चिकित्सा शिक्षा अध्ययन संस्थान (आइओएम) नेपालको मात्रै होइन, दक्षिण एसियामै राम्रो चिकित्सा अध्ययन केन्द्रका रूपमा सुपरिचित छ। यसको इतिहास धेरै पुरानो छैन। यसको जग हाल्ने मात्रै होइन, खम्बा बनेर काँध थाप्नेहरू (डा मोइन शाहबाहेक) हामीमाझ अझै छन्। तिनैमध्येका दुईजना डा भीष्म प्रसाईं र डा हेमाङ्गमणि दीक्षितलाई यसपल्ट स्वास्थ्य खबरपत्रिकाले ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ दिने निर्णय गरेको छ।
उनीहरू आइओएम स्थापनासँगै काम गर्ने मात्र नभई नेपालमै पहिलोपल्ट एमबिबिएसको पाठ्यसामग्री निर्माण गर्ने व्यक्ति हुन्। आइओएमका डिनसमेत भइसकेका उनीहरूले एमबिबिएस अध्ययनका लागि नेपालमा खुलेका निजी मेडिकल कलेजहरूको गुणस्तर उकास्नमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। उनीहरूको संघर्ष, प्रयास र दक्षताले नै नेपालमा चिकित्सा शिक्षाको अवस्था यहाँसम्म आइपुगेको हो।
शिक्षण अस्पतालका संस्थापक निर्देशक
शिक्षण अस्पताल महाराजगन्जको हातामा चिटिक्कको बगैँचा छ। बगैँचामा सानो साइनबोर्ड छ। जहाँ लेखिएको छ, भीष्म उद्यान। बगैँचाको नाममा अस्पतालको गौरवशाली इतिहास र संस्थापक निर्देशक प्राध्यापक डा भीष्मराज प्रसाईंको नटुट्ने साइनो जोडिएको छ।
शिषण अस्पताल मात्र नभएर त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ मेडिसिन (आइओएम) स्थापनामा सक्रिय एक हस्ती हुन् डा प्रसाईं। आइओएमबाटै उनको करिअरको गर्विलो ग्राफ सुरु हुन्छ।
२०२८ सालतिर मुलुकमा नयाँ शैक्षिक व्यवस्था भित्रियो। त्रिभुवन विश्वविद्यालयअन्तर्गत चिकित्सा शास्त्र, इन्जिनियरिङ, कृषि र वनविज्ञानमा बेग्लाबेग्लै अध्ययन संस्थान बन्ने भयो। तर, स्थायी डाक्टर छाडेर आइओएममा अस्थायी मास्टर हुन कोही तयार भएनन्।
एक त आइओएममा संरचना बनेका थिएनन्, अर्कोे अस्पताल पनि थिएन। हेल्थ असिस्टेन्टको पढाइ हुने महाराजगन्ज क्याम्पसमै थियो अस्पतालको मुख्य कार्यालय। वरिपरि खेतमात्र थियो, त्यो पनि सैनिक अस्पताल बनाउनका लागि सरकारले छुट्याएको। यस्तो अवस्थामा वीर अस्पतालको जागिर अनि प्राइभेट प्राक्टिस गरेर टन्न कमाइरहेका डाक्टरहरु ‘नाममात्र’को शिक्षण अस्पतालमा ‘जुवा’ं खेल्न तयार भएनन्। भन्थे रे, ‘अस्पताल छैन। खेतमा गएर धान रोप्ने हो र ?’
हुन पनि इन्जिनियरलाई घर बनाउन किला र मार्ताेल त जेटिएलाई खेत भए पुग्थ्यो। तर, डाक्टरलाई त अस्पताल नै चाहिन्थ्यो। सरकारले बल्लबल्ल वीर अस्पतालका सर्जन डा मोहिन शाहलाई आइओएमको डिन नियुक्त गर्यो। त्यो पनि काजमा। उनका सामु तल्लो तहदेखि माथिल्लो तहसम्म खडा गरी मेडिकल डिग्री दिने जिम्मेवारी थियो।
त्यतिबेला वीर अस्पतालको प्याथोलोजी विभाग प्रमुख थिए, डा प्रसाईं। आठ वर्ष विभागीय नेतृत्व गरेका ‘योङ प्रोफेसनल’ थिए उनी। ललितपुरको कुपन्डोलमा घर बनाउँदै थिए। कलिला छोराछोरी स्कुल पढ्दै थिए। यसै क्रममा स्वास्थ्य मन्त्रालयले पूर्वाञ्चल क्षेत्रीय अस्पताल, विराटनगर सरुवा गर्न लागेको सुइँको पाए उनले। यस्तो अवस्थामा राजधानी बाहिर जानुभन्दा राजीनामा दिनु ठीक लाग्यो उनलाई।
यो कुरा कता–कताबाट थाहा पाएछन् आइओएमका डिन डा शाहले। नेपाल सरकारको सेवामा १५ वर्ष बिताइसकेका आफ्ना समवयी डाक्टरलाई उनले सोधे, ‘किन छाड्ने जागिर ?’ डा प्रसाईंले भने, ‘मैले सरुवा नगर भन्दा पनि मानेनन्। अब प्राइभेट प्राक्टिस गर्छु।’
डा शाहलाई त ‘ढुंगा खोज्दा देउता मिलेजस्तो’ भयो। ‘त्यसो भए आइओएमलाई सिनियर योग्यता भएको र नेतृत्व क्षमता भएको डाक्टर चाहिएको छ,’ शाहले भने, ‘तपाईंलाई प्राध्यापकको तलब दिन्छु। पद चाहिँ अहिलेलाई सह–प्राध्यापक मात्र।’
डा प्रसाईंलाई पनि खोजेजस्तै भयो। उनले स्वास्थ्य मन्त्रालयमा राजीनामा ठेलिदिए। तर, मन्त्रालयका अधिकारीहरुले त्यसलाई धम्कीका रुपमा मात्र लिएछन्। आखिर छँदाखाँदाको जागिर कसले छाड्छ र ? त्यसमाथि त्यतिबेला अहिलेको जस्तो निजी अभ्यासमा धेरै अवसर थिएन। यद्यपि उनले छाड्ने निधो गरिसकेका थिए।
२०३३ सालमा विश्वविद्यालयले सह–प्राध्यापकका लागि विज्ञापन गर्यो। अन्तर्वार्ताका लागि लखनउबाट प्राध्यापक आएका थिए। अन्ततः उनी नै छानिए। भरखर खोलिएको र अध्ययन–अनुसन्धान नभएकाले प्राध्यापकमा नियुक्ति दिन सकिने स्थिति थिएन।
त्यतिबेला त्रिभुवन विश्वविद्यालयको हेल्थ सेन्टरमा मेडिकल अफिसर त थिए। तर, त्रिविको पहिलो डाक्टर–क्याडर उनै भए। उनले नियुक्ति लिएपछि अरु डाक्टर झस्किए। अस्पताल नभएको ठाउँमा डा प्रसाईं किन गए ? उनले अब अरु डाक्टरलाई तान्नु थियो। त्यसैले भवन बनाउने, अस्पताल खोल्ने आदि अनेक प्रोपगान्डा गरे।
त्यसपछि हेमाङ्गमणि दीक्षित, गोपाल आचार्य, दामोदर उपाध्यायलगायत चार/पाँच जना युवा डाक्टर सह–प्राध्यापकका रुपमा नियुक्त भए। तर, अस्पताल नभएकाले कतिपयले अभ्यासका लागि भने साविककै अस्पतालमा काजमा जान चाहे। बाहिर कुनै पनि अस्पतालमा आवद्ध नभएका डा प्रसाईं मात्र खाली भए त्यतिबेला। उनको अर्जुनदृष्टिमा यत्तिमात्र घुम्न थाल्यो– के पढाउने ? कति पढाउने ? कसरी पढाउने ?
आइओएमको कार्यालयमै बसेर विश्व स्वास्थ्य संगठनले दिएका मेडिकल शिक्षासम्बन्धी पुस्तक पढ्नु उनको दैनिकी बन्न पुग्यो। यसैबीचमा उनी विभिन्न देश घुमे पनि। त्यहाँका पाठ्यक्रम अध्ययन गरे। करिब डेढ वर्ष लगाएर डा प्रसाईंको टोलीले पाठ्यक्रम तयार ग¥यो। ‘त्यतिखेर दरबारको चाहना भारतको भन्दा पृथक मेडिकल शिक्षा होस् भन्ने थियो,’ उनी सम्झिन्छन्, ‘त्यसैले इन्टायर्ली नयाँ पद्धति बसाल्यौँ।’
त्यतिबेलासम्म नेपालको चिकित्सा शिक्षामा प्रमाणपत्र तहमात्र थियो। इन्जिनियरिङ र कृषिमा भने स्नातक तहको पढाइ सुरु भइसकेको थियो। अन्ततः २०३४ को अन्तिमतिर ब्याचलर अफ मेडिसिन एन्ड ब्याचलर अफ सर्जरी (एमबिबिएस) नभएर चार वर्षे डिप्लोमा इन मेडिसिन (डिएम) अध्यापन गराउन सुरु गरियो। दरबारको इच्छाअनुसार यो तहमा आइएससी उतीर्णहरुले सोझै भर्ना पाएनन्। हेल्थ असिस्टेन्ट पढेकाले मात्र पढ्न पाउने व्यवस्था भयो।
अनि टीकाटिप्पणी सुरु भइहाल्यो, नेपाली मास्टरले पढाएर कस्तो डाक्टर बन्छन् ? हेल्थ असिस्टेन्ट लिएर के कार्यक्रम बनाएको ? आलोचनाका बीच पहिलो ब्याचमा २२ विद्यार्थी भर्ना भए।
अध्यापनका लागि केही शिक्षक देश बाहिरका पनि थिए। भारत, दरभंगाका रिटायर्ड प्रोफेसरले एनाटोमी पढाए भने शान्त भवनका अंग्रेज डाक्टरले फिजियोलोजी। पहिलो डेड बडी (शव) भारतबाट ल्याइएको डा प्रसाईंलाई अझै हेक्का छ।
०००
दुई कार्यकाल अर्थात् ६ वर्ष बिताएर डिन डा मोहिन शाह स्वास्थ्य मन्त्रालयमा नै काजमा फिर्ता भए। दोस्रो डिनका रुपमा आए डा हेमाङ्गमणि दीक्षित। त्यसपछि क्रमशः डा गोपाल आचार्य र डा मदन उपाध्यायले पनि यो पद सम्हाले।
उसो त वरिष्ठता र पुराना कर्मचारी भएकाले दोस्रो डिनमा डा प्रसाईं निर्विकल्प थिए। तर, उनले पदमा कहिल्यै आसक्ति देखाएनन्। डा प्रसाईंले कर्तव्यमा कहिल्यै सम्झौता गरेनन्। कहिल्यै मागेर र खोसेर लिएनन्। दिएको काम एकोहोरो गरिरहे मात्र।
नियमतः आइओएमका डिन त्रिविका उपकुलपतिले नियुक्त गर्ने पद भए पनि यसमा दरबार हावी हुन्थ्यो। डिन भएका बालरोग विशेषज्ञ डा दीक्षित राजा वीरेन्द्रका छोराछोरीको उपचार गर्थे भने फिजिसियन डा आचार्य राजाकै नाडी छाम्थे। राजाका नजिकका व्यक्तिहरु सकिएपछि २०४५ सालमा आइओएमका पाँचौँ डिन बन्न पुगे डा प्रसाईं।
आफ्नो नियुक्तिमा पनि दरबारकै हात रहेको उनी लुकाउँदैनन्। ‘अरु कसैको नाम आउँदा दरबारले हस्तक्षेप गरेछ,’ उनी भन्छन्, ‘त्रिवि शिक्षण अस्पतालमा त्यति राम्रो गरेका डा प्रसाईंलाई पठाउनू भनिएको थाहा पाएँ।’
उसो त त्रिवि शिक्षण अस्पतालको सुरुवाती नेतृत्व सम्हाल्न गएकाले पनि डा प्रसाईं अलि ढिलो डिन हुन पुगेका हुन्।
०००
२०४० सालमा जापानी सहयोगमा तीन सय शैयाको त्रिवि शिक्षण अस्पताल तयार भयो। आइओएमका डिन डा गोपाल आचार्यले त्यसको जिम्मा लिने उपयुक्त पात्र डा प्रसाईंलाई देखे। उनलाई अस्पतालको जिम्मा दिइयो। अस्पतालमा मेसिनलगायत प्राविधिक सामाग्री केही थिएनन्।
बिस्तारै राम्रो व्यवस्था हुँदै गयो। जनबोलीमा ‘जापानी अस्पताल’ भनिने शिक्षण अस्पताल कति लोकप्रिय भयो भने एकदमै छिटो वीर अस्पतालको भरपर्दोे विकल्पका रुपमा देखियो। पहिलो वर्ष दैनिक एक–दुई सय मात्र बिरामी आउँथे। तर, दोस्रो वर्ष भने बिरामीको चाप थेग्नै गाह्रो भयो। ‘म प्राक्टिसनर डाक्टर नभएकाले पनि टिचिङको यति धेरै विकास भएको हुनसक्छ,’ उनी भन्छन्, ‘बिहान घरबाट हिँडेपछि राति अबेर मात्रै फर्कन्थेँ।’
दुई पदावधि अर्थात् चार वर्ष शिक्षण अस्पतालको निर्देशक भएपछि उनले आइओएमकै प्याथोलोजी डिपार्टमेन्ट प्रमुखको कार्यभार सम्हाले।
शिक्षाविद् र कुशल व्यवस्थापकका रुपमा चिनिएका डा प्रसाईं त्रिविको शिक्षाध्यक्ष पनि भए र २१ वर्षपछि अर्थात् २०५४ सालमा ‘गोल्डेन ह्यान्डसेक’ लिए।
०००
त्यसपछि नेपालगन्ज मेडिकल कलेजबाट सल्लाहकारको अफर आयो उनलाई। भारतीय नागरिक डिवाई पटेलसँग नेपाली डाक्टरहरुले तीन करोड रुपैयाँमा किनेको उक्त कलेजको तल्लो तहदेखि माथिसम्मको ‘प्लानिङ’ गरे उनले। १० वर्षसम्म त्यहाँ रहेर डा प्रसाईंले नेपालगन्ज मेडिकल कलेजलाई ‘देशकै एक उत्कृष्ट मेडिकल कलेज’का रुपमा स्थापित गरिदिए। त्यही सिको गरेर देशभर अन्य मेडिकल कलेज खुल्ने क्रम बढेको उनको बुझाइ छ।
नेपालगन्जपछि उनलाई नोबेल मेडिकल कलेज विराटनगरले भित्र्यायो। गाडी, घर, भान्छेसहित १ लाख रुपियाँ तलब दिने भयो। सल्लाहकारका रुपमा नोबेल गएका डा प्रसाईंले त्यहाँ तीन वर्ष प्राचार्यको समेत जिम्मेवारी सम्हाले।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त लोकमानसिंह कार्कीको घरमा सुरु भएको नोबेललाई उनले आफ्नै भवनमा स्थापित गरेर छाडिदिए। ‘विराटनगरमा बसिरहेको भए म मर्ने रहेछु,’ केही गम्भीर मुद्रामा देखिएका उनले थपे, ‘त्यहाँ छाडेको एक वर्षपछि हर्ट एट्याक भयो। बेलैमा नर्भिक पुग्न सकेकाले पेसमेकर राखेर बाँचेको छु।’
०००
पछिल्लो केही समययता नेपालको चिकित्सा शिक्षा कपडा दोकानजस्तो पूरै व्यापारीको हातमा गएको उनको तीतो अनुभव छ। ‘न टिचर चाहिन्छ, न ल्याबरोटरी,’ डा प्रसाईं चिन्तित सुनिन्छन्, ‘दुर्दशा कस्तो छ भने डाक्टर बनाउन एक करोडले पनि नभ्याउने भयो। नर्स पास गर्न १० लाख चाहियो। क्वालिटी बिनाको कमर्सिलाइजेसन घातक हुन्छ।’
०००
पूर्वी नेपालको ताप्लेजुङ, आठराई–निघुरादिनमा १९८९ सालको फूलपातीको दिन जन्मिएका हुन् डा प्रसाईं। उनका बाजे डिट्ठा थिए, काका लप्टन। पिता भने जमिनदार थिए। तीन आमाका दस भाइ छोरामध्ये डा प्रसाईं जन्तरे (छैटौँ) हुन्। उनका एक भाइ वेनुपराज प्रसाईं कुनै बेला प्रतिनिधिसभामा नेपाली कांग्रेसका सचेतक थिए।
सम्पन्न र शैक्षिक घरानामा जन्मिएका उनले घरबाट टाढा बसेर संस्कृत पढे। एबिसिडी पनि सन्जोगले पढ्न पाए, १३ वर्षको उमेरमा। जीवनमा उनका ‘आइडल’ भए साइँला बाबुका छोरा रामबाबु प्रसाईं (खनुपरुदे)। दौरासुरुवालमा ठाँटिएका, कल्कलाउँदो युवक रामबाबुलाई पहिलोपटक देख्दा उनी सम्मोहित भइहाले। रामबाबु भारतमा बिएस्सी एजी पढ्दै थिए। दाइलाई देख्दा अंग्रेजी पढे राम्रो लुगा लगाउन पाइन्छ भन्ने भान भयो डा प्रसाईंलाई। दाइको जस्तै भव्य व्यक्तित्व बनाउने भूत सवार भयो उनमा।
अनि अंग्रेजी पढ्न भनेर संस्कृत भाषा पाठशालाबाट भागे उनी। काठमाडौँ आउँदैगर्दा चिनेको मान्छे भेट भेटिए धरानमा। उसले काठमाडौँ गएको खबर बुवालाई दिन्छु भनेर तर्साएपछि उनले दिशा मोडे। काठमाडौंका लागि निस्किएका डा प्रसाईं वनारसतिर लागे। उनी हरहालतमा पण्डित भइने शिक्षा लिन चाहँदैनथे। उनले सुनेका थिए– वनारसमा अंग्रेजी पनि पढाइ हुन्छ।
तर, यत्तिकैमा वनारस पुग्ने उनको दौड पूरा हुनेवाला थिएन। फेरि एकजना आफन्तसँग भेट भयो बाटोमा। वनारस लगिदिन्छु भनेर उनलाई झापाको झुपडीमा लगेर बुझाइदिएछन्। तिनताका झापामा पिताजीको खेती थियो।
पिताजीले सोधे, ‘किन भागेको ?’
उनले प्रतिप्रश्न गरे, ‘मलाई अंग्रेजी किन पढाउनु भएन त ?’
‘पहिले किन नभनेको त ? म पढाइहाल्थेँ नि,’ पिताजीको यो भनाइले बल्ल उनलाई ढुक्क भयो। यद्यपि फेरि पनि उनलाई मलेरियाले धोका दियो।
एक वर्ष थला परेपछि बल्ल दार्जिलिङ जाने दिन जुर्यो। पिताजीले अंग्रेजीको ट्युसन सेन्टरमा हालिदिए। दुई वर्षसम्म ट्युटरले कति रटाए भने उनले रामकृष्ण शिक्षा परिषद्मा एकैचोटि कक्षा ८ मा भर्ना पाए। प्रिन्सिपलले उमेर पनि एकाध वर्ष घटाइदिएछन्। त्यहाँबाट म्याट्रिकुलेसन गरेपछि गभर्मेन्ट कलेजबाट आइएस्सीको प्रमाणपत्र लिँदा उनको उमेर २१ वर्ष थियो।
दार्जिलिङमा पढ्दा उनको डेरामा झापा र इलामका छिमेकी, नातागोता, आफन्त मलेरिया र टिबीको उपचारका लागि पुग्थे। उनी नजिकको बंगाली डाक्टरकहाँ लगिदिन्थे। यसरी जाँदाजाँदा उनको अंग्रेजी पढ्ने मोह डाक्टर बन्ने सपनामा बदलिइसकेको थियो। त्यसैले आइएस्सी गर्नासाथ एमबिबिएस छात्रवृत्तिका लागि काठमाडौँ जाने भनेर उनी पिताजीले ठेक्कामा लिएको इलामको सोक्तिम चिया बगान छिरे।
दुई वर्षपछि उनी काठमाडौँ आए। कोलम्बो प्लानका लागि ढिलो भइसकेछ। धन्न पाकिस्तानले दुईवटा छात्रवृत्ति पठाइदियो पहिलो पटक। मेडिसिन र इन्जिनियरिङमा। मेडिसिनमा उनी छनोट भइहाले। ढाका मेडिकल कलेज पुगे। त्यतिखेर ढाका पाकिस्तानमै थियो। ‘सन्जोग भनेको कस्तो हो भने जसलाई जे बनाउनुपर्छ, त्यो बनाउँदो रहेछ,’ उनी भन्छन्, ‘जे नहुनु पर्ने हो, त्यो कसैगरी पनि भइँदैन।’
पढेकै कलेजमा इन्टर्नसिप गरे उनले। एमबिबिएस डाक्टर बनेर नेपाल आएपछि उनी डोटी जिल्ला अस्पताल गए। त्यहाँ डाक्टर नभएकै तीन/चार वर्ष भइसकेको रहेछ। डोटी जानुअघि उनले सर्त राखेका थिए– फर्केपछि गाइनोकोलोजी पढ्न बेलायत पठाइदिनुपर्छ नि।
डोटीमा दुई वर्ष सेवा गरेपछि उनी काठमाडौँ फिर्ता भए। त्यसपछि उनको सरुवा भयो आफ्नै ससुराली थलो विराटनगर। यसबीचमा बेलायत जाने सर्त बिर्सेका थिएनन् डा प्रसाईंले। धन्न स्वास्थ्य विभागका महानिर्देशक दिनेशानन्द वैद्यले उनीसँग गरिएको प्रतिबद्धता पूरा गरे। तर, उनले भनेजस्तो भएन। गाइनोकोलोजी पढ्ने सोच पालेका डा प्रसाईंलाई सिट मिल्यो प्याथोलोजीमा। स्वास्थ्य मन्त्रालयमा उनका पहुँचका कोही थिएनन्। मेडिसिन, सर्जरी विषय त ठूलाबडाकै छोराछोराका लागि रिजर्भ हुन्थ्यो।
अन्ततः लन्डन युनिभर्सिटीबाट उनले तीन वर्ष लगाएर डिप्लोमा इन क्लिनिकल प्याथोलोजी (डिसिपी) पूरा गरे। लगत्तै वीर अस्पतालमा तानिए। पहिलोपटक हिस्टो प्याथोलोजी (क्यान्सरको इायग्नोसिस)को सुरुवात गरे। हेड अफ डिपार्टमेन्ट पनि भए। त्यसपछिको कथा आइओएम र शिक्षण अस्पतालकै हो।
–०००–
चिकित्सा शिक्षाका सारथी
राजधानी काठमाडौंमा दीक्षित परिवारको ख्याति राम्रो थियो। शिक्षित परिवार भएकाले सन्तानलाई पढाउने प्रबन्धमा कुनै कमी थिएन। तर, त्यही परिवारका एक बालक हेमाङ्ग दीक्षित भने पैसा रोपेर पैसा नै उमार्न चाहन्थे। समयक्रमसँगै उमेर, बुझाइ र अध्ययन थपिँदै जाँदा उनलाई आफ्नो पारिवारिक परिवेशले डाक्टर बन्न लोभ्यायो। परिवारले पनि उनको सपना पूरा गराउन कुनै कसर बाँकी राखेन।
विसं १९९४ साल जेठ २९ गते काठमाडौँको डिल्लीबजारमा जन्मिएका हेमाङ्ग दीक्षित सानैदेखि नयाँ कुरामा रुची राख्थे। त्यसैले होला डाक्टर हेमाङ्ग साहित्य, चिकित्सा र प्रशासनमा पनि अब्बल बने।
उनको परिवारिक पृष्ठभूमि पनि चिकित्सा क्षेत्र नै थियो। उनका हजुरबुबा सदाशिव आचार्य पण्डितका अलावा आयुर्वेदिक डाक्टर पनि थिए। राणा परिवारसँग राम्रै हिमचिम थियो। आयुर्वेद डाक्टर सदाशिवले आफ्ना छोरा सिद्धिमणिलाई पनि डाक्टर नै बनाए। डा सिद्धिमणि दीक्षितले कलकत्ताबाट एमबी (तत्कालीन समयमा एमबिबिएसलाई एमबी मात्र भनिन्थ्यो) गरेका थिए। नेपालमै पहिलो एमबी (एलएमएफ र एलएमपी पढ्ने अरु पनि थिए) पढ्ने चिकित्सक डा सिद्धिमणिका छोरा हुन् डा हेमाङ्ग दीक्षित। डा सिद्धिमणिले एमबी पढ्दा नेपालमा स्वास्थ्य सेवाको जगसमेत बसेको थिएन।
नेपालका पहिलो डाक्टर सिद्धिमणि वीर अस्पतालबाहेक राणा परिवारका पनि चिकित्सक थिए। डा सिद्धिमणि नेपालमै सबैभन्दा बढी बाँचेका शिवपुरी बाबाका पनि निजी चिकित्सक थिए। बाबु डा सिद्धिमणि वीर अस्पतालबाट फर्किंदा डा हेमाङ्गलाई कहिले सेता मुसा त कहिले अन्य जीव ल्याएर दिन्थे, छोरालाई प्रयोगशाला परीक्षणका लागि। घरमा उपचार गर्न आउनेको पनि लाम हुन्थ्यो। यसबाट डा हेमाङ्गले चिकित्सकीय दायित्वलाई पनि नजिकबाट नियाल्ने राम्रो अवसर पाएका थिए।
२०२४ सालमा डा सिद्धिमणिको मृत्यु भयो। बुवाको सम्झनामा उनले चिकित्सक साथीहरूको सहयोगमा सिद्धि पोलिक्लिनिक स्थापना गरे। उक्त पोलिक्लिनिक अहिले पनि सञ्चालनमा छ।
०००
पारिवारिक परिवेशले हेमाङ्गमा डाक्टर बन्ने मोह बढ्दै गयो। हजुरबुबाको समयदेखि नै घरमा पाठशाला खुलेको थियो। उक्त पाठशालामा लेखनाथ पौड्याल, चक्रपाणि चालिसेजस्ता विद्वानहरू शिक्षकको रुपमा थिए।
घरको पढाइपछि परिवारले थप अध्ययनका लागि हेमाङ्गलाई नैनीताल पठाउने निर्णय ग¥यो। ३ देखि ५ कक्षासम्म उनले नैनीतालमा पढे। उनले दार्जीलिङको सेन्ट जोसेफजस्ता नाम चलेको स्कुलमा पनि आवेदन दिएका थिए। तर, नैनीतालको वातावरण अझै राम्रो छ भन्ने लागेर परिवारबाट उनलाई नैनीतालस्थित सेरवुड कलेजमा पढ्न पठाइयो। बाबुका मिल्ने दाजुभाइहरू त्यतै बस्थे। छोराको रेखदेख हुने र बिदाको समयमा बस्न पनि सजिलो हुने भनेरै उनलाई नैनीताल लगिएको थियो। सेरवुड त्यस क्षेत्रकै नामी स्कुल थियो, जहाँ भारतीय महान् अभिनेता अमिताभ बच्चनले पनि केही वर्ष पढेका थिए।
सेरवुडमा उनको नाम हेमाङ्गमणि आचार्य दीक्षित थियो। साथीहरू दिनहुँजसो हुल बाँधेर उनको नाम सोध्न आउँथे। हेमाङ्गमणि आचार्य दीक्षित, उनी सोझो जवाफ दिन्थे। उनको नाम सुनेपछि साथीहरू हाँसेर फर्किन्थे। केही दिनपछि उनले बुझे कि साथीहरूले आफ्नो नामलाई लिएर उडाइरहेका रहेछन्। त्यसपछि जसले नाम सोधे पनि उनले हेमाङ्ग दीक्षित मात्रै भन्न थाले।
उनी २००७ सालतिर स्कुल परिवर्तन गरेर सिम्ला पुगे। नयाँ स्कुलको नाम थियो– विसप कटन। त्यहाँ उनका नेपाली साथी पशुपति शमशेर जबरा थिए।
सिम्लामा पढ्दाताका प्रसिद्ध लेखक रस्किन वन्ड उनीभन्दा दुई ‘ब्याच’ सिनियर थिए। सानैदेखि उनलाई लेखक बन्ने चाहना थियो। पछि उनले कहिले मणि दीक्षित त कहिले हेमाङ्ग दीक्षितकै नाममा दर्जनौँ पुस्तक प्रकाशित पनि गरे। भारतमा विद्यालयस्तरको शिक्षा सकेर उनी उच्च शिक्षाका लागि बेलायत पुगे। उनले लन्डनको युनिभर्सिटी ट्विटोरियल कलेजबाट ‘ए लेभल’ सके। त्यसपछि २०१३ सालमा उनले बेलायतकै चेरिड क्रस हस्पिटल मेडिकल स्कुलमा एमबिबिएस अध्ययन थाले र २०१८ मा पूरा गरे। उनले ट्रपिकल डिजिज एन्ड चाइल्ड हेल्थमा डिप्लोमा समेत गरेका थिए। पढाई पूरा गरेपछि उनले दुई वर्ष त्यहीँ काम गर्दै बिताए।
०००
बेलायतबाट फर्केपछि उनको जीवनमा दुईवटा परिवर्तन करिब एकैपटक आए। एक– हेमाङ्ग विवाह बन्धनमा बाँधिए। दुई– उनी वीर अस्पतालका जागिरे भए। सुरुवाती समयमा वीरमा १ सय ७५ रुपैयाँमा जागिर गर्न गालेको उनलाई अझै सम्झना छ। त्यसबेला वीर अस्पतालमा बच्चाहरु सबैभन्दा बढी दादुराको उपचारका लागि ल्याइन्थे।
वीरपछि उनले कान्ति अस्पतालमा बालरोग विशेषज्ञको भूमिका निर्वाह गरे। कान्ति अस्पताल २०२७ सालतिर उनी लगायतका डाक्टरकै प्रयासमा कान्ति बाल अस्पतालमा परिणत भएको थियो। त्यही बेला उनले बच्चाहरूको मुत्रथैलीमा अन्डाजत्रो ढुङ्गा पनि फेला पारेको सम्झन्छन्। उनका अनुसार १८औँ र १९औँ शताब्दीतिर बेलायतीहरुमा पनि ठूला आकारका ढुङ्गा भेटिन्थे।
डा हेमाङ्गले कान्तिमा काम गर्दाताका २०२९ सालमा चिकित्सा विज्ञान अध्ययन संस्थान (आइओएम)को स्थापना भयो। जसको प्रथम डिन डा मोइन शाह भए। डा दीक्षितले शिक्षण अस्पतालमा सह–प्रध्यापकका लागि निवेदन दिए। डा शाह, उपकुलपति जगतमोहन अधिकारी र प्रोफेसर प्रासोन तुचिन्दाले लिएको अन्तर्वार्तामा उनी छानिए। उनलाई बालरोग विभागको जिम्मा दिइयो।
त्यसपछि एमबिबिएसको पाठ्यक्रम निर्माण गर्ने अभिभारा उनीसँगै डा भीष्मराज प्रसाईं र डा दामोदर उपाध्यायलाई दिइयो। डब्लुएचओको सहयोगमा उनीहरुले पाठ्यक्रम निर्माण गरेका थिए। त्यसपछि उनी २०३६ सालमा आइओएमकै डिनमा नियुक्त भए। उनकै कार्यकालमा नेपाली सेनाको स्वामित्वमा रहेको जग्गामा शिक्षण अस्पताल निर्माण भएको थियो।
०००
संस्थानमा डिन भए पनि शिक्षण अस्पताल नबनिसकेकाले उनी कान्तिमै काम गर्थे। उनले पुराना दिन सम्झिए, ‘त्यसबेला काठमाडौँमा मेनिन्गोकोक्कल मेनेन्जाइटिसको महामारी फैलिएको थियो। यो रोगको संक्रमणले धेरै बालबालिकाको मृत्यु हुने सम्भावना थियो। चार सय बालबालिकामा संक्रमण देखिएपछि उपचारका लागि अमेरिकाबाट डाक्टरको टोली नै बोलाउनु परेको थियो।’
अमेरिकाको एट्लान्टाबाट आएका डाक्टरहरूले रोग नियन्त्रणमा लिएर खोप लगाउन सुझाब दिएका थिए। उनले खोप अभियान सञ्चालनका लागि पनि अहम भूमिका खेले। यो घटनापछि महामारी नियन्त्रणका लागि सामूहिक पहलको आवश्यकता महसुस गरी चिकित्सकहरू सङ्गठित भए। फलस्वरूप नेपाल पेडिएट्रिक सोसाइटीको स्थापना भयो। डा हेमाङ्ग सोसाइटीका संस्थापक सदस्य थिए।
डा हेमाङ्ग डिन भएकै बेला भारतबाट राजीव गान्धी र सोनिया गान्धी नेपाल आएका थिए। आइओएमको डिनका हैसियतले उनले पनि राजीव र सोनियासँग भेट गर्ने अवसर पाएका थिए। उनले त्यो क्षण सम्झिँदै भने, ‘२०४० सालको कुरा हो। राजीव र सोनिया सोल्टी होटलको एक कार्यक्रममा आउँदा मैले पनि भेटेको थिएँ। राजीव गान्धीले हात मिलाए भने सोनियाले नमस्ते फर्काइन्।’
त्यो भेटको एउटा घटना उनी कहिल्यै बिर्संदैनन्। ‘राजीव गान्धीसँग हात मिलाएपछि मैले सोनियासँग पनि हात मिलाउन हात बढाएँ। तर, सोनियाले हात मिलाउनुको साटो नमस्ते पो गरिन्। मेरो हात हावामै हल्लियो। त्यसबेला खिचेको फोटो हेर्दा अहिले पनि हाँसो उठ्छ,’ कोठामा केहीबेर हाँसो गुञ्जियो।
०००
डा हेमाङ्ग २०३८ सालमा नेपाल मेडिकल काउन्सिलमा सदस्य भए। त्यसपछि २०४२ सालदेखि ०४५ सालसम्म उपाध्यक्ष पनि भए। सो समयमा उनले तीन महिना कायममुकायम सभापतिको जिम्मेवारी पनि सम्हाले। आफूले लामो समय बिताएको काउन्सिलबारे उनको धारणा छ, ‘काउन्सिल चिकित्सकीय अभ्यासका क्रममा हुनसक्ने लापरबाही र असावधानीबाट सेवाग्राहीको बचाउ गर्ने संस्थाका रूपमा स्थापित थियो। तर, अहिले भने ठिक विपरीत काम भइरहेको छ। यसले सम्रग स्वास्थ्य सेवामा असर पुर्याउँछ।’
आइओएमबाट अनिवार्य अवकाशपछि डा हेमाङ्ग काठमाडौँ मेडिकल कलेज (केएमसी)मा आवद्ध भए। डा मणिन्द्ररञ्जन बरालले उनलाई केएमसीमा आउन आग्रह गरेका थिए। त्यसअघि भरतपुर मेडिकल कलेजबाट टुक्रिएर आएको भारतीय समूहले केएमसी चलाएको थियो। नेपाली समूहले केएमसीको स्वामित्व लिएपछि डा दीक्षित प्राचार्य बने र १२ वर्ष जिम्मेवारी सम्हाले।
०००
केएमसीमा प्राचार्य भएकै समयमा घटेको एउटा घटना उनको जीवनभरिका लागि अविस्मरणीय छाप बनेर बसेको छ। ‘आफू स्पाइडर ग्याङसँग सम्बन्धित रहेको बताउने सन्दीप पाठकले फोन गरेर मसँग ३ करोड रुपैयाँ मागे। म कलेजको प्रिन्सिपल हुँ, सेयर होल्डर होइन भनेर सिधै पैसा छैन भनिदिएँ। उसले अध्यक्षको नम्बर माग्यो। मैले दिइनँ। उसले धम्की दिँदै फोन काट्यो,’ सुनाउँदै गर्दा हेमाङ्गको अनुहारको रङ बदलिसकेको थियो। यद्यपि उनले उक्त घटनालाई सुनाउन भने छोडेनन्।
‘यो घटना यतिमै सेलाएन। केही दिनपछि उसले फोनमार्फत् अस्पतालमा बम राखिएको बतायो,’ उनले भने, ‘अस्पतालबाट बिरामीलाई समेत स्लाइन दिँदादिँदै बाहिर निकालियो। बम डिस्पोजल टोली आयो। बम भेटिएन। यो धम्कीकै अर्को स्वरूप रहेछ।’
डा हेमाङ्गमाथिको धम्की प्रकरण यतिमै रोकिएन। २०६३ साल बैसाख २१ उनी आफ्नो गाडीको पछाडि सिटमा बसेर केएमसीको सिनामङ्गलस्थित अस्पताल गइरहेका थिए। त्यसदिन उनलाई कसैले मोटरसाइकलमा पछ्याइरहेको रहेछ। त्यसबारे डा दीक्षितलाई कुनै सुइँकोसम्म थिएन।
उनले घटनाको विवरण सुनाए, ‘बिहान सवा ९ बजेको कुरा हो, म गाडीमा बसेर सुडोकु खेल्न मस्त थिएँ। अचानक गोलीे चल्यो। गाडीको देब्रेतिरको सिसा फुट्यो। मलाई कुममा गोली लागिसकेको रहेछ। के भयो भन्ने बुझ्नै सकिनँ। बोली पनि निस्केन। अस्पताल नजिकै भएकाले तुरुन्तै ‘इमर्जेन्सी’मा लगियो। डा सुनिल शर्माले अपरेसन गर्नुभयो। मेरो भाग्य बलियो, अपरेसन सफल भयो।’ दुईवटा गोलीले पनि डा हेमाङ्गको जीवन हर्न सकेन। त्यो घटनाबाट उम्किएका उनी नयाँ जीवन पाएको अनुभव गर्छन्।
घटना पछि पर्दाफास भयो। कुनै एक आपराधिक समूहले बारम्बार प्रयास गर्दा पनि केएमसीका अध्यक्षसँग कुरा गर्न नपाएको रिसले उनीमाथि आक्रमण गरिएको रहेछ। गोली काण्डपछि अस्पतालमै भर्ना भएको अवस्थामा समेत उनलाई ज्यान लिने हल्ला चलेपछि उनको सुरक्षा निकै कडा पारिएको थियो।
गोली काण्डपछि पनि उनलाई धम्कीको फोन आउन छोडेन। मिलन लामा नामका व्यक्तिले उनीसँग धम्कीकै शैलीमा घटनाबारे क्षमायाचना गरे। क्षमा माग्नुको उद्देश्य रहेछ– गोली काण्डमा पक्राउ परेको साथी छुटाउनु। पछिसम्म कि साथी छुटाउनु प¥यो कि पैसा दिनुपर्यो भन्दै उनलाई तारन्तार फोनबाट धम्की आई नै रह्यो।
उनले घटनाको पछिल्लो अवस्थाबारे सुनाए, ‘म पैसा दिएरै भए पनि उनीहरूबाट पन्छिने मनस्थितिमा पुगिसकेको थिएँ। एउटा शान्त जीवन बाँचिरहेको मान्छे कतिन्जेल यस्तो त्रास लिएर बस्न सक्थेँ र। दसैंको बेला थियो। म घरमै टिभी हेरेर बसिरहेको थिएँ। भारतीय च्यानल ‘स्टार न्युज’मा आएको समाचारले मेरो ध्यान तान्यो। समाचार मलाई गोली हान्न लगाउने सन्दिप पाठक उर्फ ‘मिलन लामा’ दिल्लीमा पक्राउ परेको विषयमा थियो। त्यसपछि मैले कुचोले बढार्नु पर्ने कसिङ्गर हावाले उठाएर लगेको महसुस गरेँ।’
०००
यद्यपि, अनाहकमा गोली खानु परे पनि डा दीक्षित आफ्नो पेसा र कर्तव्यप्रति कहिल्यै विचलित भएनन्। कुनै बेला संकटमा परेको केएमसीलाई उनले उचाइमा पु¥याएर छाडे।
१२ वर्ष केएमसीमा प्राचार्यको जिम्मेवारी सम्हाल्दा विद्यार्थी, प्राध्यापक, कर्मचारी कसैप्रति न त पूर्वाग्रह नै राखे न त उनलाई कसैले खोट लगाउन सक्यो। डा हेमाङ्गको एउटै सूत्र थियो, ‘गुणस्तरीय शिक्षामा कहिल्यै पनि सम्झौता गर्न हुँदैन र आफ्नो पेसाप्रति कहिल्यै बेइमानी गर्नु हुँदैन।’
यही मन्त्र नै डा हेमाङ्गले आफ्ना शिष्यहरूलाई दिएको अमूल्य उपहार हो।
प्राचार्यबाट सन् २०१२ मै बिदा लिए पनि ज्ञान बाँड्ने कर्ममा उनी अझै उत्तिकै सक्रिय छन्। उमेरले ८२ वर्ष पुगिसकेका उनी साताको ६ दिन चिकित्साका शिक्षक र विद्यार्थीलाई आफ्नो ज्ञान, सीप र अनुभव बाँड्छन्। नेपाली चिकित्सा क्षेत्रको सुरुवाती इतिहाससँग जोडिएका डा हेमाङ्ग हिजोआज एकै कुरामा आफूलाई निश्चिन्त भेटाएको बताउँछन् कि ‘सक्रियता नै दीर्घायु जीवनको सवैभन्दा महत्वपूर्ण सूत्र हो’।