खानामा हुने क्याल्सियम तथा फोस्फोरस आन्द्रामा शोषित हुने वा गराउने कार्यमा भिटामिन डीले ज्यादै ठूलो भूमिका निर्वाह गर्छ। हाम्रो शरीरलाई आवश्यक पर्नेमध्ये करीब ८० देखि ९० प्रतिशत भिटामिन डी हामीले सूर्यको किरणबाट प्राप्त गर्दछौं भने करीब १० देखि २० प्रतिशतमात्रै हामीले खाने खाना वा अन्य पौष्टिक तत्वबाट प्राप्त हुन्छन्। भिटामिन डी शरीरले शोषण गरेपछि एक प्रकारको हार्माेनमा परिणत हुन्छ। हाम्रो शरीरमा सक्रिय रूपमा रहने भिटामिन डीको स्वरूप अर्थात् हार्मोनलाई ‘क्याल्सिट्रिवल’ भनिन्छ।
क्याल्सिट्रिवलले खानाबाट प्राप्त हुने क्याल्सियम र फोस्फोरसलाई आन्द्रामा शोषण गर्ने/गराउने र तिनलाई पुनः मिर्गौलामा ग्रहण गराई शरीरको रक्तसञ्चार प्रणालीमा प्रवाहित गराउन मद्दत गर्दछ। समाजमा भिटामिन डी कमी भई समस्याग्रस्त हुने धेरै व्यक्ति वा समूह छन्। तल उल्लेख गरिएका मानिसमा भिटामिन डी कमी हुने बढी सम्भावना रहन्छ।
– गोरो छाला हुने व्यक्तिको दाँजोमा कालो छाला हुने व्यक्तिलाई सूर्यको किरणबाट भिटामिन डी प्राप्त गर्न धेरैबेर घाममा बस्नुपर्ने हुन्छ। त्यसकारण नेपालीहरू जो पश्चिमा झैं पूरै निख्खर छाला हुनुको साँटो गहुँगोरो वा कालो वर्णका हुन्छन्, तिनीहरूमा भिटामिन डी कमी हुने बढी सम्भावना रहन्छ।
– वयष्क मानिसको छाला जवान मानिसको भन्दा पातलो हुने हुँदा तिनीहरूको शरीरले जवान वा कम उमेरका मानिसको दाँजोमा कम भिटामिन डी उत्पादन गर्ने हुन्छ।
– दिनभर नै कपडाले ढाकेर वा सनस्क्रिन लगाएर आफ्नो छाला ढाकिरहने व्यक्तिमा पनि सूर्यको किरण प्रत्यक्ष रुपमा पर्न नपाई भिटामिन डी कमी हुने गर्छ।
– दिनमा बढी समय घरभित्रै बिताउने, रात्रिकालीन जागिर गर्ने वा हस्पिटलभित्र लामो समयसम्म काम गर्नेमा पनि भिटामिन डी कमी हुने गर्दछ।
– त्यस्तै पृथ्वीको भूमध्य रेखाभन्दा टाढाको भौगोलिक क्षेत्रमा बसोबास गर्ने मानिसमा सूर्यको किरण पर्ने समय निकै कम हुन्छ। खासगरी, अमेरिकाको उत्तरी भू–भाग र क्यानडामा बसोबास गर्ने मानिसमा सूर्यको किरण कम पर्छ।
– यदि स्तनपान गराउने महिलाले थप भिटामिन डी तथा क्याल्सियम लिँदैनन् भने तिनीहरूमा भिटामिन डीको कमी हुने सम्भावना रहन्छ।
– अस्वाभाविक रूपमा बढी तौल भएका व्यक्तिमा भिटामिन डीको कमी रहन्छ।
– छालामा सूर्यको किरण परेपछि भिटामिन डी बन्ने गर्दछ। त्यससपछि भिटामिन डीलाई शरीरले उपभोग गर्नसक्ने तुल्याउन थुप्रै रासायनिक प्रक्रिया हुने गर्दछन्। उत्पादित भिटामिनलाई कलेजोमा पठाउने काम हुन्छ।
यदि हामीले थप भिटामिन डी वा भिटामिन डीयुक्त खाना खान्छौं भने पनि हाम्रो आन्द्राले त्यसलाई ग्रहण गरी कलेजो मै पठाउछ। कलेजोले उक्त भिटामिनलाई २५ (ओएच) डीमा परिणत गर्दछ। चिकित्सकले रगतमा भिटामिन डीको जाँच गर्न सल्लाह दिएमा जाँचिने तत्व नै २५ (ओ एच) डी हो। यही तत्वलाई रक्तसञ्चार माध्यमबाट मिर्गौलालगायत शरीरका सम्पूर्ण भागमा पु¥याउने काम हुन्छ। मिर्गौलाले उक्त तत्वलाई भिटामिन डीको सक्रिय रूपमा परिणत गर्छ र त्यही रूपको भिटामिन डीले हाम्रो शरीरमा आवश्यक क्रियाकलाप गर्ने गर्छ। शरीरमा भिटामिन डी कमी हुँदा ज्यादै थकाई लाग्ने, शरीर दुख्ने, कम्मर दुख्ने आदि हुन्छन्। तर कोहीकोहीमा भने कुनै पनि लक्षण नै नदेखिने पनि हुनसक्छ।
भिटामिन कम भई जटिल अवस्थामा शरीरका हड्डी नै दुख्ने, ज्यादा कमजोर महसुस हुने र बिरामीलाई हिड्डुल गर्नसमेत अप्ठेरो पर्न सक्ने हुन्छ। कसै–कसैलाई चाहिँ शरीरमा बारम्बार किटाणुको संक्रमण भइरहने पनि हुन सक्छन्।
धेरैजसो मानिसहरू आफूलाई कुनै समस्या नहुँदा पनि थप भिटामिन डीको मात्रा लिने गर्छन्। यदि ज्यादा मात्रामा भिटामिन डी खाएमा त्यसले शरीरमा विषादीकै जस्तो असर गरी हानी पु¥याउन सक्छ। यदि हामीले प्रतिदिन ४०,००० आइयुको मात्रामा भिटामिन डी लिई केही महिनासम्म लिने वा एकैपटक लिए पनि सोभन्दा बढी मात्रामा लियौ भने हानी गर्दछ।
भिटामिन डी चिल्लो पदार्थमा घुलनशील हुने हुँदा यो हाम्रो शरीरबाट सजिलै हटेर जाँदैन। त्यसकारण हाम्रो रगतमा भिटामिन डीको मात्रा बढी हुन्छ र त्यसले रगतमा क्याल्सियमको मात्रा पनि बढाउछ। रगतमा आवश्यकभन्दा बढी क्याल्सियम हुने अवस्थालाई ‘हाइपरक्याल्सिमिया’ भनिन्छ।
यस्तो हुँदा निम्न लक्षण देखा पर्दछन् :
– अत्याधिक थकाई लाग्ने
– दिग्भ्रमित हुने वा अलमलमा पर्ने
– बारम्बार पिसाब फेर्न मन लाग्ने
– पेट दुख्ने
– मांशपेशी कमजोर भएको महसुस हुने।
– दिसा गोटा पर्ने (कब्जियत हुने) वा पखाला लाग्ने
– तिर्खाएको महसुस हुने।
– खाना अरूची हुने वा खाना खान मनै नलाग्ने।
– हाइपर क्याल्सिमियाको जोखिम कम गर्न वा त्यसलाई नियन्त्रण गर्न बिरामीले चिकित्सकसँग परामर्श लिनुपर्छ। साथै थप भिटामिन डीको सेवन सुरु गर्दा वा पुनः सुचारू गर्दासमेत चिकित्सकको सल्लाह अनिवार्य हुन्छ।
काल्पनिकता र वास्तविकता
संसारमा हालै गरिएका विभिन्न अनुसन्धानले के देखाएका छ भने माथि उल्लेखित जोखिमलाई न्यूनिकरण गर्न भिटामिन डीको कुनै महत्वपूर्ण भूमिका हुँदैन। तर हामीले हाम्रो अनुभव र अनुसन्धानबाट के पत्ता लगाएका छौं भने भिटामिन डीको कमी भएका व्यक्तिलाई उपयुक्त उपचार वा भिटामिन डी सेवनले यसबाट उत्पन्न विभिन्न समस्या निर्मूल पार्न सकिन्छ। अर्को महत्वपूर्ण कुरा पनि के देखिएको छ भने हाम्रो देशका पहाडि भेगका मानिसमा रगतमा हुने भिटामिन डीको मात्रा तराई वा शहरमा बस्ने मानिसभन्दा बढी देखिन्छ। अर्को कुरा, नेपालीको शरीरमा सामान्य जोखिममुक्त भिटामिन डीको मात्रा अरू देशका मानिसभन्दा कम पनि हुन सक्दछ। यसका लागि वृहत राष्ट्रिय अनुसन्धान जरूरी छ।
भिटामिन डी प्रशस्त पाइने खाना
हामीले खाने खानाबाट भिटामिन डी प्राप्त गर्नु भनेको अत्यन्तै गाह्रो काम हो। भिटामिन डी हाम्रो खानामध्ये एकदमै थोरै प्रकारका खानामा मात्रै पाइन्छ। भिटामिन डीयुक्त खानामध्येका केही निम्न बमोजिमका छन् :
– टुना, म्याकरेल र साल्मोनजस्ता बोसोयुक्त माछा
– थप भिटामिन डीद्वारा प्रबद्र्धित खाना जस्तै, दुग्धजन्य पदार्थ (चिज), सुन्तलाको जुस, सोया मिल्क (भटमासको दूध) र गेडागुडी
– कलेजो
– चिज
– अण्डाको पहेँलो भाग
हाम्रो खानाबाट मात्रै हामीलाई चाहिने जति भिटामिन डी प्राप्त गर्न सजिलो छैन। अध्ययनहरूले के देखाएका छन् भने हामीलाई आवश्यक पर्ने मात्रामध्ये केवल २० प्रतिशत मात्रै भिटामिन डी हामीले खाने खानाबाट प्राप्त हुन्छ। तर जब हामी घाममा हिंड्छौ, हाम्रो शरीरको कपडाले नढाकिएका छालाले सूर्यको किरणबाटै आफूलाई चाहिने जति भिटामिन डी प्राप्त गर्छन् र प्राकृतिक रूपमै हामी भिटामिन डी उपभोग गर्न पाउँछौं।
(डा नेपाल आर्थोपेडिक्स सर्जन हुन्।)