नोट : स्वास्थ्यखबरले नेपाली बजारमा चर्चित रहेका औषधिहरुको विषयमा जानकारी दिने हेतुले 'चर्चित औषधि ब्रान्ड' श्रृंखला सुरु गरेको छ। जसअन्तर्गत पहिलो श्रृंखलामा स्वास्थ्यखबरले सिटामोलको विषयमा जानकारी दिएको छ। अन्य श्रृंखलामा हामी अन्य चर्चित बनेको औषधिको ब्रान्डका विषयमा जानकारी दिनेछौं। यदि तपाईंहरुले नेपाली बजारमा चर्चित औषधि ब्रान्डका विषयमा जानकारी छ भने हामीलाई [email protected] मा उपलब्ध गराउनुहोला।
काठमाडौं– नेपालमा औषधि भन्ने शब्द उच्चारण गर्ने वित्तिकै धेरैले लिने एउटा नाम हो, सिटामोल। दुरदराजमा कुनै औषधि पुगेन भने सरकारलाई आलोचना गर्दै भन्ने गरिन्छ– सिटामोल समेत दिन नसक्ने सरकार!
औषधिका विषयमा केही उदाहरण दिनुपर्यो भने सिटामोलको नाम सकारात्मक र नकारात्मक दुवैमा आउने गर्छ।
सम्भवत नेपाली औषधि बजारमा सबैभन्दा बढी जनजिब्रोमा झुण्डिएको सर्वाधिक चर्चित नाम सिटामोल नै हो। सिटामोल नेपालमा औषधिको पर्यायवाची शब्दजस्तै भइसकेको छ।
नाम चर्चित भए अनुसार यसको व्यापार भने अहिले नेपाली बजारमा त्यति फस्टाउन सकेको छैन। सिटामोलको नाम अनुसार बजार फस्टाउन नसक्नुको प्रमुख कारण भनेको नै दश वर्षभन्दा लामो समय नेपाली बजारमा यसको उत्पादन ठप्प हुनु हो।
नेपाली बजारमा २०२९ सालदेखि सिटामोलले नामसँगै बजार फैलाएको थियो। तर सिटामोलको बजार २०६३ सालमा आएर रोकियो। विश्व स्वास्थ्य संगठन कुशल उत्पादन अभ्यास (जिएमपी) मापदण्ड पूरा नभएका कारण सिटामोलको उत्पादन ठप्प भयो।
सिटामोल औषधि लिमिटेडको ब्रान्ड नाम हो। तर यो नाम औषधिकै पर्याय जस्तै बनेको चिकित्सकहरु समेत बताउँछन्। सिटामोलको जेनेरिक नाम भने पारासिटामोल वा एसिटामिनोफेन हो। नेपाली औषधि बजारमा धेरै ब्रान्डका पारासिटामोलहरु पाइन्छ। पारासिटामोलको मुख्य काम भनेको ज्वरो कम गर्ने तथा दुखाइ कम गर्ने नै हो।
बजारमा सिटामोल पाउन छाडेपनि यसको नाम भने यति चर्चित भइसकेको छ कि, अन्य उस्तै प्रकारका औषधि किन्दा पनि मानिसहरु ‘सिटामोल’ चाहियो भन्दै किन्ने गर्दथे। अहिले पनि बजारमा सिटामोल वर्गकै औषधि किन्नुपर्दा मानिसहरु अन्य ब्रान्डको नाम नलिइ सिधै सिटामोल नै चाहियो भन्छन्।
तर बजारमा औषधि लिमिटेडकै इज्जत र नाम बनेको सिटामोल भने पाउन निकै कठिन छ। २०६३ सालदेखि उत्पादन बन्द भएर २०७४ सालदेखि पुनः उत्पादन भइरहेको सिटामोलको बजार नाम अनुसार भने फैलन सकेको छैन।
लिमिटेडका महाप्रबन्धक कैलाश पनेरुले सरकारी संस्थाहरु र केही निजी संस्थाले माग गरे अनुसार सिटामोल उपलब्ध गराइरहेको जानकारी दिए। उनले निजी औषधि कम्पनीहरुको विभिन्न ‘स्किम तथा भारी छुटको व्यवस्था गरेका कारण औषधि लिमिटेडको सिटामोलले बजारमा प्रतिस्पर्धा गर्न समस्या भइरहेको बताए।
‘नेपाल औषधि लिमिटेडको सिटामोलको बिक्रीमा कम मात्रै नाफा हुने भएकोले मेडिकल तथा निजी क्षेत्रका फार्मेसीहरुमा सिटामोल नपाउने स्थिती आएको छ । त्यस्तै निजी औषधि कम्पनीले भारी छुट दिदाँ सिटामोल कम बिक्री भई बजारमा कमजोर देखिएको छ,’ उनले भने।
लिमिटेडको सिटामोलमा नाफा कम हुनाले कतिपय फार्मेसीले सिटामोल नै नराख्ने गरेको अनुगमनबाट फेला परेका उनले जानकारी दिए।
'जनतामा नेपाल औषधि लिमिटेडको सिटामोलको राम्रो छाप छ, व्यापारीले भने नाफाको चक्करमा हाम्रा उत्पादन नै बिक्रीमा नराखेको पाइएको छ,' पनेरुले सिटामोलको बजार विस्तार नहुनुको कारण खुलाउँदै भने।
उत्पादन प्रशस्तै भएपनि माग भने कम नै आउने गरेको उनले सुनाए। सरकारी निकायले पनि सस्तोको चक्करमा निजी कम्पनीसँग टेन्डर गर्दा लिमिटेडको सिटामोल बिक्रीमा समस्या भएको छ।
पनेरुका अनुसार नेपाल औषधि लिमिटेडको सिटामोलको बजार भनेकै सरकारी स्वास्थ्य संस्था नै हो । ९० प्रतिशत सिटामोलको बिक्री ‘जीटुजी’को आधारमा बिक्री हुँदै आएको छ । लिमिटेडको यस पटककोे फोकस पनि जीटुजीमा नै रहेको छ।
निजी संस्थाहरुमा समेत मागको आधारमा नेपाल औषधि लिमिटेडले सिटामोल दिँदै आएको छ । माग भए जतिबेला पनि सिटामोल आपुर्ति गर्न सक्ने अवस्थामा नेपाल औषधि लिमिटेड रहेको पनेरुले जानकारी दिए।
'धेरै ठाउँमा टेन्डर खुलिसकेकोले हामीले स्वास्थ्य मन्त्रालय तथा स्वास्थ्य सेवा विभागसँग सम्झौता गरेर अगाडि बढ्ने प्रक्रिया अगाडि बढेको छ, जुन स्वास्थ्य मन्त्रालयमा नै रोकिएको छ', उनले थपे । आकस्मिक आउन सक्ने स्वास्थ्य समस्याको मध्यनर गर्दै लिमिटेडले सिटामोल मौज्दातमा समेत राखेको छ।
लिमिटेडले हाल दुई सिफ्टमा गरी एक दिनको ३ लाख २० हजार ट्याब्लेट सिटामोल उत्पादन गर्दै आएको पनेरु बताउँछन् ।
नेपाल औषधि लिमिटेडको पहिचान भएकोले घाटाको अवस्थामा पनि यी सिटामोलको उत्पादन नेपाल औषधि लिमिटेडले बन्द नगरेको पनेरुले जानकारी दिए।
हाल लिमिटेडले ५ सय एमजीको सिटामोल निकाल्दै आएको छ । पहिला लिमिटेडले बच्चाहरुका लागि सिटामोल झोलमा पनि निकाल्दै आएकोमा हाल त्यो उत्पादन भने छैन ।
लिमिटेड उद्योग मन्त्रालय अन्तर्गत परेपनि स्वास्थ्यसँग सम्बन्धि कम्पनी हो । यस्तो हुँदा स्वास्थ्य मन्त्रालय तथा नेपाल औषधि लिमिटेडसँग तालमेलको अभाव देखिएको लिमिटेडका कर्मचारीहरु बताउँछन्।
जीटुजी आधारमा एक सम्झौता गर्ने मनसायले नेपाल औषधि लिमिटेडले स्वास्थ्य मन्त्रालयलाई एउटा खाका पनि पठाइसकेको छ। त्यसका लागि स्वास्थ्य मन्त्री समेत सकारात्मक रहेकाले उक्त खाका सम्झौताका रुपमा कार्यान्वयनमा आउनका लागि अन्तिम चरणमा पुगेको पनेरु बताउँछन्।
स्वास्थ्य मन्त्रालयले स्थानीय तहदेखि संघ अन्तर्गत रहेका सरकारी संस्थाहरुमा जीटुजी सम्झौता अन्तर्गत नेपाल औषधि लिमिटेडका उत्पादन किन्ने सम्झौता हुन लागेको हो । सम्झौतापछि मन्त्रालय मातहातका निकायहरुले नेपाल औषधि लिमिटेडका उत्पादनहरु खरिद गर्ने बाटो खुल्छ।
स्वास्थ्य मन्त्रालयसँग आर्थिक भन्दा उत्पादन बजारीकरण गर्नका लागि सकारात्मक भुमिकाको अपेक्षा नेपाल औषधि लिमिटेडले गरेको पनेरु बताउँछन्।
लिमिटेडलाई आर्थिक रुपमा सबल बनाई सरकारले निःशुल्क रुपमा उपलब्ध गराउने ९८ थरीका आधारभूत औषधि उत्पादन गर्न सक्ने कम्पनीका रुपमा अगाडि बढाउन सहयोग पुग्ने पनेरुको धारणा छ।
'नीतिगत निर्णय हुँदा बिक्रीको तनाव बिना औषधि कम्पनीले एकोहोरो रुपमा उत्पादनमा मात्रै फोकस हुन सक्थ्यौं’ पनेरुले भने।
सिटामोलको मूल्य सरकारले नै तोक्ने गरेको छ । औषधि व्यवस्था विभागले एक रुपैँया भन्दा माथि बेच्न पाउदैन भन्ने नियम बनाएको पनेरु बताउँछन् । त्यसमा लाग्ने कच्चा पदार्थ, प्याकिङ, प्रविधि, जनशक्ति लगायतका पक्षले सिटामोलको लागत मूल्य निर्धारण हुन्छ । यीमध्ये कुनै एकको मुल्यमा आएको फेरबदलले उत्पादन मुल्य यकिन नहुने पनेरु बताउँछन्।
'स्वास्थ्य मन्त्रालय तथा चिकित्सकहरुले पनि नेपाल औषधि लिमिटेडकै सिटामोल प्रयोग गर्न सिफारिस गरेमा सरकार मातहातको संस्था माथि उठ्न सहयोग पुग्छ,’ पनेरुले भने।