डा गोविन्द केसीको पन्ध्रौं अनसनका बेला म चरिकोटमा थिएँ। पत्रिका लिन पसलमा पुग्दा एक जना शिक्षक केसीको चर्को विरोध गरिरहेका थिए। ती माध्यमिक तहका शिक्षकले मतिर हेरेर मेरो उपस्थितलाई अनिक्षापूर्वक खिस्स हाँसेर औपचारिकता दिए।
शिक्षण जस्तो गरिमामय र मर्यादित पेसामा रहेका ती शिक्षकको तर्क देखेर म छक्क परें। उनी बिनातर्क केसीको खोइरो खनिरहेका थिए। उनको कु-तर्कले केसीको समर्थक मेरो मथिङ्गल तात्नु अनौठो भएन। मैले उनलाई संयम र सहज रूपमा प्रश्न गरें।
तपाईंलाई डा केसी मन नपर्नुको कुनै कारण त होला नि!
कुनै तार्किक कुरा नगरी उनी मेरो अनपेक्षित प्रश्नबाट भाग्न खोजिरहे।
तथापि उनले उत्तर फर्काए।
मैले डा केसीलाई नजिकबाट चिनेको त छैन तर उनको यो अनसन सरकारको विरोधका लागि मात्रै हो भन्ने मेरो भित्री मनको ठहर हो। उनले फेरि थपे- डा केसी विदेशी माफियाको इशारामा प्रयोग भएका शैक्षिक दलाल हुन्।
मैले ती शिक्षकलाई प्रश्न गर्न छाडिनँ।
मैले उनलाई सम्मान भाव प्रकट गर्दै भनें– हेर्नुस् सर, एउटा डाक्टर
-जो बैंकमा पैसा राख्दैन,
-घर घडेरी जोड्दैन,
- आफ्नो तलब-भत्ताले जनताको गरिबीमा राहत पुर्याउँछ,
- बिहे गर्दैन र सन्त योगीझैँ जीवन बिताएर जनताको स्वास्थ्यको लागि अहोरात्र चिकित्सकको भेषमा गरिब निमुखाको घरघर पुगेर जीवन बिताउँछ। यस्तो मानवीय गुणयुक्त मानिस कसरी विदेशी शैक्षिक माफियाबाट प्रयोग हुन्छ भन्ने लाग्छ?
मेरो यो प्रश्नको उत्तर अपेक्षा गर्दा नगर्दै उक्त शिक्षकले मेरो प्रश्नको अनिच्छापूर्वक जवाफ फर्काउन थाले।
तपाईं जेसुकै भन्नुहोस् मेरो भित्री ब्रह्मले डा केसीको यो अनसन केवल ढोंग मात्रै देख्छ। केसी सरकार विरोधी, अमुक स्थानबाट सञ्चालित व्यक्ति हुन्। म केसीको नियतमा प्रसस्त खोट देखिरहेको छु।
मैले शिक्षक जस्तो गरिमामय पेशामा रहेको व्यक्तिबाट यस्तो उत्तर आउला भन्ने पटक्कै अपेक्षा गरेको थिइनँ।
उनी केसीलाई मेरो भित्री मनले नै स्वीकार गर्दैन भन्ने लिँढे तर्क गरिरहेका थिए। मैले यस्तो मूढी शिक्षकले विद्यार्थी कसरी सन्तुष्ट पार्दा हुन् भन्ने चिन्ता गर्नु स्वभाविक भयो। यद्यपि मैले उनको सम्मानमा आँच र चोट पुर्याउने कुनै धृष्टता राखिनँ।
डा. केसी केवल मानव हुन्, भगवान होइनन् भन्ने हेक्का यो लेखकलाई पनि छ। केसीका हजार गल्ती हुन सक्छन्। हामीले पुज्ने ईश्वरको त गल्ती हुन्छन् भने मानवको त नहुने कुरै भएन।
मैले भर्खरै प्रशिद्ध लेखक अश्विनी कोइरालाले आफ्नो फेसबुक वालमा डा गोविन्द केसीको तस्वीर अपलोड गरेर केसीलाई देवता मान्दै यस्तो लेखेको देखें- सुत्नुअघि तिमीलाई नमन गरेको हुँ। किनभने मेरी हजुरआमाले सुत्नुअघि देवता सम्झेर सुत्नु भनेर सिकाउनु भएको थियो।
कोइरालाले केसीको सम्मानमा लेखेका यी शब्द कोइरालालाई देवत्त्वकरण गर्ने मनसायलेभन्दा केसी अनसनको मुद्दाप्रति गहिरो अडानका खातिर कोरिएका थिए। यी र यस्ता शब्द सामाजिक सन्जालमा अहिले धेरै छ्न्। कोही केसी महान भनिरहेका छ्न् भने कोही केसीलाई 'केसीहठ'को संज्ञा दिएर प्रायोजित विरोध गरिरहेका छन्।
दुनियाँमा कसैको 'सकारात्मक हठ' बिना देशमा परिवर्तन सम्भव छैन। छिमेकी मुलुक भारतमा गान्धीको अङ्ग्रेज लगार्ने हठ नभएको भए भारतबाट शक्तिशाली अङ्ग्रेजहरु त्यति छिटो झोलागुन्टा बोकेर फर्किने थिएनन्। दक्षिण अफ़्रिकामा नेल्सन मण्डेलाको हठ नभएको भए काला र गोराको भेदभावपूर्ण व्यवहार लम्बिरहन्थ्यो होला।
हाम्रै मुलुकमा पनि दलहरुले हठ नलिएको भए १०४ वर्षे राणा शासन र दुई सय चालीस वर्षको इतिहास बनाएको राजतन्त्र सहजै उखेलिने थिएन। के थाहा डा केसीको सकारात्मक हठले माफिया र भ्रष्टहरुको जगमा सधैंका लागि महाभूकम्प जाने पो हो कि? सन्त चिकित्सक केसीका सबै अनसनको आसय विधिको शासन र जनताको नैसर्गिक अधिकार रक्षा लागि समर्पित छ्न्।
सामाजिक सञ्जालमा न्यायिक मुद्दामा तल्लो स्तरमा केसीलाई गाली गर्नेहरुले के हेक्का राख्नुपर्छ भने कुनै दिन आफू र आफ्नो परिवारका सदस्य बिरामी पर्दा उपचार नपाएर अकालमा मर्नु नपरोस्। पार्टी र शक्तिको आडमा उन्मत्त हुँदैगर्दा विवेकको ढोकामा ताल्चा लाग्ने स्थिति जोकसैको लागि दुर्भाग्य हुनेछ।
केसीको यो पटकसम्म आइपुदा सोह्रौं अनसन पुगिसकेको छ। २०६९ असार २१ मा पहिलो पटक डा गोविन्द केसीले अनसन बस्दा देशमा नेपाल कम्युनिस्ट पार्टीका तत्कालीन नेता डा. बाबुराम भट्टराई प्रधानमन्त्री थिए।
सात जना नेपाली कांग्रेसका प्रधानमन्त्री र सातै जना कम्युनिस्ट प्रधानमन्त्री साथै दुई पटक मन्त्रिपरिषद् अध्यक्षका पालामा अनसन बसेका केसीलाई सत्ताले जहिल्यै विपक्ष किन देख्छ?
केसी अस्पतालको आइसियूमा जीवन र मृत्युको दोसाँधमा छन्। उनको दृढता नागरिकले सुलभ तरिकाले स्वास्थ्योपचार पाउनुपर्छ भन्ने छ। "बरु मर्न तयार छु, जनताको अधिकारमा होली खेल्न दिन्न" भन्ने केसीको नियतमा किन हामी शंका गरिरहेका छौं?
यता सडकमा चरम राजनीति मिश्रित नाटक मञ्चन भइरहेको छ। सरकार केसीको मागलाई विषयान्तर गरेर केसीको खिल्ली उडाउन हात धोएर लागेको मात्रै छैन, लाजै नमानी केसीलाई 'कांग्रेसको बिल्ला' भिराएर फोहोरी राजनीतिक चरित्र प्रदर्शन गरिरहेको छ। विगतमा पनि यी र यस्ता निकृष्ट कार्यको खेल नभएको होइन।
यसले के सिद्ध गर्छ भने सर्वहारा जनताको हक र अधिकारका लागि जीवन नै उत्सर्ग गर्ने अनि सामान्य जीवनयापन गर्ने केसी कम्युनिस्ट कि लाखौंको गाडीमा चढ्ने र आलिसान महलमा बसेर जनताको दु:खमा मुकदर्शक बन्ने व्यक्ति कम्युनिस्ट? प्रश्न पेचिलो बनेको छ।
एउटा पक्ष गोविन्द केसी ठिक भनिरहेको छ र अर्कोपक्ष बेथिति विरुद्ध आमरण अनसनमा रहेका सन्त चिकित्सक डा गोविन्द केसीमाथि अघोरी आँखाले सघन रूपमा हेरिरहेको छ।
मानौं यतिबेला देशमा दुई खेमा छन त्यो हो- डा केसी खेमा र केसीइतर खेमा।
यसले के संकेत गर्छ भने हामीले सत्तरी वर्षदेखि चाहना राखेको लोकतान्त्रिक व्यवस्थाको प्राप्ति किन र केका लागि थियो? हामी जनताको सर्वोच्चताको वकालत गर्ने एक जीवन उत्सर्ग गर्न तयार निरीह चिकित्सकलाई कुन ब्रह्मले माफिया देखिरहेका छौं। विगत पाँच वर्षदेखि आफ्नो जीउज्यानको बाजी राखेर राज्यको स्वास्थ क्षेत्रमा मौलाएको बेथिति विरुद्ध एक चिकित्सकको हैसियतले आमरण अनसन जस्तो महाकष्टपूर्ण विधिबाट राज्यलाई खबरदारी गरिरहेका छन्।
डा केसी आन्दोलनले नेपालका राजनीतिक पार्टीहरुको यो दयनीय स्थिति छ भन्ने देखाउँछ। पार्टीहरुले गम्भीर ढंगले उठाउनुपर्ने मुद्दा केसी एक्लैले अन्तर्राष्ट्रियकरण गर्न सफल भएका छन्।
राज्य विगतदेखि नै एक्लो र निरीह केसीको न्यायोचित मागलाई आलटाल गरेर नेपाली जनताको स्वास्थ उपचार पाउने नैसर्गिक अधिकारमाथि गम्भीर खेलवाड गरिरहेको छ।
पन्ध्रौं अनसन २७औं दिनमा पुगेर वर्तमान प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीकै अग्रसरतामा केसीको माग पूरा गर्ने सम्झौता मुताविक तोडाइएको थियो। यद्यपि १५औं अनसनको सम्झौता अक्षरश पालन नगरी सरकारले चिकित्सा शिक्षा विधेयक ल्याउने तयारी गरेकोले त्यसलाई सच्याउन डा गोविन्द केसीले अल्टिमेटम दिंदा समेत सरकार लचिलो बनेन। तसर्थ सुदूरपूर्व इलाम जिल्ला पुगेर १६औं अनसन सुरु गर्न पुगे। १६औं पटकसम्म अनसन बसेका केसीको खस्कँदो स्वास्थ अवस्थाले केसीका शुभचिन्तक, आफन्त, नागरिक समाज तथा सम्पूर्ण स्वास्थ्य क्षेत्र सुधारका अभियानकर्मीहरुमा चिन्ता बढिरहेको देखिन्छ।
हरेक प्राकृतिक प्रकोप हुँदा होस् या आइपर्ने हरेक बिपत्तिमा संसारका धेरै मुलुक र आफ्नै देशको कुनाकन्दरामा स्वास्थ्योपचार नपाएका गरिब, निमुखा र बिपन्नको घर-घरमा निशुल्क औषधिसहित पुगेर सेवा दिने मानवतावादी डा केसीको जीवन रक्षाका लागि समयमै ध्यान नपुर्याउँदा यसबाट पर्ने गम्भीर असरको जिम्मेवार सरकार स्वयं हुनुपर्ने देखिन्छ।
डा गोविन्द केसीको छैटौं पटकको आमरण अनसनलाई सरकारले सजिलो र हल्कासँग "डा केसी कांग्रेस हुन्" भनिदिएर उनको मुद्दालाई विषायान्तर गर्न उद्यत देखिएको थियो। यसले विगतदेखि नै सरकारको नियत केसीको हितमा छैन र माफियाको चास्नीमा सरकार छ भन्ने संकेत गर्छ।