तस्विर : एआईबाट निर्मित
लमजुङ- प्रविधिको विकाससँगै स्वास्थ्य सेवा पनि पहुँचभन्दा बाहिर रहेका गाउँसम्म पुग्न थालेको छ । अस्पतालमै पुग्न नसक्ने बिरामीलाई समेत अहिले चिकित्सकहरूले टाढैबाट उपचार, परामर्श र आवश्यक निर्देशन दिन सक्ने अवस्था बनेको छ । यही टेलिमेडिसिन सेवाको प्रयोगबाट लमजुङमा एक गर्भवती महिला र नवजात शिशुको ज्यान जोगिएको छ ।
लमजुङको क्व्होलसोथार गाउँपालिका–५ सिङदीकी २६ वर्षीया प्रियङ्का गुरुङलाई बिहीबार रातिदेखि प्रसुति व्यथा सुरु भएपछि राति करिब ८ बजे सिङदी स्वास्थ्य चौकीमा ल्याइएको थियो । स्वास्थ्यकर्मीहरूले प्रारम्भिक जाँच गर्दा पाठेघर पर्याप्त नखुलेको पाइएपछि उनलाई स्वास्थ्य चौकीमै निगरानीमा राखिएको थियो ।
तर शुक्रबार बिहानसम्म पनि उनको प्रसुति हुन सकेन । बिहान ८ बजेसम्म पनि पाठेघरको मांशपेशीहरू राम्रोसँग खुम्चिने–फुक्ने प्रक्रिया प्रभावकारी नहुँदा बच्चा जन्मिन सकेको थिएन । आमा र गर्भमा रहेको शिशुको ज्यान जोखिममा पर्न सक्ने अवस्था देखिएपछि स्वास्थ्यकर्मीहरू चिन्तित बने ।
उद्धारका लागि पोखराबाट हेलिकोप्टर बोलाउने, प्रदेश अस्पताल बेसीशहर पठाउने तथा गाउँपालिकाको गाडी प्रयोग गरेर अस्पताल लैजानेसम्मका विकल्पबारे छलफल भयो । गाउँपालिकामा एम्बुलेन्स नभएकाले गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङ आफू चढ्ने गाडीमार्फत् समेत बिरामीलाई अस्पताल पुर्याउन तयार भएका थिए ।
यसैबीच घटनाबारे जानकारी पाएपछि प्रदेश अस्पताल पोखराका चिकित्सकहरूले टेलिमेडिसिनमार्फत् उपचार गर्ने निर्णय गरे । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. शिशिर देवकोटा लगायत स्त्रीरोग विभागको टोलीले सिङदी स्वास्थ्य चौकीसँग सम्पर्क गरेको थियो ।
त्यसपछि अस्पतालकी स्त्रीरोग विशेषज्ञ डा. संचिता चापागाईले टेलिमेडिसिनमार्फत् स्वास्थ्यकर्मीलाई आवश्यक निर्देशन दिन थालिन् । उनी खाना खाने क्रममा रहे पनि तत्काल उपचार प्रक्रियामा जोडिएकी थिइन् ।
प्रियङ्का गुरुङको प्रसुति जटिल बन्दै गएको थियो । बच्चाको टाउको तल आइसके पनि बाहिर ननिस्किएको अवस्था थियो । यस्तो अवस्थामा इन्स्ट्रुमेन्टल डेलिभरी वा भ्याकुम डेलिभरी गर्नुपर्ने सम्भावना भए पनि सिङदी स्वास्थ्य चौकीमा आवश्यक उपकरण उपलब्ध थिएन । लामो समयसम्म प्रसव अड्किँदा बच्चामा अक्सिजनको कमी हुने तथा आमा र बच्चा दुवैको ज्यान जोखिममा पर्ने अवस्था सिर्जना हुन सक्थ्यो ।
स्वास्थ्यकर्मीहरूले औषधिमार्फत् ब्यथा बढाउने प्रयास गरे पनि सहज प्रसुति हुन सकेको थिएन । त्यसपछि डा. चापागाइँले टेलिमेडिसिनमार्फत् निरन्तर परामर्श, निर्देशन र हौसला प्रदान गरिन् । स्वास्थ्यकर्मीहरूले उनको निर्देशनअनुसार उपचार प्रक्रिया अघि बढाए ।
अन्ततः शुक्रबार बिहान ११ बजे प्रियङ्का गुरुङले छोरीलाई जन्म दिइन् । अहिले आमा र नवजात शिशु दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्यकर्मीहरूले बताएका छन् ।