काठमाडौँ- नेपाल सरकारले विश्व प्रतिजैविक प्रतिरोध (एएमआर) सचेतना सप्ताह–२०२५ को अवसरमा प्रतिजैविक औषधिको दुरुपयोग रोक्न सबै क्षेत्रको सामूहिक प्रतिबद्धता आवश्यक रहेको बताएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतम र कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदन प्रसाद परियारले शुक्रबार संयुक्त सन्देश जारी गर्दै प्रतिजैविक प्रतिरोधलाई “एक स्वास्थ्य” (वन हेल्थ) अवधारणा अन्तर्गत बहुक्षेत्रीय चुनौतीका रूपमा सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन्।
नोभेम्बर १८ देखि २४ सम्म विश्वभर मनाइने प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह नेपालमा यस वर्ष 'प्रतिजैविक प्रतिरोध रोकथाममा आजैबाट जुटौँ- हाम्रो वर्तमान जोगाऔँ, भविष्य सुरक्षित पारौँ' भन्ने राष्ट्रिय नाराका साथ मनाइँदै छ।
संयुक्त सन्देशमा दुबै मन्त्रीले मानिस, पशुपन्छी, कृषि, खाद्य तथा वातावरणीय क्षेत्रमा प्रतिजैविकको अनुचित प्रयोगका कारण सूक्ष्मजीवहरुमा प्रतिरोध क्षमता बढ्दै गएको र यसले स्वास्थ्य प्रणाली, अर्थतन्त्र तथा भविष्यमा गम्भीर असर पारिरहेको उल्लेख गरेका छन्। मन्त्रीहरूका अनुसार एक क्षेत्रको गलत प्रयोगले अर्को क्षेत्रमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले बहुक्षेत्रीय समन्वय अपरिहार्य छ।
सरकारले पारित गरी कार्यान्वयनमा ल्याइसकेको प्रतिजैविक प्रतिरोध राष्ट्रिय कार्ययोजना प्रभावकारी रूपमा लागू गर्न सबै तहको सक्रिय सहभागिता आवश्यक रहेको पनि सन्देशमा बताइएको छ।
मन्त्रीहरूका अनुसार प्रतिरोध फैलावट रोक्न अस्पतालमा स्टेवार्डसिप कार्यक्रम लागू गर्ने, प्रतिरोध निगरानी प्रणाली सुदृढ बनाउने, फोहोर व्यवस्थापनमा सुधार ल्याउने, गुणस्तरीय औषधि तथा सुरक्षित पशुपन्छीजन्य उत्पादनको पहुँच विस्तार गर्ने, साथै प्रयोगशाला परीक्षणमा गुणस्तरीयता सुनिश्चित गर्ने जस्ता कदम महत्वपूर्ण छन्।
उनले दीर्घकालीन लगानी, नवप्रवर्तन प्रवर्द्धन र पर्याप्त स्रोत परिचालनबिना प्रतिजैविकलाई प्रभावकारी राख्न चुनौती बढ्ने चेतावनी दिँदै नीति निर्माणदेखि स्वास्थ्य सेवा, कृषि तथा पशुपन्छी सेवा, शिक्षा, नागरिक समाज तथा सर्वसाधारणको भूमिका समान रूपमा महत्वपूर्ण रहेको उल्लेख गरे।
संयुक्त सन्देशमा भनिएको छ, 'प्रतिजैविक औषधीहरूको प्रभावकारीता जोगाउनु नै हाम्रो वर्तमान जोगाउनु र भविष्य सुरक्षित पार्नु हो। सबैको समन्वित प्रयासले मात्र प्रतिजैविक प्रतिरोध नियन्त्रण सम्भव छ।'
