फूलका बोटहरुमा
फूल नओइलिउन्
भनेर
बिरामीको शुष्कतामा
आफ्नो जीवनका
जीउने आशाहरु
दिव्य करुणाहरु
भर्दा भर्दै
कति खेर
ती मोडहरुमा
आफ्नै
आशाको आत्मा पनि
मलिन भएर
वैराग्यले छुँदो रैछ,
साँच्चै डाक्टर आफैँ
पनि बिरामी हुँदो रैछ!
बेन्जामिन फ्रयाङ्किनले
भनेका थिए
"भगवानले बचाउँछन्,
डाक्टर शूल्क लिन्छन्"
साँच्चै नै
डाक्टरको सामुन्ने नै
विचित्र रोगको त्रासले
बिरामीका आफन्तहरु
'हे भगवान्' को
अन्तर्ध्वनि निकालेर
भित्रभित्रै रुन्छन्,
हिजो भर्खर
हाँसिरहेका बिरामीका
यौवन आँखाहरु समेत
पीडा र छट्पटहाटमा
आँसु निकाल्दछन्,
सायद त्यतिनै खेर
डाक्टरका मानवताहरु
हृदयका सागरबाट पोखिन्छन्
र जब बिरामीको वेदनालाई
आफ्नै प्रेमिका झै स्पर्श गर्छन्
तब संसारका विज्ञानहरु अपूर्ण लाग्छन्,
तर फेरि
बेन्जामिनले भने झै
बचाउने त भगवान नै हुन्छन्
डाक्टर मात्र कर्ता भएर उभिन्छन्
साइड हिरो भएर देखिन्छन्,
अनि मलाई पनि भन्न मन लाग्छ
दुई छाक गुजारा गर्न
आउने शूल्कले
घाँटी मात्र भिजाउछन्
प्यास बुझाउँदैनन्!
डाक्टर आफ्नो
घर परिवार छोड्छ,
साथीसंगी मोजमस्ती छोड्छ,
सेवा सुविधाको पगरी गुथेको
राजधानी छोड्छ,
अनि सरकारले खटाएको
दूरदराजको विकट गाँउमा
रोगीको गाँठो फुकाउँदछ,
बिरामीको अन्तर्ध्वनिहरुमा
आफ्नो ढुकढुकी मिसाउँदछ,
तर जब समाजमा
देख्छ,
हिजो एसएलसी पास गरेर
कोरिया छिरेको साथीले
काठमाडौंमा २-३ वटा घर ठड्याउँछ,
प्लस टु मा बल्लतल्ल पास
हुने साथी
अहिले अष्ट्रेलियामा आमा बुवासँग
मस्त फोटो खिचाउँदछ,
ब्याचलरमा त्रिचन्द्र छिरेको साथी
राजनीतिक आडले देश दुनिया थर्काउदछ,
अनि जब
सरकार,समाज र संयन्त्र
यीनैलाई विजयीभावले
अबिर लगाई दोसल्ला ओढाउछ,
ऊसलाई
आफूले
विशेषज्ञता र मानवता
हासिल गर्न खर्चेको बिसौँ वर्ष,
आफूले कमाएको
देशभक्ति र इमान्दारीता,
सबै सबै
व्यर्थ व्यर्थ झै लाग्छ,
आफ्नै पेशा समेत
माफियाको चंगुलमा फसेको देख्दा
सुख दुःखमा
छातीमा लिप्सिन आउने
आमा बुवा मात्र सत्य लाग्छ,
ऊ आकास तिर हेरेर
भन्न सक्तदैन
ऊ अझै सशक्त छ,
जीवन, धन, मन
सबै गुमाउँदा समेत
ऊ घिस्रिरहेको छ
बिरामीको रोग निको हुने
आसहरुमा,
समझौता गरिरहेछ
सरकारका
दुर्गम भत्तारुपी
ललिपपहरुमा,
बिन्ति छ सरकार
अब समायोजनका नाममा
उसलाई खाडी जान बाध्य नबनाऊ।।