काठमाडौं - जिल्ला प्रशासन कार्यालय रौतहटले जेनजी प्रदर्शनका घाइतेहरुलाई घाइते परिचयपत्र लिन आउन आग्रह गरेको छ।
गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका घाइतेहरुलाई आफ्नो घाइते परिचयपत्र लिन आउन प्रशासनले सूचना जारी गरी आग्रह गरेको हो।
रौतहटमा जेनजी प्रदर्शनका क्रममा १४ जना घाइते भएको सहायक प्रमुख जिल्ला अधिकारी किरण निधी तिवारीले जानकारी दिए। उनका अनुसार हालसम्म एक जनाले मात्र घाइते परिचयपत्र र २० हजार रुपैयाँ लगेका छन्।
सरकारले घाइतेहरुको वर्गाीकरणका लागि प्रत्येक जिल्ला प्रशासनलाई परिपत्र गरिसकेको छ। तर रौतहटमा भने हालसम्म घाइतेहरुले परिचयपत्र समेत लिन आएका छैनन्। गृह मन्त्रालयले घाइतेहरुको नामावली र आर्थिक सहायता रकम सम्बन्धित जिल्ला प्रशासनमा पठाइसकेको छ।
सहायक प्रमुख जिल्ला अधिकारी तिवारीले भने, ‘हामीलाई गृह मन्त्रालयले पठाएको घाइतेहरुको सूचीमा १४ जनाको नाम छ। तर अहिलेसम्म एक जनाले मात्र परिचयपत्र लिएर जानुभयो। बाँकी अहिलेसम्म आउनु भएको छैन।’
घाइतेको नामावली सूचीमा रहेका व्यक्तिहरु आफ्नो परिचयपत्र र आर्थिक सहायता रकम लिएर जानु हुन जिल्ला प्रशासन कार्यालयको आग्रह छ। अस्पतालमा उपचाररत घाइतेहरुको हकमा भने वर्गाीकरण सहजीकरण समितिबाट अस्पतालमै गई निरीक्षण गरी घाइते वर्गाीकरण गरिने सूचना उल्लेख छ।
सूचनामा भनिएको छ, ‘प्रदर्शनका क्रममा घाइते भई गृह मन्त्रालय र यस कार्यालयबाट जेनजी घाइते परिचयपत्र प्राप्त गरिसकेका/परिचयपत्र लिन बाँकी र उपचार पश्चात समेत पूर्ण रुपमा निको नभई हालसम्म पनि घाइते अवस्थामा रहेका व्यक्तिहरुले यस कार्यालयमा आई आफ्नो घाइते परिचयपत्र (परिचयपत्र लिन बाँकी व्यक्ति समेत) र आफूले उपचार गरेको विवरण/कागजात सहित उपस्थित हुनु हुन यो सूचना प्रकाशित गरिएको छ।’
यी हुन्, जेनजी प्रदर्शनमा रौतहटका घाइते भएकाहरुको नामावलीः
क्र.सं घाइतेको नाम उमेर अस्पताल
१. नौसत मिया ४५ राष्ट्रिय ट्रमा सेन्टर
२. दनिस आलम २५ राष्ट्रिय ट्रमा सेन्टर
३. कृष्ण कुमार १८ सिभिल अस्पताल
४. अमन खान १८ सिभिल अस्पताल
५. राजेश भुजेल २७ त्रिवि शिक्षण अस्पताल
६. सनोज कुमार २० नारायणी अस्पताल
७. नरेन्द्र प्रसाद पटेल ४६ राष्ट्रिय ट्रमा सेन्टर
८. सुनित कुमार झा ३८ बयोधा अस्पताल
९. दिपेन्द्र ठाकुर ४० सिन्धुली अस्पताल
१०. बासुदेव खड्का ३८ सिभिल अस्पताल
११. महेन्द्र पारस ४६ सिभिल अस्पताल
१२. वीरे साह ४० सिभिल अस्पताल
१३. भूपेन्द्र कुमार यादव २२ राष्ट्रिय ट्रमा सेन्टर
१४. सुनिल कुमार पासवान ३० गजेन्द्र नारायण सिंह अस्पताल