काठमाडौं- सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको रिक्त रहेको १२औं तहको अतिरिक्त सचिवमा डा केशर ढकाल र डा श्रीकृष्ण श्रेष्ठलाई बढुवा गर्ने निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले बढुवा समितिले सिफारिस गरेका तीन जनामध्ये ढकाल र श्रेष्ठलाई अतिरिक्त सचिवमा बढुवा गर्ने निर्णय गरेको हो।
अतिरिक्त सचिवका लागि बढुवा समितिले ढकाल र श्रेष्ठ सहित डा सुधा देवकोटाको नाम सिफारिस गरेको थियो।
स्वास्थ्य मन्त्रालयमा चार जना अतिरिक्त सचिवको दरबन्दी रहेको छ। जसमध्ये हाल दुई वटा पद रिक्त रहेका छन्।
रिक्त रहेको पदका लागि २४ जनाले आवेदन दिएका थिए। २४ जनाले आवेदन दिएकामा १ जनाले आवेदन फिर्ता लिएपछि २३ जनामध्ये बढुवा समितिले तीन जनालाई सिफारिस गरेको हो।
समितिले चैत ६ गते सार्वजनिक सूचना जारी गर्दै आवेदन माग गरेको थियो। १५ दिनको समय दिएर आवेदन माग भएको थियो।