काठमाडौं– २०४५ साल असोज १३ गते नेपाली चिकित्सा क्षेत्रमा हेमोडायलाइसिस सेवा सुरु भएको पहिलो दिन।
मिर्गौला फेल भएक बिरामीको जीवन लम्ब्याउने उपचार विधि हेमोडायलाइसिस सेवा वीर अस्पतालबाट सुरु भएको थियो। मिर्गौला असफल भएमा बिरामीको रगत शुद्धीकरण गर्ने कृत्रिम विधिलाई ‘डायलाइसिस’ भनिन्छ।
सेवा सुरु भएको आज ३१ वर्ष पुरा भएको छ।
हेमोडायलाइसिस सेवा सुरु गर्ने डा पुष्कर राज सत्याल, डा धनन्जय प्रसाद रिमाल र टेक्निसियन गंगालाल श्रेष्ठ भने यो संसारमा छैनन्।
०००
नर्स प्रभा शर्मा हेमोडायलाइसिस सेवा सुरु गर्ने नर्सहरुमध्येकी एक हुन्।
तत्कालिन समयमा उनीसहित डाक्टर पुष्कर राज सत्याल, डा धनन्जय प्रसाद रिमाल, गंगालाल श्रेष्ठ र नर्स निर्माला श्रेष्ठले हेमोडायलाइसिसको पहिलो तालिम लिएका थिए।
५ जनाको टोलीले तत्कालिन पश्चिम जर्मनीमा पुगेर एक वर्षको तालिम लिएका थिए। उनीहरुले वीर अस्पतालमा हेमोडायलाइसिस सेवा सुरु गर्ने भनेर २०३३ सालमा नै तालिम लिएका थिए।
नर्स प्रभा भन्छिन्, ‘तालिम लिएर त आयौँ तर यहाँ जर्मनीले दिएको मेसिनले काम नै गरेन। त्यसपछि हामीले हेमोडायलाइसिस सेवा नै सुरु गर्न सकेनौं।’
तालिम लिएर आए पनि तालिमको उपयोग नभएपछि उनीहरुले तत्कालिन समयमा हेमोडायलाइसिस सेवा चलाउनु पर्छ भन्ने पहल गरिरहेका थिए।
तर, सहयोग भने मिलेको थिएन।
नर्स प्रभा भन्छिन्, ‘हेमोडायलाइसिसको तालिम लिए पनि आइसियु, सिसियु लगायत अन्य वार्डहरुमा नै काम गर्नु परिरहेको थियो।’
तत्कालिन समयमा मिर्गौल फेल भएर डायलाइसिसका लागि भारतमा जानु पर्ने बाध्यता थियो।
आर्थिक रुपमा सक्षम बिरामी भारतमा पुगेर डायलाइसिस गराउँथे भने नसक्ने बिरामीको उपचार अभावमा मृत्यु कुर्नुको बिकल्प थिएन।
वीर अस्पतालमा हेमोडायलाइसिसको सेवा सुरु गर्ने विषयमा बहस चलिरहेको थियो।
२०४५ सालमा डा ऋषिकुमार काफ्ले सहित केही नर्सहरुको टोलीले भारतमा पुगेर तालिम लिएर आए। तालिम लिएर आए पनि सेवा सुरु भएन।
तत्कालिन समयमा नेपाली सेनाका कमान्डर इन चिफको पनि मिर्गौला फेल भएको थियो।
उनी हप्ताको दुईपटक भारत पुगेर डायलाइसिस गराउँथे।
यो कुरा तत्कालिन राजा विरेन्द्र शाहको कानमा पुग्यो।
उनले हेमोडायलाइसिस सेवा किन सुरु भएन भनेर जिज्ञासा राखे।
वीर अस्पतालका डाक्टर तथा नर्सले उपकरण लगायतका केही मेसिनको अभाव भएको जानकारी गराए।
राजाको आदेशमा एक साता भित्र अस्पतालमा हेमोडायलाइसिस सेवा सुरु गर्ने सम्पूर्ण उपकरण सहितको पूर्वाधार आइपुग्यो।
‘त्यतीबेला भारतले तीन वटा उपकरण सहयोग गरेको थियो’ नर्स प्रभाले जानकारी दिइन्, ‘तीनमध्ये एउटा मेसिन भने बिग्रिएको थियो। त्यसपछि हामीले दुई वटा मेसिनबाट डायलाइसिस सेवा सुरु गर्यौँ।’
०००
हेमोडायलाइसिस सेवा सुरु भएपछि उपचारका लागि भारतमा जानु पर्ने बाध्यतालाई धेरै हदसम्म रोक्न सफल भएको थियो, वीर अस्पताल। तर, उक्त समयमा कहिले डायलाइसिसका लागि आवश्यक फ्लुड नपाउने, कहिले डायलाइजर नपाउने त कहिले पानी सुद्धिकरण गर्ने मेसिन बिग्रने जस्ता समस्या आइरहेको थियो।
‘हामीले तमाम समस्यालाई चिर्दै डायलाइसिस सेवाको विस्तारमा निरन्तर लागि नै रह्यौँ,’ नर्स प्रभाले जानकारी दिइन्। उनका अनुसार वीर अस्पतालको डायलाइसिस युनिटमा नै गायक नारायणगोपालको समेत डायालइसिस भएको थियो।
०००
अस्पतालमा अहिले नियमित सेवा अन्तर्गत १४ वटा, एचआइभी तथा हेपाटाइटिस संक्रमण भएकाका लागि ३ र आइसियुमा २ वटा गरी १९ वटा डायलाइसिस सेवा सञ्चालनमा छ।
डा मिरा हाडाका अनुसार २ वटा मेसिनबाट सुरु भएको सेवा विस्तार हुँदै जानु सुखद कुरा भए पनि माग अनुसार दिन नसक्नु समस्या भएको बताइन्। उनले काठमाडौंसँगै देशका जिल्ला अस्पतालमा समेत डायलाइसिस मेसिनको विस्तार गर्नुपर्ने बताइन्।
नेपालमा हेमोडायलाइसिस सेवा सुरु भएको ३१ वर्षको अवधिमा अहिले देशका ५५ वटा अस्पतालमा ४ सय ९० भन्दा बढी मेसिनबाट ४ हजार भन्दा बढीले डायलाइसिस सेवा लिइरहेका छन्।
के हो हेमोडायलाइसिस ?
डायलाइसिस मेसिनको सहयोगमा मिर्गौला रोगीहरुको रगत शुद्धीकरण गर्ने प्रक्रिया होमो–डायलाइसिस हो । बिरामीको शरीरमा दुईथरि नसा जोडेर ‘फिस्टुला’ बनाइन्छ र सुइको माध्यमबाट रगत निकाल्न सजिलो पारिन्छ।
शरीरबाट रगत निकालेर मेसिनमा पठाइन्छ, मेसिनले रगतको शुद्धीकरण गरेर फेरि शरीरमा फिर्ता पठाउँछ । प्रयोग गर्न सजिलो भएकाले प्रायः यही प्रविधि अपनाइएको देखिन्छ।
डायलाइसिसका क्रममा बिरामीहरु एक पटकमा २ देखि ४ घन्टासम्म बस्नुपर्ने हुन्छ।
मिर्गौलाका बिरामीहरुले हप्ताको ३ पटकसम्म होमो–डायलाइसिस गर्नुपर्ने हुन सक्छ। विकसित मुलुकमा घरमै यस्तो संयन्त्र जडान गर्न सकिने भए पनि नेपालमा भने अस्पतालहरुमा मात्रै यस्तो सेवा उपलब्ध छ । पेरिटोनियल डायलाइसिसको तुलनामा यो विधिमा संक्रमणको जोखिम कम हुन्छ।