केही समयअघि पुरूषोत्तम बहादुर चन्द (नाम परिवर्तन)ले अनुभव सुनाए, उनलाई पिसाब फेर्न गाह्रो हुँदै गएको छ। यो अचानक भएको थिएन। यो क्रमशः बढ्दै गएको थियो। आयुर्वेद र योगप्रति विश्वास भएको हुँदा उनले नजिकैको महाकाली आयुर्वेद औषधालयमा गएर परामर्श गर्ने निर्णय गरेछन्। त्यहाँका चिकित्सकले छिन-छिनमा पिसाब लाग्ने, पिसाबको धारो सानो हुँदै जाने, पिसाब निस्किन बेर लाग्ने, पिसाब ननिख्रने वाताष्ठीला अथवा प्रोस्टेट बढेको लक्षण हुन्। उपचार शुरू गर्नुअघि केही पर्खेर हेर्न सुझाए। केही समय योगाभ्यास सहित आहार र जीवनशैलीमा सुधार गरी ३ महिनामा फेरि अस्पताल आउन भनियो।
तीन महिनापछि पुरूषोत्तमले थाहा पाए कि उनको प्रोस्टेट ६० सिसिबाट ५५ सिसि सम्म घटेको थियो। उनको लक्षणहरू अलि सहज हुँदै गइरहेका थिए। डाक्टरले उनलाई योगाभ्यासका साथमा केहि आयुर्वेदिक औषधि पनि थपिदिए। अहिले एक वर्षपछि पुरूषोत्तम दैनिक २ घण्टा योगाभ्यास गर्दछन् र सहज जीवन बिताइरहेका छन्। उनको प्रोस्टेट अहिले ३२ सिसि पुगेको छ। साथै उनी प्रोस्टेट बढेको अवस्थामा उपचारका सबै विकल्पहरूको फाइदा र बेफाइदाहरूको मूल्याङ्कन गरी उपयुक्त विकल्प रोजी त्यस विधामा अरू भन्दा अनुभवी चिकित्सककहाँ मात्र उपचार गराउनुपर्ने बताउँछन्।
यदि तपाईंलाई वाताष्ठीला (बिनाइन प्रोस्टाटिब हाइपरप्लासिया)भनेर चिनिने ठूलो प्रोस्टेट भएको निदान गरिएको छ भने तपाईं एक्लो हुनुहुन्न। यो उमेर बढ्दै जाँदा पुरूषहरूमा देखिने सामान्य अवस्था हो। वास्तवमा ५१ देखि ६० वर्षका करिब आधा पुरूषहरूलाई यो समस्या हुन्छ। ८० वर्षभन्दा माथिका ९० प्रतिशतसम्मलाई यो हुन्छ। वयस्क पुरूषहरूमा सामान्य रूपमा प्रोस्टेटको आकार ओखर जत्तिकै हुन्छ, यो बढेर सुन्तला दानाको जत्रो पनि हुन सक्छ। ग्रन्थी बढ्दै गएपछि यसले मूत्रलनीलाई दबाउन सक्छ।
यदि तपाईंले पिसाब नै गर्न सक्नुहुन्न वा तपाईंलाई मृगौलाको समस्या (मृगौला फेल)छ भने तत्काल अस्पताल गई उपचार गर्नु आवश्यक छ। तर कमजोर पिसाबको धारा वा पिसाब गर्दा बल गर्नुपर्ने वा प्रयास गर्नुपर्ने जस्ता लक्षणहरू मात्र भएमा पर्खेर हेर्न सकिन्छ। वाताष्ठीला (बीपीएच) आफैंलाई कुनै उपचार आवश्यक नपर्न सक्छ, तर यदि यसले लक्षणहरू देखिन थाले भने उपचार चाहिन सक्छ। बिपिएच भनेको प्रोस्टेटको सामान्य वृद्धि भन्ने बुझिन्छ। यसको अर्थ यो क्यान्सर होइन, न त यसले क्यान्सरको कारण नै बन्छ। तथापि, बिपिएच र क्यान्सर एउटै समयमा हुन सक्छ। यदि तपाईंलाई लक्षणहरू छन् भने, पूर्ण निदान पाउनु र राहत पाउन सकिने उपायहरूको बारेमा जान्नु ठूलो महत्वको कुरा हो।
प्रोस्टेट पुरूष प्रजनन प्रणालीको हिस्सा हो। प्रोस्टेटको मुख्य काम वीर्यको लागि तरल पदार्थ बनाउनु हो। यसको आकार ओखरको जत्रो हुन्छ र तौल लगभग २८ ग्राम हुन्छ। यो ग्रन्थी मूत्राशयको तल र मलाशयको अगाडि बसेको हुन्छ। यसले मूत्रनलीलाइ घेरेको हुन्छ। मूत्रनलीले पिसाबलाई मूत्राशयबाट लिएर लिङ्गको माध्यमबाट बाहिर लैजान्छ।
वाताष्ठीला भनेको के हो ?
वाताष्ठीला वा बिपिएच भनेको प्रोस्टेट र वरिपरिको तन्तु बढ्नु हो। प्रोस्टेटले पुरूषको उमेर बढ्दै जाँदा दुई मुख्य वृद्धिको अवधिलाइ अनुभव गर्छ। पहिलो त किशोरावस्थाको सुरुवातमा हुन्छ, जब प्रोस्टेटको आकाकर दोब्बर हुन्छ। दोस्रो लगभग २५ वर्षको उमेरदेखि सुरु हुन्छ र प्रायः पुरूषको जीवनभरि जारी रहन्छ। उमेर बढ्दै जाँदा तपाइको प्रोस्टेट ठूलो हुन सक्छ। बिपिएच भनेको त्यस्तो अवस्था हो जब प्रोस्टेट यति ठूलो हुन्छ कि यसले समस्या उत्पन्न उत्पन्न गर्न थाल्छ।
प्रोस्टेट ठूलो हुँदै जाँदा यसले युरेथ्रामाथि दबाब दिन्छ। मूत्राशयको पर्खाल बाक्लो हुन्छ। समयसंगै मूत्राशय कमजोर हुन सक्छ र पूर्ण रूपमा खाली हुने क्षमता गुमाउन सक्छ। त्यसपछि पिशाब मूत्राशयमा रहिरहन्छ र तल्लो मूत्रमार्गका धेरै समस्याहरू उत्पन्न गर्छ।
वाताष्ठीलाको जोखिममा को छ?
• ५० वर्षभन्दा माथिका पुरूष
• बुवालाइ प्रोस्टेट भएका पुरूषहरू
• सक्रिय नरहने पुरूषहरू
• लिङ्गमा उत्तेजनाको कमी भएका पुरूष
वाताष्ठीलाका लक्षणहरू के हुन्?
• प्रोस्टेट ठूलो हुँदा यसले मूत्राशयलाइ असर गर्न वा मूत्र रोक्न सक्छ।
• पिसाब बारम्बार गर्नुपर्ने यसको सामान्य लक्षण हो।
• हरेक एक देखि दुइ घण्टामा पिसाब बारम्बार गर्नुपर्ने हुनसक्छ, विशेषतः राती।
• पिसाब गरेपछि पनि मूत्राशय भरिएको जस्तो महशुस हुनु।
• पिसाब गर्दा धेरै पटक रोकिनु र पुनः शुरू गर्नुपर्ने आवश्यकता हुनु।
• पिसाब रोक्न नसक्नु, तुरून्त पिसाब फेरिहाल्नु पर्ने।
• पिसाबको प्रवाह कमजोर हुनु।
• पिसाब गर्दा धकेल्नुपर्ने।
• राती दुइभन्दा बढी पटक उठेर पिसाब गर्नुपर्ने।
वाताष्ठीलाको कारण के हो ?
कारण स्पष्ट नभए पनि उमेरसंगै घट्दै गएको टेस्टोस्टेरोन, यथावत रहेको एन्ड्रोजन हर्मोनको कारण यो हुनसक्छ।
परीक्षणहरूः
वाताष्ठीलाका धेरै परीक्षणहरू छन्।यसको निदान तथा अनुगमनका लागि तलका परीक्षणहरू प्रयोग गरिन्छ।
• लक्षणहरूको तीब्रताका आधारमा सर्वप्रथम वाताष्ठीलाको निदान गरिन्छ थप परीक्षणहरूको आधार पनि यही बन्दछ।
• स्थानीक परीक्षण (डिजिटल रेक्टल) चिकित्सकले औला गुदद्वारमा राखेर प्रोस्टेट ग्रन्थीको अंगुली परीक्षण गर्नसकिन्छ।
• पिसाबको परीक्षणः युरिन रुटि माइक्रोस्कोपिक परीक्षणद्वारा मूत्रमा रगत भए नभएको, मूत्रमा चिनि भए नभएको लगायत अन्य कुराको जानकारी हुन्छ। मूत्रमा रगत देखिएमा र पिसाब फेर्दा दुखाइ भएमा तुरून्त चिकित्सकलाइ भटी क्यान्सर भए नभएको निर्क्यौल गर्नुपर्ने हुन्छ।
• अल्ट्रासाउण्डः शरीरभित्र प्रोस्टेटको आकार हेर्न र पिसाब फेरेपछि पिसाब कति मात्रामा मूत्राशयमा बाकि रहेको छ भनेर यसबाट पत्ता लाग्छ।
• रक्त परीक्षणः क्यान्सरको आशंका भएमा पीएसए (प्रोस्टेट स्पेसिफिक एन्टिजिन) गरिन्छ।
वाताष्ठीलाका उपचारहरूः
वाताष्ठीलाका धेरै उपचारहरू छन्। तपाइको स्वास्थ्य सेवा प्रदायकले कुन विकल्प तपाइको लागि सही हो भनेर निर्णय गर्नुहुनेछ। शुरूको अवस्थामा कुनै उपचारको आवश्यक्ता नै नपर्न सक्छ।मुख्य गरी निम्न उपचारहरू प्रयोग गरिन्छः
• आहार विहार र योगाभ्यास
• आहार विहार र योगाभ्यासका साथमा आयुर्वेद औषधि र पञ्चकर्मको प्रयोग
• शल्यक्रिया
पहिलो चरणमा हल्का र मध्यम लक्षण भएका व्यक्तिहरूमा सक्रिय निगरानी गर्ने, समय समयमा चिकित्सकलाइ भेट्ने र आहार विहार र योगाभ्यास गर्न सकिन्छ। स्वास्थ्य सेवा प्रदायकले नयाँ तथा गम्भीर समस्याहरू छ कि छैन भनेर हेर्नेछ। लक्षणहरूको व्यवस्थापनका लागि प्रायः आहार, विहार र योगाभ्यासको सिफारिस गरिन्छ।
दोस्रो चरणमा आहार विहार र योगाभ्यासका साथै आयुर्वेद औषधि र पञ्चकर्म अन्तर्गत वस्तिकर्मको प्रयोग गरिन्छ।अन्तिम चरणमा कसैगरी लक्षणहरूमा सुधार नभएका विरामीका लागि शल्यक्रिया सिफारिस गरिन्छ।
वाताष्ठीलाको रोकथामः
स्वस्थ तौल कायम राख्नु, फलफूल र तरकारीयुक्त आहार खानु लाभदायक हुन्छ।बढी शारीरिक बोसोले रगतमा हर्मोन स्तर र अन्य कारक तत्वहरू बढाउन सक्छ, जसले प्रोस्टेट कोषहरूको वृद्धि हुन सक्छ। स्वस्थ जीवनशैली, दिनचर्या र ऋतुचर्याको पालना गर्दा यस रोगको जोखिम कम गर्न सकिन्छ।
विरामीले चिकित्सकलाइ सोध्नुपर्ने प्रश्नः
• मेरो लक्षणहरू प्रोस्टेट ग्रन्थिले नै भएका हुन?
• मलाइ प्रोस्टेट क्यान्सरको स्क्रिनिङ गर्नुपर्ने हो ?
• प्रत्येक उपचारका जोखिम र फाइदा के हुन् ?
• कस्तो प्रकारको खानपान र आनिबानीले फाइदा हुन्छ ?
आयुर्वेदमा सुश्रुतले वाताष्ठीला भनिने बीपीएका लागि केहि कारणहरू उल्लेख गरेका छन् जस्तैः
1. वेगावरोध (मल, मूत्र, तिर्खा जस्ता प्राकृतिक वेगहरूको दमन)
2. अतिव्यायाम (अत्यधिक परिश्रम)
3. अतिव्यवाय (अत्यधिक मात्रामा यौन)
4. अति मात्राम पिरो, तितो, टर्रो रसयुक्त आहार सेवन गर्नु
5. मदिरा र मांसको अत्यधिक सेवन
यी कारणहरूले वात दोषलाइ विकृत गर्छन, जुन वाताष्ठीला रोगको सम्प्राप्ति (उत्पत्ति) मा मुख्य भूमिका खेल्छ। विकृत वात दोषको उपस्थिति कफ र पित्तसंग मिलेर कोषिकाहरूको वृद्धि गराउछ, जसले ग्रन्थीका तन्तुहरूलाइ कठोर बनाउँछ।
वाताष्ठीलाको उपचारः
आचार्य सुश्रुतले वाताष्ठीला लगायतका सबै प्रकारका मूत्राघातहरू (अवरोधजन्य मूत्ररोग) को उपचारमा मार्गदर्शन निम्न अनुसार दिएका छनः
1. कषाय (काढाको रूपमा औषधि)
2. कल्क (पेष्टको रूपमा औषधि)
3. अवलेह (च्यवनप्राश जस्तो औषधि)
4. क्षार (क्षारीय पदार्थको औषधि)
5. मद्य (मदिराको रूपमा औषधि)
6. आसव (फर्मेन्टेड मेडिसिन)
7. स्नेहन (तेल मालिश)
8. अवगाह स्वेदन (जडिबुटीयुक्त तातो पानीको टब बाथमा सेकेर पसिना निकाल्ने)
9. वस्ति (औषधियुक्त तरल पदार्थको एनिमा)
10. उत्तरवस्ति (मूत्रनलिमा उशिरादि तेल लगायतका तेलको इनेमा)
आयुर्वेदमा मूत्रमार्गको बाहिरी अवरोध (ब्लाडर आउटलेट अब्सट्रक्सन)लाई मूत्राघातको श्रेणीमा राखिएको छ। वात दोष प्रोस्टेट उत्पत्तिको मुख्य कारण हो। विकृत वातलाई शान्त पार्नका लागि वातानुलोमन औषधि र वस्ति कर्म उत्तम प्रकारका विधिहरू हुन्।
वात शान्त पार्ने वस्ति कर्ममा दशमूल, गोक्षुरादि र वरूणादि गणका औषधिहरूको प्रयोग गर्दा लक्षणहरू कम गर्न मद्दत गर्दछ। यस रोगमा प्रकुपित भएको वात र कफलाइ शान्त पार्न यवक्षार र मूलकक्षार जस्ता औषधिहरू प्रयोग गर्न सकिन्छ। मूत्र विरेचनीय (डियुरेटिक) र मूत्रविशोधनीय (एन्टिस्पेटिक) गुण भएका औषधिहरू जस्तै गोक्षुरादि गुग्गुलु, पुनर्नवादि गुग्गुलु पनि बिपिएचमा लाभदायक छ।
वाताष्ठठीलाले जीवनको गुणस्तर र मूत्र उत्सर्जनको क्रियामा असर पुर्याउछ। लामो समयसम्म उपचार नगरिएमा यसबाट मूत्राशयमा पत्थरी पिसाबमा रगत आउनु, पिसाब थुप्रिनु जस्ता समस्याहरू उत्पन्न हुन सक्छन।
वाताष्ठीलामा खानपानः
बिपिएचका लक्षणहरू कम गर्न खानपानले मद्दत गर्न सक्छ भन्ने अनुसन्धानले देखाएको छ।यद्यपि कुनै एक मात्र समाधान भने छैन।
• सुत्नु अघि वा बाहिर जानुअघि केहि घण्टा सम्म तरल पदार्थ नपिउने।
• कफि र मदिरा नपिउनुहोस।
• हरेक दिन विभिन्न प्रकारका तरकारी खानुहोस।
• दैनिक केहि फलफूल खानुहोस विशेषत अमिलोपना भएका फलफूल।
• मांसाहार भन्दा साकाहार राम्रो।
• शारीरिक तौल नियन्त्रित राख्नुहोस।
• खानामा लाइकोपेन, बेटा सिटेस्टेरोलयुक्त भोजन लाभदायक हुन्छ।
खान नहुनेः
1. मदिरा
2. कफी
3. चकलेट
4. कार्बोनेटेड पेय पदार्थ
योगाभ्यासः
प्राणायामद्वारा शरीरमा अक्सिजनको मात्रा वृद्धि हुन्छ, रगतको प्रवाहमा सुधार हुन्छ, शरीर उर्जाशील हुन्छ। निम्न अनुसारका प्राणायाम बिपिएचमा उपयोगी हुनसक्छन्
अनुलोम विलोमः यसबाट अटोनमिक स्नायु प्रणाली सन्तुलित हुन्छ, समग्रमा आराम दिलाउछ, जसले अप्रत्यक्ष रूपमा बिपिएचका लक्षणहरू कम गर्न मद्दत गर्दछ।
कपालभातीः यसमा छोटो र बल पूर्वक श्वास बाहिर फाल्ने प्रकृया हुन्छ जसले पेल्भिक क्षेत्र (प्रोस्टेट भएको क्षेत्र) मा रहेका मांसपेशीहरूलाइ बलियो बनाउछ।
भ्रामरीः यस प्राणायामबाट तनाव र चिन्ता कम भइ बिपिएचका कारण हुने पिसाबका लक्षणहरू कम गर्न सहयोग पुर्याउँछ।
आसनहरूः
मलासन
बद्धकोणासन
वीरासन
सुप्तबद्धकोणासन
सेतुबन्धासन
(डा कलौनी महाकाली आयुर्वेद औषधालय, कञ्चनपुरमा कार्यरत छन्।)