आत्महत्याबारे सचेतना, संवाद, पैरवी, कार्यक्रम र नीति निर्माणको लागि सन् २००३ देखि सेप्टेम्बर १०लाई आत्महत्या रोकथाम दिवसको रुपमा मनाउँदै आएको छ। सन् २००३ देखि नै मानसिक स्वास्थ्य क्षेत्रमा लागेको हुनाले यसमा सुरुदेखि नै हरेक वर्ष केही न केही आफूले सकेको गर्दै आएको छु। सन् २००६ मा यसबारे लेख लेखेको थिएँ। यसबारे अनलाइन र प्रत्यक्ष कार्यक्रम, प्रवचन, रेडियो, टिभी, पत्रपत्रिकामा जानकारीमूलक अन्तर्वार्ता, विविध तहका विद्यार्थीलाई यस विषयमा कक्षा, अनि हरेक दिन आकस्मिक सेवा, अन्तरंग र बहिरंग सेवामा निरन्तर आत्महत्यासँग सम्बन्धित जानकारी प्रवाह र सेवामा संलग्न हुँदै आएको छु। यस विषयमा हाम्रो स्थानीय तथ्याङ्क र जानकारीको लागि विविध अनुसन्धानमा संलग्न भइयो, थेसिस पनि गराइयो, जर्नल आर्टिकल पनि प्रकाशित गरियो। 'आत्महत्या र मनोरोग: हाम्रो दायित्व' पुस्तक लेखी बि.सं. २०६४ मा प्रकाशित गरियो। हरेक वर्ष सेप्टेम्बर १० मा आफैलाई प्रश्न गर्छु- के पो गर्दा हुन्छ? अब के गर्नुपर्छ? हरेक वर्ष यस विषयमा केही न केही अन्तरकुरा सेप्टेम्बर १० मा आउँछ। त्यसमा घोतलिन्छु, हो त नि भनेर आफैले गरेका काम र देखे पाएका फाइन्डिङहरूको समीक्षा पनि गर्छु, विभिन्न मञ्च र फोरमहरुमा सामग्रीहरु पस्किन्छु।
बोल्छु, लेख्छु र कतिपय रसृजना पनि गर्छु। यद्यपि हरेक दिन मानसिक स्वास्थ्य सेवामा आएका आत्महत्याका केसहरुले आफैंलाई गिज्याए जस्तो लाग्छ। आत्महत्यातिर धकेल्ने शत्रुहरु खित्खिताएर अट्टहास गरे जस्तो लाग्छ। यसबाट बच्ने बचाउने तत्व, संयन्त्रहरु कमजोर रहेको महसूस गर्छु। हाम्रा कोसिस, प्रयास र कदमहरु फिटलो रहेको देख्छु। तपाईं-हामी सबैको हातेमालो बिना हर प्रयास र कोसिसले मूर्त रुप लिने छैनन्। यस वर्ष सन् २०२४ को पनि यो सेप्टेम्बर १० को दिन अगाडि ठिङ्ग उभिन आइपुगेको छ। केही दिन पहिले केन्द्रबाट नै यसबारे काम गर्न बन्ने समितिमा बसिदिन आग्रह भएकोले आमन्त्रण गरेको कल पनि आयो। आज आत्महत्या रोकथाम दिवसमा यस विषयमा केही कुरा पस्कँदैछु ! जसको सरोकारको विषय हो तिनले समस्याको अपनत्व लिएर जागरुक भइ त्यस विषयमा केही गर्दा नै समाधानको सम्भावना हुन्छ र यही मर्ममा हामीले आत्महत्या रोकथामको पवित्र अभियानलाई अगाडि लैजानु परेको छ।
हामीकहाँ मनोरोगको खतरा ज्यादा देख्छु। यसबाट बचाउने बचावटका तत्वहरू भने कम देखा पर्छन्। रोग लागि हालेमा उपचार व्यवस्थापनको पूर्वाधार, जनशक्ति, सेवा सुविधा, जन-जागरुकता, सरकारको कार्यनीतिमा प्राथमिकता सबै सबै नाम मात्रका देखिन्छन्। यस्तो अवस्थामा आत्महत्याको समस्या विकराल हुनु स्वाभाविक हो। किनकि मानसिक रोग नै आत्महत्याको प्रमुख र प्रत्यक्ष कारक तत्व हो। मानसिक रोगको समयमै पहिचान, निदान र उपयुक्त उपचार गर्नु नै आत्महत्या रोकथामको एक महत्वपूर्ण उपाय हो। मनोसामाजिक प्रतिकुलता पनि सँगै गाँजिएर आत्महत्यासँग सम्बन्धित हुन्छन्, तिनको पनि यथोचित सम्बोधन आत्महत्या रोकथामको लागि आवश्यक हुन्छ।
यस वर्षको नारा 'आत्महत्या बारे संवाद सुरु गरौ, दृष्टिकोण बदलौं'ले फेरि झक्झक्याएर संवादको सुरुवात गरौँ भनेको छ। हरेक वर्ष एक नयाँ इन्साइट सहित नयाँ शिराबाट प्रयास अगाडि बढाउने हो। जीवन जोगाउने यो अभियानमा जनचेतना, जागरुकता, सकारात्मक सोच, वैज्ञानिक पहुँच र जुझारु पाइलाको विकल्प हुनै सक्दैन। आत्महत्या जस्तो संवेदनशील र उच्च महत्वको सूचकमा सकारात्मक सुधारको लागि सबै जिम्मेवार हुनु पर्छ।
व्यक्ति, परिवार, समाज, राज्य संयन्त्र र सेवाप्रदायक सबैले आआफ्नो भूमिका निभाऔं। यदि कसैमा आत्महत्याका खतरासूचक लक्षणहरु देखिएका छन्, नशासेवन गर्न थालेको वा त्यसमा हालै बृद्धि भएको छ, हालै ठूलै तनाब परी मनोरोगका विभिन्न लक्षणहरु देखा परेका छन्, निरासा र आत्महानीका र हरेस खाएका अभिब्यक्ति र ब्यवहारहरु देखिएका छन् भने तिनलाई नजरअन्दाज नगरौं । आत्महानी र हत्यामा प्रयोग हुनसक्ने माध्यम, सामग्री तथा स्थानप्रति सतर्कता अपनाऔं। खतरामा रहेका ब्यक्तिलाई एक्लै नछाडौं ।
व्यक्ति र परिवारले मानसिक समस्या र तनावको समयमै पहिचान, निदान र व्यवस्थापन उपचारको लागि सुसुचित होऔँ। आत्महत्याबारे संवादको थालनी गरौं। आफ्ना पीडा र समस्या शुभचिन्तक र सेवाप्रदायकसँग बाँडौं। परिवार, साथीभाई, नातागोताले आफूबाट कसैलाई आत्महत्यातिर धकेल्ने बोलीव्यवहार नगरौं। सके सहयोग गरौं; मानसिक रोगका लक्षणहरू देखिएमा उपचारको लागि सहायता गरौँ। समाज र राज्य संयन्त्रले यसको गाम्भीर्यता बुझेर यसको जनचेतना र आवश्यक सेवा सुविधाको लागि पहल गरौं। शिक्षक, पत्रकार र प्रबुद्ध वर्गले यसका लागि आवश्यक पैरवी गरौं। सबैले मिलेर आवाज यसरी उठाउँ कि वर्षैभरी ध्वनित भइरहुन्।
कसैलाई आत्महत्याको सोच, हुटहुटी, विचार आएमा वा यसको कालो छाया मात्र लागेमा पनि सजग भइ जीवन रक्षार्थ र स्वास्थ्य पुन: प्राप्तिका लागि उपयुक्त कदम उठाऔं। हामीकहाँ हामीलाई आत्महत्यातिर धकेल्ने खतराका तत्त्वहरूबारे चिन्तन, मनन र अनुसन्धान गरी तिनको यथोचित सम्बोधन पनि गर्दै जाऔं। आत्महत्या एक बहुआयामिक समस्या हो। सामाजिक, शैक्षिक, स्वास्थ्य, आर्थिक र अरु धेरै कुराहरुसँग सम्बन्धित हुने भएकोले त्यसै अनुसार विकास, शिक्षा, स्वास्थ्य, आर्थिक जस्ता विविध आयाम सहितको व्यापक संयन्त्रयुक्त समाज, देश र युगमा विकास र परिवर्तनको अभियानले नै मात्र यसमा पूर्णता हासिल हुनेछ।
फेरि पनि भन्छु- आत्महत्याको समस्यालाई यथार्थ परक ढंगले बुझौं। वैज्ञानिक दृष्टिकोणले सम्बोधन गरौं। आऔं, आत्महत्या रोकथामबारे संवादको थालनी गरौं। यो हाम्रै समस्या हो। यसको रोकथाम र व्यवस्थापन सम्भव छ। जागरुक भएर यसको सामना गरौं। यसको लागि समयमै तनाव व्यवस्थापन तथा मानसिक रोगको निदान र उपचार गरौं। आहार, विहार, विचार र वातावरणमा अनुकूलता ल्याई समग्र स्वास्थ्यको प्रवर्द्धन गरौं र आत्महत्या दूर गरौँ। सबैलाई शुभकामना।