त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)मा जनस्वास्थ्य केन्द्रिय विभाग गठन भएको धेरै भएको छैन। विभाग गठन भए पनि विभागमा प्रमुख नियुक्त नुहँदा केही समय अन्यौल सृजना भएको थियो। तर, नवगठित विभागको प्रमुखमा डा आमोद पौडेल नियुक्त भएसँगै विभागले कामको गति लिने विश्वास गरिएको छ। यो विभागले अब कसरी काम अगाडि बढाउँछ, भविष्य के गर्ने योजना ल्याएको छ लगायतका विषयमा केन्द्रित रहेर विभागका डा पौडेलसँग स्वास्थ्यखबरका लागि बुनु थारुले गरेको कुराकानी:
जनस्वास्थ्यलाई सामान्य भाषामा कसरी बुझ्ने?
जनस्वास्थ्य भनेको त्यस्तो विधा हो जसले रोग लाग्नै नदिन जनतालाई स्वास्थ्य बनाउन मद्धत गर्छ । यो एउटा शास्त्र हो जसले प्रोमोटिभ , प्रिभेसनको कुरा गर्छ । यसले रोग लाग्नबाट बचाउन के के गर्नुपर्छ भन्ने कुरा मा चासो दिन्छ । मान्छेलाई रोग लाग्न नदिन मानिसको बानी व्यहोरालाई परिवर्तन गराउनका लागि जनचेतना जगाउन जनस्वास्थ्यले काम गर्छ।
यो विभाग किन गठन गरिएको हो? यसको आवश्यक किन पर्यो?
महराजगञ्ज चिकित्सा क्याम्पसमा ३३ वटा चिकित्सासँग सम्बन्धित विभागहरु छन्। जनस्वास्थ्य विषय हामीले क्याम्पसबाट ओझेल परेको महसुस भएको हुनाले जनस्वास्थ्यलाई पनि महत्वपूर्ण स्थान दिइ पठनपाठन तथा अनुसन्धान गर्नको लागि गठन गरिएको हो।
मुख्य कुरा त हामीले दक्ष तथा उत्तरदायी जनस्वास्थ्य जनशक्ति उत्पादन गर्ने तथा जनस्वास्थ्यको प्राज्ञिक कार्यक्रमहरुबाट सेवा मूलक बनाउने सोच हो। त्यसका साथै जनस्वास्थ्यको विधालाई प्राज्ञिक रुपमा उन्नत बनाउन तथा यस क्षेत्रमा संघीय, प्रादेशिक, राष्ट्रिय तथा अन्तराष्ट्रिय महत्वका अनुसन्धानहरु गर्ने उद्धेश्यले गठन गरिएको हो। जनस्वास्थ्यका सम्पूर्ण विधाहरुमा अनसुन्धान गर्ने र त्यसबाट प्राप्त प्रमाणहरुका आधारमा जनस्वास्थ्य नीति कार्यक्रम र सेवाहरु प्रदान गर्न सक्षम र नेतृत्वदायी भुमिका निर्वाह गर्नसक्ने विशिष्ट विज्ञहरुको उत्पादन गर्ने हामीले सोचेका छौँ।
यो विभाग हालै मात्र गठन गरिएको हो। महाराजगञ्ज चिकित्सा क्याम्पसले अरु विभाग जस्तै जनस्वास्थ्यलाई ख्यासै ध्यान दिएको थिएन। त्रिवि अन्तर्गत जनस्वास्थ्यको केन्द्रिय विभाग भयो भने यसले आफ्नो वृद्धिविकास राम्रोसँग गर्न सक्छ, पठनपाठन अनि अध्ययन अनुसन्धान गर्न सक्छ भनेर नै हामी लामो समय लाग्यौँ । गएको ३ वर्षदेखि लगातार हामीले यसका लागि पहल ग¥यौँ । जनस्वास्थ्य विधा अन्तर्गत विभिन्न तहको स्नातक, स्नात्तकोत्तर, विद्यावारिधि पठन पाठन गर्ने तथा प्राज्ञिक कार्यक्रमहरुलाई सेवामूलक बनाउने हाम्रो सोच हो।
जनस्वास्थ्य अन्तर्गत के –के शैक्षिक कार्यक्रमहरु सञ्चालित छन्?
यहाँ यो विषय पढाइ हुन थालेको करिब ३३ वर्ष पुग्यो होला । जनस्वास्थ्यको मास्टर्स तथा व्याचर लेभल सुरु भएको धेरै वर्ष भयो जुन महराजगञ्ज मेडिकल क्याम्पस अन्तर्गत मात्र सुरु भएको थियो भने अब जनसवस्थ्यकै व्यक्तिले नेतृत्व गर्नुपर्छ भनेर पनि यो विभाग गठन गरिएको हो। यहाँ बि पि एच (ब्याचलर इन पब्लिक हेल्थ), एम पि एच (मास्टर्स इन पब्लिक हेल्थ), एम पि एच एन( मास्टर्स इन पब्लिक हेल्थ न्युट्रिसन), एम एच पि इ (मास्टर्स इन हेल्थ प्रमोसन एन्ड एजुकेशन) तथा विद्यावारिधी कार्यक्रम पनि रहेका छन्। पिएचडी इन पब्लिक हेल्थ रहेको छ।
जनशक्ति कति उत्पादन भइरहेका छन्?के स्कोप छ?
जनशक्ति उत्पादनको कुरा गर्नुपर्दा स्नातक तहमा यो कलेजबाट ४० जना प्रतिवर्ष, मास्टर्स लेभलमा ३० जना प्रतिवर्ष उत्पादन भइरहेका छन्। यस कलेजबाट सम्बन्धन प्राप्त गरेका कलेजहरुमा जनशक्ति थपघट भइरहन्छ। त्यसैगरी अहिलेसम्म ३ जनाले विद्यावारिधि सफलतापूवर्क सकिसकेका र हाल ३ जना विद्यार्थीहरु अध्ययन र अनुसन्धान गरिरहेका छन्। हुने चितवन मेडिकल कलेज, मनमोहन मेडिकल कलेज ,युनिर्भसल मेडिकल कलेज आदिमा जनस्वास्थ्य विषयको पढाइ हुन्छ। जनस्वास्थ्य पढेपछि स्वास्थ्य क्षेत्रमा चिकित्सकहरुको मात्र धेरै हाबी भइरहेको देखिन्छ। चिकित्सहरुले जे भन्यो त्यही हुन्छ। प्रिभेन्टिभ र प्रोमोटिभ केयर भन्दा क्युरेटिभमा मात्र बढी फोकस भएको जस्तो देखियो। त्यसैले जनस्वास्थ्यका बढी भन्दा बढी जनशक्तिहरु उत्पादन भएर सरकारले बनाउने प्रिभेन्टिभ र प्रामोटिभसँग सम्बन्धित स्वास्थ्य नीति निर्माणमा सहयोग पुग्छ । त्यसैगरी यसका जनशक्ति जनस्वास्थ्य अधिकृत भएर जान सक्छन्। संघीय संरचनामा प्रत्येक गाविस लेभलमा जनस्वास्थ्यबाट अध्यनय गरेको व्यक्तिलाई पदको व्यवस्था छ । त्यसैगरी विद्यावारिधी गरेर विज्ञ बन्न सक्छन्।
नेपालमा जनस्वास्थ्यका क्षेत्रमा के समस्याहरु देख्नुहुन्छ?
जनस्वास्थ्यको धेरै वटा विषयमा समस्या देखिएको छ। जस्तै सडक दुर्घटना यो पनि ठूलो समस्या हो मातृशिशु, तथा बालमृत्युदरको पनि कुरा यसमा पर्दछ। हामीले जनस्वास्थ्यका तथा प्रमोटिभ र प्रिभेन्टिभ कुरामा जति नीतिगत तहमा आएर सरकारले जति खर्च गर्नु पर्ने हो त्यो भएको छैन। स्वाथ्यमा बजेट नै कम छुट्याइएको हनाले जनस्वास्थ्यका धेरैवटा विषयमा हामी पछि परेका छौँ । यदि जनस्वाथ्यका दक्ष जनशक्ति उद्पादन गर्न सक्छौँ भने यीनिहरुलाई देशको प्रत्येक अफिस, स्कुल, गाविसमा, हेल्थपोस्ट आदिमा यिनीहरुको सहभागिता रहने हो भने नेपालको धेरैे जनस्वास्थ्य क्षेत्रको समाधान हुन सक्छ।
विभागलाई कसरी लाने सोच्दैहुुनुहुन्छ?
नेपाल मेडिकल काउन्सिलको नियम अनुसार कुनै पनि मेडिकल कलेजमा कम्युनिटि मेडिसिन भन्ने विभाग हुनुपर्छ तर कम्युनिटि मेडिसन सँगसँगै जोडिएको पब्लिक हेल्थ विभाग नभएपनि यहाँ पठन पाठन हुँदै आएको थियो। जनस्वसथ्य विभागलाई छुट्टै विकास गर्नुपर्छ भनेर लागि सकेपछि यस विभागमा रहेका सबै साथीहरु कमिटि बनाएर कसरी जाने भनेर निर्णय हुन बाँकी छ। जनस्वास्थ्य विभाग मात्र बन्यो कसरी गर्ने कसरी मिलाउने भन्ने कुरा अझै पनि टुंगो लगाउन बाँकी छ। व्यवस्थापन पक्षले अझै पनि गर भनेर दिइरहेको अवस्था छैन। हामीले गर्ने उद्धेश्य चाहिँ ब्याचलर तथा मास्टर्स लेभलको शिक्षा पहिला भन्दा राम्रो तथा उत्कृष्ट दिने हो । शिक्षामा साथसाथै पब्लिक हेल्थको सेवा पनि दिने हाम्रो सोचाइ हो। अनुसन्धानमूलक काममा विद्यार्थीालई धेरै भन्दा धेरै लगाउने काम पूरा गर्नुछ। त्रिवि अन्तर्गत यस जनस्वास्थ्य विभागले त्रिविका आंगिक कलेजहरुको पठनपाठनलाई नियमन गर्ने र उनीहरुलाई सही बाटोमा देखाउन सुसूचित गर्ने पनि हाम्रो काम हुनेछ। जनस्वास्थ्यमा विकास गर्न देशको निति निर्मातालाई सल्लाह दिने र अनुसन्धानमा संलग्न हुने हाम्रो मुख्य टार्गेट हो। अहिले हामी कसरी सञ्चालन गर्ने भनेर बजेट बनाउनमा व्यस्त छौँ। प्रशासन ,अर्थ,संरचनामा अझै धेरै नै मेहनत गर्नुपर्ने देखिन्छ।