काठमाडौं- उपभोक्ता अदालतले चिकित्सा क्षेत्रबिरुद्ध सेवाग्राहीले हालेका मुद्दामा करोड भन्दा बढीसम्म क्षतिपूर्ति भराउने निर्णय गरेपछि चिकित्सकहरुको छाता संगठन नेपाल चिकित्सक संघ(एनएमए)ले चरणबद्ध आन्दोलन घोषणा गरेको छ। उक्त आन्दोलनाई स्वास्थ्य क्षेत्रका सबै संघ/संस्थाले ऐक्यबद्धता जनाएका छन्।
अहिले आन्दोलनरत एनएमएले ८ वर्षअघि ऐन जारी हुँदा सम्भावित परिणामका बारेमा ख्याल नगरेको विषय समेत सँगसँगै उठेको छ। एनएमएकै कार्यालयमा केही दिनअघि आयोजित कार्यक्रममा बोल्दै डा मंगल रावलले यस्तो विषय उठाएका हुन्।
प्राप्त भिडियमा उनले भनेका छन्, 'अहिलेको अवस्था आउनुमा हामीबाट पनि कतै कमजोरी त भएको छैन ? यो आवस्था आउनुमा हाम्रो पनि केहि दोषहरु भने पक्कै छ कि ? एतातिर पनि समिक्षा अहिले नै गर्नु उत्तम हुनेछ | उपभोक्ता संरक्षण ऐन त ८ वर्ष अघि नै जारी भएको हो । त्यसबेला चिकित्सकको मुख्य सरोकारवाला संस्था नेपाल चिकित्सक संघ मौन रह्यो र हामी सबैले मौन रहन दिएको हो। यो ऐन अन्तर्गत कतिपय चिकित्सकहरुलाई कारवाही हुँदा पछि पनि मौन बस्यो। आजको पीडा त्यही मौनताको परिणाम हो। यो हामी सबै मौन बसे अझ घातक परिणाम आउन सक्छ।'
उपभोक्ताम अदालतले गरेका पछिल्ला फैसलाहरुले सबै नेपाली चिकित्सकहरुलाई स्तब्ध बनाएको बताउँदै उनले यी निर्णयहरुले एक चिकित्सकलाई मात्र होइन, सम्पूर्ण चिकित्सा पेशा र नेपालको स्वास्थ्य प्रणालीलाई नै कठघरामा उभ्याएको बताएका छन्।
उनले भनेका छन्, 'पछिल्लो १० वर्षमा अदालतबाट भएका थोरै केसहरू र ती केसमा सुनाइएको जरिवाना, अनि नेपाल मेडिकल काउन्सिलले हेरेको लापरबाहीको अवस्था लागायत कुराहरू विश्लेषण गर्दा पनि यति ठूलो जरिवाना तोक्दै चिकित्सकलाई दोषी ठहर गर्ने निर्णय हुन्छ भनेर हामीले कल्पना समेत गरेका थिएनौं। नेपाल मेडिकल काउन्सिल ले लापरबाही नभएको ठहर गरेको र विशेषज्ञहरूले समेत गल्ती नदेखाएको मुद्दामा समेत अदालतले चिकित्सकलाई दोषी ठहराउनुले हाम्रो न्यायिक र नियामक प्रणालीमा (मेडिकल काउन्सिल) बीच गहिरो खाडल रहेको देखाउँछ।'
यस्ता फैसलाले चिकित्सा पेशाको विश्वसनीयता र बिरामीको भरोसामाथि गम्भीर प्रहार गरेको उनको भनाइ छ। उनले ऐन संशोधन वा २०६६ मा सर्वोच्च अदालतले निर्णय गरेको सेल्फ कन्टेन्ड इन्फर्म कन्सेन्टमा आधारित चिकित्सकीय अभ्यासको नयाँ ऐन दीर्घकालीन समाधान हुनसक्ने बताएका छन्। 'आवश्यक परे आन्दोलन अपरिहार्य हुनेछ। यो आन्दोलन कुनै त्यो आन्दोलन कुनै संस्थाको झन्डामुनि मात्र सीमित हुनु पर्छ भन्ने छैन। यो लडाइङ्गको नेतृत्व केवल एनएमएको मात्र जिम्मा होइन, यो सम्पूर्ण चिकित्सक समुदायको साझा उत्तरदायित्व हो। एनएमए प्रति विश्वास भएपनि, नभए पनि यो लडाईमा सबै सहभागी हुनै पर्छ। चिकित्सकहरुको हितको लागि हुने आन्दोलनमा मेरो पूर्ण सहयोग र साथ हुनेछ।'