करिब ७५ प्रतिशत बालबालिकामा ३ वर्ष पुग्नुअघि नै कम्तीमा एक पटक कानको संक्रमण हुन्छ। कानको संक्रमण प्रायजसो ब्याक्टेरिया वा भाइरसले गर्दा हुने गर्छ। यसमा कानको मध्यभागमा तरल पदार्थ/पिप बनेर जम्मा हुने र सुन्निने हुन्छ। यसलाई हामी सामान्य भाषामा कान पाकेको भन्छौँ।
मध्य कान भनेको कानको पर्दाको पछाडि हावाले भरिएको ठाउँ हो। यसमा साना-साना ३ हड्डिहरु रहन्छन् जसले कानको बाहिरबाट आउने आवाजलाई मस्तिष्कको लागि अर्थपूर्ण संकेतहरूमा रूपान्तरण गर्ने काम गर्दछ।
कानको संक्रमण कहिलेकाहीँ साह्रै पीडादायी हुन्छ किनभने सुन्निनु र अतिरिक्त तरल पदार्थ/पिपको निर्माणले कानको पर्दामा दबाब बढाउने हुन्छ।
कानको संक्रमण कहिलेकाहीँ तीब्र रुपमा सुरु हुन्छ भने अर्को खालको लामो समय घरिघरि सताउने र बीचमा ठिक भए जस्तो हुनसक्छ। पुरानो कानको संक्रमणले मध्य कानलाई स्थायी रूपमा क्षति पुर्याउन सक्छ।
यसका लक्षणहरू ठूला मानिसहरुमा सजिलै पत्ता लाग्छन्। कानमा संक्रमण भएका मानिसहरुले कान दुख्ने, कान भारी महसुस हुने, कानबाट पानी या पिप बग्ने र श्रवणशक्ति कम भएको अनुभव गर्छ। तर बच्चाहरूमा भने लक्षणहरु यतिमै सीमित रहँदैन। जसमा बच्चाहरूले आफ्नो कान तान्ने वा थिचिरहने , विशेष गरी सुत्दा कान दुख्ने, यसले गर्दा सुत्न कठिनाइ हुने, सामान्य भन्दा धेरै रुने, ज्वरो आउने, भोक नलाग्ने वा खाना नखाने, टाउको दुख्ने आदि पर्छन्।
उपचार
६ महिनाभन्दा मुनिका शिशुहरूलाई संक्रमण फैलिनबाट रोक्नको लागि एन्टिबायोटिक चाहिन्छ। त्यसैले समयमा नै सम्बन्धित चिकित्सकलाई भेट्नु पर्छ।
६ महिनादेखि २ वर्षसम्मका बालबालिकाहरूका लागि, जबसम्म बच्चामा गम्भीर सङ्क्रमणको लक्षणहरू छैनन्, सामान्यतया एन्टिबायोटिक्स आवश्यक हुँदैन। यिनीहरु प्रायः उपचार बिना नै ठिक हुन्छन्, दुखाइ र ज्वरो कम गर्ने औषधि मात्र आवश्यक पर्छ। बढी गम्भीर प्रकृति वा लामो समयसम्म ठिक नभएका सङ्क्रमणहरुमा मात्र एन्टिबायोटिक सुरु गर्नुपर्ने हुन सक्छ। यस्ता बच्चाहरू जसमा ४८ घण्टा भन्दा कमको लागि हल्का कान दुखेको र १०२.२ ° F (३९ °C) भन्दा कम ज्वरो छ भने घरायसी उपचार गरेर हेर्न सकिन्छ। तातो पानीमा रुमाल भिजाएर सेक्ने हो भने पनि कानको दुखाइ केही हदसम्म कम हुन सक्छ।
२ वर्षभन्दा बढी उमेरका बच्चाहरुको लागि कानको संक्रमण हुँदा, एन्टिबायोटिक सामान्यतया चाहिँदैन। एन्टिबायोटिकको अत्यधिक प्रयोगले एन्टिबायोटिक प्रतिरोधी क्षमता बढाउँछ। यसको मतलब यो हुन्छ कि भविष्यमा गम्भीर संक्रमणहरू उपचार गर्न अझ गाह्रो हुन सक्छ।
रोकथाम कसरी गर्ने?
कानको संक्रमण धेरै हुने गर्छ, विशेषगरी बच्चाहरुमा। यो बच्चाको कमजोर प्रतिरक्षा प्रणाली अथवा बच्चाहरूको कान र ठूला मानिसको कानमा हुने भिन्नता को कारणले हो। कानको संक्रमण रोक्ने कुनै ग्यारेन्टी तरिका त छैन, तर केही उपायहरु भने छन् जसले यसको जोखिम कम गर्न सक्छन् :
• खोप लगाएका बालबालिकालाई कानमा संक्रमण हुने सम्भावना कम हुन्छ। मेनिन्जाइटिस, न्यूमोकोकल, र फ्लू खोपहरूबारे चिकित्सकसँग सल्लाह गर्नुहोस्।
• आफ्नो हात र आफ्नो बच्चाको हात राम्रोसँग धुनुहोस्। यसले तपाईंको बच्चामा ब्याक्टेरिया फैलिनबाट रोक्छ र तिनीहरूलाई चिसो र फ्लूबाट बच्न पनि मद्दत गर्छ।
• बच्चालाई धूमपानको सम्पर्कमा आउन नदिनुहोस। धूमपान गर्ने व्यक्तिको वरिपरि रहने शिशुहरूलाई कानमा संक्रमण हुने सम्भावना बढी हुन्छ।
• सम्भव भएसम्म शिशुहरूलाई स्तनपान गराउनुहोस्। यसले उनीहरुको रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ। बोतल फिडिङभन्दा स्तनपान गरेका बच्चाहरुको रोग प्रतिरोधात्मक क्षमता धेरै हुन्छ।
• बच्चालाई बोतल बाटै दुध खुवाउनु पर्ने हुँदा उठाएर अथवा बसाएर खुवाउनुहोस्। बच्चा सुतेको बेला बोतल चुस्न नदिनुहोस्।
• आवश्यक नभएसम्म एन्टिबायोटिक प्रयोग नगर्नुहोस्। विगत ३ महिना भित्र कानमा संक्रमण भएका बालबालिकाहरूमा फेरि कानमा संक्रमण हुने सम्भावना बढी हुन्छ। हरेक पटक एन्टिबायोटिक प्रयोग गरियो भने अर्को पटक बढी गम्भीर खालको संक्रमण हुने जोखिम बढेर जान्छ।
कानको संक्रमण धेरै मानिसको बाल्यकालमा चाहेर पनि रोक्न नसकिने एक पाटो हो। तिनीहरू पीडादायी हुन सक्छन्। तर ठिकसँग व्यवस्थित गरियो भने यसबाट हुन सक्ने दीर्घकालीन समस्याहरू रोकथाम गर्न सकिन्छ। विभिन्न चिकित्सकीय उपचार र शल्यक्रियाहरू उपलब्ध छन्, जसबाट कानको संक्रमण कम गर्न सकिन्छ र दीर्घकालीन नकारात्मक असरबाट बच्न सकिन्छ। यद्यपि, सबैका लागि एकै उपचार उपयुक्त हुन्छ भन्ने हुँदैन। त्यसैले समयमा नै सम्बन्धित चिकित्सकको सुझाव लिन जरुरी हुन्छ।
(डा सुनार नाक, कान, घाँटी रोग विशेषज्ञ हुन्।)