नेपालमा सडक दुर्घटनामा परेर मृत्यु वा हताहत नभएको कुनै दिन छैन। राजधानी काठमाडौं होस् वा तराई, पहाड वा हिमाल, दुर्घटनामा मानिसको मृत्युको समाचार साधारण नै भइसक्यो।
हालै प्रकाशित विश्वव्यापी रोगहरुको भार (ग्लोबल बर्डन अफ डिजिज) अध्ययनले नेपालमा सन् २०१७ मा जम्मा १ लाख ८२ हजार ७ सय ३८ जनाको मृत्यु भएको अनुमान गरेको छ।
मुटु तथा हृदयसम्बन्धी रोग, श्वासप्रश्वास दीर्घरोगहरु र अर्बुद रोग सबै मृत्युको आधाको कारण थिए भने सबै संक्रामक रोगलाई जोड्दा पनि सबै मृत्युको २१ प्रतिशत मात्र पुग्छ।
सन् २०१७ मा इन्जुरी समूह लगभग ११ प्रतिशत मृत्युको कारण रहेको पाइएको छ। नेपालमा सबै इन्जुरी समूहका मृत्युको कारणको ४६ प्रतिशत हिस्सा सडक यातायातले लिएको छ।
त्यस वर्ष सबै खालका यातायात दुर्घटनामा ७ हजार ५ सय २४ जनाको मृत्यु भएको थियो भने यस संख्याको ९० प्रतिशत सडक यातायात दुर्घटनामा र बाँकी १० प्रतिशत अन्य खालका यातायात दुर्घटना परेर मृत्यु भएको जनाइएको छ।
यसरी हेर्दा दैनिक १९ जना मानिसको सडक यातायात दुर्घटनामा मृत्यु हुने देखिन्छ। उक्त तथ्यांकलाई उमेर र लिंगअनुसार छुट्याएर हेर्ने हो भने सडक दुर्घटनाका सम्पूर्ण मृतकको तीन चौथाई (७४ प्रतिशत) पुरुष र जम्मा एक चौथाईजति (२४ प्रतिशत) महिलाको संख्या रहेको छ।
उमेरको आधार हेर्दा २०–२४ वर्ष समूहमा मृतकको संख्या उच्च (१० प्रतिशत) रहेको छ, त्यसपछि ५०–५४ वर्ष समूह दोस्रोमा रहेको पाइन्छ। तर पुरुषको उमेर समूहका लागि २०–२४ र १५–१९ वर्ष समूहमा मृतकको संख्य सबैभन्दा उच्च रहेको पाइन्छ। यी उमेर समूहमा मोटरसाइकल दुर्घटनामा हुने मृत्युको अनुपात पनि उच्च (क्रमशः ३३ र २८ प्रतिशत) रहेको पाइन्छ। ५० वर्ष उमेर समूहका मृतकहरुमा सबैभन्दा ठूलो अनुपात पैदलयात्रीको रहेको पाइएको छ।
विगत करिब ३ दशकमा नेपालमा सडक दुर्घटनाबाट मृत्यु हुनेको संख्यामा दोब्बरले बढेको छ। सन् १९९० ताका ३ हजार ६ सय ६७ रहेको उक्त संख्या सन् २०१७ मा आएर ६ हजार ७ सय ८७ पुगेको छ अर्थात् ८५ प्रतिशतले वृद्धि भएको छ।
यद्यपि यस संख्यालाई एकतर्फी तवरले मात्र हेर्नु हुँदैन किनभने विगत २८ वर्षमा नेपालमा सडकहरुको कुल लम्बाई, यातायातका साधनहरुको संख्या र तिनको प्रयोग तथा जनसंख्याको आकारमा पनि उल्लेख्य वृद्धि भएको छ।
तर ती सबै आधारलाई नैं सडक दुर्घटनाको संख्यामा आएको वृद्धिका कारण मानेर पन्छिन मिल्ने अवस्था छैन। किनभने त्यसै अवधिमा नेपालले बालबालिकामा हुने संक्रामक रोगहरुबाट हुने मृत्यु, प्रसूतिका कारणले महिलामा हुने मृत्यु, खोपहरुको उपयोग, स्वास्थ्य संस्थामा बच्चा जन्माउने जस्ता विषयमा असाधारण प्रगति गरेको पनि यथार्थ हो।
अझ महारोगका रुपमा परिचित एचआइभी एड्स जस्तो समस्याका लागि नेपालकै स्वास्थ्य मन्त्रालयको अगुवाइमा भएका कन्डमको सामाजिक बजारीकरणका कारण यसको प्रसारण रोकथाम गर्न सफलता प्राप्त गरेको पनि सबैलाई थाहा छ। जबकि एचआइभी एड्स वा यौन रोगहरुलाई नेपालमा हेयभावका दृष्टिले हेर्ने गरिन्थ्यो। त्यसविरुद्ध काम गर्नु त्यति सजिलो पनि थिएन।
ऐतिहासिक तथ्यांकलाई हेर्दा सडकमा सबैभन्दा बढी मृत्यु हुने वर्ग पैदलयात्रीको रहेको छ। यसमा निकै वृद्धि पनि भएको छ।
यसो हुनाका पछाडि देशका कुनाकुनामा यातायातका साधानको पहुँच भएकोले पनि हो। यसले के पनि दर्शाउँछ भने हामीले यातायातको पहुँचलाई सहज बनाउन एकतर्फी ढंगले मात्र सोच्यौं। त्यस सँगसँगै आउने जोखिमहरु र तिनका बारे सर्वसाधारणलाई ज्ञान र सेवा दिनेबारे बेलैमा विचार पुयाएनौं।
स्मरणीय छ, यस लेखमा केवल मृत्युको आँकडालाई मात्र आधार बनाइएको छ। हामीलाई थाहा छ– दुर्घटनामा मृत्यु भनेको विकराल समस्याको सानो अंश मात्र हो किनभने एक जना मृत्यु अनुपातमा कैंयौं अपांग र घाइते भएका हुन्छन्।
फरक फरक अनुमानअनुसार यो अनुपात ५० देखि १०० जना घाइतेसम्म हुनसक्छ। यसलाई आधार मान्ने हो भने नेपालमा बर्सेनि सडक दुर्घटनाबाट घाइतेको संख्या ३ लाख ४० हजार देखि ६ लाख ८० हजारको बीचमा रहेको मान्न सकिन्छ।
यातायात दुर्घटनाबाट विशेष रुपमा आर्थिक रुपले सक्रिय जनसंख्या पर्ने गरेको पाइन्छ। त्यसको अर्थ कमाएर परिवारको व्यवस्थापन गर्ने मानिस नै घाइते भई काम गर्न असमर्थ भएमा त्यसमाथि उपचारको लागि महँगो सेवा लिनु परेको अवस्था समग्र परिवार नै गरिबीको चपेटा पर्नसक्ने खतरा रहन्छ। अझ आफन्तको शारीरिक पीडा र गुमाउनु पर्दाको मानसिक आघातलाई मूल्यमा आकलन गर्नै सकिँदैन।
त्यसैले विगतबाट ज्ञान हासिल गर्दै अगाडि बढ्नु मानवीय विशेषता पनि हो। तथ्य र प्रमाणमा आधारित योजना र कार्यक्रमबनाई लागू गर्नुपर्ने र २१औं शताब्दीमा आगामी दशकका लागि निर्धारित दिगो विकासका लक्ष्यहरुलाई समेत ध्यानमा राखी सडक सुरक्षाका विषयसँग सम्बद्ध सबै रणनीतिक साझेदारहरुसँगको सहकार्यमा कार्यदिशा निर्धारण गर्न ढिला भइसक्यो।
संयुक्त राष्ट्रसंघीय सडक सुरक्षाका लागि कार्यको दशक २०११–२०२० का लागि निर्धारित लक्ष्य त अब हासिल गर्न कदापि सकिँदैन तर दिगो विकास लक्ष्यबारे गम्भीर भएर सोच्न सडक दुर्घटना ज्यान गुमाएकाहरुको स्मृति दिवसको अवसरमा सबैलाई अनुरोध छ।