भरतपुरमा गर्मीको राप बढ्दो छ। बिहानको सवा १० बजेको छ। बजार क्षेत्रबाट केही पर भए पनि बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा चहलपहल छ। बिरामी, कुरुवा, चिकित्सक, स्वास्थ्यकर्मी, प्रशासक सबै आफ्नै ध्याउन्नमा छन्। म भने यिनै दृश्य हेर्दै प्रमुख प्रशासकीय भवन छिर्छु।
मलाई अस्पतालले हालै मात्र सुरु गरेको स्नातक तहको नर्सिङ कक्षाबारे बुझ्नु थियो। क्यान्सर अर्थात् अन्कोलोजी विषयको पढाइ हुने सो शैक्षिक कार्यक्रम सरकारीस्तरमा नेपालमा सुरु गरिएको पहिलो र नमुना कार्यक्रम हो। त्यसमाथि सञ्चालन प्रक्रियाका हकमा पनि यो नौलो लाग्छ।
प्रशासकीय भवनको ठिक पछाडि छोटोमा पुग्न सकिने बाटो रहेछ। मलाई सोही बाटो हुँदै नर्सिङ कक्षा सञ्चालन भइरहेको भवनतर्फ लगियो। केही मिनेटको दूरीमै म चहलपहलको क्षेत्रबाट शान्त वातावरणभित्र पसिसकेको थिएँ। चारैतिर रुख, दुवैतर्फ कालोपत्रे गरिएको सडक, सडकका दुई किनारमै फूल रोपिएको, चराचुरुंगीको चिरबिर आवाज, यही बीचमा थियो बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको संयुक्त आंगिक नर्सिङ कार्यक्रम सञ्चालन भइरहेको भवन।
दुई तले भवन छ, हेर्दा संरचना पुरानै लाग्छ, त्यसमाथि भवनको डिजाइन पनि नयाँ लाग्दैन। तर, सुरक्षा र मापदण्डका हकमा पनि कमी भने पक्कै लाग्दैन। भवनको अवस्था र स्वरुप हेरेपछि नै यतिसम्म भन्ने आँट गरेको हुँ।
भवनको तल्लो तलामा २ कक्षा कोठा र मिडवाइफ्री एन्ड पेडियाट्रिक ल्याब तथा कम्युनिटी ल्याब छन्। लाइब्रेरीको पनि व्यवस्था छ। कक्षा कोठामा प्रोजेक्टरको माध्यमबाट कक्षा चलिरहेको छ। पिंक कलरको साडी र ब्ल्याक कलरको ब्लाउजमा विद्यार्थीहरु अध्ययनमा व्यस्त देखिन्छन्।
शरीरको डमी, स्केलेटन, शरीरका विभिन्न अंगहरुको डमीलगायत अध्ययनमा आवश्यक पर्ने सबै सामाग्रीहरु ल्याबमा देख्न सकिन्छ। शरीरका विभिन्न अवस्था तथा संवेदनशीलताको बारेमा जानकारी दिन अस्थायी रुपमा बिरामी बेड र सोका लागि आवश्यक सबै सामग्रीहरुको व्यवस्था पनि गरिएको छ।
भवनको माथिल्लो तलामा फ्याकल्टी रुम तथा एक कक्षा कोठाको व्यवस्था गरिएको छ। सो शैक्षिक कार्यक्रमकी संयोजक सरोजिनी शर्माले स्नातक पहिलो वर्षका लागि आवश्यक सबै पूर्वाधार खडा गरेको दाबी गरिन्। ‘स्किल ल्याब, प्रोजेक्टरबाट पढाइने सहज र प्रविधिमैत्री कक्षाकोठा, फ्याकल्टी रुम, प्राविधिक सिकाइका लागि महत्वपूर्ण अस्पताल नै भइहाल्यो, कार्यालय तथा पढाइमा आवश्यक पर्ने सबै प्राविधिक साधन–स्रोतमा हामीले कमी हुन दिएका छैनौं’, संयोजक शर्माले भनिन्, ‘त्यसमाथि यहाँको शान्त वातावरण यो कलेजको थप महत्वपूर्ण विशेषता हो। किनकी अध्ययनका लागि होहल्ला, सहरी इलाकाभन्दा पनि यस्तै शान्त वातावरण नै बढी प्रभावकारी हुन्छ भन्ने मेरो बुझाइ हो।’
नर्सिङका कुनै पनि शैक्षिक कार्यक्रम सञ्चालनका लागि सम्बन्धन या सहकार्य गरेको विश्वविद्यालय तथा नेपाल नर्सिङ काउन्सिलको न्यूनतम मापदण्ड पूरा भएको हुनुपर्छ। अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्य दुवै पक्षको मापदण्ड पूरा भएपछि मात्रै कक्षा सञ्चालन गरेको बताउँछन्।
‘कक्षा सञ्चालनका लागि आवश्यक पूर्वाधार तथा मापदण्ड पूरा भए÷नभएको विश्वविद्यालय र काउन्सिलका प्रतिनिधिबाट अवलोकन भएको थियो’, डा आचार्यले भने, ‘यति विद्यार्थी संख्यालाई यति कक्षा कोठा, अन्य भौतिक संरचना, ल्याबका सामाग्री, लाइब्रेरी, प्रोफेसरको संख्या यति हुनुपर्ने लगायतका मापदण्ड पूरा भएको पाएपछि मात्रै उहाँहरुसँग सहकार्य गरिएको हो।’
हाल ३ वर्षको बिएनएस नर्सिङको कक्षा सञ्चालन भएको छ। जसमा पहिलो वर्ष २० विद्यार्थी अध्ययन गरिरहेका छन्। पिसिएल नर्सिङ गरेका र केही समय अनुभवसमेत बटुलिसकेका विद्यार्थी हाल कक्षा लिइरहेका छन्।
अनवरत रुपमा पछिल्लो २३ वर्षदेखि क्यान्सरका बिरामीलाई विशेषज्ञ सेवा दिइरहेको अस्पतालले गएको मंसिरबाट शैक्षिक कार्यक्रमको थालनी गरेको हो। अस्पतालको हालै मात्रै १ सय ५० शय्याबाट ४ सय ५० शय्यामा स्तर वृद्धिसमेत भएको छ। बिरामीको चाप तथा चिकित्सक, स्वास्थ्यकर्मी र प्राविधिक समिकरणको दायरा फराकिलो हुँदै गरेको समयमा शैक्षिक कार्यक्रम थालनी गरिए पनि यसका लागि निकै लामो समय कुर्नुपरेको शर्मा बताउँछिन्। तर, यसलाई उनी संघर्षभन्दा पनि सिकाइको रुपमा बुझेकी छिन् शर्माले।
उनका अनुसार शैक्षिक कार्यक्रम ल्याउनुपर्छ भन्ने सोचको थालनी २०६३/०६४ बाटै भएको हो। तर, त्यो सोचले मूर्त रुप पाउन एक दशकभन्दा बढी समय लाग्यो।
स्थापना भएको समय २०५२ सालदेखि अस्पतालमा स्टाफ नर्सको रुपमा कार्यरत शर्माले यसको प्रस्थान बिन्दु र समयक्रमसँगै आएका उतारचढावबारे खुलाइन्। अस्पताल बनिसकेपछि क्यान्सरका बिरामीलाई दिनुपर्ने सेवाका सन्दर्भमा अस्पताल व्यवस्थान तथा स्वास्थ्यकर्मीलाई विभिन्न देशका विशेषज्ञ सेवासहितका क्यान्सर अस्पतालको अवलोकन भ्रमण गर्ने मौका मिल्थ्यो। तत्कालीन समयमा नेपालमा विशेष सेवा दिने हकमा क्यान्सर अस्पताल नभएकोले उनीहरुलाई भारत, क्यानडा, अमेरिका लगायतका देशहरुमा त्यहाँको सेवाको अवस्था अवलोकन, अध्ययन तथा तालिमका लागि लगिने गरेको उनले सम्झिइन्।
पटक–पटकको अवलोकन तथा अध्ययनबाट क्यान्सरका विविध आयाम र प्रभावबारे जानकारी मिलेपछि उनीहरुलाई अब यसको पढाइ नेपालमै हुनुपर्छ भन्ने तत्वबोध भएको रहेछ। ‘क्यान्सर आफैंमा स्पेसियालिस्ट एरिया हो। विदेशको स्वास्थ्य सेवा र शिक्षाको अवस्था हेरेपछि हामीलाई लाग्यो कि यस विषयमा रहेर स्पेसियालिस्टभन्दा पनि सुपरस्पेसियालिस्ट सेवा दिनुपर्ने रहेछ’, शर्माले थपिन्, ‘विभिन्न अंगमा हुने क्यान्सर, त्यसको उपचार र मानिसको जीवन पद्धतिमा ल्याउने जटिलताहरुको जानकारी लिएपछि हामीलाई लाग्यो कि वास्तवमा यसको पढाइ नेपालमा पनि गर्नुपर्ने रहेछ। त्यसपछि हामी व्यक्तिगत तथा संस्थागत रुपमा पनि यस सम्बन्धमा थप अध्ययनमा लाग्यौैं।’
तर, तत्कालै क्यान्सर अस्पताललाई शैक्षिक कार्यक्रम सुरुवात गरिहाल्ने अवस्था भने सिर्जना भएन। उनी भन्छिन्, ‘यसबीचमा हामीले स्वास्थ्य शिक्षाका क्षेत्रमा लामो समय अनुभव बटुलेका विभिन्न अन्तर्राष्ट्रिय संघसंस्था तथा विश्वविद्यालयसँगको सहयोग तथा सहकार्यमा छोटो समयका तालिमहरु भने दिइरहेका थियौं।’
कार्यक्रम संयोजक शर्माका अनुसार त्यसबीचमा अस्पतालमा तीन महिनाको बेसिक अन्कोलोजी, स्ट्रोमा, पेन प्यालेटिभ केयर लगायतका तालिमहरु भने निरन्तर रुपमा सञ्चालन भई नै रहे। ‘एक महिनादेखि तीन महिनासम्मका यस्ता तालिमहरुमा वीर अस्पताल, नेपाल क्यान्सर अस्पताल, भक्तपुर अस्पताल, विभिन्न मेडिकल कलेज, जसले अन्कोलोजी विषयमा सेवा दिइरहेका छन्, त्यहाँबाट साथीहरु, बहिनीहरु आउनुहुन्थ्यो’, केही उत्साहित मुद्रामा देखिएकी उनले भनिन्, ‘यसबाट हामीलाई अब शैक्षिक कार्यक्रमतिरै लाग्नुपर्छ भन्नेमा थप हौसला मिल्यो। र, अस्पतालमा नर्सिङ विषयको कक्षा सञ्चालन हामीले नै गर्नुपर्छ भन्ने भयो। त्यसकारण आज हामी यो स्थितिसम्म आइपुगेका छौं।’
उता अस्पतालका कार्यकारी निर्देशक विजयचन्द्र आचार्य भने यो समयमा हरेक स्वास्थ्य संस्थाका लागि सेवाको प्रवाह विस्तार गर्न शैक्षिक कार्यक्रम अनिवार्य सञ्चालनमा ल्याउनुपर्ने तर्क गर्छन्। ‘मेडिकल साइन्स धेरै विषयवस्तुसँग अन्तरसम्बन्धित विषय हो। स्वास्थ्य सेवालाई संख्यात्मकभन्दा गुणात्मक रुपमा बलियो बनाउनुपर्छ। गुणात्मक बनाउन अध्ययन गर्ने, एकेडेमिक एक्टिभिटिज गर्नुपर्छ’, आचार्यले अस्पतालले शैक्षिक कार्यक्रम सुरुवात गर्नुको उद्देश्यमाथि प्रकाश पार्दै भने, ‘खासमा क्यान्सर विषयमा नर्सिङ पढाइ हुने अवस्था नेपालमा थिएन। क्यान्सरजस्तो रोगका लागि हामी आफैंले दक्ष जनशक्ति उत्पादन सक्यौं भने गुणस्तरीय सेवा दिनका लागिसमेत आधार तयार हुन्छ भन्ने सोच बन्यो। कार्यक्रम सञ्चालनमा ल्याएका हौं।’
क्यान्सर नै पढेर गएका विद्यार्थीले कार्यक्षेत्रमा रहँदा यसैसँग सम्बन्धित बिरामीलाई भरपर्दो र राम्रो सेवा दिनसक्ने बताउँदै उनले क्यान्सर अस्पतालसँगै गाँसिएकाहरुका लागि झनै अध्ययन, अनुसन्धानको दायरा फराकिलो हुने तथा सेवा प्रवाहका लागि पनि सहज बन्ने दाबी गरे।
तर, सेवामूलक संस्थाले कुनै करिकुलम तयार गरेर शैक्षिक कार्यक्रम सञ्चालन गर्दा आउने कानुनी जटिलताका कारण अस्पतालले पोखरा विश्वविद्यालयसँग सहकार्य गरेको कार्यक्रम संयोजक शर्माको भनाइ छ। यसले गर्दा कक्षा सञ्चालन गर्न सोचेभन्दा केही समय ढिलाइ भएको उनले बताइन्।
यसरी सञ्चालनमा आएको कक्षा संयुक्त आंगिक नर्सिङ कार्यक्रमअन्तर्गतको हो। नेपालको इतिहासमै यो प्रणाली पहिलो पटक कार्यान्वयनमा ल्याइएको हो।
आखिर के हो त संयुक्त आंगिक कार्यक्रम ?
यो पोखरा विश्वविद्यालय र क्यान्सर अस्पतालको समन्वयात्मक कार्यक्रम हो। सामान्यतयाः नेपालमा दुई तरिकाबाट शैक्षिक कार्यक्रमहरु सञ्चालनमा आएको पाइन्छ। एक आंगिक क्याम्पस र अर्को सम्बन्धन। तर, क्यान्सर अस्पतालले सुरु गरेको यो कार्यक्रम भने दुवै पक्षले कलेजको स्वामित्व लिन मिल्ने कार्यक्रम हो।
यी दुवै संस्था सरकारी मातहतमा सञ्चालन भइरहेकोेले कलेजको सोच नाफामुखी छैन। त्यसबाहेक पोखरा विश्वविद्यालयको नीति–नियममा बसेर क्यान्सर अस्पतालले आर्थिक दायित्व बहन गर्नेगरी कलेज सञ्चालनमा आएको बताउँछिन् कार्यक्रम संयोजक सरोजिनी शर्मा।
‘विश्वविद्यालय शैक्षिक कार्यक्रमको नयाँ मोडल बनाउनुपर्छ भन्ने सोचमा रहेछ। अस्पताल व्यवस्थापनमा पनि विकास गर्नका लागि नयाँ मोडलमा काम गर्नुपर्छ भन्ने सोच थियो’, संयोजक शर्माले भनिन्, ‘दुवै पक्षको सोचमा एकरुपता देखिएपछि नयाँ खालको मोडल ‘संयुक्त आंगिक’को अवधारणामा कलेज सुरु गरेका हौं।’
सम्भवतः यो नेपालमै पहिलो पटक अभ्यास गरिएको मोडल रहेको उनको दाबी छ।
स्वामित्वका हकमा केही फरकपन रहे पनि करिकुलमका हकमा भने अन्य कार्यक्रमभन्दा धेरै भिन्नता छैन। नेपालमा नर्सिङ विषयको स्नातक तहका हकमा त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पूर्वाञ्चल विश्वाविद्यालयलगायतले जस्तो गरी कोर्ष डिजाइन गरेका छन्, यहाँ पनि त्यस्तै डिजाइनमा काम भएको बताउँछिन् शर्मा। ‘पहिलो, दोस्रो र तेस्रो वर्षमा पढ्नेगरी अन्य विश्वविद्यालयले तय गरेको करिकुलमसँग हाम्रो पनि मिल्छ। तर, फरक यति छ, मेजर विषयको हकमा कुनै विश्वविद्यालयले मुटुसम्बन्धी, कुनैले मिर्गौलासम्बन्धी, कुनैले सघन उपचार कक्ष (आइसियू) सम्बन्धी त कसैले मेटानिटीसम्बन्धी विषय राख्नुहुन्छ। यसमा हामीले अन्कोलोजीलाई राखेका छौं’, उनको भनाइ छ।
उनले विद्यार्थीले यो विषयमा स्नातक गरेर स्नातकोत्तरको लागि अन्य विषय छनोट गर्नसक्ने पनि स्पष्ट पारिन्। ‘यसै विषयमा स्नातकोत्तर गर्छौंभन्दा धेरै नै राम्रो भइहाल्यो’, शर्माले भनिन्, ‘तर, यो विषय पढेर अन्य विषयमा पनि स्नातकोत्तर गर्छुभन्दा पनि त्यसका लागि ढोका भने खुला नै रहन्छ।’
तीन वर्षका लागि तय भएको यस तहको पढाइमा प्रत्येक वर्षका थ्योरी र प्राक्टिकल गरी भिन्दाभिन्दै करिकुलम तयार गरिएको छ। पहिलो वर्षमा ६० क्रेडिट आवरका लागि ९ वटा थ्योरिटिकल र ३ वटा प्राक्टिकल विषय पढ्नुपर्ने हुन्छ। दोस्रो वर्षमा ५६ क्रेडिट आवरका लागि तय भएको पाठ्यक्रममा थ्योरिटिकल र प्राक्टिकल गरी समान ६÷६ विषय निर्धारण गरिएको छ। अन्तिम वर्षका लागि पनि थ्योरिटिकल र प्राक्टिकल विषयको अनुपात समान राखिएको छ। यस वर्ष दुवै पक्षका ५/५ वटा विषय पाठ्यक्रममा समावेश गरिएको छ। अंकोलोजी नर्सिङ विषय भने दोस्रो र तेस्रो वर्षमा मात्रै पढ्नुपर्छ।
बिएनएस नर्सिङका लागि अस्पतालले पोखरा विश्वविद्यालयको सहकार्यमा निश्चित मात्रै शुल्क तोकेको छ। ३ वर्षको यो कोर्षका लागि कलेजले ५ लाख ७३ हजार ४ सय २५ रुपैयाँ शुल्क निर्धारण गरेको छ। पहिलो वर्षमा विद्यार्थीले २ लाख ३ हजार ९ सय २५ रुपैयाँ, दोस्रो वर्षमा १ लाख ८४ हजार ७ सय ५० रुपैयाँ र तेस्रो वर्षमा पनि १ लाख ८४ हजार ७ सय ५० रुपैयाँ बुझाउनुपर्छ। यसबाहेक विद्यार्थीलाई कुनै पनि अतिरिक्त शुल्क नलाग्ने शर्माले स्पष्ट पारिन्। ‘भर्ना, पियू रजिस्ट्रेसन, ट्युसन फी, परीक्षा शुल्क, सेवा शुल्क, पुस्तकालय, स्टुडन्ट वेलफेयर फी, ल्याब्रोटरी÷कम्युनिटी हस्पिटल फी, पियू डेभलोपमेन्ट फी, नर्सिङ काउन्सिल रजिस्ट्रेसन फीलगायत सबै शुल्क यसैभित्र पर्छन्’, उनले थपिन्।
अध्यापकको हकमा नर्सिङ काउन्सिलको मापदण्डअनुरुप अस्पताल आफैंमा सबल रहेको शर्माको दाबी छ। अस्पतालमा विविध क्षेत्रमा ज्ञान हासिल गरेका चिकित्सकको उल्लेख्य उपस्थिति रहेकाले पनि बाँकी बेसिक साइन्सका हकमा अध्यापन गराउन पनि अस्पताल सम्पन्न रहेको उनले प्रष्ट पारिन्। ‘अस्पतालमा पर्याप्त मात्रामा डाक्टरसा‘बहरु हुनुहुन्छ। यो हाम्रो सबैभन्दा ठूलो सम्पत्ति हो’, उनी भन्छिन्, ‘यदि त्यति हुँदाहुँदै पनि केही कमी भएको महसुस भएमा नजिकै दुई ठूला मेडिकल कलेजहरु छन्। यसकारण अध्यापकका हकमा कुनै समस्या रहँदैन।’
चिकित्सा क्षेत्र आफैंमा प्राविधिक र प्रयोगात्मक विषय पनि हो। विद्यार्थीलाई अध्ययनका क्रममा आवश्यक एक्स्पोजरका लागि के अस्पताल पर्याप्त छ त ? अस्पतालका कार्यकारी अधिकृत विजयचन्द्र आचार्य भन्छन्, ‘क्यान्सर विषयका लागि सफिसेन्ट छ। हामीसँग जुन बेड क्षमता, जनशक्ति, उपकरण छन् र जति बिरामीलाई सेवा दिइरहेका छौं, यी सबै कुराहरु जो विद्यार्थीका लागि आवश्यक पर्न सक्छन्, ती पर्याप्त छन्।’
अस्पतालमा पहिलो पटक शैक्षिक कार्यक्रम त्यसमाथि सानो आकारमा मात्र सुरु भएको हो। अस्पताल प्रशासन यत्तिमै मात्र सीमित हुने सोचमा छैन। यो वर्ष बिएनस नर्सिङमा रहेको २० कोटालाई अर्को वर्ष दोब्बर गर्ने तयारीमा रहेको आचार्यले जानकारी दिए। ‘एक÷दुई वर्ष हामीले यो कार्यक्रमको नतिजा हेर्छौं। यदि उत्कृष्ट तबरमा सञ्चालन गर्नसक्यौं क्यान्सर विषयमै हामी स्नातकोत्तरसम्मको कक्षा सञ्चालन गर्ने सोचमा छौं’, उनले भावी योजना सुनाउँदै भने, ‘यसका लागि आवश्यक पर्ने जनशक्ति तथा पूर्वाधारको समेत हामी विकास गर्दै लाने छौं।’
क्यान्सर भन्नेबित्तिकै एक विषय मात्रै पर्दैन। क्यान्सरसँग सम्बन्धित सबै विषयमा अध्ययन तथा अनुसन्धान गर्न सकिनेगरी यस अस्पताललाई विकास गरिनुपर्ने उनको मत छ। ‘यस सम्बन्धमा मन्त्रालयसँग लिखित रुपमै बारम्बार ताकेता गरेका छौं। यसमा मन्त्रालय पनि सकारात्मक देखिएको छ’, उनले भने।
विशेषगरी ग्र्याजुएट तथा पोस्ट ग्र्याजुएट तहका कक्षा सञ्चालन गर्नुपर्नेमा जोड दिँदै उनले क्यान्सर अस्पताललाई क्यान्सर प्रतिष्ठानकै रुपमा विकास गरिनुपर्ने मत राखे। ‘सरकारसँग हामीले यसलाई एकेडेमिक इस्टिच्युट बनाउनुपर्छ भनेका छौं। त्यसमाथि सामान्य प्रतिष्ठान होइन, क्यान्सर प्रतिष्ठानकै रुपमा यसलाई विकास गर्नुपर्ने आवाज उठाउँदै आएका छौं। यसमा सामान्य स्वास्थ्य शिक्षा मात्रै पढाइ गर्ने हाम्रो उद्देश्य होइन’, आचार्य थप्छन्।
उनले उच्च तहको कक्षा सञ्चालन गर्नका अस्पतालसँग आवश्यक पूर्वाधार रहेको दाबी गरे। आचार्य भन्छन्, ‘जस्तो कि हामीसँग ४ सय ५० बेड क्षमता छ, विशेषज्ञ सेवाहरु पनि सहज रुपमा सञ्चालन भइरहेका छन्, प्राविधिक तथा चेकजाँचमा पनि समयसापेक्ष प्रविधि भित्र्याएर सेवा दिने कोसिस गरिरहेका छौं, जनशक्ति पनि हामीसँग उल्लेख्य छ, यस्तो अवस्थामा यो अस्पताललाई एक विशेष प्रतिष्ठानको रुपमा विकास गर्नुपर्छ भन्ने हाम्रो बुझाइ हो।’
सानो कार्यक्रमबाट सुरु गरे पनि विस्तारै सबै विषयको अध्ययन गर्न सकिने वातावरण बन्दै जानेमा उनी आशावादी छन्। यसबाहेक अस्पतालमा आवश्यक दक्ष जनशक्ति यहीँबाटै उत्पादन गरिनुपर्नेमा उनको जोड छ।
अस्पतालले सुरु गरेको शैक्षिक कार्यक्रमलाई लिएर विद्यार्थीहरु पनि सकारात्मक छन्। हालसम्म यस शैक्षिक कार्यक्रमलाई लिएर कलेजले कुशल व्यवस्थापन गरिरहेको उनीहरुको बुझाइ छ। पूर्वाधार तथा अध्ययन दुवै हकमा आफूहरुलाई कमी महसुस नभएको उनीहरुको बुझाइ छ।