काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न जिल्लाबाट एम्बुलेन्स सेवा दुरुपयोग, व्यापारिक प्रयोजनमा प्रयोग र निर्देशिका विपरीत सञ्चालन भएको गुनासो आइरहेको भन्दै निर्देशिका अनुसार सञ्चालन गर्न ध्यानाकर्षण गराएको छ।
मन्त्रालयको स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाईले शुक्रबार एक सूचना जारी गर्दै सबै सरोकारवालालाई एम्बुलेन्स सञ्चालनसम्बन्धी नियम कडाइका साथ पालना गर्न आग्रह गरेको हो।
मन्त्रालयले स्वास्थ्य संस्थाका नाममा उपलब्ध गराइएका एम्बुलेन्सलाई अस्पतालपूर्व स्वास्थ्य सेवा बाहेक अन्यत्र प्रयोग गरिए कानूनी कारबाहीदेखि एम्बुलेन्स खारेजीसम्मको जोखिम रहने चेतावनी दिएको छ।
यस्तै भारतीय दूतावासबाट आवश्यक परमिट प्राप्त गरी मापदण्ड पूरा गरेका एम्बुलेन्सलाई मात्र भारत–नेपाल आवतजावतको अनुमति दिइने र १० वर्षभन्दा पुराना एम्बुलेन्सको संचालन अनुमति खारेज हुने व्यवस्था लागू हुने जानकारी समेत सूचनामा उल्लेख छ।
एम्बुलेन्स सेवा निर्देशिका, २०८२ मा पैठारीमा राजश्व छुट, संचालन अनुमति, नवीकरण, अनुगमन तथा अनुमति खारेजसम्बन्धी प्रावधान स्पष्ट भएकाले उक्त निर्देशिका कडाइका साथ कार्यान्वयन गर्न मन्त्रालयले सबै स्वास्थ्य सेवा प्रदायक, एम्बुलेन्स सञ्चालक, व्यवस्थापन समिति तथा सुरक्षाकर्मीलाई आग्रह गरेको छ।
सूचना अनुसार निर्देशिका उल्लंघन भएको पाइएमा कडा कानूनी कदम चालिने चेतावनी मन्त्रालयले पुनः दोहोर्याएको छ।