डा बटु शर्मा कुइँकेल खोप र औषधिको क्लिनिकल रिसर्च कम्पनी आईक्यूभीआईएमा खोजकर्ताका रुपमा संलग्न छन्। नेपाल मेडिकल कलेजबाट पेसागत यात्रा थालेका उनी अहिले विश्वप्रसिद्ध वैज्ञानिकहरुसँगै विभिन्न अध्ययन र अनुसन्धानमा आफ्नो दक्षता प्रस्तुत गरिरहेका छन्। हाल मेथिसिलिन रेजिस्टेन्ट स्ट्याफाइलोकोकस अरियसको खोजमुलक अध्ययनमा सक्रिय उनले यही विषयमा विशेषज्ञता समेत हासिल गरेका हुन्।
डा शर्माका दर्जनौं रिसर्च पेपर र आर्टिकल प्रकाशित छन्। त्रिभुवन विश्वविद्यालयबाट माइक्रोबायोलोजीमा स्नातकोत्तर गरेपछि उनले संयुक्त राज्य अमेरिकाको युनिभर्सिटी अफ नेब्रास्का मेडिकल सेन्टरबाट विद्यावारिधि गरेका हुन्। डा कुइँकेल ड्युक युनिभर्सिटीको संक्रामक रोग विभागबाट पोस्ट–डक्टरल फेलोसिप गरी अनुसन्धान र प्राध्यापनमा समेत सक्रिय छन्।
आफूले हासिल गरेको ज्ञान–सिप बाँड्न रुचाउने उनी सामाजिक कार्य, नेतृत्व विकास लगायतका क्रियाकलापमा समेत रुचि राख्छन्। उनी सम्बद्ध आईक्यूभीआईएले डेंगुको खोप पनि विकास गरिरहेको छ। उनी आफैँ डेंगु विशेषज्ञ नभए पनि यसको ट्रायलको रेगुलटरी बडीमा बसेर एफडीएमा पठाउनका लागि रिपोर्टिङको काम गरेका छन्। डा कुइँकेलसँग खोप तथा औषधिको विकास र वितरण प्रणालीका विषयमा डिबी खड्काले गरेको संवादको सम्पादित अंश:
खोप कसरी बन्छ?
खोप संक्रामक रोगहरुको निरोधका लागि बनाइन्छ। खोप निर्माणको सुरुवात स्मल पक्स, चिकेन पक्सबाट भयो। जुन भाइरसले रोग लाग्छ, त्यही भाइरसको सानो प्रोसन शरीरमा पठाएर रोगप्रतिरोधी क्षमतालाई चेतनशील बनाएर एन्टिबडी विकास गर्ने प्रक्रिया हो। सुरुमा जुन भाइरसले रोग गर्छ, त्यही भाइरस नै लिएर दिने प्रक्रिया थियो। जसलाई एटिनियोटेड भ्याक्सिन भन्यौँ। कोभिडका बेला एमआरएनए भ्याक्सिन प्रसिद्ध भयो। भाइरसको रोग लगाउने तत्वको डीएनए र आरएनए हुन्छ। एमआरएनए डिजाइन गरेर शरीरमा दिने प्रक्रिया हो।
सिधै डिजाइन गरेर दिइहाल्न मिलेन। त्यसअघि विभिन्न क्लिनिकल ट्रायल, ल्याबमा परीक्षण, ल्याबपछि जनावरमा परीक्षण हुन्छ। मंकी, माउस मोडेल परीक्षण भनिन्छ। त्यसपछि स्वस्थ मानिसहरुको सानो समूहमा परीक्षण गर्नुप¥यो। त्यसपछि संख्या बढाउँदै परीक्षण गर्नुपर्छ। सबैतिर सफल देखिएपछि रेगुलेटरी (नियमनकारी) निकायमा लैजानु प¥यो। त्यहाँ प्रयोगमा उपयुक्त छ भनेपछि बल्ल प्रयोगमा आउँछ। मैले भन्नलाई यो प्रक्रिया ९० सेकेन्डमा सकेँ तर कम्तीमा एउटा खोप बनाउन एक दशक लाग्छ।
डेंगु रोगका रुपमा पत्ता लागेको धेरै भयो। तर यसको खोप किन बन्न सकेन?
म आफैं डेंगु विशेषज्ञ होइन तर मैले यसको ट्रायलको रेगुलटरी बडीमा बसेर काम गरेको छु। एफडीएमा पठाउनका लागि यसको रिपोर्टिङको काम गरेको छु। त्यसैले डेंगुका विषयमा जानकारी राख्छु। सामान्यतया प्रक्रिया अघि बताए जस्तै भाइरस आयो, कम्पोनेन्ट लियो, प्युरिफाइ ग¥यो र ह्युमेन बडीमा राख्यो। यसरी एन्टिबडी बन्छ। सबै भाइरस विरुद्ध खोप यसरी नै बन्नुपर्ने हो तर सधैँ त्यस्तो हुँदैन। प्रत्येक माइक्रोअग्र्यानिज्म युनिक हुन्छ।
डेंगु भयावह छ। विकासोन्मुख देशमा वर्षेनी २० देखि २५ हजार मान्छेको ज्यान लिन्छ। कयौं लाख मान्छेलाई प्रभावित गर्छ। त्यसैले यसको खोप निकै पहिले बनिसक्नुपथ्र्याे भन्ने भावना सही हो।
भाइरसका हिसाबले डेंगुमा अन्यभन्दा फरक के छ भने यसका चार वटा स्ट्रेन हुन्छन्। अन्यमा एउटाका लागि बनाएपछि सबैका लागि हुन्छ वा धेरै हानि गर्दैन। यसमा एउटा स्ट्रेन विरुद्ध खोप बनाएर प्रयोग गरेको अवस्थामा अर्काे स्ट्रेनले डेंगु गराउँदा बिरामी झन् गम्भीर हुने समस्या देखिएको छ। धेरै वैज्ञानिकले यसमा लामो समयदेखि काम गर्दा पनि नतिजा चाँडो नआउनुको कारण यही हो।
फिजिक्स र म्याथमा सामान्यतया एकमा एक जोड्दा दुई हुन्छ। तर बायोलोजीमा हुँदैन। उदाहरणका लागि हामी दुवैले एउटै रेस्टुरेन्टमा खायौं। मलाई केही नहुन सक्छ, तपाईंको पेट गडबड हुन सक्छ। यो बायोलोजीको कुरा हो।
बायोलोजी समान देखिए पनि त्यस भित्र फरकपन पनि हुन्छन्। एउटाका लागि उस्तै प्रक्रियाले युनिकनेस हुन्छ। त्यही कारणले ढिलाइ भएको छ।
डेंगुको भ्याक्सिन एउटा मेक्सिकन कम्पनीले ल्यायो। त्यसैगरी अन्य देशका कम्पनीहरुले पनि यसमा काम गरिरहेका थिए। यिनैमध्ये एक जापानी कम्पनी टाकेडा पनि हो। टाकेडाले गरेको अनुसन्धानमा आक्युभियाले क्लिनिकल विकासमा सघायो। अन्ततः युरोप र अन्य देशबाट स्वीकृति प्राप्त गरेको छ। एफडीए प्रमाणित हुने क्रममा छ।
यदि त्यो भ्याक्सिन एफडीएले पनि प्रमाणित ग¥यो भने कहिलेसम्म नेपाल जस्ता देशहरुले पाउँछन्?
पहिले पनि भनिँदै आएको कुरा हो, यसको समस्या विकासोन्मुख देशमा बढी छ। न जसले आफैँ विकास गर्न सक्छन्, न पैसा तिरेर किन्न सक्छन्। भ्याक्सिन र औषधि विकासको प्रक्रिया निकै महँगो हुन्छ। त्यसैले जबसम्म कसैले सबसिडी दिँदैन, तबसम्म आइपुग्न गाह्रो छ।
कोभिड भ्याक्सिन सरकारले सरकारले त निःशुल्क नै दियो। तर मेरो इन्स्योरेन्सले २५ डलरभन्दा बढी तिरेको छ। नेपालमा निःशुल्क नै पाइयो। नेपाल जस्ता मुलुकका लागि विश्व स्वास्थ्य संगठन, यूएन एजेन्सीहरुले लगानी गरिदिएपछि यस्ता खोप उपलब्ध हुन्छन्। सम्भवतः अर्काे सिजनसम्म उपलब्ध हुन्छन् कि?
तपाईं आफैँ वैज्ञानिकका रुपमा मिथिसिलिन रेसिस्ट्यान्स स्टाफाइलो ओरियस विरुद्धको भ्याक्सिनका लागि काम गरिरहनुभएको छ। त्यसको विकासक्रम कहाँ पुग्यो?
धेरै भ्याक्सिन सजिलै बनेका छन्। तर हामीले काम गरिरहेको मिथिसिलिन रेसिस्ट्यान्स स्टाफाइलो ओरियसको भ्याक्सिनका लागि हाम्रो टिमले २५ वर्षभन्दा बढी समय काम गरिसक्यो, अझै बनेको छैन।
यो साधारण ब्याक्टेरिया हो। ३० प्रतिशत मान्छेको नाकमा हुन्छ, कतिको छालामा हुन्छ। अर्थात् १० जनामा तीन जनाको नाकमा यो हुन्छ। धेरैको सानो पिम्पल वा सानो पाक्ने खटिरा यही ब्याक्टेरियाका कारणले हुन्छ। कतिलाई यसले कुनै हानि गर्दैन। कतिको ज्यानै लिन्छ। त्यो ब्याक्टेरियाले कतिमा ब्रेनअप्सेस, नेक्रोटाइजिज निमोनिया, मुटुको भल्वमा समस्या ल्याउने जस्ता रोग ल्याउँछ।
मिथिसिलिन रेसिस्ट्यान्स स्टाफाइलो ओरियसको जेनेटिक थाहा छ। तर सुरक्षित र प्रभावकारी भ्याक्सिन बन्न सकेको छैन।
यो ब्याक्टेरिया हो। त्यसैले एन्टिबायोटिले काम गर्नुपर्ने भन्ने पनि हुन्छ। अहिले उपलब्ध धेरै एन्टिबायोटिकले कुनै–कुनै बेला काम गर्दैन। यो ब्याक्टेरियालाई ‘सुपरबग’ पनि भनिन्छ। जस्तो सुपरम्यान भनिन्छ नि त्यस्तै, नियन्त्रणमा ल्याउन गाह्रो हुन्छ। कुन–कुन जिनले कहाँ–कहाँ प्रोटिन निकाल्छ भन्ने थाहा छ। कुनैले पनि काम गरिरहेको छैन। किन काम गरेन? केही थाहा छैन। हामीले पेन्टा–भ्यालेन्ट भ्याक्सिन बनाएर ट्रायल पनि गरिसक्यौँ। तर अपेक्षित नतिजा हासिल गरिसकेका छैनौं।
अहिले प्रयोगमा भएका एन्टिबायोटिक रेसिस्ट्यान्स भएपछिका लागि थप एन्टिबायोटिक बनाउन खोजिएको छ कि छैन? नयाँ बनाउनेभन्दा रेसिस्ट्यान्स हुन नदिने विषयमा जोड दिनुको कारण के हो?
भाइरसमा भ्याक्सिन हुन्छ। उपचारभन्दा पनि रोक्ने प्रक्रिया हो। तर ब्याक्टेरियामा लक्षण देखिएपछि एन्टिबायोटिक प्रयोग गरिन्छ। हामी बच्चालाई ज्वरो आउँदा तीन दिन हेरौँ भन्छौँ नि। त्यो भनेको भाइरसबाट ज्वरो आएको भएमा शरीरको रोग प्रतिरोधी क्षमताले आफैँ निको बनाउँछ भन्ने हो। यदि निको भएन भने जाँचेर हेरिन्छ र ब्याक्टेरियाबाट भएको यकिन भएपछि एन्टिबायोटिक दिनुपर्छ।
कर्पाेरेट दृष्टिबाट हेर्ने र सामान्यजनबाट हेराइ फरक हुन्छ। कुनै पनि कम्पनीले औषधि नाफाका लागि बनाउँछ। जस्तोः ब्लड प्रेसरको औषधिको कुरा गरौँ, त्यो एउटा व्यक्तिले केही वर्षसम्म सेवन गर्छ। यदि यस्तो औषधि एप्रुभ भयो भने कम्पनीलाई निकै फाइदा हुन्छ।
एन्टिबायोटिकको कुरा गर्दा बिरामीले एकपल्टमा १० ट्याबलेट लिन्छ। १० ट्याबलेटमा धेरै मूल्य राख्न पनि भएन। थोरै राख्दा त्यसका लागि अनुसन्धानमा खर्चिएको पैसा उठ्दैन। त्यसैले एन्टिबायोटिक जस्ता औषधिमा डब्लूएचओ र यूएन एजेन्सी जस्ताको लगानी हुनुपर्छ। तर अहिले विश्व त्यतातिर गइरहेको देखिँदैन।
एन्टिबायोटिक रेसिस्टेन्टको समस्या विकासोन्मुख देशमा छ। एन्टिबायोटिक आफूखुसी किनेर लिनेभन्दा खराब कुरा केही हुँदैन। सामान्यतया एन्टिबायोटिक सुरु गरेपछि आधा डोज लिइसक्दा संक्रमण नियन्त्रणमा आउँछ। विकासोन्मुख मुलुकका बिरामीलाई लाग्छ– ठिक भइसक्यो, किन खाने? नेपाल, इन्डिया र अफ्रिकी देशका कतिपय नागरिकसँग त एकैचोटी पूरै डोज किन्ने पैसा हुँदैन। त्यसैले आधामै निको भएपछि औषधि किन्न जाँदैनन्।
यदि एन्टिबायोटिक बीचमै छाडिएको थियो भने त्यसले अर्काे चोटी काम गर्दैन। नयाँ चलाउनुपर्छ। यसरी एउटा अवस्थासम्म पुग्दा कसैले पनि काम गर्दैन। त्यसैले एन्टिमाइक्रोबियल रेसिस्ट्यान्स हुन नदिने उपाय नै सबैभन्दा सुरक्षित कुरा हो।
ब्याक्टेरिया र एन्टिबायोटिकको कुरा मुसा र बिरालो जस्तो भएको छ। बिटाल्याक्टाइम एन्टिबायोटिक बिक्टाल्याक्टाजाइम नै रेसिस्ट्यान्स भयो। यसले ब्याक्टेरियाको सेलवाल बन्न रोक्नुपर्ने थियो। तर यसले पहिला नै इन्जाइम बनाएर एन्टिबायोटिकलाई रोकिदियो।
अहिलेको अन्तिम भनेको भ्यान्कोमाइसिन हो। त्यो रेसिस्ट्यान्ट हुँदा नयाँ एन्टिबायोटिक चाहियो। नयाँ एन्टिबायोटिक बनाउन पहिले भएका सबै ज्ञान एक ठाउँ राखेर विकास प्रक्रियामा जान्छौँ। धेरै वैज्ञानिकको दिमाग लाग्छ। त्यसपछि त्यसलाई ल्याबमा टेस्न गर्नुप¥यो। विभिन्न ल्याब टेक्निक हुन्छन् त्यो गर्नुपर्यो। औषधिले ब्याक्टेरिया मार्न त मार्ला तर मार्न धेरै नै औषधि खानुपर्ने भयो भने पनि काम लागेन। ५०० एमजी वा १ हजार एमजीसम्म पो हुनुप¥यो। त्यो क्याप्सुलमा आउनुपर्यो।
त्यसपछि अर्काे प्रक्रियामा जान्छ। एउटाले पीएचडी गर्छ। अर्काे मास्टरको विद्यार्थीले थेसिस गर्छ। पेपर प्रकाशित हुन्छ। अरुले पनि हेर्छन्। त्यसपछि अर्काे कसैले भनिदिन सक्छ– यो त हामीले पहिले नै प्रयोग गरेका हौँ। हेर्दा ठिक छ तर यहाँनेर पुग्दा समस्या छ। सबै दुःख खेर जान सक्छ।
मुसा अहिले त अझ साना सिल एलिगेन्समामा प्रयोग गरिन्छ। त्यहाँ ठिक भए त्यो भन्दा ठूलामा गर्ने गरिन्छ। ब्याक्टेरिया मारेर मात्रै भएन। त्यसले किड्नीमा हानि गर्नुभएन, न्यूरोमा हानि गर्नुभएन। जाने÷सुनेसम्मको सबै प्यारामिटर हेर्नुपर्छ। सामान्य रुपमा भन्दा देखिने गरीका समस्या देखिनुभएन।
फर्माको डायनामिक काइनाटिकको कुरा हो। कति शरीरमा जान्छ, त्यो कसरी मेटाबोलिक हुन्छ? ब्याक्टेरिया मारेर त्यसको टक्सिन बाहिरिन्छ कि बाहिरिँदैन? शरीरमै रह्यो भने त हानि हुन्छ। मान्छेमा त्यसपछि जान्छौँ। मान्छेसम्म पुगेपछिका पनि विभिन्न चरण छन्। यी सबै प्रक्रिया निकै महँगा र समय लिने हुन्छन्।
नेपालमा औषधि सम्बन्धी खोज–अनुसन्धान सुरु हुन अझै कति समय लाग्ला?
नेपालीहरुले विश्वका विभिन्न ठाउँमा बसेर काम गरिरहेका छौँ। यिनै हात र ब्रेन हुन्, जुन बाहिर काम गर्ने यहाँ नगर्ने हुँदैन। तर वातावरण कसरी बन्छ वा बनाइन्छ भन्ने हो।
पछिल्ला दुई÷चार वर्षको ट्रेन हेर्दा नेपालमा पनि साथीहरुले सुरु गर्नुभएको छ। बिजुली मात्रै नियमित हुँदा पनि केही साथीहरुले कम्पनी खोलेर काम थाल्नुभएको छ। औषधि निर्माणका सबै चरण नेपालमा अहिले नै पूरा गर्न नसकिएला तर केही चरणमा काम गर्न सकिन्छ। नेपाली जनशक्ति मिहिनेती र दक्ष रहेको प्रमाणित विभिन्न समयमा भइरहेकै छ। यता वातावरण तयार भए त हामी पनि आउँछौं। आखिर यो मन त नेपाली नै हो।
तर, वैज्ञानिकले कहाँ बसेर काम गरिरहेको छ भन्ने कुरा अर्थ भने हुँदैन। जहाँ बसे पनि संसारभरका मानिसका लागि काम गरिरहेको हुन्छ। हामीले त्यहाँ औषधि पत्ता लगाउँदा त्यसको लाभ विश्वभरिकै मानिसले पाँउछन्। जस्तो ग्राह्मबेलले टेलिफोन बनाए, उनको छोराले मात्रै चलाएका त होइनन्। सबै मानव जातिको सम्पत्ति बन्यो।