संसारभरका नर्सहरु मे १२ अर्थात् आजकाे दिनलाई विश्व नर्सिङ दिवसको रुपमा मनाइरहेका छन्। यस दिनले नर्सहरुमा छुट्टै उर्जा, उत्साह र उमंग दिन्छ। एउटा यस्तो पेसा जसले जीवन र जगतलाई जोड्ने गर्दछ। मानवीय संवेदनालाई सजगताका साथ आत्मसाथ गर्दै जीवनमा खुसी बाँड्ने सेवामूलक यस पेसाको एउटा सदस्यको रुपमा म आफूलाई नर्स भएकोमा गर्व गर्दछु।
नर्सहरुका आदर्श फ्लोरेन्स नाइटिङ्गेलको जन्मदिनलाई विशिष्ट दिनको रुपमा चीरस्मरणीय बनाउन तथा नाइटिङ्गेलका निस्वार्थ सेवाभावलाई नर्सहरुको पहिचानको रुपमा सम्झिइने यस दिनलाई संसारभर श्रद्धापूर्वक मनाइने गरिन्छ।
'नर्सहरुको प्रखर आवाज सबैका लागि स्वास्थ्य' नारासहित सन् २०१९ भर हामी नर्सहरु सबैका लागि स्वास्थ्यलाई प्रखरताका साथ आवाज दिनेछौं। जसले स्वास्थ्यलाई सबै सीमान्तकृत मानिसहरुसम्म पुग्न मदत गर्दछ। मानव सेवाका लागि हाम्राे साेच, लगन र आवाज प्रखर हुनेछ। जसका लागि संसारभरका लाखौं नर्सहरु आवाजमा आवाज मिलाउनेछौं। साथ दिनेछाैं। एक जनाकाे आवाज उठे अरु पनि थपिनेछन् आवाजहरु। संसारभर स्वास्थ्य सेवाका लागि भौंतारिरहेका आवाजविहीनहरुका लागि हामी आवाज बनीदिनेछौं।
नर्सहरु आफ्नो कार्यगत दायराअनुसार उपयुक्त, सहज, उपलब्ध र प्रमाणमा आधारित सेवा प्रदान गर्न प्रतिबद्ध रहँदै सबैमा स्वस्थ रहेकाे प्रत्याभूत गराउन अनि सबैलाई स्वस्थ बनाउन, स्वास्थ्यलाई मानवजीवनमा रुपान्तरण गर्न लागी पर्दछन्।
बिरामीहरुको अधिकारका लागि आफ्नो विज्ञानमा आधारित सीपलाई सेवाका अनगिन्ति आयामहरुसँग जोड्दै नर्सहरु स्वास्थ्य सेवाका नीति निर्माण एवं निर्णायक तहमै रहेर नेतृत्व गर्न पनि सक्षम भएका छन् र हुनेछन्।
विश्वासिलो र मर्यादित स्वास्थ्यकर्मीको रुपमा नर्सहरुको भूमिका सदैव महत्वपूर्ण रहेको छ। उनीहरु स्वास्थ्यका अनेकन चुनौतीहरुसँग एकाकार हुँदै गतिलो समाधानका लागि आफ्नो सीप, ज्ञान र उर्जालाई उपयोग गरिरहेका छन्। नर्सहरु स्वास्थ्य सेवा प्रणालीको इन्जिन कोठा जस्तै हुन्, जसले हरेक व्यक्ति, समुदाय र विश्वकै स्वास्थ्य आवश्यकताहरुलाई सम्बाेधन गर्ने गर्दछन्। सेवा र सेवाभावबाट सबैलाई लाभान्वित र प्रेरित गराउँदछन्।
अन्तर्राष्ट्रिय काउन्सिल अफ नर्सिङको नैतिकताको नियमले पनि मानवअधिकार तथा मानवको सांस्कृतिक अधिकार, जीवन र छनाेटको अधिकार, प्रतिष्ठा र सम्मानपूर्वक उपचारलाई नर्सहरु भित्र अन्तरनिहित योग्यताको रुपमा हुने प्रष्ट पारेको छ। उमेर, रंग, आस्था, संस्कृति, अशक्तता वा बिरामी, लिंग, यौनिकता, राष्ट्रियता, राजनीति, सामाजिक स्तर आदिका कारणले नर्सहरुले आफ्ना सेवा प्रदानमा कुनै पनि भेदभाव गर्दैनन्। सबै तह वा तप्काका व्यक्तिहरुलाई अनवरत सेवा प्रदान गर्ने नर्सहरु विश्वव्यापी स्वास्थ्य आवश्यकता पूर्ति गर्न सदा प्रतिबद्ध रहेका छन्। रहनेछन्।
आल्मा आटा घोषणाले 'सबैका लागि स्वास्थ्य' मानवको आधारभूत अधिकारको रुपमा सु-स्पष्ट रुपमा व्याख्या गरी सोहीअनुरुप निर्देशन र कार्ययोजना तय गरेपछि संसारका अधिकांश मुलुकहरुले यसलाई मानवको प्राथमिक अधिकारको रुपमा अंगिकार गरेका छन्। नेपालमा पनि यसले संविधान मै नागरिकको मौलिक अधिकारको रुपमा स्थान पाएको छ।
आल्मा आटाको घोषणाअनुसार, स्वास्थ्यमा सुधार त्यतिबेला हुन्छ, जब स्वास्थ्य विज्ञान, अर्थशास्त्र र नियमहरु तथा सामाजिक अन्यायका विरुद्धका कदमहरु बीच सकारात्मक संयोजन हुन्छ। सबैका लागि स्वास्थ्यको अर्थ स्वास्थ्यमा सबैको पहुँच हो। जसले मानवको सामाजिक तथा आर्थिक उत्पादकतालाई अभिवृद्धि गर्दछ।
नेपाल तथा विकासाेन्मुख मुलुकहरुको सन्दर्भमा भन्नुपर्दा यतिबेला नर्सहरुले नर्सहरुकै लागि आवाज बनिदिनुपर्ने अवस्था पनि सिर्जना भएकाे छ। २१औं शताब्दीको आजको समयमा पनि नर्सहरु स्वास्थ्य मन्त्रालयकै गेटबाट गिरफ्तार हुनु परिरहेको छ, त्यो पनि आफ्नो अधिकारका लागि आवाज उठाउँदा।
अधिकार प्राप्तिकै लागि नर्सकाे हकहितकै लागि खाेलिएकाे नर्सिङ संघकाे कार्यालयमा ताला लाग्छ। तर, अधिकारका लागि उठेका आवाजहरुलाई कुल्चिएर बलपूर्वक ताला फुटाइन्छ। आजको दिन आवाज कुल्चिनेविरुद्ध पनि आवाज बुलन्द गर्ने दिन हो। 'हाम्रो अधिकारका लागि हाम्रो आवाज' आजको दिनले दिन खोजेको सन्देश यो पनि हो।
आज नर्सहरु माथि भइरहेका कैँयाैं विभेद, अत्याचार र श्रमशोषणविरुद्ध पनि स्पष्टरुपमा प्रखर आवाज दिने दिन हो। अझ पनि हाम्रा अस्पतालहरुमा स्वयंसेवक नर्स, तालीमे नर्स लगायतका विभिन्न नाममा श्रमको शोषण, अत्याचार र विभेदहरु देखिने, सुनिने र बुझिने गरी बल्ग्रेल्ती उदाहरणहरु हामीमाझमा व्याप्त छन्। यसविरुद्ध पनि गोलबद्ध हुने अनि आफ्नो अधिकारका लागि बोल्ने दिन हो आज।
नर्सिङ शिक्षा र लाग्ने शुल्कहरुलाई मध्येनजर गर्दै नर्सहरुलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय मापदण्डअनुसारको शिक्षा, अभ्यास, तालीम प्राप्त भए भएनन्, त्यस अनुसारको पाठ्यक्रम र तरिकाहरु विकास भई लागू भए भएनन्, सम्बद्ध निकायहरुले जवाफ दिने अवस्था आएको छ। आज पनि नेपाली नर्सहरुले नेपालको नर्सिङ्ग शिक्षामा भएको कमी, नेपाल र अन्तर्राष्ट्रिय क्षेत्रकाे पाठ्यक्रम बीचको दूरी, आवश्यक तालीम तथा अभिमूखीकरणबाट वन्चित हुनुपरेको अवस्थाले नेपाली नर्सहरुको योग्यतामै प्रश्न उठिरहेकाे छ। साे अभाव पूर्ति गर्न नर्सहरुले थप तालीम र समय खर्च गरिरहनु परेको छ।
यदि हाम्रा पाठशालाहरुले त्यस अनुसारका शिक्षा, अभ्यास, तालीमहरु दिएका छैनन् भने त्यसविरुद्ध आवाज मात्र होइन साेही समय र स्थानमै सच्याउन लगाउने अवस्थाको सिर्जना हामी नर्सहरुले नै गर्ने हो। किनकी हामी जीवनलाई जगतसँग जोड्ने पेसामा आबद्ध छौं। जीवन र मरणका बीचको झिनो त्यान्द्रोलाई समात्दै हामी जीवन प्रदान गर्न शतप्रतिशत कोशिस गर्दछौं। हाम्राे शतप्रतिशत प्रयास र सेवा त्यतिबेला सार्थक हुन्छ, जब हाम्राे शिक्षा, अभ्यास र तालीम बिरामीहरुको आवश्यकता र अन्तर्राष्ट्रिय मापदण्डअनुसार हुनेछन्।
विश्व नर्सिङ दिवस मनाइरहँदा सबैप्रकारको भावनाहरुले मन तरंगित बनाइदिँदो रहेछ। तर, आज पनि नर्सहरुको भाेग्नु परेका समस्या र छटपटीले दिएको पीडा अनुभूत कत्ति पनि कम भएकाे छैन। याे दिनले पक्कै त्याे पीडामा मल्हम लगाउन सघाउ पुर्याउनेछ।
सेवाको उच्चतामा आफूलाई देख्न पाउँदा, सेतो कोटको मर्यादाले गजक्क हुँदा, मुस्कानसहितको सेवाले निको भई घर जाँदा बिरामीहरुकाे अनुहारमा पनि मुस्कानसहितकाे कान्ति देख्न पाउँदा नर्सको रुपमा म आफूले पीडा भन्दा कैयन धेरै खुसी अनुभूत गर्दछु। बिरामीको मुस्कानले सबै पीडालाई भुलाइदिने यो पेसाको उच्च विशेषता हाे, त्यसकारण पनि म नर्स भएकोमा गर्व गर्दछु।
(श्रेष्ठ ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालकी डेपुटी नर्सिङ सुपेरिटेन्डेन्ट हुन्।)