काठमाडौं - मणिपाल तथा विभिन्न निजी अस्पतालका नर्सहरुको आन्दोलनप्रति समर्थन जनाउँदै त्रिवि शिक्षण अस्पतालका नर्सहरुले प्रदर्शन गरेका छन्। आज (बिहीबार) बिहान १० देखी ११ बजेसम्म उनीहरुले अस्पताल परिसरमा प्रदर्शन गरेका हुन्।
त्रिवि शिक्षण अस्पताल नर्सिङ एकाईकी सदस्य सीता मिश्रले निजी अस्पतालहरुले सरकारले नर्सका लागि कायम गरेको पारिश्रमिक दिन अस्वीकार गरेकोले निजी अस्पतालका नर्सहरुको आन्दोलनको समर्थनमा आफूहरु आन्दोलित भएको बताइन्।
‘हालसम्म पनि निजी अस्पतालहरुले सरकारले तोकेसरह न्यूनतम पारिश्रमिक नर्स दिदीबहिनीहरुलाई दिएका छैनन्। आन्दोलनको समर्थनमा नेपाल नर्सिङ संघले पनि पत्र पठाइरहेको छ’, उनले भनिन्- ‘मनमोहन कार्डियो सेन्टर र त्रिवि शिक्षण अस्पतालका नर्सहरुले संयुक्तरुपमा आन्दोलन गरिरहेका छौं। निजी अस्पतालहरुले नर्सहरुका माग सम्बोधन नगरेसम्म आन्दोलन भइरहन्छ।’
मनमोहन कार्डियोथोरासिक भास्कूलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा कार्यरत नर्स प्रतिमा खत्री निजी अस्पतालहरुले नर्सहरुको श्रम शोषण अत्याधिक गरिरहेको बताइन्। ‘अब त अति नै भयो। मणिपालमा कार्यरत नर्सहरुले आँट, साहस देखाएर गरेको आन्दोलनमा हाम्रो समर्थन छ,’ उनले भनिन्-‘उहाँहरु एक्लै नभई हामीपनि सँगै छौं भन्ने सन्देश दिन प्रदर्शनमा उत्रिएका हौं। सरकारले न्यूनतम सेवा सुविधा नर्सहरुलाई दिनु भनेर पत्राचार गरिसक्दा पनि कार्यान्वयन नभएपछि नर्सहरु आन्दोलित भएका हुन्।’
नेपाल सरकारको अनुमतीमा सञ्चालनमा रहेका निजी अस्पतालले सरकारको निर्देशन पालन गर्न तयार छैनौं भन्नुले लज्जाको विषय भएको उनको जिकिर छ। सरकारको निर्देशन नमान्ने अस्पताललाई कार्वाही गर्न सरकारलाई कसले रोक्यो भन्दै उनले प्रश्न समेत गरिन्।
निजी अस्पतालहरुको पछिल्लो गतिविधिले नर्सहरुमाथि जति नै अत्याचार गरे पनि केही हुँदैंन भन्ने सन्देश बाहिर गएको उनको जिकिर छ।
लगानी अनुसारको पारिश्रमिक नपाए पनि काम गर्न तयार हुनु निजी अस्पतालका नर्सहरुको बाध्यता भएको उनको धारणा छ। प्राविधिक शिक्षा लिए सजिलै जागिर पाइने तथा घर परिवारलाई भरथेग गर्न सकिने आशाले नर्स बनेकाहरुको सपना निराशामा परिणत भएको उनले बताईन्।
अन्र्तराष्ट्रिय स्तरमा नर्सहरुको कमाई राम्रो भएपनि नेपालमा त्यस्तो हुन नसक्दा धेरै नर्सहरु विदेशिन बाध्य भएको उनले जानकारी दिईन्।समय अनुसार पारिश्रमिक बढ्नुपर्ने, तलब स्केल सरकारी सरह हुनुपर्ने मागसहित नर्सहरु आन्दोलित हुनु जायज भएको नेपाल नर्सिङ संघकी अध्यक्ष चन्द्रकला शर्मा बताउँछिन्।
‘नर्सहरुको योग्यता अनुसार हाल दिइएको पारिश्रमिक एकदमै कम हो, उनले भनिन्,‘योग्यता र क्षमता अनुसारको तलब सुविधा नर्सहरुलाई दिनुपर्छ भन्ने विषय नेपाल नर्सिङ संघले विगतदेखी नै उठाउँदै आएको छ। स्थानीय स्तरमा कार्यरत्त नर्सहरुले पनि त्यसमा विद्रोह गरिरहेका छन्।’
नेपाल नर्सिङ संघको अध्यक्षका रुपमा निर्वाचित भएपश्चात् पटक–पटक निजी अस्पतालमा कार्यरत नर्सहरुलाई पनि सरकारी सरह सेवा दिन आफूले आवाज उठाउँदै आएको उनको जिकिर छ।



