काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतम शर्मा वीर अस्पतालको निरीक्षण गरेकी छिन्। सोमबार त्यहाँ पुगेकी उनले अस्पतालको सेवा–सुविधा, चिकित्सकको दक्षता र उपलब्ध आधुनिक उपकरणप्रति सन्तुष्टि व्यक्त गर्दै सर्वसाधारणलाई ‘सरकारी अस्पतालको उपचार सेवा ढुक्क भएर लिन सकिन्छ’ भनेर आश्वस्त बनाइन्।
अवलोकनका क्रममा उनले वीरलगायत सरकारी अस्पतालमा विशेषज्ञ चिकित्सकको पहुँच, प्रविधिको सुधार र सेवा विस्तार हुँदै गएको उल्लेख गरिन्। आफू पनि चिकित्सा क्षेत्रमा रहेकाले अस्पतालको वस्तुगत स्थितिबारे निश्चिन्त भएर बोल्न सक्ने बताउँदै उनले पछिल्लो समय सेवा सुधारमा देखिएको प्रगतिलाई सकारात्मक संकेतका रूपमा लिइन्।
उनका अनुसार, पहिलेको तुलनामा सर्जरीको लामो प्रतीक्षा सूची उल्लेख्य रूपमा घटेको देखिएको छ। द्यपि, अस्पतालले बिरामीसँग संवाद र बुझाउने प्रणालीमा अझ सुधार आवश्यक रहेको उनले स्पष्ट पारिन्। “उपचार राम्रो हुँदै गएको छ, तर बिरामीलाई बुझाउने पक्ष अझै हामीले सुधार गर्न आवश्यक छ,” मन्त्री डा शर्माले भनिन्।
त्यसैगरी, अस्पतालमा आवश्यक उपकरण तथा सामग्री तत्काल व्यवस्थापन गर्न अस्पताल निर्देशक डा. दिलिप शर्मालाई उनले निर्देशन दिइन्। हालै वीर अस्पतालमा सञ्चालनमा आएको जेनेटिक ल्याबबारे मन्त्री शर्माले विशेष खुशी व्यक्त गर्दै यसले उन्नत स्वास्थ्य सेवामा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरिन्।