आजको प्रविधिमैत्री युगले हाम्रो जीवनलाई सहज र सरल बनाएको छ। विभिन्न ग्याजेटहरू (जस्तै मोबाइल फोन, ट्याब्लेट, ल्यापटप आदि)ले हाम्रो समय र ऊर्जा बचत गर्छन्, मनोरञ्जन दिन्छन्, जानकारी बाँड्छन् र कहिलेकाहीँ साथीसंगीको भूमिकासमेत निर्वाह गर्छन्। तर, यिनै उपकरणहरूले हाम्रो जीवनमा लाभ मात्र होइन, हानि पनि ल्याइरहेका छन्।
विशेषगरी, स्मार्टफोन आजको पुस्तालाई समयभन्दा बढी कब्जामा लिएको छ। जहाँ हेरे पनि मानिसहरू मोबाइलमा हराएका देखिन्छन्, सोसल मिडियामा स्क्रोल गर्दै, घण्टौँसम्म अप्रयोगी गतिविधिमा व्यस्त। यस प्रवृत्तिले विशेष गरी विद्यार्थी तथा बालबालिकालाई गम्भीर असर पुर्याइरहेको छ।
बालबालिकामा स्मार्टफोनको असर
बालबालिकाले बाल्यकालदेखि नै स्मार्टफोनको प्रयोग गर्न थाल्छन्, 'पहिले संगीत सुन्न, भिडियो हेर्न, पछि खेल खेल्न, साथीहरूसँग च्याट गर्न अनि सामाजिक सञ्जालमा लत बस्न। यस्ता सामग्री सधैं बालमैत्री हुँदैनन्। अझ दुःखद कुरा के छ भने, अधिकांश अभिभावकहरूले आफ्ना छोराछोरीलाई मोबाइल चलाउँदा निगरानी नगर्ने गर्छन्।'
बालबालिकालाई मोबाइल दिँदा ठूला मानिसहरूले आफ्नो घरको कामकाज गर्न फुर्सद पाउँछन् भन्ने लाग्न सक्छ, तर उनीहरूले यो बिर्सन्छन् कि यस्ता उपकरणमा घण्टौँ टोलाउँदा बच्चाको आँखामा असर, मस्तिष्कको विकासमा प्रभाव, मनस्थितिमा गडबडी तथा विचारधारामा विकृति आउन सक्छ।
साथै, पढाइका क्रममा लगातार आउने नोटिफिकेसनहरूले उनीहरूको ध्यान भंग गर्छ। बिस्तारै उनीहरू भर्चुअल दुनियाँमा हराउँदै जान्छन्। यथार्थ र आभासी दुनियाँको बीच छुट्याउने क्षमता कमजोर हुँदै जान्छ। यस्तो स्थितिमा उनीहरू महत्वपुर्ण कुराहरू बिर्सन थाल्छन् र आफ्नो प्राथमिकता के हो भन्ने बुझ्नै छाड्छन्।
स्वास्थ्यमा नकारात्मक प्रभाव
मोबाइल फोनहरूले रेडियो फ्रिक्वेन्सी विकिरण उत्सर्जन गर्छन्, जसको माध्यमबाट ती नेटवर्क टावरहरूसँग जडान हुन्छन्। यिनै विकिरणलाई ईएमएफ भनिन्छ। यसमा ऊष्मा, सूक्ष्मतरंग जस्ता किरणहरू पनि हुन्छन्, जुन हाम्रो शरीरमा गहिरो असर पार्न सक्छ।
जब हामी मोबाइल काननजिक राखेर कुरा गर्छौं, ती रेडियो तरंगहरू सीधा मस्तिष्कभित्र प्रवेश गर्छन्।
बालबालिका अझ बढी संवेदनशील हुन्छन्, किनभने उनीहरूको शरीर अझै विकासको चरणमा हुन्छ। मोबाइल हातमा, पकेटमा वा झोलामा राख्दा निरन्तर ईएमएफको सम्पर्कमा बस्ने हुन्छन्। कतिपय बालबालिकाले मोबाइल निदाउँदा पनि सिरानीमुनि राख्ने गर्छन्, जसले दीर्घकालीन प्रभाव पार्न सक्छ।