काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री डा सुधा शर्मा गौतमले बुढानिलकण्ठस्थित राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग सेवा केन्द्रको निरीक्षण गरेकी छिन्।
स्वास्थ्य मन्त्रालयको रुपान्तरणकारी परियोजना अन्तर्गतको केन्द्रमा मन्त्री शर्माले आइतबार मन्त्रालयका वरिष्ठ कर्मचारीहरुसँग निरीक्षण गरेकी हुन्।
करीब १३ रोपनी क्षेत्रमा फैलिएको सो आधुनिक आयुर्वेद केन्द्र सरकारको करिब ४८ करोड रुपैयाँ लागतमा निर्माणाधीन छ। प्रारम्भिक सेवा आंशिक रूपमा सञ्चालनमा रहेका छन्। विश्वस्तरको आयुर्वेद, पञ्चकर्म, योग–ध्यान तथा आरोग्य–पर्यटन सेवा उपलब्ध गराउने क्षमता भएको यो केन्द्रलाई राष्ट्रिय गौरवका अस्पतालका रूपमा विकास गर्ने लक्ष्य मन्त्रालयको रहेको छ।
निरीक्षणका क्रममा मन्त्रीले नेपालको मौलिक आयुर्वेद सेवा प्रवर्द्धन, उच्चस्तरीय सेवा विस्तार तथा स्वास्थ्य–पर्यटनमार्फत देशलाई आर्थिक समृद्धितर्फ अघि बढाउन केन्द्रले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने उल्लेख गरिन्। उनले 'यस अस्पतालमार्फत धेरैभन्दा धेरै बिरामीलाई सेवा दिनुका साथै देशलाई आत्मनिर्भर बनाउने दिशामा योगदान गर्न आवश्यक छ,' भन्ने धारणा राखेकी छिन्।
मन्त्रीले त्यहाँ सेवारत चिकित्सक, स्वास्थ्यकर्मी तथा बिरामीहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्दै सेवा प्रवाहको अवस्था बारे जानकारी लिएकी छिन्।
भ्रमणका क्रममा मन्त्रीले नवनिर्मित भवन पनि निरीक्षण गरेकी छिन्। सो क्रममा नयाँ भवनबाट सेवा सञ्चालनका लागि आवश्यक दरबन्दी अभाव रहेको जानकारी गराइएको थियो। यस सम्बन्धमा विभागले मन्त्रालयसँग संगठन तथा व्यवस्थापन सर्भेक्षणमार्फत चुस्त संगठन संरचना र दरबन्दी स्वीकृत गरिदिन अनुरोध गरेको छ।
मन्त्रीले सो अनुरोधप्रति सकारात्मक प्रतिक्रिया दिँदै 'आफ्नै कार्यकालमा यो केन्द्रलाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन लागिपर्ने प्रतिबद्धता' व्यक्त गरेकी छिन्।
केन्द्रलाई पूर्ण सञ्चालनमा ल्याएपछि नेपालमा आयुर्वेदिक चिकित्सा, पञ्चकर्म उपचार, योग–ध्यान र स्वास्थ्य–पर्यटनको गुणस्तर तथा पहुँचमा उल्लेखनीय सुधार हुने विश्वास लिइएको छ।