नेपालको सामाजिक संरचना धार्मिक आस्थासँग गहिरो रूपमा गाँसिएको छ। त्यसैले स्वास्थ्य, शिक्षा र यौनिकताका विषयमा सार्वजनिक संवाद विकास गर्न धार्मिक चिन्तनसँग संवाद गर्नु अपरिहार्य हुन्छ । विशेषगरी बौद्ध धर्मले समृद्ध समाजको विकासका लागि ज्ञान, करुणा र आत्म–विवेकको माध्यमबाट समाजिक रूपान्तरणको सन्देश दिन्छ । यही सन्देशलाई आजको समाजमा विकसित हुदै आएका यौन धारणा एवं प्रचलनहरुलाइ यौन स्वास्थ्य र शिक्षा सँग जोडेर विवेचना गर्नु आवश्यक भएको छ ।
बौद्ध धर्म र ज्ञानको स्वरूप
बुद्ध धर्मको केन्द्रमा अन्धविश्वास होइन, तर्क, विवेक र प्रत्यक्ष अनुभूतिमा आधारित 'ज्ञान' छ । गौतम बुद्धले आफूलाई कहिल्यै भगवान् घोषित गरेनन्, न त उनले आफूलाई कुनै अलौकिक शक्तिको धारक माने। बरु उनले आफैंलाई 'ज्ञान प्राप्त व्यक्ति'को रूपमा चिनाए—जसले जीवनका दुःखका कारण खोजे, विश्लेषण गरे, र त्यसबाट मुक्ति पाउने मार्ग प्रस्तुत गरे (Rahula, 1974)। यही दृष्टिकोणले बुद्ध धर्मलाई अन्य धर्मभन्दा पृथक बनाउँछ—जहाँ आपसी सद्भाव कायम गरी, वैज्ञानिक सोच र व्यावहारिक अनुभूति आधार मानिन्छ।
बुद्धले स्पष्ट रूपमा भनेका छन्— “न त परम्पराले, न त सुनेकोले, न त विश्वासले– तर अनुसन्धान र प्रत्यक्ष अनुभूति मार्फत सत्य बुझ्नुपर्छ। (मूलतः कालाम सुत्त (Kalama Sutta) बाट उद्धृत हो, जुन अङ्गुत्तर निकाय (Anguttara Nikaya), त्रिपिटक (Tipitaka) भित्र पर्दछ।)” (Anguttara Nikaya, Kalama Sutta (AN 3.65); यही सन्देश आजको युगको वैज्ञानिक सोचसँग मेल खान्छ । जब हामी कुनै विषय बुझ्न खोज्छौं—चाहे त्यो जीवन, दुःख, वा यौनिकता नै किन नहोस्—बुद्ध धर्मले हामीलाई एउटा स्पष्ट संकेत दिन्छ: आँखा बन्द गरेर होइन, आँखामाथि विवेकको चस्मा लगाएर बुझ ।
बौद्ध शिक्षा स्वतन्त्र सोचको पक्षधर हो । यसले आत्म–अवलोकन, विश्लेषण र तर्कको अभ्यासलाई महत्त्व दिन्छ । यहाँ भनिन्छ - मानव चेतनामा नै परिवर्तन सम्भव छ । मान्छेको व्यवहार, चिन्तन र अनुभूति परिवर्तन गर्न सक्ने शक्ति उसैमा हुन्छ। यही सोच आजको परिवर्तन आधुनिक मनोविज्ञान, सामाजिक न्याय, र स्वास्थ्य विज्ञानको मूल भावसँग पनि मेल खान्छ।
बुद्ध र यौन नैतिकता : यौनिक अन्यायको प्रतिरोध
बुद्ध धर्मलाई धेरैले केवल ध्यान, त्याग र मोक्षको बाटो मानेका छन् । तर गौतम बुद्धको शिक्षामा यौनिकता र नैतिकताको विषयमा रहेको गहिरो चेतना र सामाजिक रुपमा अझै गहिराइमा पुगेर बुझिन बाँकी छ। इतिहासले एउटा महत्वपूर्ण प्रसंग स्मरण गराउँछ—बुद्ध एक वेश्या भनिएकी महिलासँग भोजन गर्न लाग्दा समाजका तथाकथित धर्मनिष्ठहरू आक्रोशित भए। उनीहरूलाई बुद्धले प्रश्न गरे, 'उनी वेश्या किन भइन्? उनलाई यस्तो जीवनमा पुर्या्उनेहरू को थिए?” समाज मौन भयो । त्यस मौनतामा बुद्धले बोले–“उनी जन्मजात वेश्या होइनन्, समाजका पुरुषहरूले उनलाई त्यस अवस्थामा पुर्या एका हुन्।' (Thapar, 2002)।
यस दृष्टान्तले स्पष्ट पार्छ—बुद्धले यौनिकता वा यौन व्यवहारलाई पाप भनेनन्, बरु त्यसलाई सामाजिक अन्याय, लैंगिक विभेद र पितृसत्ताको परिणामस्वरूप उत्पन्न विकृति भनेर -चित्रित गरे । उनले यौन नैतिकताको आधार विवेक, आत्म–अनुशासन, र चेतना परिवर्तन देखे, न कि दमन वा निषेधमा । सुपप्रेसन होइन, कन्सियस ट्रान्सफर्मेसन नै बुद्धको मार्ग हो।
बौद्ध शिक्षाविद् भिक्षु बोधी (Bhikkhu Bodhi, 2016) ले लेख्छन्, 'कामेच्छालाई शत्रुजस्तो व्यवहार गर्ने होइन, त्यसलाई बुझ्ने र रूपान्तरण गर्ने कला सिक्नुपर्ने हो।' यही शिक्षाले यौन व्यवहार र नैतिकताको विषयमा बौद्ध दृष्टिकोणलाई प्रगतिशील र मानवअधिकार–मैत्री बनाउँछ । बुद्धले यौनिकता लैंगिक स्वतन्त्रता, र जिम्मेवार व्यवहारलाई जोड दिए।
बुद्धको शिक्षामा ‘नारी कुनै अवरोध होइनन्, न त उनीहरूका शरीरहरू' पतनको कारण मानिन्छन्। बरु, बुद्धले बारम्बार भने– 'संसारले नारीलाई होइन, आफ्ना आँखालाई नियन्त्रण गर्नु।' यो सन्देश बुद्धका संयम र इन्द्रीय नियन्त्रण सम्बन्धी शिक्षामा आधारित छ (Majjhima Nikaya, Saleyyaka Sutta; Rahula, 1974)। यौन शोषण, बलात्कार, वा वेश्या व्यवसायलाई नैतिकताको नाममा नारीको दोष बनाइने चलनप्रति बुद्ध सशक्त रूपमा उभिएका थिए।
यौनिकता, लैंगिक विविधता र यौन स्वास्थ्यको विषय सामाजिक बन्धनको घेराभित्र भएको अवस्थामा हुन्छ, बुद्धको शिक्षाले एउटा महत्वपूर्ण विकल्प दिन्छ – जहाँ यौन चेतना एवं व्यबहारमा डर र लाजको होइन, चेतना र उत्तरदायित्वको विषय हो । यौनिक न्याय स्थापित गर्न सामाजिक परिवर्तनका लागि समयानुकुल आवश्यक ‘व्यक्तिगत आत्म–बोध, सामाजिक चेतना, बुद्ध दर्शनमा गहिरो रूपमा गुँजिएको पाइन्छ ।
यही सन्देश अनुरुपको सकारात्मक रुपमा पत्रकारिता, शिक्षाशास्त्र आदि विषयमा समेटिने गरी नीतिनिर्माण गरिनुपदर्छ । यौनिकता न त वर्जना हो, न त अपराध; यदि त्यसलाई बुद्धको जस्तो दृष्टिले हेरियो भने, हामी यौनिक अन्याय, लैंगिक हिंसा र दमनको विरोधमा विवेकपूर्ण न्यायोचित आवाज उठाउन सक्छौं।
यौन स्वास्थ्य बौद्ध दर्शनमा : सम्मान, विवेक र स्वच्छता
यौनिकता र यौन स्वास्थ्यबारे धर्मले प्रायः कठोर निषेधका चश्माबाट हेरेको इतिहास छ । तर, बौद्ध दर्शनमा यौन स्वास्थ्यलाई गरिमासाथ, विवेकपूर्वक र स्वच्छ सन्देशमार्फत बुझ्ने प्रयास भएको पाइन्छ । बौद्ध धर्मका पाँच शीलमध्ये एक छ- 'काममेसु मिच्चाचार वेरमणी सिख्खापदं समादियामि।' यो वाक्य बौद्ध धर्मका पाँच शीलमध्ये तेस्रो शीलको अंश हो (Tipitaka, Vinaya Pitaka, Suttavibhanga)
अर्थात्, गलत यौन व्यवहारबाट जोगिने अठोट । यसको आशय केबल ब्रह्मचार्य होइन, बरु असहमति, धोका, बल प्रयोग वा दमनका आधारमा हुने यौन सम्बन्धको विरोध हो । सहमतिमा आधारित, इमानदार र आत्म–सम्मानयुक्त सम्बन्ध बौद्ध दृष्टिकोणले निषेध गर्दैन भन्ने पुष्टी उक्त कथनबाट हुन जान्छ।
यी उल्लेखित मूल्यहरूले यौन व्यवहारलाई निरन्तर नियन्त्रण होइन, विवेक, आत्म–बोध र उत्तरदायित्वमा आधारित मार्गदर्शन दिन्छन् । यस दृष्टिकोणले लैंगिक व्यवहारलाई ‘पाप भनेर हतोत्साहित गर्दैन, बरु ‘जिम्मेवार र सम्मानजनक सम्बन्ध को बाटो देखाउँछ । यही दृष्टिकोणलाई विश्व स्वास्थ्य संगठन (WHO, 2010) ले दिएको यौन स्वास्थ्यको परिभाषासँग जोड्न सकिन्छ—जहाँ यौन स्वास्थ्यलाई केवल रोगको अनुपस्थिति मात्र होइन, शारीरिक, मानसिक र सामाजिक कल्याणको अवस्था मानिएको छ।
बौद्ध दृष्टिकोणमा यो स्वास्थ्य ‘मध्य मार्गबाट प्राप्त हुन्छ - न त अति इन्द्रीय–सुखमा डुब्नु, न त पूर्ण दमन Bodhi, B. (Trans.). (2000)। फ्रान्सेली धर्मविद् Andr Bareau (1970) का अनुसार, बुद्धको यौन दृष्टिकोण नकारात्मक नैतिकता होइन, 'स्वस्थ जीवनका लागि आत्म–अनुशासनको सकारात्मक अभ्यास' हो। यसले धर्मको कठोर अनुशासनलाई मानव अधिकार र आत्मनिर्णयसँग सन्तुलनमा ल्याउँछ।
यसकारण, बौद्ध दर्शनले यौनिकता र स्वास्थ्यबीच संवाद गराउँछ- जहाँ न नैतिक आतंक हुन्छ, न यौन स्वतन्त्रताको दुरुपयोग । बरु आत्मबोध र अरुको सम्मान बीचको सुव्यवस्थित सन्तुलन पाइन्छ, जसले यौन स्वास्थ्यलाई सामाजिक–धार्मिक दृष्टिले पनि वैधता दिन सक्छ / दिनुपर्छ।
नेपालमा बौद्ध धर्म र यौन स्वास्थ्य : समाज र व्यवहार
नेपालको २०२१ को जनगणना अनुसार, करिब ९ प्रतिशत जनता बौद्ध धर्मावलम्बी छन्, यिनै समुदायभित्र तुलनात्मक रुपमा अन्य धर्मावलम्भि भन्दा यौन एव यौनिकतामा (बिबाह सम्बन्ध बिच्छेद दोश्रो बिबाह) केही स्तन्त्रता देखीन्छ सायद बौद्ध दर्शनको प्रभाबले नै हुन सक्छ । तर पनि अझै पनि किशोर किशोरीहरु लाजले चुप लाग्छन्, अभिभावकहरू डराउँछन्, विद्यालय शिक्षकहरूमा पनि यौन शिक्षाको कमीले अध्यापन गराउन तयारी भएको पाइँदैन र समाजले अझै पनि यौनिक विषयलाई उछृङ्कल वा छाडाको रूपमा हेर्छ । परिणामस्वरूप, SRHR (Sexual and Reproductive Health and Rights) को सन्देश विद्यालय–परिवारबाट समुदायमा सकारात्मक सन्देश दिन सकेको देखिँदैन।
यस्तो अवस्थामा बौद्ध धर्मको प्रयोगात्मक, समतामूलक र करुणामूलक दर्शनलाई आधार बनाउने हो भने यौन शिक्षालाई नयाँ स्वरूप दिन सकिन्छ । बुद्धले भनेका थिए, “न त परम्पराले, न त सुनेकोले, न त विश्वासले– तर अनुसन्धान र प्रत्यक्ष अनुभूतिबाट सत्य जान्नुपर्छ” (Rahula, 1974)। यही दृष्टिकोणले यौन शिक्षा पनि तथ्य, अनुभूति र मानव गरिमामा आधारित हुनुपर्छ भन्ने सन्देश दिन्छ ।
यसै सन्दर्भमा केही प्रयोगात्मक उपायहरू अगाडि सार्न सकिन्छ:
• SRHR शिक्षामा करुणा र सम्मान केन्द्रीकरण गर्न सकिन्छ, जसरी बुद्धले करुणालाई जीवन दर्शनको मेरुदण्ड माने ।
• यौनिक विविधता (एलजीबीटीक्यु+) लाई 'पाप' होइन, मानव अनुभवको विविधता मानेर प्रस्तुत गर्न सकिन्छ- जसरी बौद्ध चिन्तन आत्म–बोध र सह–अस्तित्वमा आधारित छ ।
• कामेच्छा नियन्त्रण suppression (दमन) को रूपमा होइन, चेतन–मार्गदर्शनको अभ्यास (mindful transformation) को रूपमा बुझाउन सकिन्छ- जसरी ध्यान र अनुशासनमार्फत बुद्धले इच्छालाई रूपान्तरण गर्न सिकाए।
बौद्ध शिक्षा केवल ध्यान र मोक्षको पाठ होइन, समता र सामाजिक न्यायको दर्शन पनि हो। इतिहासकार Romila Thapar (2002) ले औंल्याएझैं, बुद्धले वेश्या भनिएकी महिलालाई पनि मानवताको दृष्टिबाट सम्मान गरे । यसैले बौद्ध चिन्तनलाई SRHR शिक्षामा समाहित गर्नु धर्मको नाममा शिक्षा रोकिने होइन, बरु सांस्कृतिक वैधता र सामाजिक स्वीकार्यता बढाउने उपाय हुन सक्छ।
नयाँ पुस्तालाई वैज्ञानिक र सांस्कृतिक दृष्टिकोणको सेतु भएर SRHR सन्देश दिनुपर्ने खाँचो छ । र, बौद्ध दर्शन यस्तो सन्देश दिन सक्ने शक्ति, संवेदना र सन्दर्भ दुबै बोकेको जीवनदर्शन हो—शर्त केबल एउटै हो, हामीले बुझ्नुपर्छ, प्रस्तुत गर्नुपर्छ।
निष्कर्ष
बौद्ध धर्मको तात्त्विक आधार-विवेक, प्रत्यक्ष अनुभव, करुणा र आत्म-परिवर्तनले यौन स्वास्थ्य र यौनिकता जस्ता संवेदनशील विषयहरूप्रति गहिरो र विवेकी दृष्टिकोण प्रदान गर्दछ। बुद्धको शिक्षाले यौनिकता कुनै वर्जित वा पापजन्य व्यवहार होइन, बरु आत्म-ज्ञान, समानता र उत्तरदायित्वका साथ बुझिनुपर्ने मानवीय पक्ष हो भन्ने कुरा प्रष्ट पार्दछ । यसले यौनिक अन्याय, लैंगिक हिंसा, र सामाजिक कलङ्क विरुद्ध वैचारिक र नैतिक बल प्रदान गर्दछ।
नेपालको सामाजिक सन्दर्भमा, जहाँ यौन शिक्षालाई अझै पनि लाज, डर र अज्ञानताले घेरेको छ, बौद्ध धर्मको प्रयोगात्मक र समावेशी दृष्टिकोणले यौन शिक्षालाई वैज्ञानिक, गरिमायुक्त र मानवअधिकार-मैत्री बनाउने अवसर प्रदान गर्दछ । बौद्ध धर्मको प्रभावलाई यौन स्वास्थ्यको संवर्धनमा रूपान्तरणात्मक स्रोतका रूपमा प्रयोग गर्न सकिन्छ।
अन्ततः, यौनिकता र धर्मबीचको द्वन्द्व होइन, संवाद अपरिहार्य छ- जहाँ बुद्धको शिक्षाले अनुसन्धान, सहानुभूति, र विवेकको माध्यमबाट नयाँ चेतनाको निर्माण गर्न मद्दत पुर्याकउँछ । यही दृष्टिकोणलाई शिक्षा, पत्रकारिता, नीति निर्माण र समुदायस्तरमा स्थापित गर्न सके, नेपालमा यौनिक न्याय र स्वास्थ्यप्रति सम्मानपूर्ण वातावरण निर्माण सम्भव छ।
(लेखक- अनुसन्धान संयोजक सुरुवात र कार्यसमिति सदस्य नेपाल स्वास्थ्य शिक्षा संघ)
सन्दर्भ (References):
• Anguttara Nikaya, Kalama Sutta (AN 3.65); अनुवाद: Bhikkhu Bodhi (2005), "The Numerical Discourses of the Buddha." Wisdom Publications.
• Bareau, A. (1970). The Historical Buddha. Penguin Books.
• Bodhi, B. (Trans.). (2000). The Connected Discourses of the Buddha: A New Translation of the Samyutta Nikaya. Wisdom Publications. (See SN 56:11, Dhammacakkappavattana Sutta)
• Bhikkhu Bodhi (2016). The Noble Eightfold Path: Way to the End of Suffering. Buddhist Publication Society.
• Rahula, W. (1974). What the Buddha Taught. Grove Press.
• Thapar, R. (2002). The Penguin History of Early India. Penguin Books.
• World Health Organization (2010). Developing Sexual Health Programmes: A Framework for Action. Geneva: WHO.