काठमाडौं - सरकारी स्तरबाट स्थापना भएको नेपाल औषधि लिमिटेडले ९ प्रकारका थप औषधी उत्पादनको गर्ने भएको छ।
लिमिटेडले जुका, मधुमेह, उच्चरक्तचाप, कोलेस्ट्रोल, आइरन चक्की, फोलिक एसिड, एजिथ्रोमाइसिनलगायत ९ प्रकारका औषधी उत्पादन गर्न लागेको नेपाल औषधि लिमिटेडका महाप्रबन्धक कैलाश पनेरुले जानकारी दिए।
ती औषधिहरु केही समय अगाडि नै बजारमा ल्याउने तयारी भएपनि परीक्षणका लागि मेसिन बिग्रिएकोले केही ढिलो भएको पनेरुले बताए।
‘अस्तिनै ती उत्पादन बजारमा ल्याउनुपर्ने हो। परीक्षणका लागि मेसिन बिग्रिएकोले ढिलो भयो,’ पनेरुले भने ‘औषधि उत्पादनका लागि औषधि व्यवस्था विभागमा अप्लाई गर्ने तयारी गरेका छौं। औषधि निकाल्ने मिती तय भइसकेको छैन। हाम्रो तयारी पूरा भएपनि औषधि व्यवस्था विभागले कति समय लगाउँछ, त्यसमा निर्भर हुन्छ।’
यसअघि नेपाल औषधि व्यवस्था लिमिटेडले ११ वटा औषधि बजारमा ल्याएको छ। कुनै समय १ सय भन्दा बढी औषधिहरु उत्पादन गर्दै आइरहेको औषधि लिमिटेडले हाल फोलिक एसिड, जीवनजल, सिटामोल, तथा हेमाडायलाइसिसको औषधि गरी ११ प्रकारका मात्रै उत्पादन गर्दै आइरहेको छ।
सरकारी खरिद ऐन अवलम्बन गरी निजी औषधि कम्पनीसँग प्रतिस्पर्धा गर्नुपर्दा नेपाल औषधि लिमिटेड घाटामा गएको पनेरुले बताए। नेपाल औषधि लिमिटेडका महाप्रबन्धक कैलाश पनेरुका अनुसार नेपाल औषधि लिमिटेड सरकारी स्वामित्वमा रहेको संस्था भएकोले घाटाकै अवस्थामा पनि आधारभुत औषधिहरुको उत्पादन गर्न बाध्य छ।
नेपाल औषधि लिमिटेडका उत्पादनमध्ये सिटामोल र जीवनजल औषधि लिमिटेडको ब्रान्ड नाम हो।निजी औषधि कम्पनीहरुको विभिन्न ‘स्किम तथा भारी छुटको व्यवस्था गरेका कारण औषधि लिमिटेडको सिटामोलले तथा जीवनजलले बजारमा प्रतिस्पर्धा गर्न सक्ने अवस्था नरहेको महाप्रबन्धक पनेरु बताउँछन्।
नेपाल औषधि लिमिटेडको पहिचान भएकोले घाटाको अवस्थामा पनि यी सिटामोलको उत्पादन गर्दै आइरहेको छ।