काठमाडौं - नेपाल स्वास्थ्य व्यवसायी परिषदमा आफ्नो पनि प्रतिनिधित्व हुनुपर्ने विभिन्न ६ वटा एशोसिएसनहरुले माग गरेका छन्।
परिषदको काम कारबाहीलाई थप व्यवस्थित बनाउन भन्दै उनीहरुले सदस्यका रुपमा आफ्नो पनि प्रतिनिधित्व गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रीसँग माग गरेका हुन्।
माग गर्नेमा नेपाल डेन्टल साइन्स हाइजेनिस्ट एशोसिएसन, नेपाल जनस्वास्थ्य संघ, मेडिकल ल्याबोटरी एशोसिएसन अफ नेपाल, नेपाल फिजियोथेरापी एशोसिएसन, नेपाल सिएमए संघ र नेपाल दृष्टि विशेषज्ञ संघ रहेका छन्।
परिषदमा सदस्यहरु थप भए गुणस्तरीय सेवा प्रदान गर्न जनताको पहुँचमा स्वास्थ्यलाई पुर्याउन लिएको लक्ष्य पुरा गर्न परिषदले जनशक्तिको गुणस्तर वृद्धि गर्न सक्ने उनीहरुको भनाई छ। यस्तै, स्वास्थ्यकर्मीहरुको निरन्तर विकासको लागि सिपीडी कार्यक्रम लागु गर्ने, लाइसेन्स प्राप्त स्वास्थ्यकर्मीहरुको कार्यको निरीक्षण, सेवा, आचारसंहिता, कार्यक्षेत्र दिएको सेवाको व्यवस्थित रुपमा अभिलेख राख्ने, परिषदको आफ्नै परीक्षा सेन्टरको स्थापना गर्न सकिने लगायत विषय उल्लेख गरिएका छन्।
२०५३ सालमा स्थापना भएको परिषदको ऐन २७ वर्षसम्म पनि संशोधन हुन नसकेको, २३ वर्षसम्म परिषदको दफा ४ को उपदफा च बमोजिम चुनाव गराउन नसकेको उनीहरुले बताएका छन्। परिषदमा कुल संख्याको ५० प्रतिशत नभएको सम्बन्धित विषय समितिमा दफा १२ र नियमावलीको दफा १२ को समितिमा विज्ञ नभएको, परीक्षा समितिमा अनुभवी सदस्यहरुको अभावमा परीक्षा सञ्चालन हुने गरेको उनको भनाई छ।
परिषदमा रहेका यही विभिन्न समस्याहरु समाधानका लागि परिषदको ऐन २०५३ को दफा ४ को उपदफा ३ बमोजिम सदस्यहरु थपघट र हेरफेर गरी सदस्य कायम गरिदिन उनीहरुले मन्त्रालयलाई निवेदन दिएका हुन्।