हरेक वर्षझैं यस वर्षको मे महिनाको ३१ तारिखका दिन विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस आज नेपालमा पनि “सुर्ती उद्योगको प्रभचावाट बालबालिकालाई बचाऔं” भन्ने नाराकासाथ मनाइदै छ। विश्व स्वास्थ्य संगठनको आव्हानमा मनाइने यो दिवस सुर्तीजन्य पदार्थ सेवन तथा त्याग गर्न सिकाउने औपचारिक जनस्वास्थ्य अभियान हो।
परिचय: धुँवा आउने, नआउने सुर्तीजन्य पदार्थवाट निर्मित चुरोट, बिडी, तम्बाकु, खैनी, गुट्खा, जर्दा वा पानपराग आदि सवै सुर्तीजन्य पदार्थमा कार्बन मोनोक्साईड, निकोटिन, टार, बेञ्जोपाईरिन, एमोनियाजस्ता ४ हजार भन्दा बढी क्यान्सर बेञ्जोपाईरिन लगायतका क्यान्सर रसायन हुन्छन्, ती मध्ये ४० जतिले क्यान्सर गराउँनुका साथै मृत्यु समेत गराउँछन्।
उद्देश्य: सुर्तीजन्य पदार्थको उद्योगबाट उत्पादनको प्रभाव तथा सेवनबाट हाम्रा बालबालिकालाई बचाउन र सुर्ती उद्योग तथा सेवनविरुद्ध प्रभावकारी नीति बनाउन पैरवी गरी यस्ता पदार्थको सेवनलाई छुटाउनका लागि जनचेतना अभिवृद्धि गर्नुनै यस दिवसको मुख्य उद्देश्य हो।
पृष्ठभूमी: सन् १९८७ मा विश्व स्वास्थ्य साधारण सभाद्धारा सुर्तीजन्य पदार्थको उत्पादनबाट जनस्वास्थ्य, समुदाय एवम् वातावरणलाई पुर्याउने हानीबाट बचाउन विश्व स्वास्थ्य दिवसको अवसरमा “विश्व धुम्रपानविरुद्धको दिवस” मनाउन आव्हान गर्यो। अनि १९८८ मा विश्व स्वास्थ्य संगठनद्वारा हरेक वर्ष में ३१ तरिखदेखि विभिन्न नाराकासाथ विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस मनाउने निर्णय गर्यो। सूर्तीबाट मानव स्वास्थ्यमा पार्ने समस्या र जोखिम निराकरण गर्न विश्वव्यापी नीति निर्माण गरी सम्पूर्ण समाजलाई स्वस्थ राख्न सघाउ पुर्याउनका लागि सन् २००३ मा सूर्तीजन्य पदार्थ नियन्त्रणसम्बन्धी महासन्धि पारित गरियो। यस महासन्धिको उद्देश्य विश्वव्यापी रुपमा सूर्तीजन्य पदार्थ त्याग गर्ने कार्यको कार्यान्वयन गर्ने सम्झौता गरियोे। सन् २००८ को विश्व सूर्तीजन्य पदार्थविरुद्धको दिवसको पूर्व सन्ध्यामा विश्व स्वास्थ्य संगठनद्धारा विश्वव्यापी रुपमा सूर्तीजन्य पदार्थसम्बन्धी सवै किसिमका विज्ञापन, प्रवद्र्धन तथा प्रायोजन वन्द गर्न आव्हान गर्यो। त्यस वर्षको दिवसको “सूर्तीजन्य पदार्थमुक्त युवा” नामक नारा मार्फत बालबालिकालगायत युवालाई लक्षित गरी सुर्तीजन्य पदार्थको सेवन छुटाउन स्वास्थ्य प्रवद्र्धन अभियानको थालनी गरिएको हो।
वर्तमान अवस्था: हरेक वर्ष विश्वभरीका १३ देखि १५ वर्ष उमेरका झण्डै ३ लाख ७० हजार युवायुवती कुनै न कुनै माध्यमको सुर्ती सेवन गर्दछन् भने सुर्ती सेवन गर्न सिकेका ३ गुणाजति युवाले विद्युतीय सुर्ती सेवन गर्दछन्। सुर्ती सेवनकर्ता मध्ये सुर्ती सेवनकै कारणले वर्षेनी ५० प्रतिशतको मृत्यु हुने गरेको छ। करिब ८० लाख व्यक्ति प्रत्यक्ष रुपमा सुर्तीजन्य पदार्थ सेवन गर्छन् भने १ करोड ३० लाख सुर्ती सेवन नगर्ने भए पनि अरुले गरेको धुवाँ (सेकेण्ड हैंड स्मोक) बाट प्रभावित हुन्छन्। यसरी प्रभावित भएकालाई पनि मुटु,तथा श्वास–प्रश्वाससम्बन्धी गम्भीर समस्या देखिने मात्र नभई फोक्सोको क्यान्सर समेत हुन्छ, फलस्वरुप वर्षेनी १ करोड ३० लाखजतिको अपपरिपक्व अवस्था र अकालमै मृत्यु हुने गरेको छ। विश्व भरका करिब १ करोड ३० लाख सेवनकर्ताहरु कम तथा मझ्यौलो स्तरको आम्दानी हुने मुलुकका छन्। १५ देखि २४ वर्षका ५८ प्रतिशत युवाहरुले विद्युतीय धूमपान गर्छन्। सन् २०३० सम्ममा १ करोड भन्दा बढी सुर्ती सेवनकर्ताको सुर्ती सेवनकै कारणले उत्पन्न स्वास्थ्य समस्यावाट मृत्यु हुने अनुमान गरिएको छ। नेपालको जनसंख्याको ५७ प्रतिशत पुरुष र ११ प्रतिशत महिलाले सुर्तीजन्य पदार्थ सेवन गर्छन्, ३० हजारभन्दा बढी सेवनकर्ताको सुर्ती सेवनकै कारणले मृत्यु हुने गरेको छ। वर्तमान अवस्थामा सुर्तीजन्य पदार्थ सेवन धेरै प्रकारका क्यान्सरको मूख्य कारण बनेको छ।
सुर्ती सेवनबाट उत्पन्न स्वास्थ्य समस्या: सुर्तीजन्य पदार्थले रोग प्रतिरोध क्षमता कम गराउने हुँदा सेवन नगर्नेको तुलनामा सेवनकर्तामा उच्च रक्तचाँप, मुटुसम्बन्धी रोग, मष्तिष्कघात, दीर्घ श्वासप्रश्वास रोग, दीर्घ ब्रोङ्काइटिस, इन्सुलिन हर्मोनमा असरका कारण टाइप २ मधुमेह तथा यसको विकृति, दृष्टि कमजोर, महिलाहरुमा यौन चाहनामा कमी, समय अगाडिनै महिनावारी वन्द हुने, गर्भमा रहेको भु्रणको शारीरिक तथा मानसिक बृद्धि/विकास नभई तौलकम भएको शिशुजन्मनेजस्ता जटिल समस्या उत्पन्न हुन्छन्। सुर्तीजन्य पदार्थमा क्यान्सरजन्य पदार्थ हुने हुँदा पाचन प्रणाली (मुख, दाँत, जिब्रो, ओंठ, गिंजा) घाँटी, श्वरनली, खानाको नली, फोक्सो, पाठेघर, कपाल, नङ, छालाका साथै रक्त क्यान्सरलगायतका जटिल स्वास्थ्य समस्या उत्पन्न हुन्छन्। सुर्ती सेवनबाट उत्पन्न समस्याको उपचारका लागि परिवारको २० % भन्दा बढी खर्च हुनेमात्र नभई यसवाट विश्वको अर्थतन्त्रमा समेत नकारात्मक असर पर्छ। स्वास्थ्य सेवा विभागको २०७८/७९ को प्रतिवेदन अनुसार नेपालमा सर्ने रोगभन्दा नसर्ने रोगहरुको वाहुल्यता (६६ प्रतिशत) छ। यसको प्रमुख कारण न्युन साक्षरतादर,बढ्दो सहरीकरण, देखासिकी तथा अस्वस्थकर जीवनशैली हो। तसर्थ सुर्तीजन्य पदार्थको कुलतमा फसेका किशोरकिशोरी, युवाका कारणल नसर्ने रोगमा बृद्धि भएको हो।
सुर्तीजन्य पदार्थ त्याग गर्दाका फाइदाहरु: आफैले तथा अरुले उडाएको धुँवा निल्नपर्ने सवै खालको सुर्ती सेवन त्याग गर्दा धेरै फाइदा हुन्छ। जस्तै: २० मिनटसम्म सुर्ती सेवन नगर्दा मुटुको गति र उच्च रक्तचाँप घट्छ, १२ घण्टासम्म छोड्दा रगतमा कार्बनमोनोक्साइड घट्छ, २ देखि १२ हप्ता छोड्दा फोक्सोको कार्य तथा रक्तसञ्चारमा सुधार हुन्छ, १ देखि ९ महिनासम्म छोड्दा श्वासप्रश्वासमा कठिनाई घट्छ, १ वर्षसम्म छोड्दा मुटुको समस्या ५०% घट्छ, ५ वर्षमा सेवन गर्नेभन्दा सेवन नगर्र्नेमा मस्तिष्कघातको जोखिम ५ देखि १५ वर्षसम्म घट्छ, १० वर्षसम्म छोड्दा फोक्सोको क्यान्सरको सम्भावना ५० प्रतिशत र मुख, घाँटी, खाना नली, पिसावको थैली, पाठेघर र प्याङ्क्रियाका रोगको जोखिम घट्छ, सुर्ती छोडेको १५ वर्षमा मुटुसम्बन्धी (कोरोनरी हर्ट डिजिज) रोग तथा कोरोना भाइरस संक्रमणबाट विभिन्न रोगले च्याप्ने सम्भावना निकै कम हुन्छ भने सुर्तीजन्य पदार्थ सेवनकै कारणले उत्पन्न हुने १६ किसिमका क्यान्सरबाट समेत बँच्न सकिन्छ।
सुर्तीजन्य पदार्र्थ त्याग गर्ने उपाय:
- सुर्तीजन्य पदार्थ सेवन नगर्न मानसिक रुपमा अठोट गर्ने।
- सुर्तीजन्य पदार्थ सेवन छोडेर खेलकूद जस्ता फाइदाजनक र मनोरञ्जनात्मक काममा लाग्ने।
- आफ्नो जीवनशैलीमा सुधार (विहानको नित्यकर्मपछि पानी पिउने, सकारात्मक सोँचकासाथ समयमै खाने, सुत्ने एवम् शारीरिक एवम् मानसिक स्वास्थ्यको ख्याल राख्ने, बेलुका खाना खाएपछि एक माइलजति हिड्ने) गर्ने।
- सुर्तीजन्य पदार्थको तलतल लागेमा फलफूल खाने।
- निकोटिन प्रतिस्थापन औषधिजन्य पदार्थ (सिन्काउलीको स्वादका चुइङगम चुस्ने पदार्थ, प्याच) को प्रयोग गर्ने।
- सुर्तीजन्य पदार्थ त्याग गर्न विभिन्न सञ्चार माध्यमका सन्देशमूलक जानकारी राख्ने र स्वस्थकर वानी व्यहोरा अपनाउने अभियान चलाउने।
सुर्तीजन्य पदार्थ नियन्त्रणका उपाय: यस वर्षको सुर्तीजन्य पदार्थविरुद्धको दिवस सुर्तीजन्य पदार्थ उद्योगबाट प्रकाशित/प्रशारित लोभलाग्दा विज्ञापनमा रोक लगाई बालबालिकालगायत युवाहरुको सुर्ती सेवनको कुलत त्याग गर्न सघाउनमा केन्द्रित छ। सुर्ती सेवनका कारण उत्पन्न स्वास्थ्य समस्या एवम् मृत्यु हुनवाट बालबालिका एवम् युवालगायत सवै नागरिकको स्वास्थ्य सुधार गर्न विश्व स्वास्थ्य संगठनले सूर्तिजन्य पदार्थ नियन्त्रण रणनीति २०३० को कार्यान्वयनमा सरकारले २०६८ वैशाखमा सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन तथा नियमावली लागु गरेको छ। अर्थात् सार्वजनिक स्थानमा कुनै पनि प्रकारका सुर्तीजन्य पदार्थ सेवन र बिक्रीसमेत गर्न, उपहार दिन नपाउने, गर्भवती र नावालिगले खरिद गर्न नपाउने कानून जारी गरेको छ। नेपाल सरकारले सुर्तीजन्य पदार्थ त्याग गर्न परामर्श तथा उपचारसम्बन्धी अभिमूखिकरण/तालिम पुस्तिकालाई अन्तिमरुप दिएको छ। यसबाट समुदायस्तरसम्म सवै किसिमका सुर्तीजन्य पदार्थ सेवन त्याग गर्न/गराउन र यससम्बन्धी अनुगमन गर्ने प्रयास गरेको छ। सेवनकर्ताको अवस्थाको पहिचान गर्ने, सेवनकर्तालाई सही र स्पष्ट किसिमले परामर्श दिने, त्याग गर्न चाहेको र प्रयास गरे/नगरेको निश्चित गर्ने, सुर्ती छुटाउन नियमित परामर्श दिने र व्यक्तिगत, सामाजिक सञ्चार माध्यमबाट परामर्श गरी सुर्ती सेवन त्याग गर्न सघाउनु पर्छ, सुर्तीसेवनबाट उत्पन्न खतराका चिन्हबारे सजग बनाउनु पर्छ, र सुर्तीजन्य पदार्थमा अत्यधिक कर वृद्धि गर्नुपर्दछ। सुर्तीजन्य पदार्थ सेवनविरुद्ध शिक्षा, स्वास्थ्यलगायत सवै निकायबाट विभिन्न कार्यक्रम मार्फत् समुदायस्तरसम्म व्यापक रुपमा जनचेतना अभिबृद्धि गर्नु परेको छ, यसका लागि विद्यालय शिक्षाको पाठ्यक्रममा सुर्तीजन्य पदार्थ विरुद्धका पाठ्य सामाग्री राख्नुपर्छ।
सुर्तीजन्य पदार्थ विरुद्ध सन्देशः
- सुर्तीजन्य पदार्थले अफिम, मदिरा अथवा कोकिनभन्दा बढी लत बसाल्छ, सुर्ती सेवन सुरु गरेको केही दिन वा हप्ताभित्रै निकोटिनको लतबाट गम्भीर समस्या देखिन्छन्।
- धुवाँसहितको सुर्ती सेवन गर्ने दुई–तिहाईमा केवल एउटै खिल्लीले पनि दिनहुँ सेवन गर्ने हुन्छन्।
- सवै प्रकारको सुर्ती सेवन हानिकारक हुन्छ, सेवनकर्ता मध्ये वयश्क भन्दा किशोरकिशोरीहरु क्म समय र थोरै खिल्लीबाटै कुलत बसाल्छन्।
- सुर्ती उद्योगको आकर्षक विज्ञापनले पनि प्रभाव पारेको हुन्छ र अधिकांश धूमपान सेवनकर्ताहरु १८ वर्षको उमेरभित्रै सिकिसकेका वा लत बसालिसकेका हुन्छन्।
- सुर्तीजन्य पदार्थबाट उत्पन्न हुने निकोटिन युवाहरुको शारिरीक एवम् मानसिक स्वास्थ्यमा दीर्घकालीन प्रतिकूल असर गर्नसक्छ।
- घर, विद्यालय, रेष्टुरा, मेलालगायत सार्वजनिक स्थलको कम्तिमा १ मिटर वरिपरि धुवाँसहित, धुवाँरहित वा विद्युतीय (भेपिङ) कुनै पनि धूमपान गर्नबाट रोक लगाउने।
- धुवाँ आउने/नआउने वा विद्युतीय (भेपिङ) सुर्तीजन्य पदार्थले दम, फोक्सोमा क्षति, तनाव आदि शारिरीक तथा मानसिक हानि गर्दछन्।
सुर्ती सेवनबाट बचाउने मुख्य उपायहरु:
- सुर्तीजन्य पदार्थ सेवन सुरु नगर्न र सेवन त्याग गर्न विद्यालयलगायत समुदायस्तरसम्म चेतना अभिवृद्धि अभियान चलाउनुुपर्छ।्
- सुर्तीजन्य पदार्थ सेवनकर्ताको अनुगमन गरी यसबाट रोकथामसम्बन्धी कडा नीति नियमको कार्यान्वयन गर्नुपर्छ।
- सुर्तीजन्य पदार्थ त्याग गर्न स्वास्थ्यकर्मीलाई परिचालन गरी सघाउनुपर्छ।
- सुर्तीजन्य पदार्थको आयात, बजार मूल्यमा वातावरण करसमेत गरी करमा अत्यधिक (कम्तिमा ५० प्रतिशत) वृद्धि गरिनुपर्छ। स्वास्थ्य कर कोषको रकमबाट समुदायस्तरसम्म सुर्तीजन्य पदार्थको सेवन रोकथाम र सेवनकर्ताको कुलत छुटाउन उपचार तथा परामर्शबारे विभिन्न कार्यक्रम तथा अभिमूखिकरण/तालिम प्रदान गरिनुपर्छ।
- सुर्तीजन्य पदार्थका विभिन्न उत्पादन/प्रकारका साहसिक आकर्षणबारे कुनै पनि माध्यमबाट विज्ञापन गर्न रोक लगाउनु पर्छ।
- विद्यालयदेखि उच्च शैच्छिक संस्थामा सुर्तीजन्य पदार्थविरुद्ध विभिन्न प्रतियोगितात्मक कार्यक्रम तथा पाठ्य सामग्री मार्फत् सुर्ती सेवनबाट उत्पन्न जोखिमबारे चेतावनी दिइनुपर्छ।
- धूमपानको लत छूटाउने अठोट गरेर वैकल्पिक उपाय (चुस्ने ओखती, गम, प्याच, नाकमा छर्कने (नेजल स्प्रे र सुँघ्ने औषधि) प्रयोगमा लगाउनु बाञ्छनीय हुन्छ।
- सुर्तीजन्य पदार्थको उत्पादन, व्यवसाय, विज्ञापन र बिक्री वितरणमा रोक लगाइनुपर्छ।
- सुर्तीजन्य पदार्थविरुद्धको दिवस विभिन्न प्रतियोगितात्मक शिक्षामूलक कार्यक्रमसहित समुदायस्तरमै मनाउने व्यवस्था गरिनुपर्छ।
(गङ्गाराज अर्याल स्वास्थ्य प्रवर्धन विज्ञ हुन्। उनी नेपाल सरकारको स्वास्थ्य सेवामा ४० वर्ष सेवापछि निर्देशकबाट सेवा निबृत्त भएका हुन्।)