क्यान्सरको उपचारमा विभिन्न प्रकारका औषधि प्रयोग गरिन्छ । जसमा साइटोटोक्सिक औषधिहरु मुख्य छन्। यी औषधिले विशेषगरी शरीरको कुनै अंगमा अस्वभाविकरुपमा कोष वृद्धि भएमा (जसलाई क्यान्सर वा अर्बुद रोग भनिन्छ)सो कोषलाई नष्ट गर्ने काम गर्दछ । यहाँ बुझ्नुपर्ने के छ भने, यस्ता औषधिले अनावश्यकरुपमा वृद्धि भएका कोषलाई मात्र नष्ट नगरी शरीरका अन्य सामान्य कोषहरुलाई समेत नष्ट गर्ने गर्दछ । अतः यस्ता औषधि अत्यन्त हानिकारक हुन्छन् । क्यान्सर रोग नलागेका व्यक्तिहरु सावधानी नअपनाई यस्ता औषधिको सम्पर्कमा आउँदा गम्भीर क्षति पुर्याउन सक्छ।
नेपालमा क्यान्सर रोगका बिरामी वर्षैपिच्छेबढ्दै गइरहेको यथार्थ कसैसामु छिपेको छैन । क्यान्सर रोगको वृद्धिसँगै यसको उपचारको लागि सरकारी र निजी अस्पताल पनि खुलेका छन् । यस्ता अस्पतालमा बिरामीको उपचारका लागि विभिन्न प्रकारका साइटोटोक्सिक एन्टिक्यान्सर औषधिको प्रयोग प्रशस्त मात्रामा प्रयोग भइरहेको छ । प्रयोग भइसकेपछि उत्पन्न हुने फोहोरजन्य वस्तुहरुको व्यवस्थापन सही ढंगले गर्नुपर्ने हुन्छ । अन्यथा व्यक्ति तथा वातावरणमा समेत नकारात्मक प्रभाव पार्दछ।
के हो क्यान्सर औषधिजन्य फोहोर?
क्यान्सरका बिरामीको उपचारपछि बाँकी रहेको औषधि, औषधि तयार गर्दा, तयारी औषधि एक स्थानबाट अर्को स्थानमा स्थानान्तरण गर्दा तथा बिरामीलाई औषधि सेवन गराउँदा प्रयोग भएका सामग्री तथा उपकरणलगायत निम्न वस्तुहरु क्यान्सरजन्य फोहोर हुन्ः
१. म्याद नाघेका तयारी औषधि
२. प्रयोग नभएका वा प्रयोग भई बाँकी रहेका औषधि
३. दूषित भएका तथा बिरामीबाट फिर्ता भएका औषधि
४. औषधि तयार गर्दादूषित भएको फोहोर
५. धारिलो वस्तु तथा सिरिन्ज, एम्पुल, भाइल
६. इन्फयूजन सेट तथा भाँडो
७. प्रयोग भई खाली भएका बोतल
८. औषधिको भाँडोमा राखिएको कपास
९. प्रयोग भएका हेपा फिल्टरतथा अन्य डिस्पोजेबल दूषित औजारहरु
१०. व्यक्तिगत सुरक्षाको लागि प्रयोग गरिएका दूषित उपकरणहरु (ग्लोभ, डिस्पोजेबल गाउन, सू–कभर, रेस्पिरेटरप्रोटेक्टिभ उपकरण आदि)
११. औषधिबाट दूषित भएका उपकरण तथा औषधि पोखिएका क्षेत्र सफा गर्न प्रयोग गरिएका कटनस्वाब, कपडा तथा अन्य सामग्रीहरु
१२. शरीरबाट निस्केको पदार्थ थाप्न प्रयोग गरिने भाँडा जस्तैः बान्तामा प्रयोग गरिने डिस्पोजेबल ब्याग
१३. बिरामीले प्रयोग गर्ने ड्रेसिङ, ब्यान्डेज, मल सफा गर्ने कपडा, पिसाब थाप्ने भाँडो आदि
१४. सफा गर्न गाह्रो हुने बिरामीले प्रयोग गरेको बिस्तारा
क्यान्सर औषधिजन्य फोहोरका स्रोत
१. उपचार गर्ने अस्पताल तथा क्लिनिक
२. औषधि उत्पादन गर्ने औषधि उद्योग
३. औषधि सञ्चय तथा बिक्री–वितरण गर्ने थोक तथा खुद्रा औषधि पसल
४. उपचाररत बिरामीको घर
नेपालमा क्यान्सर औषधिजन्य फोहोरको व्यवस्थापनसम्बन्धी कानुनी व्यवस्था के छ?
नेपालमा क्यान्सर औषधिजन्य फोहोरको व्यवस्थापनको लागि छुट्टै कार्यविधि नभए तापनि फोहोरमैला व्यवस्थापन ऐन, २०६८ तथा वातावरण संरक्षण ऐन, २०५३ कार्यान्वयनमा रहेको अवस्था छ । फोहोरमैला व्यवस्थापन ऐन, २०६८ ले ‘फोहोरमैला’ को परिभाषामा स्वास्थ्यजन्य फोहोरमैला वा हानिकारक फोहोरमैलालाई समेत समेटेको छ र त्यस्ता हानिकारक फोहोरमैलाको प्रशोधन र व्यवस्थापन गर्ने दायित्व निर्धारित मापदण्डको अधिनमा रही त्यस्तो फोहोरमैला उत्पादन गर्ने व्यक्ति वा निकायको हुनेछ भनी स्पष्ट गरिएको छ । त्यस्तै, वातावरण संरक्षण ऐन, २०५३ ले ‘फोहोरमैला’ भन्नाले वातावरणमा ह्रास आउनेगरी निष्काशन गरिएका तरल, ठोस, ग्याँस, लेदो, धुवाँ, धुलो, विकिरणयुक्त तत्व वा पदार्थ वा त्यस्तै प्रकारका अन्य वस्तुहरु सम्झनु पर्छ भनी परिभाषित गरेको छ।
सो ऐनको दफा ७ मा प्रदूषणको रोकथाम तथा नियन्त्रणसम्बन्धी व्यवस्था गरिएको छ, जसअनुसार कसैले पनि वातावरणमा उल्लेखनीय प्रतिकुल प्रभाव पार्नेगरी वा जनजीवन र जन–स्वास्थ्यका लागि खतरा हुनसक्ने किसिमले प्रदूषण सिर्जना गर्न वा तोकिएको मापदण्डविपरीत कुनै यान्त्रिक साधन, औद्योगिक प्रतिष्ठान वा अन्य ठाउँबाट ध्वनि, ताप, रेडियोधर्मी विकिरण तथा फोहोरमैला निष्काशन गर्न, गराउन हुँदैन भनी उल्लेख गरिएको छ।
यसरी यी दुवै ऐनले जन–स्वास्थ्यमा असर गर्ने फोहोरमैलाको बारेमा उल्लेख गरेको पाइन्छ । परिभाषामा हानिकारक फोहोरमैलाको जिकिर गरिएको र क्यान्सर औषधिजन्य फोहोर अत्यन्त हानिकारक भएको हुँदा यसलाई अन्य सामान्य प्रकारको औषधिजन्य फोहोरभन्दा विशिष्ट प्रकारको फोहोरमैलामा समूहीकृत गरी विशेष प्रकारले व्यवस्थापन गर्नुपर्ने देखिन्छ।
वर्तमान अवस्था
जहाँसम्म क्यान्सर औषधिजन्य फोहोरमैलाको व्यवस्थापनको कुरा छ, यसलाई विशेष प्रकारको हानिकारक फोहोरको रुपमा व्यवहार गरिएको छैन र अन्य सामान्य फोहोरकै रूपमा लिइएको छ । अस्पताल, थोक बिक्रेता, खुद्रा बिक्रेता तथा बिरामीको निवासबाट निस्कने यस्ता फोहोरमैलालाई सामान्य अन्य फोहोरमैला जस्तै नगरपालिकाले उठाउने साधनमा राख्ने र ल्यान्डफिल्डमा लगेर फ्याँक्ने गरिएको पाइन्छ।
फोहोर उत्सर्जन गर्ने अस्पताल, यस्ता औषधिको कारोबार गर्ने व्यक्तिहरुलाई यस्ता फोहोरबाट हुनसक्ने वातावरणीय तथा जन–स्वास्थ्यमा पर्ने क्षतिको बारेमा थाहा भए तापनि फोहोरमैलाको व्यवस्थापन गर्ने कर्मचारी तथा अन्य सामान्य नागरिक यसबाट अनविज्ञ छन् । कतिपय स्वास्थ्यकर्मी पनि यस्ता औषधिको सम्पर्कमा आउँदा हुनसक्ने क्षतिको बारेमा अनविज्ञ हुनसक्ने सम्भावना छ।
व्यवस्थापन कसरी गर्ने ?
क्यान्सर उपचारमा प्रयोग गरिने साइटोटोक्सिक औषधिहरु अत्यन्त हानिकारक हुने हुँदा यस्ता औषधिबाटसिर्जित फोहोरमैलाको सम्पर्कमा आउने स्वास्थ्यकर्मी, बिरामीको स्याहारसुसारमा लाग्ने आफन्त तथा अन्य व्यक्ति, यस्ता औषधिको कारोबार गर्ने व्यक्ति, फोहोरमैलाको व्यवस्थापनमा संलग्न व्यक्ति विशेषरूपमा प्रभावित हुन्छन् । तसर्थ, विषयको गम्भीरतालाई ध्यान दिई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अन्य सरोकार मन्त्रालयसँग समन्वय गरी यस्ता औषधि तथा यसबाट उत्सर्जन हुने फोहोरमैलाको व्यवस्थापनसम्बन्धी राष्ट्रिय निर्देशिका तत्काल जारी गरी कार्यान्वयनमा ल्याउन जरुरी देखिन्छ।