'नियमित पानी परेसँगै डेंगु संक्रमित बढ्न थाले, थप सचेत रहन आग्रह’, धरानमा डेंगुको महामारी, अन्य रोग पनि फैलने जोखिम’,धरानमा डेंगुबाट ६ जनाको मृत्यु।'
यी र यस्तै समाचारहरु आजभोलि आइरहेका छन्। धरानमा ६ जनाले जीवनगुमाइ सक्नुभएको छ। आखिर के हो त हरेक वर्ष वर्षाको बेलामा फैलिने डेंगु? लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको भाइरल रोग डेंगी (डेंगु) हो। हड्डी भाचिए जस्तै दुख्ने भएकोले ब्रेक बोन फिबर पनि भनिन्छ। संक्रमित एडिस एजिप्टाई र एडिस एल्बोपिक्टस जातको पोथि लामखुट्टेको टोकाइबाट सर्ने यो रोग एउटा मानिसबाट अर्काेमा सोझै सर्दैन।
एडिज लामखुट्टे कालो रंगको हुन्छ, जसमा सेतो थोप्लो पनि देखिन्छ। संक्रमित लामखुट्टेले बिहान–साँझ टोक्ने गर्दछ। डेंगु जुन उमेर समुहकालाई पनिलाग्न सक्दछ। वर्षातको समयमा यसको प्रकोप बढ्न थाल्दछ। लामखुट्टेले टिनका र रंगका खाली डब्बाहरु, सिसी,टायर, अन्डाका बोक्रा,गमला, पानी ट्यांकी जस्ता पानीजम्ने भाँडा लामखुट्टेलाई फुलपार्न सुरक्षित स्थान हुन्। विश्व स्वास्थ्य संगठनका अनुसार, विश्वका करिब आधा जनसंख्या डेंगुबाट संक्रमित हुने खतरा छ।
कसरी सर्दछ?
लामखुट्टेले जब एउटा डेंगु रोगीलाई टोक्दछ, सो व्यक्तिबाट उसले डेंगु भाइरस लिन्छ। जब त्यो लामखुट्टेले अरु मानिस वाजनावरलाई टोक्दा भाइरस पनि छोड्दछ। डंगु ज्वरोबाट पिडित बिरामीलाई टोकेको स्वस्थ लामखुट्टेमा पनि डेंगु भाइरसको संक्रमण हुन्छ र सो लामखुट्टेले अरुलाई टोक्दा भाइरस सर्दछ। डेंगु भाइरस बोकेको लामखुट्टेले आफ्नो प्रत्येक अण्डामा पनि भाइरस सार्दछ। त्यसबाट जन्मेका लामखुट्टेले डेंगु भाइरस बोकेको हुन्छ। यसका साथ साथै, अव्यवस्थित शहरीकरण, अव्यवस्थित फोहोरमैला, ढल निकासी, घना बस्तीका कारण प्रकोप बढेको छ। मौसम परिवर्तनको कारणले पनि डेंगुको संक्रमण बढाउन सहयोग गरेको पाइएको छ।
लक्षणहरु
डेंगु लागेको २ देखि ७ दिनमा यस्ता लक्षणहरु देखिन थाल्दछ
एक्कासी ज्वरो आउने, कामज्वरो आउने
बेस्सरी टाउको दुख्ने
आँखाको गेडी दुख्ने, आँखाको पछिल्लो भाग दुख्ने
ढाड, जोर्नी तथा मांसपेशी दुख्ने
हड्डी भाचिए जस्तै दुख्ने
वान्ता हुने
वाक्वाकी लाग्ने
पेट दुख्ने
शरीरमा बिबिरा आउने
एकपटकभन्दा बढी डेंगु लागेका बिरामीहरुलाई झनगाह्रो हुन्छ। रक्तचापमा अचानक गिरावट,गम्भीर रक्तस्राव हुने, धेरै पेट दुख्ने, बान्ता भइरहने, गिजाबाट रगत बग्ने, थकान महसुस गर्ने, कालो दिसा आउने, वान्ता गर्दा रगत देखिने, श्वासप्रश्वासमा समस्या आउने,नाकबाट रगत आउनेदेखि बिरामी बेहोस हुन सक्ने सम्मको अवस्था सिर्जना भयो भने जटिल खालको डेंगु भएको बुझिन्छ। विश्व स्वास्थ्य संगठनको अनुसार, छिटो रोग पत्ता लगाउन सकियो र आवश्यक चिकित्सकीय सेवाको मद्दतले मृत्युदर १ प्रतिशतभन्दा कम गर्न सकिन्छ।
पहिलो पटक डेंगुको बिरामी नेपालमा सन् २००५ मा देखिएको थियो र डेंगुले महामारीको रुप २००६ मा लिएको थियो। तराई तथा मधेशी क्षेत्रमा देखिने डेंगु सन् २०१८ देखि काठमाडौँ, भक्तपुर, ललितपुर तथापोखरा जस्ता पहाडी जिल्लामा देखिन थालेको छ। विश्व स्वास्थ्य संगठनको सहयोगमा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय(२०१५) द्वारा प्रकाशित नेपालमा जलवायु परिवर्तनले गर्दा स्वास्थ्यमा देखिने संकट र अनुकुलतासम्बन्धी रिपोर्टले पनि डेंगुलाई मौसम संवेदनशील रोगको रुपमा पहिचान गरेको छ। विपिनकुमार आचार्य र उहाँको समूहले प्रकाशित गरेको अध्ययनले सन् २०५० देखि २०७० सम्ममा डेंगुको महामारी उच्च भेगमा देखिन सक्ने अड्कल गर्नुभएको छ। जुन जनस्वास्थ्यको हिसाबले गम्भिर र डरलाग्दो कुरा हो।
धरानको वर्तमान स्थिति रहिरहने हो भने डेंगुले सन् २०१९ मामहामारीको रुप लिएको दृश्य फेरि नदोहोरिएला भन्न सकिन्न। सरकारले लामखुट्टेको लार्भा खोज तथा नष्ट गर्ने अभियान’का साथै जनस्तरसम्म डेंगु रोकथाम तथा नियन्त्रणका लागि सचेतना कार्यक्रम सञ्चालन गरेता पनि प्रभावकारी हुन सकेको छैन। डेंगु बिरामीको चाप अत्याधिक हुनुका साथै इमर्जेन्सी बेड भरिन थालेपछि यही आइतरबाट (साउन७) देखि बि.पी. स्वास्थ्य विज्ञान प्रतिष्ठानले डेंगुलाई भनेर नै डेडिकेटेड अस्पताल सञ्चालन गरेको छ। अस्पतालले छुट्टै डेंगु क्लिनिकदेखि त्यसकै निम्ति डेडिकेटेड अस्पताल सञ्चालन गर्नुले, डेंगु समुदायस्तरमा फैलिइसकेको भन्दा फरक नपर्ला। धरानमै यस महारीलाई रोक्न सकिएन भने यसको कारणले हुने बिरामी दर तथा मृत्युदर अझ बढी हुनेछ।
सन् २०१० देखि डेंगुका बिरामी घटेता पनि केहि वर्षदेखि फेरि बढ्न थालेको छ। हालै प्रकाशित स्वास्थ्य सेवा विभागको रिपोर्ट अनुसार, आ.व.२०७८–७९मा ६२ जिल्लाबाट ७३३ बिरामीहरु दर्ता भएका छन् जसमध्ये संखुवासभा, काठमाडौँ, धादिङ र रुपन्देही प्रमुख जिल्लाहरु हुन्। पछिल्लो पाँचवर्षको डेंगुका बिरामीको तथ्यांक नियाल्दा, आ.व. २०७८–७९ मापहिलो पटक ओखलढुङ्गा, काभ्रेपलान्चोक, रामेछाप, जुम्ला र कालिकोटमा बिरामी देखिए।
सन् २०२२ मा ५४,७८४ जना डेंगुका बिरामी भएका थिए भने ८८ जनाको मृत्यु भएको थियो। त्यसैगरी, आ.व.२०७७–७८ मा सबैभन्दा बढी डेंगुका बिरामी म्याग्दी जिल्लाका थिए। सो आ.व. मा ५१ जिल्लाबाट ४८९ डेंगुका बिरामी दर्ता भएका थिए। लम्जुङ,नवलपरासीपुर्व, बर्दिया, जाजरकोट, रुकुमपश्चिम, बझाङ,बाजुरा, बैतडि र डोटी जिल्लाहरुमा पनि आ.व. २०७७–७८ बाट बिरामीहरु देखिन थालेका छन्। तराईको रोग भनेर बुझिने डेंगु पहाडी र हिमाली क्षेत्रमापनि देखिन थालेको छ। डेंगु आषाढ महिनाबाट संक्रमण दर बढ्दै भाद्र र असोज (आश्विन) महिनामा उच्च भई क्रमश घट्दै जाने प्रवृति छ।
नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, इन.टि.डि तथा किटजन्य रोग नियन्त्रण शाखाले डेंगु तथा अन्य कीटजन्य रोगको रोकथाम, नियन्त्रण, निवारण तथा व्यवस्थापनको लागि आवश्यक कानूनी प्रावधान तयार गर्नका साथै समन्वय तथा सहयोग गर्दछ। तर सरकारले डेंगु सम्बन्धी दीर्घकालीन रणनीतिक योजना बनाउन सकिरहेको छैन। जसले गर्दा हरेक वर्ष हुने प्रकोपको सामना गरिरहनुपरेको छ। डेंगु रोकथाम तथा नियन्त्रण कार्ययोजना (माघ २०७९ देखि पौष २०८० सम्म)अनुसार २०७९ सालमा ७७ वटै जिल्लाहरुबाट डेंगु रोगका बिरामीहरु दर्ता भएका थिए। कार्ययोजनाले डेंगुको अवस्थाका बारेमा थप उल्लेख गर्दै ८८ जनाको मृत्युमध्ये आधाभन्दा बढीको उमेर ५५ वर्ष वा सोभन्दा बढी भएको तथा उनीहरु दीर्घरोगीका साथै निमोनिया, स्क्रब टाईफस जस्ता रोगहरुबाट पनि पिडित थिए। जनस्वास्थ्य सेवा नियमावली २०७७ ले पनि आभारभूत स्वास्थ्य सेवा अन्तर्गत सरुवा रोगसम्बन्धी सेवामा डेंगुको परामर्श तथा प्रेषणलाई पनि समावेश गरेको छ।
रोकथाम
लमखुट्टेले फुलपार्ने वातावरण प्राप्त गरिरहेको कारणले हामी यसबाट बच्न सकिरहेको छैनौँ। लामखुट्टेको लार्भा नष्ट गर्नु नै उत्तम उपाय हो। पानीजम्न सक्ने ठाउँमा पानी जम्न नदिइ नियमित सरसफाइ गर्नु जरुरी छ। आफ्नो घर वरिपरि सफा गर्नुपर्दछ। घरको झ्यालढोकामा जाली लगाउनु पर्दछ। बाहुला भएको वा शरीर ढाक्ने लुगा लगाउनुपर्दछ। लामखुट्टे भगाउने धुप बाल्नका साथै टोकाइबाट बच्न मल्हम लगाउन सकिन्छ।
झुललगाएर मात्र सुत्नुपर्दछ। किटनाशक प्रयोग गरिएको झुलको प्रयोग गर्दा अझ राम्रो हुन्छ। पर्याप्त मात्रामा झोलिलो खानेकुरा तथा फलफूल खानुपर्दछ। शरीरमा पानीको कमी हुन दिनुहुँदैन। वान्ताहुने भएकोले शरीर कमजोर हुन्छ त्यसैले जीवनजल खानु उत्तम हुन्छ। थप उपचारको लागि स्वास्थ्य संस्थामा जानुपर्दछ।
रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिएको बेस हुन्छ। त्यसैले आफ्नो घरवरिपरि सरसफाइ गरौँ र सुरक्षित रहौँ। धरानमा देखिएको जनस्वास्थ्यको अवस्था आफ्नो क्षेत्रमा नहोस् भन्नको लागि पानी जम्न सक्ने ठाऊँहरुलाई सफा गरौँ। आफू पनि बचौँ र अरुलाई पनि बचाऔँ।
(भूसाल जनस्वास्थ्य स्नातकोत्तरकी विद्यार्थी हुन्।)