गर्भावस्था र प्रसूति पछिको समय महिलाको जीवनको अत्यन्तै संवेदनशील चरण हो। यो समय शारीरिक परिवर्तन मात्र नभइ मानसिक स्वास्थ्यका लागि पनि अत्यन्तै चुनौतीपूर्ण हुन्छ। हाम्रो जस्तो देशमा यो विषयलाई अझै पनि उपेक्षा गरिन्छ, जसका कारण महिलाहरू विभिन्न मानसिक स्वास्थ्य समस्याहरूको शिकार बनिरहेका हुन्छन्। नेपालमा मानसिक स्वास्थ्य सेवाको सीमित पहुँचका साथ मनोचिकित्सकहरूको अभाव छ।
हाल नेपालमा प्रति १० लाख जनसंख्याको अनुपातमा औसतमा २ भन्दा कम मनोचिकित्सक उपलब्ध छन्। ग्रामीण क्षेत्रमा यो समस्या अझ गम्भीर छ, जहाँ महिलाहरूले मानसिक स्वास्थ्य सेवाको पहुँचसमेत पाउँदैनन्। यस लेख मार्फत् गर्भावस्था र प्रसूतिपछिको मानसिक स्वास्थ्यका चुनौतीहरू, हर्मोनल परिवर्तनका प्रभावहरू र समाधानका उपायहरूबारे प्रकाश पार्दैछु ।
गर्भावस्थामा मानसिक स्वास्थ्यका चुनौतीहरू
• चिन्ता: गर्भधारणको समय महिलाहरूमा बच्चाको स्वास्थ्य, प्रसूतिको प्रक्रिया र पारिवारिक अपेक्षाहरूको कारण असुरक्षा र चिन्ता उत्पन्न हुन्छ। यसले उनीहरूको दिनचर्या र मानसिक सन्तुलनमा असर पर्छ।
• हार्मोनल परिवर्तन:
१. इस्ट्रोजेन: गर्भावस्थाको सुरुवातदेखि नै इस्ट्रोजेनको मात्रा तीव्र रूपमा वृद्धि हुन्छ। यो हार्मोन गर्भको रक्तप्रवाह बढाउन र शिशुको विकासलाई सघाउँछ। तर, यसको उतार-चढावले महिलाको मूडमा प्रभाव पार्न सक्छ।
२. प्रोजेस्ट्रोन: गर्भाशयलाई शिशुको लागि तयार गर्न प्रोजेस्ट्रोन महत्त्वपूर्ण छ। यसको उच्च स्तरले थकान, उदासी र तनावको अनुभव गराउन सक्छ।
३. कोर्टिसोल: तनाव हार्मोनको रूपमा चिनिने कोर्टिसोलको स्तर गर्भावस्थामा वृद्धि हुन्छ, जसले चिन्ता र मानसिक अस्थिरताको सम्भावना बढाउँछ।
४. रिलाक्सिन: यो हार्मोनले गर्भाशय र पेल्भिक क्षेत्रका लिगामेन्टहरूलाई नरम बनाउँछ। यद्यपि, यसले शारीरिक असहजता र मांसपेशी दुखाइ निम्त्याउन सक्छ।
• डिप्रेशन: हार्मोनका उतार-चढाव र सामाजिक दबाबका कारण महिलाहरूमा डिप्रेशनको जोखिम बढ्छ। यो अवस्था गर्भावस्थाको क्रममा र प्रसूति पछिको समयमा पनि देखिन्छ।
• आत्मविश्वासको कमी: पारिवारिक अपेक्षा र सामाजिक दबाबका कारण पनि महिलाहरूमा आत्मविश्वासको कमी देखिन्छ। यो विशेषगरी पहिलोपटक आमा बन्ने महिलामा गम्भीर रूपमा पाइने गर्दछ ।
प्रसूति पछिको मानसिक स्वास्थ्य समस्या
• प्रसूति पछिको डिप्रेशन: बच्चा जन्मेपछि महिलामा हार्मोनको स्तर अचानक घट्छ, जसले मानसिक असन्तुलन र डिप्रेशनको जोखिम बढाउँछ। नेपाल हेल्थ रिसर्च काउन्सिल (एनएचआरसी)को २०२० को अध्ययनले प्रसूति पछिको डिप्रेशनको दर ग्रामीण क्षेत्रमा ३० प्रतिशत बढी रहेको देखाएको छ।
• प्रसूति पछिको हार्मोनल असन्तुलन: प्रोल्याक्टिन, (जसले स्तनपानलाई नियमन गर्दछ) पनि मानसिक स्वास्थ्य समस्यामा भूमिका खेल्दछ । हार्मोनल परिवर्तनका कारण महिलाहरूमा मूड स्विङ्ग्स, उदासी, र चिन्ता देखिन्छ।
• शिशुको पालनपोषणको दबाब: शिशुको हेरचाह गर्ने जिम्मेवारी र तनाव विशेषगरी पहिलोपटक आमा बन्ने महिलाहरूमा उच्च हुन्छ। यसले मानसिक स्वास्थ्यलाई गम्भीर रूपमा प्रभावित गर्न सक्छ।
• सामाजिक र सांस्कृतिक दबाब: परम्परागत अपेक्षाहरू र लैंगिक असमानता।
• आर्थिक अभाव/ स्वास्थ्य सेवाको कमी: विशेष गरी ग्रामीण दुर्गम क्षेत्रमा जनचेतना, मानसिक स्वास्थ्य सेवाको अभाव।
विश्वव्यापी रूपमा, गर्भावस्थामा १०-१५ महिलाहरूले डिप्रेशन प्रतिशतको शिकार हुन्छन। नेपाल डेमोग्राफिक एन्ड हेल्थ सर्वे (एनडीएचएस, २०२०) अनुसार, लगभग २० प्रतिशत गर्भवती महिलाहरूमा डिप्रेशन देखिन्छ।
प्रसूति पछिको मानसिक स्वास्थ्य समस्या ग्रामीण क्षेत्रमा अझ गम्भीर छ, जहाँ डिप्रेशन दर ३० देखि ४० प्रतिशत रहेको छ।
प्रदेशगत तथ्यांक : नेपाल डेमोग्राफिक एन्ड हेल्थ सर्वे, नेपाल हेल्थ रिसर्च काउन्सिल (एनएचआरसी) र डब्लुएचओबाट प्राप्त राष्ट्रिय तथ्यांक र सामान्य क्षेत्रगत अध्ययनका अनुसार:
• प्रदेश १: ग्रामीण क्षेत्रहरूमा प्रसूति पछिको डिप्रेशनको दर ३२ प्रतिशत
• मधेश प्रदेश: डिप्रेशनको दर सबैभन्दा उच्च, अनुमानित ३८ प्रतिशत
• बागमती प्रदेश: शहरीकरण र स्वास्थ्य सेवाको पहुँचले यो दर २५ प्रतिशतमा सीमित।
• गण्डकी प्रदेश: पहाडी क्षेत्रमा महिलाहरूमा प्रसूति पछिको मानसिक स्वास्थ्य समस्या २९ प्रतिशत।
• लुम्बिनी प्रदेश: आर्थिक दबाब र स्वास्थ्य सेवाको अभावले डिप्रेशन दर ३५ प्रतिशत।
• कर्णाली प्रदेश: कठिन भूगोल र स्वास्थ्य सेवाको कमीका कारण समस्या सबैभन्दा गम्भीर, ४० प्रतिशत।
• सुदूरपश्चिम प्रदेश: सामाजिक परम्परा र छाउपडी प्रथाका कारण डिप्रेशन दर ३७ प्रतिशत।
संकेत र लक्षणहरू: गर्भावस्था र प्रसूति पछिको समयमा महिलाहरूमा मानसिक स्वास्थ्य समस्याहरू निम्न संकेत र लक्षणहरूसँग देखिन सक्छन्:
• लगातार थकान वा कमजोरीको अनुभव।
• अत्यधिक चिन्ता, उदासी, वा निराशा।
• मूड स्विङ्ग्स (मूड बारम्बार परिवर्तन हुनु)।
• शिशुप्रति अनिच्छा वा शिशुको हेरचाहमा अरुचि।
• सामाजिक गतिविधिहरूप्रति रुचि गुमाउनु।
• निद्रामा समस्या (अत्यधिक निद्रा वा निदाउन नसक्ने समस्या)।
• आत्महत्या गर्ने विचार वा आत्महत्या प्रयास।
कस्तो अवस्थामा विशेषज्ञ चिकित्शकको परामर्श लिने ?
• जब माथिका लक्षणहरू दुई हप्ताभन्दा लामो समयसम्म रहेमा ।
• शारीरिक लक्षणहरूसँग मानसिक असन्तुलन देखिएमा ।
• आत्मघाती विचार / आफू वा अरूलाई नोक्सान पुर्यााउने भावना उत्पन्न भएमा।
• शिशुको हेरचाह गर्न गम्भीर समस्या भएमा।
यी अवस्थामा चिकित्सकको परामर्श अत्यावश्यक रहन्छ, समयमा उपचारले महिला र शिशुको दीर्घकालीन स्वास्थ्यलाई सुधार गर्न महत्त्वपूर्ण भूमिका खेल्छ।
समाधान र सुझाव
• परामर्श र शिक्षा/ सशक्तिकरण: गर्भवती महिलालाई हर्मोनल परिवर्तन, मानसिक स्वास्थ्य र उपलब्ध सेवाबारे जानकारी दिन परामर्श कार्यक्रम सञ्चालन गर्नु साथै महिलाहरूलाई मानसिक स्वास्थ्यबारे जानकारी र सेवा खोज्न प्रोत्साहित गर्नु।
• सामाजिक समर्थन: परिवार र समुदायले महिलालाई सहयोग गर्ने वातावरण तयार गर्नु साथै गर्भावस्था र प्रसूति पछिको समयमा आमा र शिशुको स्वास्थ्यलाई प्राथमिकता दिनुपर्ने हुन्छ। ग्रामीण क्षेत्रमा महिला समूह र सामुदायिक स्वास्थ्य कार्यकर्तामार्फत शिक्षा कार्यक्रम लागु गर्दै तथ्यान्क सन्कलन तथा कार्यक्रम कार्यान्वयन र कार्यक्रमका प्रभावकारिता को मुल्यांकन ।
• शिक्षा र जनचेतना: महिलाहरूलाई गर्भावस्था र प्रसूति पछिको मानसिक स्वास्थ्यका विषयमा जानकारी दिन विशेष शिक्षा कार्यक्रम साथै पाठ्यक्रम मा समावेश गराइनु का साथै मनोचिकित्शा विषय मा विषेशज्ञाता अध्यायन को खाडल पुर्न तथा विषेशज्ञहरुलाई देशमा टिकाइराख्ने सरकारी निती स्पष्ट हुन अत्यावश्यक छ ।
• स्वास्थ्य सेवाको पहुँच सुधार: प्रजनन स्वास्थ्य सेवामा मानसिक स्वास्थ्यलाई समावेश गरिनुका साथै लागु कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयन।
• नीति निर्माण/ सरकारी योजना: शहरि तथा ग्रामीण क्षेत्रहरूमा मानसिक स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न सरकारी प्रयासहरू साथै मानसिक स्वास्थ्यमा लगानी वृद्धि आवश्यक छ । मनोचिकित्शा सेवा को प्रभावकारी उपलब्धता सुनिस्चित गर्न सरकारी तथा गैरसरकारी क्षेत्रबाट गरिने प्रायसहरु महत्वपुर्ण रहन्छन्।
गर्भावस्था र प्रसूति पछिको मानसिक स्वास्थ्य नेपालमा एक महत्त्वपूर्ण तर उपेक्षित विषय हो। हार्मोनल परिवर्तन, सामाजिक समर्थनको अभाव, र स्वास्थ्य सेवाको कमीले महिलाहरूलाई गम्भीर मानसिक समस्या झेल्न बाध्य बनाउँछ। यस समस्याको समाधानका लागि सरकारी नीति, सामुदायिक जागरूकता र स्वास्थ्य सेवा विस्तारको खाँचो छ। मानसिक रूपमा स्वस्थ आमा मात्र शारीरिक रूपमा स्वस्थ सन्तान र परिवार निर्माणको आधार हुन सक्छन्।