पूर्व मिस नेपाल, अभिनेत्री तथा सञ्चारकर्मी माल्भिका सुब्बा मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न थालेकी छिन्। आफ्नै जीवनलाई समाप्त गर्ने निर्णय नजिक पुगेकी उनले बेलैमा सहयोग पाए धेरैले ‘पुनर्जीवन’ प्राप्त गर्न सक्ने बुझेकी छिन्। पारिवारिक जीवनमा आएका उतार–चढावका कारण आउने मानसिक समस्या र गर्भावस्था तथा प्रसूतिपछि हुने पोस्टपार्टम डिप्रेसन उनले भोगेकी छिन्। त्यसबाट उम्किन काउन्सिलरको सहयोग लिएर सामान्य अवस्थामा फर्किएकी माल्भिकाले डिबी खड्कालाई मानसिक स्वास्थ्य सम्बन्धी आफ्नो अनुभूति सुनाएकी छिन्।
तपाईंले मानसिक स्वास्थ्यबारे कुरा राख्न सुरु गर्दा सुरुमा कस्ता प्रतिक्रिया पाउनुहुन्थ्यो?
कतिले भन्ने गर्थे– तिमी घमन्डी छौं, त्यही भएर त्यस्तो हुन्छ। केही निकटस्थहरुले पनि परिवार र श्रीमान्सँगको असहमतिका कुरा राख्दा बुझ्नुभएन। यस्ता कुरा आफैंले पचाउनुपर्छ भन्ने लाग्दो रहेछ। केटी मान्छे भएपछि सबै सहनुपर्छ भन्ने रहेछ।
नेपालमा मानसिक स्वास्थ्यका बारेमा कम कुरा हुन्छ। आफ्ना कुरा राख्ने आँट जुट्दैन। तपाईंले कसरी आँट जुटाउनुभयो?
मानसिक रुपमा तनाव हुन्थ्यो तर के भएको हो थाहा हुँदैनथ्यो। साथी–भाइमाझ यस विषयमा त्यति कुरा हुँदैनथ्यो। साथी–भाइमाझ कुरा हुँदा कसैले ‘डिप्रेस्ड छुु’ भन्दा सामान्य जस्तो लाग्थ्यो। अरुको सहयोग लिने र परामर्श लिने कुरा त हुँदैनथ्यो। मैले पनि सुरुमा यसरी नै सहेँ।
विवाह गरेपछि मानसिक रुपमा धेरै नै गाह्रो भयो। गर्भवती र सुत्केरी हुँदासम्म पोस्टपार्टम डिप्रेसन भन्ने थाहा थिएन। सहँदै जाँदा मेरो जीवनमा कालो दिन नै आयो। मेरो वैवाहिक जीवनमा पनि त्यसले असर पा¥यो। मलाई
श्रीमान्ले बुझ्न सक्नुभएन, मैले श्रीमानलाई बुझ्न सकिनँ। वैवाहिक जीवनमा कटुता आउन थालेपछि हामी कपल्स काउन्सिलिङमा गयौं। पछि मैले व्यक्तिगत रुपमा काउन्सिलिङ थालें। त्यसपछि विस्तारै मलाई मानसिक स्वास्थ्यमा कुरा गर्न थाल्नुपर्छ जस्तो लाग्यो। म जस्तो मान्छेलाई समेत यस्तो भयो भनेपछि अरु कति जनालाई त यसबारे थाहा नै छैन भन्ने महसुस भयो। कतिलाई गाह्रो भइरहेको सुनिरहेकी थिएँ। अनि मलाई यसबारे खुला रुपमा बोल्नुपर्छ भन्ने लाग्यो। आफ्नै व्यक्तिगत भोगाइ राख्दा पनि अरुलाई फाइदा पुग्छ भनेर बोल्न थालेकी हुँ।
शरीरका कुनै पनि अंगमा हुने सानो दुखाइमा पनि मल्हम खोज्छौँ तर मन दुख्यो भने त्यसका लागि केही गर्दैनौँ। तपाईंलाई मानसिक स्वास्थ्यको समेत उपचार खोज्नुपर्छ भन्ने कुन अवस्थामा पुगेपछि महसुस भयो?
मानसिक रुपमा नाजुक हुँदै गएपछि धेरै कुरा आफ्नो नियन्त्रणमा हुँदो रहेनछ। म आफैं पनि आत्महत्या गर्ने निश्चयमा झन्डै पुगेकी थिएँ। त्यसपछि लाग्यो– ओहो, यो त गम्भीर कुरा हो ! अलिकित सोधखोज गरें। तर अब सोध्ने कसलाई भन्ने भयो। व्यक्तिगत तहमा त्यस्तो कुनै पनि काउन्सिलर चिनेको थिइनँ। घर र साथीभाइ कोही पनि त्यसरी काउन्सिलिङमा गएको थाहा थिएन। मैले खोजेँ र जान थालेँ। म गएपछि अरु धेरैले पनि आफूलाई परेको मानसिक आघातको उपचार खोज्न थाल्नुभयो। म खुलेर कुरा गर्न थालेँ। म जस्तै समस्यामा परेका अरु पनि कसरी सहयोग लिने भनेर आउन थाल्नुभयो।
तपाईं आफैं पनि जाने–बुझेको मान्छे, तपाईंले त यस्तो भोग्नुप¥यो। नेपालमा ठूलो संख्या छ, जसले यसबारे कहिल्यै जान्दैनन्। त्यस्ता महिलाहरुलाई समाज र परिवारले कसरी सहयोग गर्नुपर्छ?
म गर्भवती हुँदा असाध्यै खुसी थिएँ। आफ्नो काम गरिरहेकै थिएँ। डर पनि त्यस्तो केही थिएन। गर्भवती हुनेवित्तिकै कमजोरी महसुस हुन थाल्यो। असुरक्षा महसुस गर्न थालेँ। डर धेरै लाग्न थाल्यो। त्यो बेला धेरै कुराकानी गरिँदो रहेनछ।
मेरो अनुभवमा त्यो बेला परिवार र निकटस्थहरुले सहज वातावरण बनाइदिनुपर्छ। असहज महसुस भयो भने सहयोगको भावना चाहिन्छ। गर्भावस्थामा सहयोग र माया धेरै नै चाहिन्छ। शारीरिक र मानसिक रुपमा सहज वातावरण बनाइदिन लाग्नुपर्छ। त्यस्तो हुँदा आँट आउँछ। डर लाग्दैन।
गर्भवती नहुँदा जे कुरा सामान्य लाग्थे, गर्भवती हुँदा त्यही कुराको डर लाग्ने रहेछ। कहिलेकाहीँ आफैंलाई पनि आफूले गरिरहेको व्यवहारबारे जानकारी नहुने अवस्था बन्दो रहेछ। त्यस्तो बेला चिड्चडाहट निकै हुन्छ। एकदमै रिस उठ्छ। हर्मोनल परिवर्तनका कारण यस्तो हुने होला। त्यसैले गर्भवतीलाई तनावको वातावरण सिर्जना गर्नुहुँदैन।
गर्भवती महिलाका आफ्ना योजना हुन्छन्। भावना हुन्छन्। उनीहरुका परिवारका अन्य सदस्यका पनि आफ्नै खालका चाहना हुन्छन्। हाम्रो नेपालमा धेरै सांस्कृतिक र व्यावहारिक अवरोधहरु पनि छन्, जसले समस्या सिर्जना गर्ने रहेछन्। ‘यस्तो गर र यस्तो नगर’ भन्ने कुराले नै हाम्रो जस्तो देशमा गर्भवती महिलालाई तनाव दिँदोरहेछ।
परिवाले रमाइलो वातावरण बनाइदिने, घुमाउन लिएर जाने, के खान मन लाग्छ त्यो गरिदिने। काम गर्न दिने, सहयोग गर्ने गर्नुपर्छ। खुसी आमा भनेकै खुसी सन्तान हो।
तपाईं आफूले केसम्म भोग्नुभयो ?
बच्चा पाएपछि पनि सामाजिक र सांस्कृतिक रुपमा धेरै कुरा भयो। बच्चा पाएको दिन नै मेरो प्रेसर हाई थियो। रिस धेरै उठ्ने हुन्थ्यो। केही कुरा चित्त नबुझ्ने भयो। म बच्चासँग ‘अफसेट’ थिएँ। कसैले बच्चा लिएर गयो भने एन्जाइटी हुन्थ्यो। डर लाग्ने, मुटु ढुकढुक हुने, बच्चाले श्वास फेरेको छ कि छैन भनेर हरेक १५ मिनेटमा चेक गर्न मन लाग्ने हुन्थ्यो। बच्चाको लागि स–सानो कुरामा पनि मैले तनाव लिएँ। सानो केही भयो भने पनि अत्तालिइहाल्ने बानी प¥यो। त्यस्तो धेरै कुरा हुँदोरहेछ। एक्लो महसुस पनि हुने रहेछ।
बच्चा जन्मिएको ४–५ महिनापछि श्रीमान्सँग पनि सम्बन्ध बिग्रिँदै गयो। त्यसपछि मेरो मनमा आत्महत्या जस्ता गलत कुरा आउन थाले। यस्तो हुन थालेपछि चाहिँ मलाई लाग्यो– केही न केही गलत हुँदैछ। एकदमै दुःखी, डिप्रेस्ड, रुन मात्रै मन लाग्ने, बच्चा छाडेर कहीँ जानै मन नलाग्नेसम्म भयो।
आफूभित्र त यस्तो चलिरहेकै हुन्छ। बाहिरबाट आफू र बच्चालाई लिएर हुने टिप्पणीले कस्तो महसुस गराउँथ्यो?
म सुरुदेखि नै टाइगर मम (बघिनी आमा) थिएँ। हात नधोई बच्चालाई छुन कसैलाई दिँदैनथेँ। सी सेक्सनबाट बच्चा जन्माएकी हुँ। दिनभरि उत्तानो परेर बस्नुपथ्र्याे। मैले पहिले नै भनिसकेकी थिएँ– अस्पतालमा धेरै मान्छे नआउनु भनेर। विचार गरेर मान्छेहरु आउनु भनेकी थिएँ। भर्खर जन्मेको बच्चालाई म्वाइँ खाने गरेको मन पर्दैनथ्यो। दूध खुवाउने क्रममा पनि मान्छेहरु टिप्पणी गर्थे– कस्तो सानो बच्चा ! दूध पुगेन।
दूध खुवाउने कुरामा आफूले पहिल्यै पढिसकेकी थिएँ। धेरै सोधखोज गरिसकेकी थिएँ। बेबी बुक पढेकी थिएँ। अनलाइनमा पनि पढें। यस्ता टिप्पणी मैले धेरै नै सुनेँ। मैले सी सेक्सनबाट बच्चा पाएकी थिएँ। सर्जरीकै रुपमा लिएर खानपान त्यही अनुसार गरेँ। राम्रोसँग सुत्केरी बस्न पाइनँ। पौष्टिक आहार खान्थेँ तर सुत्केरीको बेला खाइनेजस्तै घिउ–भात–मासु खाइनँ। त्यस्ता कुरामा पनि टिप्पणी हुन्थ्यो। आफैंले बच्चालाई तेल लगाएँ। पुरानो तेल लगाइदिने मान्छे हुनुहुन्थ्यो। उहाँले लगाएको मलाई चित्त बुझेन। उहाँले लगाउँदा बच्चाको हड्डी नै नै भाँचिएला जस्तो लाग्थ्यो। त्यसपछि आफैँले सिकेँ। बच्चा र आमाको बन्डिङ टाइम पनि हुन्थ्यो। चार महिनापछि काममा गएँ। एक जना पुरुषले भन्नुभयो– तपाईंले बच्चालाई दूध खुवाउनु पर्दैन? काममा पो आइरहनुभएको छ !
प्रविधि आइसकेको थियो। ब्रेस्टको दूध निकाल्ने इलेक्ट्रिक पम्प किनिसकेको थिएँ। काममा जानलाई मैले तयारी गरिसकेकी थिएँ। ‘मम सेमिङ’ र ‘मम जजिङ’ धेरै नै भयो। ‘बच्चा खै, बच्चालाई छाडेर हिनेको ? केही हुँदैन ?’ जस्ता धेरै कुरा भए। सामाजिक सञ्जालमा तस्बिर राख्दा टिप्पणी हुन्थ्यो– बच्चालाई यस्तो किन गरेको ? सुत्केरी भनेको त ४५ दिन हो। कति महिना भइसकेको थियो। दुई–तीन वर्षसम्म त म ‘जज्ड’ नै भएँ। ४ वर्षपछि त कोभिड पनि भयो, त्यसपछि बल्ल यसबाट मुक्ति पाएँ।
शारीरिक रुपमा फिट नै भइरहनुपर्नेछ, पेसामा हुनुहुन्छ। बच्चा हुने भएपछि ज्यान बढ्छ। त्यसमाथि मान्छेहरुका ज्यानलाई लिएर हुने टिप्पणीले कति बिझाउँथ्यो?
मेरो शरीरको विषयमा त्यति टिप्पणी भएन। म आफैंले प्रेसर लिएँ। म ८८ किलो पुगेकी थिएँ। सामान्यभन्दा म ३० किलो धेरै भएकी थिएँ। शरीरका विषयमा कसैले केही भनेन। आफ्नो पेसाले गर्दा होला, कसैले भने पनि, नभने पनि नराम्री लाग्ने भइरह्यो। ‘छ्या कस्तो, अपिलिङ छैन’ होला, ‘कसैले हेर्दैन होला’ जस्तो असुरक्षा आफैंमा आउँदो रहेछ।
मानसिक र शारीरिक तवरले तपाईं फरक मान्छे हुनुहुन्छ। तौल घट्न थाल्छ। स्तनपान गराउँदै जाँदा सानो हुन्छ। लुज स्किन हुन्छ। ‘स्ट्रेच माक्र्स’ देख्दा आफैँलाई तनाव हुन्थ्यो। सी सेक्सन गरेको सर्जरी स्कार्स हेर्दा रमाइलो लाग्छ। छोराले ‘कहाँबाट आएको म’ भनेर सोध्दा यहाँबाट आएको भनेर त्यही देखाउन मिल्छ। ‘तिमीलाई जन्माउन पेट काट्नुपरेको थियो’ भन्छु। हरेक स्टेच माक्र्स र स्कार्सको कथा छ जस्तो लाग्छ। त्यो कथाको पूरा रुप मेरो छोरा हो।
पोस्टपार्टम डिप्रेसनबारे आमजनलाई जानकारी नै छैन। यस विषयमा खुलेर संवाद पनि हुँदैन। तपाईंको भोगाइ अनुसार कस्तो अवस्थामा गर्भवती वा सुत्केरी महिलालाई मानसिक स्वास्थ्यका लागि सहयोग जरुरी हुन्छ?
गर्भवती हुनुभन्दा अगाडि दम्पतीबीच बच्चा पाउने र हुर्काउने योजना प्रष्ट बन्नुपर्दो रहेछ। बच्चा पाएपछि कसको दायित्व के भन्ने क्लिएर गर्नुपर्दो रहेछ। परिवारसँग बसेर खुला संवाद गर्नुपर्ने रहेछ। जहाँ हामी माता–पिता बन्ने भयौं, हाम्रो चाहना यस्तो हो भन्नुपर्छ। त्यो परिवारले आत्मसात पनि गरिदिनुपर्छ।
हामी सांस्कृतिक समाजमा छौं। परिवारका अन्य सदस्यहरुका चाहना हुन्छन्। त्यसमा सन्तुलन मिलाउन परिवारले नै निर्णय गर्नुपर्छ, खासगरी जो संयुक्त परिवारमा बसिरहनुभएको छ। पछि गएर किचकिच गर्नुभन्दा पहिले नै क्लिएर हुनुपर्छ। बच्चा पाइसकेपछि पनि कम्तीमा ६ महिना र एक वर्षसम्म निकै नै सहयोग आवश्यक हुन्छ आमाहरुलाई। स्तनपानदेखि स्याहारसम्म सहयोग चाहिन्छ।
पुरुष पार्टनरहरुले सुरुदेखि नै यस्तो अवस्थामा आमा र बच्चाको स्वास्थ्यमा आउने उतारचढावबारे पढ्नुप¥यो। आमाको शारीरिक र हर्मोनल परिवर्तनले ल्याउने मानसिक परिवर्तनबारे बुझिदिनुप¥यो। अरु बेलाभन्दा फरक व्यवहार सन्तानको आमाले देखाउन थाले भने सायद यो पोस्टपार्टम डिप्रेसन हो र काउन्सिलिङमा लिएर जानुपर्छ है भनेर भनिदिनुपर्छ। कसैले भनिदिनु भयो भने सहयोग हुन्छ।
अरुभन्दा सेलिब्रेटीले के फरक भोग्नुपर्दो रहेछ। तपाईंले त गर्भवती अवस्थाको तस्बिर सार्वजनिक गर्नुभयो। त्यसलाई लिएर त्योबेला अनेक टिप्पणी भए। त्यसले कस्तो असर गर्यो?
धेरै तनाव भोग्नुपर्यो। सिंगल भएर एक्लै तस्बिर हाल्दाभन्दा विवाह गरेपछिको तस्बिर हाल्दा घृणास्पद प्रतिक्रिया बढी र गर्भवती अवस्थाको तस्बिर हाल्दा त्यसको १० गुणा बढी घृणास्पद प्रतिक्रिया आउने रहेछन्। गर्भवती भएपछि मैले सामाजिक सञ्जालका कमेन्ट सेक्सन हेर्नै छाडिदिएँ। अनगिन्ती गालीहरु आउन थाले। गर्भवती भएपछि म खुसी थिएँ– मेरो बच्चा हुने भयो। म आमा हुने भएँ। प्रकृतिले दिएको सुन्दर कुरा पनि हो यो।
यो खुसी बाँड्नका लागि गर्भावस्थाको तस्बिर फोटोसुट गरेर सार्वजनिक गरेकी थिएँ। खुसी बाँडेको मान्छेहरुलाई पच्दो रहेनछ। किनभने, त्यो बेलासम्म गर्भावस्थाको त्यसरी खुला रुपमा संवाद गर्ने, पेट देखाएर हिँड्ने धेरै जना हुनुहुन्थेन। भर्खर सुरु हुँदै थियो। त्यही भएर धेरै नकारात्मक प्रतिक्रिया आएपछि कमेन्ट सेक्सन हेर्नै छाडिदिएँ।
सेलिब्रिटी भइसकेपछि नकारात्मकताबाट जोगिनुपर्छ। हामी सबैको आँखाका अघि हुर्किन्छौं। किनभने, १९÷२० वर्षमा यो क्षेत्रमा छिर्छौं। मैले त दुई दशक बिताइसकेको छु। तपाईंहरुले मेरो जीवनका विविध पल देख्नुभएको छ। कतिपय अवस्थामा आफ्ना कुरा गोप्य राख्न खोजिन्छ। कहिले नचाहँदा नचाहँदै बाहिरिने र त्यसको प्रभाव हामीले भोग्नुपर्ने हुन्छ।
नेपालमा आम सेलिब्रिटीहरु कसरी मानसिक दबाब रहन्छन्?
आफ्नो शरीरको टीका–टिप्पणी र बोलिएका विषयमा हुने टिप्पणीले मानसिक रुपमा समस्या सिर्जना गर्छ। मुख्य कुरा नकारात्मकता नै हो। अर्को भित्री कुरा भनेको त्यहाँ भित्र हुने विभेद हुन सक्छ। जातीयता, उमेर, वर्ग र लिंगले हुने विभेद पनि हो। हामी जन्मेदेखिकै अवस्थाले पनि मानसिक स्वास्थ्य निर्धारण गर्ने हो। बच्चामा हुर्काइ कस्तो थियो भन्नेले पनि मानसिक स्वास्थ्यमा फरक पर्छ। कोही कुटाइ खाएर हुर्केको थियो होला। कोही कुनै प्रकारको उत्पीडन झेलेर हुर्केको होला। सेलिब्रिटीले मात्रै होइन, सामान्य मान्छेले पनि भोगेका छन्।
अहिले मैले मानसिक स्वास्थ्यका बारेमा बोल्न थालेदेखि हरेक दिन ५–१० वटा म्यासेज आइरहेका हुन्छन्। उहाँहरुले पोस्टपार्टम डिप्रेसनका कुरा गर्नुहुन्छ। वैवाहिक जीवनका उतारचढावलाई लिएर पनि कुरा आउने गर्छन्। उहाँहरुसँग कुरा गर्छु तर समस्या छ भने व्यावसायिक परामर्शदाताकहाँ जान सल्लाह दिने गरेकी छु।