काठमाडौं - स्वास्थ्य मन्त्रालय तथा सरोकारवालाबीच गरिएको भनिएको सहमतिमा असन्तुष्ट नर्सहरुले आइतबार नेपाल नर्सिङ संघको कार्यालय घेराउ गरेका छन्।
विभिन्न प्लेकार्डसहित नेपाल नर्सिङ संघको कार्यालय घेराउमा आएका उनीहरुले नर्सको अभिभावक बन्न नसक्ने नर्सिङ संघको नेतृत्वले कुर्सी खाली गर्नुपर्ने बताए।
उक्त घेराउ कार्यक्रममा १४ हजारमा नेपाल मेडिसिटी अस्पतालमा काम गरेकी नर्स नेहा लेखक पनि भेटिइन्। ‘कामको अत्याधिक चाप कम तलबको समस्या हुँदाहुँदै पनि डेढ वर्ष काम गरें अहिले खाली नै बसिरहेको छु,’ उनले भनिन्, 'त्यतिबेला आइसियूमा कार्यरत उनले ४ जनासम्म बिरामी हेर्नुपर्थ्यो। नेपालका सरकारी मात्रै होइन निजी अस्पतालहरुमा कार्यरत्त नर्सहरुले पनि अत्याधिक चापमा काम गर्नुपर्ने स्थिती छ।'
मेडिसिटीमा कार्यरत हुँदा १२ घन्टासम्म ड्युटी गर्नुपर्ने अवस्था रहेको उनले बताइन्। ६ महिना १ वर्षसम्म बिदा नलिई काम गर्नुपर्ने स्थिति रहेको उल्लेख गरिन्। निजी जीवनबारे सोच्दै नसोची काम गर्दा समेत सरकारले तोकेबमोजिमको तलब नपाएकोमा उनको गुनासो छ। उनले भनिन्, 'मैले मेरो अंकलको विवाहमा समेत बिदा पाइनँ । दैनिक १२ घन्टा ड्युटी गरिन्थ्यो। अतिरिक्त ड्युटी गरेकोमा घन्टाको ६० रुपैयाँ मात्रै थियो।' निजी अस्पतालमा कार्यरत नर्सहरुको आधारभुत पारिश्रमिक नै ३४ हजार हुनुपर्ने तथा अतिरिक्त काम, चाडपर्व भत्ता समेत पाउनुपर्ने उनको माग छ।
त्यसैगरी अर्की प्रतिनिधि थिइन्, नाज्मा कौशर। जसले विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा काम गरेकी छिन्। अस्पतालले नर्सलाई ८ देखि १५ हजारको बीचमा पारिश्रमिक दिने गरेको उनी बताउँछिन्। नर्सहरुले दोब्बर-तेब्बर ड्युटी गर्नुपर्ने कारण परिवारका लागि समय दिन नसक्ने उनी बताउँछिन् । 'बालबालिका तथा परिवारलाई समेत समय दिन नपाउने तथा ड्युटी मात्रै गरिरहनुपर्ने भएकाले कतिपय नर्सहरुमा मानसिक स्वास्थ्य समस्या समेत देखा पर्ने गरेको छ,' उनले बताइन्।
शनिबार स्वास्थ्य मन्त्रालयमा नर्सिङ संघका पदाधिकारीहरुले गरेको हस्ताक्षर आफूजस्ता नर्सहरुको हित विपरित रहेको बताउ आन्दोलनमा आएको उनी बताउँछिन्। स्वास्थ्य मन्त्री सुधा शर्माले नर्सहरुका लागि आगामी दिनमा केही गर्न सकिदैंन भनेर दिएको अभिव्यक्तिप्रति समेत उनको आपत्ति छ। 'स्वास्थ्य क्षेत्रको अभिभावकले त्यस्तो अभिव्यक्ति दिनु गलत छ । बैठकका निर्णयहरु पालना नहोस् तथा नर्सिङ संघ साझा संस्था बनोस् भन्ने अपेक्षा लिएर हामी यहाँ आएका हौं,' उनले भनिन्।
उक्त घेराउ कार्यक्रममा भेटिएकी नर्स तथा अभियन्ता जिता बराल नेपालमा लामो समयदेखी नर्सहरु उत्पीडिनमा रहेका बताउँछिन्। च्याउ सरह उम्रिएका निजी अस्पताल तथा मेडिकल कलेजहरु व्यापारमा मात्रै केन्द्रित हुँदा स्वास्थ्यकर्मीहरुलाई भोकै काम लगाउने परिपाटी नौलो नभएको उनले बताइन्।
सन् २००० देखि नै यस विषयमा वकालत हुँदै आएपनि राज्यका निकाय यस विषयमा उदासिन रहेको उनलाई लाग्छ। नर्सका हकहितका लागि भन्दै स्थापना भएको नेपाल नर्सिङ संघ समेत यसमा उदासीन हुँदा थप दुख लागेको उनले बताइन्।
नर्सिङ पेशामा नै भाग्य र भविष्य देखेर अगाडि बढेकाहरु प्लेकार्ड बोकेर नर्सिङ संघ घेराउका लागि आउनुपर्ने स्थितीको निर्माण हुनु लज्जाको बिषय भएको उनको भनाइ छ। 'यस्तो स्थितिले पेशाप्रति विश्वासको संकटको अवस्थालाई देखाइरहेको तथा नर्सिङ संघको नेतृत्व पेशागत मुद्दामा संवेदनशील नबन्दा यो स्थिति आएको हो,' उनले भनिन्, 'नर्सका समस्या समाधानका लागि स्वास्थ्य मन्त्रालयले प्रधानमन्त्रीस्तरीय कार्यदल बनाएको छ। त्यो कार्यदलमा वर्षौदेखि जिम्मेवार स्थानमा रहेर पनि माख्खो नमारेका मान्छेहरु छन्।’
यसपटक नर्स तथा स्वास्थ्यकर्मीहरुको मुद्धालाई कमजोर नबनाउनका लागि हामी पटक-पटक अनुरोध गर्दै आएका आएपनि त्यस्तो हुन नसकेको उनको भनाइ थियो।
स्वास्थ्य मन्त्रालयले निर्देशनसहित पत्राचार गरेपनि निजी अस्पतालले नर्सहरुलाई तोके अनुसारको सेवा सुविधा नदिनुले नेपालमा कानुनी शासन हराएको उनको दाबी छ। 'स्वास्थ्य मन्त्रालयको निर्देशन पालना नगर्ने अस्पताल सञ्चालकहरु यो देशका को हुन् ?' उनले प्रश्न गरिन् ।
यो पटक नेपाल नर्सिङ संघलाई अन्तिम चेतावनी दिइएको उनले बताइन् । 'नर्सको समस्या समाधान गर्न नसक्ने नेपाल नर्सिङ संघको नेतृत्वले पदबाट बिदा लिनुपर्छ,' उनले भनिन्।