जबाट काठमाडौं मलाई देखाउन आउनुभयो तर यो दुर्भाग्य थियो। उहाँको पेटमा भएको खराबीलाई मैले अहितकर अर्बुद निवारण गर्न पुगेँ।
म आफैंले आफूलाई अलच्छिन अनुभव गरेँ। कस्तो मार्मिक क्षण। त्यो सिटीस्क्यान मलाई छलेर कतै पुगेको भए कस्तो हुन्थ्यो? सिटीस्क्यान गर्ने चिकित्सकलाई मेरो हराएको र त्रसित तथा बादलले ढाकिएको जस्तो अनुहार लिएर सम्पूर्ण सिटीस्क्यान चित्रहरू एकएक गरी मलाई बुझाउन अनुरोध गरेँ। साथीभाइहरू नै भएकाले कसैले नाइँनास्ती गरेनन् तर यसले झन् मलाई गहिरो चोट थप्यो। त्यहाँ खुद आँखाले प्रष्ट देखँे, आन्द्राको अर्बुद सम्पूर्ण पत्रमा फैलिएर बाहिर पनि पुगिसक्यो। दिसा जाने बाटोलाई झण्डै पूरै बन्द गर्न थालिसक्यो। अब मेरो अगाडि खाली एउटै मात्र विकल्प थियो। रोगको जटिलताको न्यूनीकरण शल्यविधिबाट गर्ने तर त्यो रोग निको पार्ने होइन मत्थर गर्ने मात्र। जीवन चक्रका पछिल्ला पाइलालाई कम कष्टकर बनाउने प्रयास। मैले हामी सबका सर्वमान्य शल्यचिकित्सक डा डीएन गङ्गोललाई शल्यक्रिया गर्न अनुरोध गरँे। उहाँको सहयोगीका रूपमा आफैं समावेश भएँ।
डा गङ्गोल र हामी सबै टोली सदस्य शल्यक्रियाको परिणामबारे खासै आसावादी हुन नसक्ने मलिन र असन्तुष्ट अनुहार र मन लिएर शल्यकक्ष बाहिर निस्क्यौं। त्यसपछिका धेरै महिना मेरो मस्तिष्कमा गम्भीरमान राजभण्डारी, जलेश्वर, जनकपुर
...अतीतको मीठो सम्झनाले स्थान पाइरह्यो। यो अतीत मनमस्तिष्कमा उतार्दै उहाँको सहयोगी हृदयको प्रशंसक बनिरहँे तर पछिल्लो समयमा जब उहाँ जीवनचक्रको अन्तिम पलतिर पुग्नै थाल्नुभएको थियो, एकोहोरो हेरेर हामी चिकित्सक तथा स्वाथ्यकर्मीहरू खाली साक्षी मात्र हुन सक्यौं उहाँको जीवनचव्रm अन्तको। सहयोग गर्न सक्ने अवस्थामा कोही थिएनौँ।
प्रकृतिको नियमनै यस्तै रहेछ– निर्दयी, निष्ठुर कठोर जे भने पनि! गम्भीरमान राजभण्डारीको सिबम थैलीको शल्यक्रियाले मलाई खास गरेर सरकारी कर्मचारी, व्यापारी, धनी तथा धार्मिक व्यक्तिहरू माझ निकै लोकप्रिय गरायो। यस्ता शल्य समस्या हुनेहरू मलाई भेट्न तँछाडमछाड नै गर्न थाले।
मानौँ म हिजोको डा अर्जुनदेव भट्ट थिइँन। मानाैँ थप डिग्री र अनुभव सञ्चय गरेर म रातारात कतैबाट फेरि आइपुगेँ। मेरो मान्यता बढ्यो। मैले ल्याएकै पहिलेकै डिग्रीमा पुनर्मूल्याङ्कन हुन गयो। मानौँ मेरो जाँच भएको थियो। मलाई सर्वेसर्वा प्रथम माझको प्रथम घोषणा गरे। यसपछि मलाई आफ्नो उत्तरदायित्व अझ बढेजस्तो महसुस भयो। मलाई शल्य बिरामीले नयाँ अभिभारा सुम्पेजस्तो लाग्यो। मलाई शल्य क्षेत्र फराकिलो पार्न बाध्यता भयो। मैले भारतको पटनाबाट सर्जरी, प्रसूति र स्त्री रोगसम्बन्धी र हड्डी संलग्न पुस्तकहरू मगाएँ। रुसी भाषामा यी पुस्तकको कमी नभए पनि अङ्ग्रेजीमा मलाई फेरि अध्ययनमा निकै चाख थियो। दुई अलग प्रणाली, सिद्धान्त, वाद तथा भाषालाई सँगै अध्ययन गर्दै जलेश्वर जनकपुरको वातावरणमा, अभावको स्थितिमा कसरी म बढी आफ्नो कार्य कुशलता उपलब्ध गर्न सक्छु त्यसको म खोजीमा थिएँ तर त्यो एक मिनटमा एउटा किताबमा पाइने खोज खानतलास थिएन। त्यो चलिरह्यो सम्पूर्ण अवधि मेरो जनकपुर अञ्चल अस्पतालको बसाईंभरि।
म आफूलाई निकै लाभान्वित पाउँदै गएँ। त्यस्तो तरिकाले आफ्नो कार्यलाई अगाडि बढाउन सफल भएको अनुभूतिले बिरामीले मलाई विभूषित गरेपछि। त्यो समय अहिलेको जस्तो इन्टरनेटबाट धेरै कुरा सिक्न सकिने थिएन। खाली आफूसँग भएका किताब र आफ्नै बिरामीको अध्ययन गरेर कहिले समाप्त नहुने उद्गम–स्रोत अगाडि हुन्थे।
नयाँ कुरा ज्यादै धेरै समय लगाएर कडा परिश्रमबाट मात्र बुझ्न र सिक्न सकिन्थ्यो। अनुभव बढ्दै जाँदा केही सजिलो थपिँदै जान्थ्यो। बिजुलीबत्ती छैन, टुकी र लाल्टिनको भरमा पूर्ण तयारी गर्न रातपछि बिहानमा मिसिन आउन भ्याइसक्थ्यो। वास्तवमा मूल तथा आधारग्रन्थ बिरामीहरू नै थिए। तिनीहरूलाई अध्ययन गर्न खाली जाँगर, चाहना, समय, दयालु मन र खट्ने भावना नै चाहिँदो रहेछ। पूर्ण रूपमा ममाथि समर्पण र विश्वास गर्दै आएका बिरामीमा निरन्तर आफ्नो व्यवहारको र दिएको उपचारको नतिजाको आधारमा म फेल–पासको बिल्ला लगाएर दुःखी अथवा खुसी हुने प्रचुर मौका थियो। सायद त्यो मेरो जिन्दगीको एक उत्तम र स्वर्ण समय र मौका थियो। थियो, त्यो मेरो पेसाको गहिरो र बलियो जग हाल्ने समय। मेरो जीवनकालको अविस्मरणीय पल!
राजभण्डारीजीको शल्यक्रियापछि लगातार मैले धेरै बिरामीको हर्निया, हेमोरोइड, हाइड्रोसिल, सिबम डल्लो इत्यादिको शल्यक्रिया गरँे। अब फरक के हुँदै आयो भने पहिला मलाई बहिरङ्ग विभागमा शल्यक्रिया गर्नुपर्ने रोग आफैं फेला पार्नुपथ्र्याे। त्यसपछि त्यसको शल्यउपचार गर्नुपर्छ भनेर लामो समय परामर्श गरिरहनुपथ्र्याे। अब भने त्यसमा निकै ठूलो सुधार र फरक आयो। शल्यरोगीहरू मलाई आफैं खोज्दै आउन थाले। आजै वा भोलि शल्यक्रिया गरिदिनुहोस् भनी चटारो तथा भनसुन पो गर्न तथा लगाउन थाले। शल्यकक्षमा कार्यरत परिचारिकालाई त्यहाँको व्यवस्था मिलाउन गाह्रो हुँदै आएको अनुभूति हुन थाल्यो। औजारहरू र शल्यकक्षमा उमालेर वा वाफ तथा उच्च चापमा सङ्क्रमण निर्मलीकरण गरेर प्रयोग हुने सामान बाहिरी दबाबले पूर्ण रूपले तयारी नभएकै अवस्थामा प्रयोग भएर घाउ पाक्ने तथा अरु सङ्क्रमण नहोस् भन्ने मेरो मुख्य उद्देश्य हुन्थ्यो। त्यसैले म प्रत्येक पटक शल्यक्रियाको निम्ति समय दिनु अगाडि परिचारिकाहरूको तयारीबारे पूर्ण जानकारी राखेर उनीहरूकै सहमतिमा मात्र अप्रेसन तालिका बनाउँथे।
अर्काे समस्या के पनि थियो भने, औजार तथा कपडा जीवाणुरहित पार्न निर्जीवीकरण यन्त्रको ज्यादै अभाव तथा सीमित सङ्ख्या थियो। बिजुलीको सुविधा भन्नु मात्रको भएकाले मट्टितेल सञ्चालन स्टोभले सबै कुरा धान्नुपर्ने हुन्थ्यो। मट्टितेलको कमी हुँदैन भन्ने कुरै भएन। प्रशासन र परिचारिकाको एक आपसमा रस्साकस्सी– कति मट्टितेल पिएको? बिजुली बरोनीलाइन नाम पाएको भारतबाट आउने तर अस्पताल पुग्नु अगाडि नै मिल उद्योग प्रायः धान कुट्ने मिलभित्रै गायब भइसक्ने। धानबाट निस्केका चामलका मग्मगाउँदा बास्नामा पल्केको बिजुलीलाइन टाढा जानै नमान्ने। त्यहीं थाक्ने त्यही सुत्नु पर्ने। धेरै भात खाँदाखेरिको निद्रा होला नि! बिजुली आएकोभन्दा नआएकै सम्झना बढी। राति सुटुक्क १२ बजे तराईको ठाउँमा कसले सुइँको पाउने! अनि त झन् त्यसलाई धान मिलमै अल्झन, खुदो पल्टने। राति १२ बजे कुन परिचारिकाले औजार तथा कपडा जीवाणुविहीन पार्न सक्ने?
त्यसमा पनि कुन पलमा त्यो गायब हुने हो कसलाई त्यसको अत्तोपत्तो हुने धान कुट्ने मिललाई बाहेक। यस्तै थियो रमणीय अवस्था! पानी पर्दा धोएका लुगा सुकाउन गाह्रो हुने त सामान्य कुरो भइहाल्यो। यस्तो अभाव र बिजुलीको दर्शन मात्रै पाइने अवस्थामा परिचारिकालाई किन शल्यकक्षमा सबै कुरा तयार छैन? भनेर आफ्नो अज्ञानता अबुझता र अरुको समस्यालाई मान्यता नदिने पटमूर्खमा आफूलाई दर्न चाहदैनथेँ।
परिचारिका र शल्य क्रियाकलापमा मलाई सहयोग गर्ने इच्छा भएका मेडिकल अफिसरहरूले गरेको सहयोगप्रति म आभारी थिएँ, छु। उनीहरूले इमान्दारीका साथ काम नगरेर झारो टारेको भए हाम्रा बिरामीहरूमा शल्यक्रियापछि धेरै प्रतिशतमा सङ्क्रमण हुन्थ्यो होला। त्यस्तो भएको भए मेरो सर्जिकल भविष्यमा नै धब्बा मात्र लाग्ने होइन कि त्यसप्रति इच्छाशक्ति नै कम भएर आफूलाई नयाँनयाँ सर्जरी गर्ने चाहनाबाट अलग्याउँदै जानुपर्ने हुन्थ्यो। तर टिम सपोर्ट मलाई उच्चस्तरमा थियो। हामी एक थियौं। आफ्ना सफलता र असफलता सबै हामी ग्रहण गर्न हिच्किचाउँदैनथ्यौँँ। तेरो र मेरो होइन हाम्रो भावना हावी थियो। यी सबैका निम्ति म सधंै ऋणी छु, जति आभार प्रकट गरे पनि कमै हुन्छ। यो मेरो जीवनभरको ऋण हो तिर्नै नसकिने। जीवनभर प्रकट गरिराख्नुपर्ने आभार हो।
यी सबै भूमिकाले यहाँ पुगेको शल्य चिकित्सक भएकोले पनि होला म सर्जरीलाई एक व्यक्तिको कुनको निजी प्रदर्शन भनी लेखाजोखा तथा मानाङ्कन गर्न सक्दिनँ। वास्तवमै जलेश्वर–जनकपुरको सर्जिकल टोली त्यो समयको निम्ति उच्चस्तरीय थियो। सर्जरीसँग सोझै सरोकार नभएका शल्यकक्ष भित्र घुसेर हात धुने र मास्क लगाउन नपर्ने मेरा त्यस बेलाका अरु चिकित्सक साथीलाई मैले बिर्सने कुरै भएन। तिनीहरू जनकपुर अञ्चल अस्पताललाई उच्चस्तरीय बनाउन खटेका थिए अहोरात्र। सबैप्रति म आभारी छु।