सन् १९७४– १९७५ को जलेश्वर। जताततै भोका मान्छे मात्रै दृश्यमा बादल लागेका अनुहार र हराएको जाँगर लिएर यताउता गरेका देखिन्छन्। लाग्छन् ती हड्डी र चर्मबाट मात्र लेपिएका हुन्। अनुहारमा खुशी भेटाउन दुर्लभ। गलित भए पनि चहार्छन्, ती पेट शान्त पार्न खेत, हाटबजार, हाँक्छन् बयलगाडा, बोक्छन् भारी, टोकरी टाउकामा धरहरा बनाई।
शल्यचिकित्सक भएकाले बहिरङ्ग विभागमा शल्यविकृतिमा संलग्न बिरामी हेर्ने प्रयत्न गर्थेँ। सधैँको जस्तै एकदिन तर एक अग्लो र दुब्लो व्यक्ति एक्कासी बहिरङ्ग विभागभित्र घुस्यो। थियो ऊ दुब्लो तर अनुहार हुनुपर्नेभन्दा फेरिएको जस्तो। मानौं सिंहको आकृति उसमा टाँसिएको छ। अनुहारमा गिर्खाहरू देखा पर्छन् खास गरेर आँखा नजिक। उसको दुहाइ थियो ‘हातखुट्टा कमजोर भए औंँला खुम्चिँदैनन्। ती यति विषम अवस्थामा छन् कि आगोले पोल्दा पनि शुद्धि पाउँदैनन्। पूर्ण चेतना हराएका। आँखाले देखुञ्जेलसम्म पनि भाग्दैनन्। चोट लागेर रगताम्मे हुँदासम्म पनि ऐया भन्ने सङ्केत गर्दैनन्।’
आफ्नो खुट्टा उठाएर पैताला फर्काएर देखायो उसले। त्यहाँ घाउ होइन भ्वाङ् थियो। म आश्चर्यमा डुबेँ। पढेको थिएँ तर आफ्नै आँखाले यस्तो दृश्य कहिले पनि देख्न परेको थिएन। मनै कुँडियो उसप्रति दया, माया, श्रद्धा, करुणा सबै जागे। मुख्यतः आफ्नै मस्तिष्क रन्थनिएला जस्तो भयो।
मानव! तँ कतिसम्म दुःख, दर्द, पीडा, सास्ती र अपमान सहन सक्छस्? खुट्टामा भ्वाङ् लिएर सोझै हड्डीले टेक्दै ऊ हिँडिरहेको थियो। बिना चप्पल, जुत्ता, चट्टी। ऊ टेक्थ्यो हिँड्थ्यो ऐया आत्थु केही नभनी। मेरो मस्तिष्कमा एक्कासी ट्रपिकल डिजिजमा ‘लेप्रोसीको क्लास’ लिइरहेको सेतो गावन, सेतै टोपी र ढपुल्के चश्मा लगाएको प्रोफेसरको सम्झना आयो सन् १९६८ को। यो अतीतको सम्झनाको लहर जलेश्वरमा वर्षायामको साँझतिर चम्कने बिजुलीजस्तै भइरह्यो। मेरो मस्तिष्कमा। मैले बिरामीलाई हात देखाउन भनेँ। त्यहाँ थुप्रै फुस्रा टाटा थिए। पहिला कपासले, पछि सियोले छुँदा पनि ऊ स्पर्श महसुस गर्दैनथ्यो। त्यस्तै उसको अनुहारमा भएका गिर्खाको अवस्था थियो पुरै चेतनशून्य। हातखुट्टा मानो पक्षाघातले पीडित छन्। ऊ आँखासमेत पूरा बन्द गर्न सक्दैनथ्यो। आँखीभाँैको भित्री भागतिर दुवैतिर डल्ला।
कुष्ठरोग संसारका सबै विकासोन्मुख देशमा बढी व्याप्त रोग हो तर पनि भारत, चीन र नेपालमा यो रोगबाट थुप्रै पीडित छन्। त्यसैले जलेश्वरमा एक्कासी यस्तो बिरामी फेला पर्नु कुनै आश्चर्य थिएन। प्रत्येक दिनजस्तै बहिरङ्ग विभागमा यस्ता बिरामी आउने गरेका रहेछन् तर ती यस्ता ठूला घाउ नभएका हुनाले मेडिकल बहिरङ्ग विभागबाटै घर जाँदा रहेछन्। त्यो दिन खुट्टाको ठूलो हड्डीसम्मै गहिरिएको घाउ भएकाले मसँग पठाउनु परेको रहेछ।
कुष्ठरोग टी.बी. रोग उत्पन्न गर्ने किटाणुका नातेदारबाट नै हुन्छ। माइक्रोब्याक्टेरियम लेप्रे भन्ने किटाणु कुष्ठरोग–लेप्रेसीको कारक हो। यो किटाणु कसरी एक बिरामीबाट अर्काेमा सर्छ त्यो सतप्रतिशत वैज्ञानिकहरू अझै पनि भन्न सक्ने अवस्थामा छैनन्। सम्भवतः विभिन्न तरिकाले यी किटाणु सर्दछन्। नाकबाट निस्केको तरल पदार्थ कणको रूपमा वायुमण्डलमा छरिएर यो रोग सर्छ। अर्काे तरिका हो किटाणुको केही हिस्सा जमीनमा परेर वा अमिबा भन्ने एककोष भएको सूक्ष्मजीव–जसले पेट खराब गर्ने, आँउ–रगत पार्ने वा कलेजोमा पीप उत्पादन गर्दछ द्वारा पनि यो रोग सर्न सक्छ। त्यसैले यो रोग शहरमा बस्नेभन्दा गाउँघरमा बस्नेमाझ बढी देखा पर्दछ। सबैभन्दा आश्चर्य त कुष्ठरोगको किटाणु मानिसको शरीरभित्र प्रवेश गरेपछि रोग उत्पन्न गर्न दुईदेखि चालीस वर्षसम्म लाग्न सक्छ।
म अतीत सम्झँदैछु। मेरो प्रोफेसरले भनेको ‘ठान्नुस् यो रोगको इन्क्युवेसन पेरिअड एक जुग १२ वर्ष हुन्छ। त्यसैले आज संक्रमित भएको व्यतिmमा रोगका लक्षण १२ वर्षपछि फेला पर्छन्। यस अर्थमा यो रोग ज्यादै दुच्छर छ तर राम्रो पक्ष के छ भने करिब ९५ प्रतिशत मानिस संसारमा यो रोग प्रतिरक्षित छन्।’ जलेश्वरको बहिरङ्ग विभागको सतही आँकडाले पनि भन्छ कि कुष्ठरोग त्यो भेगमा ज्यादै व्यापक छ तर पछिल्लो समयमा खास गरेर डापसोन दिनको एउटा खाने बिरामीमा प्रायः हातखुट्टाको औंला झर्ने र खुट्टामा नराम्रा घाउ कमै देखापर्छन् तर पनि कुनै बिरामीलाई असर गरेन भने औषधि सेवन गर्दागर्दै पनि रोगले उग्ररूप देखाउन सक्छ। आजको दिनसम्म पनि संसारभरि देखापर्ने नयाँ बिरामीको ६० प्रतिशत भारतमा मात्र हुन्छन्। हामीले ख्याल राख्नै पर्छ कि भारतसँग हाम्रो खुला सीमाना मात्र होइन कि आवतजावत र रहनसहन पनि घनिष्ट छ।
संसारभर पनि प्रत्येक वर्ष लाखौं कुष्ठरोगी थपिदै गएको तथ्याङ्क छ। घाउ भइसकेपछि कुष्ठरोगमा उपचार ज्यादै लामो र झञ्झटिलो हुन्छ किनकि कुष्ठरोगका किटाणुले सीमावर्ती नसा, छाला, आखाँ, नाकको झिल्ली, मृगौला र शुक्रग्रन्थीलाई नराम्रो असर गर्छ। नसा, स्नायुलाई क्षति पुर्याएपछि हात, खुट्टा लाटा हुन्छन्। हातखुट्टाका मांशपेशी कमजोर हुन्छन्। रोग निदानमा छालाको वायोप्सी गर्ने चलन भए पनि जलेश्वरमा त्यो कल्पना पनि गर्न मिल्दैनथ्यो तर रोग निदान बिरामीको अनुहार, हातखुट्टामा देखापरेका संवेदनहीन फुस्रा दाग, हातखुट्टाका औँलाको अवस्था र नदुःख्ने खुट्टाका घाउ देखेपछि बायोप्सीको अभावले खासै असर गर्दैनथ्यो।
बहिरङ्ग विभागका सबै बिरामी हेरिसकेपछि म आफैं कुष्ठरोगीको डे«सिङ् गर्नपट्टि लागे। घाउ गोलो, हड्डीसम्मै गहिरो, हलुकासँग वरिपरि थिच्दा पीपजस्तो तरल पदार्थ अलिथोरै मात्रामा निस्कने तर बिरामी जे गर्दा पनि रत्तिभर पीडा अनुभव नगर्ने। आयोडिनले सबैतिर सफा गरेपछि हाइड्रोजन परअक्साइड मिसाएर सेलिनले धोएँ। त्यसपछि म्यागसल्फ राखेर गजले ढाकेँ। माथिबाट हलुकासँग गज ब्यान्डेजले बाँधेँ। हामीसँग भएका पहेंला भिटामिन बी कमप्लेक्सका चक्की दिएर पठाएँ। एकदिन बिराएर डे«सिङ् गर्न आउन सुझाएँ। नभन्दै दिन बिराएर आउन थाल्यो। म सधैँझैँ पट्टी फेर्ने गर्थेँ। एक हप्तापछि मात्र घाउ सफा लाग्न थाल्यो तर दानादार रातो, छुँदा रक्तस्राव हुने तन्तु पलाएको देखिएन। अर्काे हप्ता दुईपल्ट मात्र सफा गरेँ। हो होइन दानादार तन्तु छेउमा पलाउन थालेको जस्तो देखा पर्यो। मनको चाहना कि वास्तविकता यकिन अझै छुट्याउन छिटो। त्यसपछि खाली भ्यासलिन गज राखेर पाँचदिनमा एक पल्ट। दुई हप्तासम्म ड्रेसिङ गर्दै गरेँ ज्यादै विस्तारै तर घाउ पुरिदै आयो। अढाईं महिनामा घाउ पुरियो तर अझै छालाले ढाकेन। बिरामीलाई हप्ताको एकपल्ट बोलाइराखेँ, घाउलाई हेर्न।
चार महिनापछि मात्र घाउ ड्रेसिङ गर्न नपर्ने अवस्थामा पुग्यो तर सुझाए अनुरूप बिरामीले खुट्टा सफा नराख्ने, चप्पल वा जुत्ता नलगाउने र त्यो भर्खर पलाएको घाउलाई जथाभावी हिँड्डुल गरेर फेरि बल्झाउला भन्ने मेरो चिन्ता थियो। अब बिरामीलाई महिनाको एकपल्ट आउन भनँे। उद्देश्य थियो आफूलाई उसको खुट्टाको अवस्था अवगत गराउन, थप परामर्श गरेर सरसफाइमा ध्यान दिन लगाउन। बिरामी सुझाए अनुरूप आइरह्यो। घाउ राम्रो अवस्थामा। ऊ चप्पल विना कहिल्यै आएन।
अब मलाई जलेश्वबाट जनकपुर जानुपर्ने भयो अञ्चल अस्पताल उता सर्र्याे हुनु पर्ने ठाउँमा। बिरामीलाई मैले बिचैमा हराएँ तर आशा गरिरहेँ उसले ड्यापसन दिनको एउटा खान छोडेको छैन होला। खुट्टा सफाइमा पनि आफ्नो ध्यान लगाएकै होला।
अर्काे एउटा रोचक सम्झना छ तर सर्पले टोकेको बिरामीको ..........। रातको समयमा शौच गर्न बाहिर निस्कने जलेश्वरको सामान्य दैनिकी थियो धेरैका घरमा। एक जना करिब ६० वर्षको पुरुषलाई राति एक बजेतिर शौच गर्न बाहिर जानै पर्ने भएछ। सधैँझैँ ऊ त्यो रात पनि छामछुम गर्दै बाहिर निस्क्यो। ढोकाबाट बाहिर निस्केर खरको छाना र भँैसीको गोबरले गुइठा बनाउन सिंगारिएको घर पछाडि हुँदै, छामछुम गर्दै दुई पाइला ऊ बारीतर्फ लाग्यो। आँैसीको रात दाडिमको चुकजस्तै कालो। बसेरै त्यहाँ शौच गर्यो। उमेर सुहाउने गरेर शौचको समय केही लामो एक दुईपल्ट अन्तमा कन्दै पिसाब निखार्यो तर पूर्ण निख्रेको सन्तुष्टि पाएन। आँखा चिम्लेरै कनेर फेरि अलिकता पिसाब निकाल्यो सन्तुष्टि बढ्यो। हलुङ्गो अनुभव, कत्ति न भारी बिसाएको जस्तो। उठ्यो आफ्नो ठाउँबाट फनक्क फर्केर खर र गुइँठाले सिँगारिएकै घरतिर विस्तारै खुट्टा चाल्यो। आएकै बाटो ती खुट्टा फर्किन खोज्थे तर किन हो मानाँै त्यसै ढिलो पाइला चल्छन्। नलड्न हिँड्दा निकै बिस्तार र हातले केही टेको लिदै अगाडि सर्यो। ढोकै अगाडि दलिनमा केही समात्दा हातमा चिसो अनुभूति भयो। ऊ झस्क्यो र छिटो हात निकाल्यो तर त्यो अगाडिनै कुनै कुरोले औंला घोचेको भान भयो।
घोचियो होला चोइटोले कुन ठूलो कुरो भया,े उसको मनले शान्त्वना दियो। छिर्यो कोठामा अर्धनिद्रा जस्तोमै। सधैँझैँ ढोका ढप्कायो र खाटमा पल्टियो। निन्द्राले पुरै त छोडेकै थिएन तुरुन्तै निदायो। घुर्ने बानी शुरु गरिहाल्यो घुर्न। यत्तिमा संगै सुतेकी जहानको निद्रा बिउझियो। टर्चलाइट बाली र बिस्तारै लोग्नेले जस्तै ढोका बाहिर गएर घरको पछाडि शौच गरी र कोठामा फर्किई। श्रीमान उठे र आँैला छामे। ‘किन दुःख्छ यो? बर्बराउन थाले।’ श्रीमतीले सुनिहालिन् र टर्चलाइट बालिन्। सोधिन् ‘के दुःख्छ?’ श्रीमानले आफ्नो दुःखेको आँैला अघि सार्यो। केही रगत लागेको र निकै फुलेको औँला। ‘के भएको?’ श्रीमतीले त्रासको भावना मिसाएर सोधिन्। ‘अघि शौच गर्न जाँदा केले घोचेजस्तो लागेको थियो’ जवाफ श्रीमान्बाट आयो। मन चस्क्यो श्रीमतीको।
‘राति कतै सर्प त थिएन? फुल्यो यसरी किन?’ ऊ नकरात्मक सोच र कल्पनामा डुबी। के हुने हो? के भएको हो? कस्तो सर्प? मध्य रात छ। कतै गइहाल्ने कि? जहाँ गए पनि तीन चार घण्टा नभई पुगिँदैन। सबै चुर निन्द्रामा छन्। कसले लगिदिन्छ? कोसँग जाने? सबेरै बरु ४ बजे नै उठेर पल्लोघरको बयलगाडामा जानु पर्ला। योजना बन्यो जाने समय निर्धारण भयो। कोसँग केमा जाने यकिन गरिन् अनि सुत्न खोजिन्। श्रीमान घुरेको सुन्दा टर्च बालिन् नजिक गइन्, हात हेरिन्। टर्चलाइटको तारो बनाउदै घाउ भएको फुलेको औँंला। सोधिन् दुःख्छ? वृद्ध दुई तीनपल्टको प्रश्नमा झस्कदै उठे र आफ्नै हात र औँला हेरे–अनि छक्क परेर भने दुःख्दैन!! बरु लाटो पो भएछ। फेरि दोहर्याएर हेर्यो अनि आश्चर्य मान्दै भन्यो कोखासम्मै पो पैmलेछ, डल्लै भएछ।!!! कस्तो फुलेको? किन फुलेको यति घोचिँदैमा। मेल खाएन बरु दुःख्न पो पर्ने.....।
रात बित्दै गयो। श्रीमती खाटमै ढले पनि फुट्टी निद्रा छैन। सर्पदंशको नाना भाँती अप्रिय दृश्य र परिणाम सोच्दै बिहान बोलाउन सफल भइन् तर उनको आँखामा निद्रा अभावको पिरो थिएन। शरीरमा ऊर्जा उम्लिरहेको छ चारबज्यो होला बर्बराउँदै खाटबाट निस्किइन्। एक गिलास भरी पानी पिएर शौच गर्न गइन्। रातिकै बाटो। अनि यसो कान थापेर पल्लोघरबाट केही आवाज आउँछ कि पर्खी बसिन् तर मन थाम्न सकिनन्–त्यतै लागिन्। खरको छानो भएको घरमा लौरोले ट्वाक ट्वाक गरिन्। गाडावाला ढोका क्वाइँय गर्दै निस्क्यो। कता यति बिहानै? सोझै प्रश्न तेर्सायो। नपरी किन आउँथँे? लोग्नेलाई हातमा राति सर्पले टोकेजस्तो छ। अस्पताल लैजाऊँ भन्न। ....हुन्छ आउनुहोस्....। श्रीमती आत्तिँदै श्रीमान् उठाउन गइन्....। उठ बूढा अस्पताल गाडामा जाऊँ। होसै नभएको जसरी उठ्यो श्रीमान र चारपाँच पल्ट अघाउने गरी खोक्यो। ढोकाबाट अलिपर गई पूर्णबलले खकार सक्दो पर थुक्यो अनि बल्ल झस्क्यो औँला,हात त निकै फुलेछ। हेरेको हेरै गरिरह्यो आफ्नै हातलाई मानौंँ कहिल्यै नदेखेको विचित्रको हात।
छेस्काले घोच्दा यति धेरै किन फुल्यो? मनमनै शङ्कामा डुब्न थाल्यो .... तर सर्पदंश होला र? भन्दै आफूलाई नराम्रो परिणामबाट टाढा राख्न खोज्यो....। हल्लाउँदै घिच्याउँदै लग्यो गाडाले जलेश्वर अस्पताल, श्रीमती छट्पटिँदै थिइन्– अलिकुदाउन, छिटो पुर्याउनु पर्छ। यो बिचमा गाडावालाको सल्लाहले शुरुमै फुलेको हात कस्सेर बाँधे डोरीले फेला परेकै गाडाको छेउमा। वृद्ध कराउँदैथ्यो “दुख्छ नकस धेरै।” तर गाडावालालाई धेरै कसेजस्तो त लागेन। फुकालेर आफ्नै गम्छाकै माथि बाँध्यो उसले। श्रीमती झस्की। ‘निद्रामा मैले होसै गुमाएँछु। हिजो बाँधेको भए बिष सर्ने त थिएन कि? जताततै कल्पना र शङ्काकै राज!! पुरानै चलन, तरिका र सोचाइकै जीत!!!.....। हात बाँध्दा गाडावाला बर्बरायो सर्पदंश हो। देखिनौ दुईटा डोब–विषदन्त फ्याङ्गका छाप सतप्रतिशत प्रमाण। के खोजेका अरु.........।
बिहानी उज्यालो यत्रतत्र र हतारले घुस्दै थियो हुर्रिएर। आहत बिस्तारै खासै केहीमा पनि सरोकार नराख्ने हुँदै गयो। एकपल्ट बान्ता गर्यो। श्रीमती कराइन् ‘लैजा गाडा अलि नहल्लाउने गरी।’ बाटै यस्तो छ कता मोडूँ गाडा! आहतको दृश्य धमिलो र अस्पष्ट हुँदै गयो। हातगोडा झन्झनाउँदै गए। मानौँ सिस्नोले कतै झ्याप्पै छोयो। वृद्धको टाउकोमा बाँधेको फेटा मुनिबाट पसिनाको धारा छुट्न थाल्यो। घाम चर्काे छैन– बिहानी नरम किरणप्रकाश आत्मा खुशी पार्ने। पसिना किन? कहाँबाट? बूढीले आफ्नै धोतीको छेउले पुछिदिइन्। फेटा अल्लि माथि सारिन् अनि केही खुकुलो पारिन्। मुटुको धड्कन वेगमा थियो आहतको। बिरामी कता कता शुद्धि हराएजस्तो हुँदै आयो चारैतर्फ सिर्फ अस्पष्टता। वरिपरि को के बोल्दैछन् को के गर्दैछन् , कहाँ पुगे खासै अड्कलै पाएनन् चालै छैन मानाँै ऊ रातको अपूरो निद पूर्तिमै व्यस्त छ। बाँधेको हातमात्र होइन सम्पूर्ण शरीर फुलेझँै भयो –ओसायो सास फेराइमा फरक आयो। छातीतिर घ्याघ्र्यार मानौँ कफै निकाल्न नपाई अल्झिरहेछ। नाक र मुखबाट रगत निस्केजस्तो लाग्यो। बूढीले नियालेर हेरी कताबाट यो रगत?
ऊ रन्थनिएजस्तै भई। के भयो मेरो बूढोलाई? उसले वृद्धको निधार, गाला, चिउँडो सुम्सुम्याई। मेरो मालिक! ऊ मनमनै चिच्याई। एकछिन् उसले पूर्ण रूपमा बिर्सिई कहाँ जाँदैछिन्। कुन ठाँउ पुगिन्! सरोकारै राखिनन्। एक्कासी उनी फेरि बिउझेझंै भइन्। मेरो बूढो राति शौच गरेपछि अहिलेसम्म बाहिर गएको छैन। मूत्रथैली भरियो होला उनले आफैं अट्कल काटिन्। यो बिचमा आहतपूर्ण अचेत भइसकेको थियो। कुनै दोहोरो कुरै थिएन। उसका हातखुट्टा पूर्ण रूपमा लुला। हातखुट्टा तान्ने फर्काउने उठाउने शक्ति एक घण्टा अगाडि नै हराइसकेको थियो।
अस्पताल हाताभित्र गाडा रोकियो। गाडावाला करायो सर्पदंश बूढो मान्छे। स्टेचर लिएर दुईजना कुदे गाडातिर। आहतलाई सबै मिली स्टेचरमा राखे। बिचमा एउटा कुचिकार समाल्नै नसकी स्वस्फुर्त कुदी डाक्टर क्वाटर। चिच्याई टाढैबाट ‘डाक्टर बाबु सर्पले टोकेको बिरामी।’ कति उत्तरदायी ती कुचीकार! कति स्वस्थ मन सेवाभाव बिरामी बचाउन!!!. जब मेरी श्रीमतीले त्यो केटी कुचीकार कराएर डाक्टरबाबुको गर्जन सुनिन्, दौडँदै म खाइरहेको ठाउँमा कुचिकारको सङ्कट विगुल दोहर्याइन्।
बिहान आठ बजे म भातै खान्थेँ। पौने ९ बजे अस्पताल पुग्न। दुई घुट्का पानी पिउँदै र मुख पखालेको नाटकीय व्यङ्गयोक्ति गर्दै कुदँे चप्पलमै आकस्मिक कक्ष। वृद्ध बिरामी, मेडिकल अफिसर र परिचारिकाहरू पुनर्जीवित रिसस्सीटेट पार्न न्वारानदेखिको बल र भ्रूण अवस्थादेखिकै बुद्धि खर्च गर्दै थिए। वृद्ध बिरामीको जीवन फर्काउन– वृद्धलाई जीवन प्रदान गर्न अनि आफू हर्ष र आत्मसन्तोषको सास फेर्न। एक अर्की नर्स आहतकी श्रीमतीलाई सम्झाउँदै थिइन्। उसका छरिएका कपाल मिलाउँदै। सात दिने झरीमा आकाश घोप्टिएजस्तै विनाविश्राम निरन्तर पोखिएका आँखा र हृदयका भेल पुछ्दै...। ‘ढिलो भयो.... आधा घण्टा, एक घण्टाअगाडि भए सायद केही गर्न भ्याउथ्यौं कि!!!.....कस्तो दुर्भाग्य सहयोग गर्नै पाएनौं’....।
म नजिकै उभिएर सोचिरहेको थिएँ ‘हिजोमात्र स्वास्थ्य विभागबाट डा रामबहादुर सिंहले ल्याउनु भएको सर्प विषमारक औषधि दिएर बचाउन पाएको भए कति खुशी हुन्थ्यौंँ। हाम्रा अगाडि थिइन् सृष्टिकर्ता वृद्धा तर स्वतन्त्र जीवन भर्खरै खोसिएकी। सर्पदंशको शोकमा बादलले ढाकेको अनुहार बोकी सम्पूर्ण जीवन समाज र संस्कारको जाँतोमा फालिएकी! तुरुन्तै अनुकम्पाबिना बनिन्। चौतर्फी विकासमा सामाजिक कुरीतिको लगाम कसेर अगाडि बढेजस्तो गर्ने सरकार, समाज र हामी जनता सतही उन्नतिमा रमाउँछौँं।
कुष्ठरोगका घाउको हड्डी स्पर्श रोक्न हामीले के गर्यौं? सर्पदंशबाट जोगाउन के बिजुली, पानी शौचालय भएका मानिस बस्न युग सुहाउँदा घर सबैलाई निर्माण गरेका छौं? सडक सञ्जाल र साधनसम्पन्न स्तरीय अस्पताल व्यावहारिक पहँुचभित्र खडा गर्न के कार्य भएको छ? विवेकी मानिसबाट के सबै छिपाउन सकिन्छ?