काठमाडौं- सरकारले १२ कक्षापछि सञ्चालनमा ल्याउन लागेको जनरल नर्सिङ कार्यक्रम दुई वर्षे कोर्ष नभएर तीन वर्षको हुने बताइएको छ।
स्वास्थ्यखबर फाउन्डेसनको आयोजना र मनास्लु इन्टरनेसनल सर्भिसको सहयोगमा आइतबार भएको कार्यक्रममा चिकित्सा शिक्षा आयोग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सरोकारवालाहरुले जनरल नर्सिङ कार्यक्रम तीन वर्षको हुने जानकारी दिएका हुन्।
'नर्सिङ शिक्षामा सुधार: जनरल नर्सिङ कार्यक्रम सही कदम हो' शिर्षकमा आयोजना भएको उक्त कार्यक्रममा आयोगकी निर्देशक प्राडा सरला श्रेष्ठले विज्ञहरु सहभागी कार्यदलले दिएको सुझाब र त्यसपछि भएका छलफलपछि मिडवाइफ्रीका विषय पनि जनरल नर्सिङ कार्यक्रममा हुने भएकाले तीन वर्षको कोर्ष सुरु गर्ने निर्णय आयोगले गरेको जानकारी दिइन्।
उनका अनुसार चिकित्सा शिक्षा आयोगको माघ ३० गते बसेको १७औं बैठकले १२ कक्षामा विज्ञान विषय बाहेकका विषय पढेर उत्तीर्ण गरेका विद्यार्थीहरुका लागि तीन वर्षे जनरल नर्सिङ कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको हो।
'जनरल नर्सिङ कार्यक्रममा मिडवाइफ्री नराख्ने हो भने कम्तिमा दुई वर्षको गर्न सकिने सुझाब आएको थियो। तर नेपालको परिप्रेक्ष्यमा जनरल नर्सिङमा मिडवाइफ्री विषय पनि राख्ने हो भने दुई वर्षले पुग्दैन तीन वर्ष हुनुपर्छ भनेर तीन वर्षका विषयमा निर्णय भएको छ,' उनले भनिन्, 'प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको आयोगको १७औं बैठकले जनरल नर्सिङका विषयमा निर्णय गरेको हो।'
उनका अनुसार जनरल नर्सिङ कार्यक्रममा कक्षा १२ मा विज्ञान विषय नपढेका जुनसुकै विधाका विद्यार्थीले आवेदन दिन सक्ने छन्। '१२ कक्षासम्म विज्ञान पढेकाहरुका लागि चार वर्षीय बिएस्सी नर्सिङ कार्यक्रम छ। तर विज्ञानभन्दा बाहेकका अन्य विधा अध्ययन गरेकाहरुका लागि तीन वर्षे एड्भान्स डिप्लोमा इन नर्सिङ कार्यक्रम भनेर जनरल नर्सिङ कार्यक्रम ल्याउन लागिएको हो।' उनले जनरल नर्सिङ कार्यक्रम अध्ययन गर्नका लागि प्रवेश परीक्षामा ५० प्रतिशतभन्दा बढी अंक ल्याउनु पर्ने जानकारी दिइन्।
नर्सिङ विधाका विभिन्न पक्षमा सुझाव सिफारिसका लागि गठित कार्यदलकी सदस्य समेत रहेकी स्वास्थ्य मन्त्रालय अन्तर्गतको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाकी निर्देशक हिरा निरौलाले जनरल नर्सिङका विषयमा तीन वर्षकै हुने भने निर्णय भएर आएको जानकारी दिइन्।
'कार्यदलले यदि मिडवाइफ्री नपढाउने हो भने नर्सिङका लागि कम्तिमा दुई वर्ष भनेर सुझाब दिएको थियो। अहिले अब चिकित्सा शिक्षा आयोगबाट जसरी पिसिएल नर्सिङमा नर्सिङ र मिडवाफ्री दुवै विषय पढाइ हुन्छ त्यसैगरी जनरल नर्सिङमा पनि दुवै विषय हुने र यो तीन वर्षको हुने भन्ने नै छ,' उनले भनिन्, 'मिडवाफ्री नराख्ने हो भने कम्तिमा दुई वर्ष भन्ने सुझाब थियो। तर अब मिडवाइफ्रीसहित तीन वर्षको नै हुने भन्ने छ।'
उनले कक्षा १२ पछि तीन वर्षे जनरल नर्सिङ अध्ययन गरेकाहरुले उक्त कोर्ष सकेपछि थप दुई वर्षे पिबिबिएन कोर्ष गरेमा ब्याचलर तह उत्तीर्ण हुने र त्यसपछि मास्टर्स अध्ययन गर्न सकिने पनि जानकारी दिइन्।जनरल नर्सिङ अध्ययन गरेका जनशक्तिलाई सरकारले पिसिएलभन्दा एक तह माथि वा छिटो स्तरवृद्धि गरेर जानसक्ने पनि उनले बताइन्।
कार्यक्रममा नर्सिङ काउन्सिलकी रजिष्ट्रार शुक्ला खनालले नयाँ कार्यक्रम लागू भएपछि केही क्राइटेरिया थपेर लाइसेन्स दिने प्रक्रिया अगाडि बढ्ने जानकारी दिइन्। 'काउन्सिलले अहिलेसम्म अनमीदेखि स्नातोकत्तकर तहसम्मका लाइसेन्स दिइरहेको छ। यो कार्यक्रमका हकमा पनि केही क्राइटेरिया थप्नुपर्ने होला। आवश्यक छलफल र गृहकार्यपछि हामी लाइसेन्स दिने प्रक्रियामा जानेछौं,' उनले भनिन्।
प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषदका सदस्य सचिव महेश भट्टराईले नेपालको सन्दर्भमा अहिले नै पिसिएल कोर्ष फेजआउट गर्ने समय नआएको बताए। 'हाम्रा उत्पादन देशको दुरदरजा पुग्ने खालको उत्पादन हुनुपर्छ। यो कार्यक्रम अस्पतालका लागि हो वा विश्वविद्यालयका लागि हो? यदि अस्पतालका लागि हो भने हाम्रो आवश्यकता र भूगोल हेरर निर्णय गरौं। सिटिइभिटीको नर्सिङ कार्यक्रम अझै १०-१५ वर्ष फेजआउट गर्न बेला आएको छैन।'
नेपाल नर्सिङ संघकी अध्यक्ष चन्द्रकला शर्माले जनरल नर्सिङ कार्यक्रमका विषयमा थप बहस र छलफल आवश्यक रहेको बताइन्।
'दुई वर्षे जनरल नर्सिङ कार्यक्रमका लागि सिफारिस आउँदा म नेपाल नर्सिङ सङ्घको अध्यक्ष भइसकेको थिइनँ। सरोकारवाला व्यक्तिको रुपमा भने त्यतिबेला पनि हामीले आफ्ना कुरा राखेका हौं,' उनले भनिन्, 'अन्तर्राष्ट्रिय मान्यताअनुसार पनि मास्टर्स पढ्नका लागि कम्तिमा पनि १६ वर्षको अध्ययन खोजिन्छ। प्लस टु सकेपछि तीन वर्ष अध्ययन गर्दा पनि १५ वर्ष मात्रै हुन्छ, दुई वर्षको जनरल नर्सिङ कार्यक्रमलाई कुन तहमा राख्ने भन्ने सरोकारवालाहरुसँगको एक चरणको छलफल भएर नै जनरल नर्सिङ कार्यक्रम तीन वर्षमा हुन पुगेको हो भन्ने मेरो बुझाई छ।'
कार्यक्रममा विज्ञ र सरोकारवालाहरुको धारणा सुनेपछि संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मर बहादुर थापाले जनरल नर्सिङ कार्यक्रमका फाइदा र बेफाइदाका विषयमा गहन छलफल गरेर मात्र अगाडि बढ्नुपर्नेमा जोड दिए।
'उत्पादित जनशक्तिको भविष्य के हुने हो, रोजगारीको ग्यारेन्टी के हुने हो र यो पढिसकेपछि त्यो भन्दा माथिल्लो तहको अध्ययन के हुने लगायतका सबै विषय हेरेर मात्र कार्यक्रम लागु हुनुपर्छ। यो विषयमा संसदीय समितिमा छलफल गर्नपरे पनि म त्यसका लागि तयार छु,' उनले भने।
दुई वर्षे विषय कसरी बाहिर आयो?
जनरल नर्सिङ कार्यक्रम दुई वर्षको भन्ने विषय नर्सिङ विधाका विभिन्न पक्षमा सुझाव सिफारिसका लागि गठित कार्यदलले दिएको सुझाबपछि छलफलमा बाहिर आएको थियो। कार्यदलले नेपालमा पनि १२ कक्षापछि नर्सिङ अध्ययन अध्यापन कार्यक्रम सुरु गर्न सिफारिस गरेको थियो। जसमा १२ कक्षापछि सुरु हुने नयाँ कार्यक्रमको नाम 'जनरल नर्सिङ कार्यक्रम' राख्न उपयुक्त हुने र यस कार्यक्रमको अवधि दुई वर्षको हुने छ भन्ने उल्लेख छ। यो कार्यक्रम सञ्चालन गर्ने संस्थाको आफ्नै स्वामित्वमा कम्तीमा १०० शय्याको अस्पताल रहेको शिक्षण संस्था हुनुपर्ने पनि प्रतिवेदनमा उल्लेख छ।
यो विषय बाहिर आएपछि नर्सिङ संघ लगायतका सरोकारवालाहरुले दुई वर्षे कार्यक्रम नेपालका लागि उपयुक्त नहुने भन्दै सुझाब दिएका थिए। आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको नीति तथा कार्यक्रममा जनरल नर्सिङ कार्यक्रम सुरु हुने विषय परेको छ। तर उक्त कार्यक्रममा जनरल नर्सिङ कार्यक्रम कति वर्षको भन्ने उल्लेख भने भएको छैन।
जनरल नर्सिङ कार्यक्रम पूर्ण रुपमा कार्यान्वयन भएको ५ वर्षभित्र कक्षा १० पछि पढाई हुने प्रमाणपत्र तह नर्सिङ फेज आउट गर्दै लैजानुपर्ने सुझाव पनि कार्यदलले प्रतिवेदन मार्फत दिएको छ।
आयोगको गत कात्तिक २१ गतेको निर्णय अनुसार काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेसको नर्सिङ निर्देशक प्राडा कुन्तादेवी पुनको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन भएको थियो।
कार्यदलमा नेपाल नर्सिङ काउन्सिलकी अध्यक्ष प्रा सरला केसी, महाराजगञ्ज नर्सिङ क्याम्पसकी प्रमुख प्रा मुना राना, वीर अस्पताल नर्सिङ क्याम्पस प्रमुख सह प्रा बन्दना थापा, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सहसचिव हिराकुमारी निरौला सदस्य थिए भने चिकित्सा शिक्षा आयोगकी अस्पताल नर्सिङ प्रशासक भारती शर्मा सदस्य सचिव थिइन्।


