काठमाडौं - जब २०७८ सालमा पीजी म्याचिङ प्रक्रिया सुरु भयो। सबैले सोधे – ‘राम्रो अंक आएको छ। राम्रो र्याङ्क आएको छ। अब के पढ्ने ?’
मैले जवाफ दिएँ – ‘म त प्याथोलोजी पढ्छु।’
मेरो जवाफ सुनेपछि सबैको एउटै प्रश्न थियो– ‘के हो त प्याथोलोजी ? कस्तो विषय हो यो ?’
मसँग पनि त्यसको उत्तर दिने खासै धेरै ज्ञान थिएन। तर प्याथोलोजी पढ्ने इच्छा भने ठूलै थियो। सबैले प्रश्न गरेको देख्दा मलाई झनै प्याथोलोजी पढ्ने हुटहुटी बढ्दै गयो।
सबैको प्रश्नलाई सुन्दै अघि बढेर म प्याथोलोजी पढ्न आइओएममा भर्ना भएँ। सायद यस्तै प्रश्न अहिले पनि धेरैको मनमा छ होला।
प्याथोलोजी मेडिसिनको मूल खम्बा हो। यसलाई साइटोप्याथोलोजी, हिस्टोप्याथोलोजी र हेमाटोप्याथोलोजी गरी तीन भागमा विभाजन गरिएको छ।
साइटोलोजी भन्नाले शरीरका कोष (सेल)को अध्ययन गर्ने प्रविधि हो। साइटोलोजीमा एफएनएसी (फाइन निडल एस्पिरेशन साइटोलोजी), प्यापस्मियर र फ्लुइड साइटोलोजी पर्छन्। एफएनएसी प्रायः गाँठो आएको अवस्थामा गरिन्छ। यसमा सुईको सहायताले गाँठोबाट कोष निकालिन्छ। रोगको सुरुवाती चरणमै निदान गर्न सहयोग पुर्याउँछ।
प्यापस्मियर परीक्षण महिलाको प्रजनन अङ्गको लागि गरिन्छ। यस परीक्षणबाट प्रारम्भिक अवस्थामै रोग पत्ता लगाउन सकिन्छ र असामान्य कोष पत्ता लागेपछि समयमै उपचार गर्न सकिन्छ।
फ्लुइड साइटोलोजीमा शरीरका विभिन्न तरल पदार्थहरूको परीक्षण गरिन्छ। जस्तैः
– प्लुरल फ्लुइड (फोक्सो वरिपरि जमेको पानी)
– पेरिटोनियल फ्लुइड (पेटको पानी)
– पेरिकार्डियल फ्लुइड (मुटुको वरिपरि जमेको पानी)
– सिनोभियल फ्लुइड (जोर्नाको पानी)
यी परीक्षणहरूले संक्रमण, क्यान्सर वा अन्य रोगहरूको पहिचान गर्न सहयोग पुर्याउँछन्। हिस्टोप्याथोलोजी भन्नाले शरीरका मासु (टिस्यु) हरूको बायोप्सी अध्ययन हो। यसले निश्चित रोगको पहिचान गर्न सहयोग गर्छ।
हिस्टोप्याथोलोजीमा विभिन्न प्रकारका बायोप्सी गरिन्छ। जस्तैः
– इन्सिजिनल बायोप्सी (आंशिक भाग निकालिने)
– एक्ससिजिनल बायोप्सी (पूरै लिजन निकालिने)
– कोर निडल बायोप्सी (सुईद्वारा सानो भाग निकालिने)
– एन्डोस्कोपिक बायोप्सीः भित्री अंगबाट लिइने
बायोप्सीमा निकालिएको नमुनाको ग्रसिङ गर्दा पहिलो चरणमै म्याक्रोस्कोपिक परीक्षण गर्नुपर्छ।
यस क्रममा नमुनाको आकार, रङ, बनावट, संख्या, लिजनको स्थिति र स्वरूप आदिको विवरण लेखिन्छ। ग्रस विवरणपछि नमुनालाई प्रोसेसिङ गरी एच.एण्ड.ई कलर गरिन्छ। माइक्रोस्कोपमा स्लाइड राखेर रोगको निदान गरिन्छ। यदि त्यसमा क्यान्सर देखिएको छ भने त्यसलाई पुष्टि गर्न वा प्रकार निर्धारण गर्न थप रूपमा इम्युनोहिस्टोकिमेस्ट्री परीक्षण गरिन्छ।
इम्युनोहिस्टोकिमेस्ट्री यस प्रविधिमा विशेष प्रकारका प्रोटिन पत्ता लगाईन्छ जसको माध्यमबाट रोगको प्रकार र उत्पत्ति निर्धारण गर्न सकिन्छ। फ्रोजन सेक्शन पनि हिस्टोप्याथोलोजीको एउटा विशेष प्रविधि हो। सर्जरीको क्रममा निकालिएको ताजा टिस्युलाई तुरुन्तै फ्रिज गरी छिटो परीक्षण गरिन्छ। फ्रोजन सेक्शनको माध्यमबाट सर्जरीकै क्रममा रोगग्रस्त भाग पूरै हटाइयो कि छैन भन्ने कुरा तुरुन्तै पत्ता लगाउन सकिन्छ।
यसले सर्जनलाई अपरेशनको अगाडि बढाउने निर्णय लिन तुरुन्त मद्दत गर्छ। हेमाटोप्याथोलोजी भन्नाले रगत, बोन म्यारो र लिम्फ नोडसँग सम्बन्धित रोगहरूको अध्ययन हो। यसमा रगतका विभिन्न कोषहरूको अध्ययन गरिन्छ। यसमा रक्तकोशको अध्ययन गरेर एनिमिया, ल्युकेमिया, लिम्फोमा, मायलोमा जस्ता रोगहरूको निदान गरिन्छ।
यसमा पेरिफेरल ब्लड स्मियर, बोन म्यारो एस्पिरेशनर बायोप्सी, बायोकेमिकल स्टेन, फ्लो साइटोमेट्री, मोलिक्युलर स्टडीहरू गरिन्छ। यी सबै परीक्षणहरूले रक्तसम्बन्धी रोगको निश्चित निदान र रोगीको उपचार योजना बनाउन, प्रोग्रेस र फलोअपमा सहयोग पुर्याउँछन्।
यसरी प्याथोलोजी भनेको मेडिसिनको अत्यन्तै महत्वपूर्ण शाखा हो। छोटकरीमा प्याथोलोजी मेडिसिनको मेरुदण्ड हो। प्याथोलोजी र प्याथोलोजिस्ट बिना कुनै पनि सहि उपचार सम्भव छैन।
(डा एलिना बस्नेत कोशी अस्पतालमा कन्सल्टेण्ट प्याथोलोजिस्टको रुपमा कार्यरत छिन्।)