काठमाडौं – वरिष्ठ न्युरो सर्जन डा गोपालरमण शर्माले चिकित्सकीय अभ्यासका क्रममा हजारौँ शल्यक्रिया गरेका छन्। यो अवधिमा उनले केही मिनेटदेखि घन्टौँ लामो शल्यक्रिया समेत गरेका छन्।
तर, केही दिनअघि डा शर्माले आफ्नो चिकित्सकीय अभ्यासका क्रममा मस्तिष्कको हालसम्मकै सबैभन्दा लामो र जोखिमपूर्ण शल्यक्रिया गरे। डा शर्माको नेतृत्वमा १७ जनाको टोलीले १८ घन्टा लामो जटिल शल्यक्रिया गरेका हुन्।
डा शर्माको टोलीले मेडिसिटी अस्पतालमा ३५ वर्षीया भद्री क्षेत्रीको मस्तिष्कको जटिल मानिने आर्टेरियोभेनस मालफर्मेसन (एभिएम)को सफल शल्यक्रिया गरेका हुन्।
शल्यक्रिया कात्तिक ५ गते भएको थियो। शल्यक्रियापछि बिरामीको स्वास्थ्यमा सुधार आइसकेको छ।
डा शर्मा भन्छन्, ‘यो शल्यक्रिया मेरो जीवनकै सबैभन्दा लामो र जोखिमपूर्ण हो।’ डा शर्माले यसअघि यस्तै प्रकारका शल्यक्रिया १५ घन्टासम्मको गरेका छन्।
नवलपरासी गैंडाकोटकी ३५ वर्षीया क्षेत्री ब्रेनहेमरेज भएर अस्पताल भर्ना भएकी थिइन्।
अस्पताल भर्ना भएकी क्षेत्रीको आवश्यक जाँच र तयारीपछि ५ गते बिहान १० बजे शल्यक्रिया गर्न सुरु गरिएको थियो। उक्त शल्यक्रिया भोलिपल्ट अर्थात् ६ गते बिहान ४ बजेमात्र सकिएको थियो।
आर्टेरियोभेनस मालफर्मेसन (एभिएम) के हो?
एभिएम भनेको मस्तिष्कको जटिल रोग हो। यस अवस्थामा मस्तिष्कभित्र रहेका रगतका नसाहरु असामान्य रुपमा गुजुल्टो परेर बसेका हुन्छन्। यसका कारण मस्तिष्कमा रगत प्रवाह र अक्सिजन प्रवाहमा समस्या आउन सक्छ। उक्त असामान्य रगतको गुजुल्टोका कुनै भाग फुटेर मस्तिष्कमा रगत बग्ने सम्भावना बढी हुन्छ। क्षेत्रीको हकमा पनि यही समस्या देखिएको थियो। उक्त समस्यापछि शल्यक्रिया गरिएको हो।
डा शर्माका अनुसार ती बिरामीको मस्तिष्कको चार भागको एक भाग एभिएमले नै ओगटेर बसेको थियो। नेपालमा यस्तो खालको शल्यक्रिया गर्न एक–दुई जना न्युरो सर्जनले मात्र हिम्मत गर्छन्। डा शर्मा तीनै हिम्मतिला मध्येका एक हुन्।
डा शर्मा भन्छन्, ‘युवा उमेरका ती बिरामीको हेमरेज भइसकेको थियो। यस्तो अवस्थामा शल्यक्रिया बाहेकको अरु विकल्प थिएन। त्यही भएर जोखिम मोलर यो शल्यक्रिया गरिएको हो।’
कसरी गरिन्छ यो शल्यक्रिया?
एभिएम शल्यक्रियामा मस्तिष्कमा रगत बगिरहेको नसालाई बन्द गर्दै काट्दै निकाल्नुपर्ने हुन्छ। जसरी हामी बमलाई डिफ्युज गर्नको लागि तार छुट्याउछौँ, त्यसरी नै यसमा सामान्य र असामान्य रगतका नसाहरुलाई छुट्याउनुपर्छ। स्वस्थ र सामान्य नसा काटियो भने खुट्टा नचल्ने, बोल्न नसक्ने र बिरामीको ज्यानै जान सक्ने हुन्छ।
त्यसैले यस्तो शल्यक्रिया गर्दा समय लाग्ने डा गोपालरमण बताउँछन्।
उनका अनुसार रगत सप्लाई गर्ने प्रत्येक नसालाई एक एक गर्दै परीक्षण गर्दै काट्दै, छुट्याउँदै गरिन्छ। यदि त्यसमा अलिकति पनि गल्ती भयो भने रगत बग्न सुरु हुन्छ र त्यतिबेला नै रगत रोक्न सकिन्न। र, शरीर सुन्निएर बिरामीको मृत्यु हुन सक्छ। चिकित्सकले पनि निकै होसियारीका साथ काम अगाडि बढाउनुपर्ने हुन्छ।
शल्यक्रिया टिममा को–को थिए?
डा शर्माको नेतृत्वमा भएको उक्त शल्यक्रिया टोलीमा डा सुमित जोशी, डा प्रकाश पौडेल, डा प्रसन्ना कार्की, डा डम्बरविक्रम कार्की, डा बाबुराम पोखरेल, डा प्रभाव उपाध्याय, डा दिप्तेश अर्याल, डा किशोर खनाल र डा हेमन्त अधिकारी थिए। यस्तै नर्सहरुमा राधिका खत्री, शुभेच्छा कार्की, कृति चौधरी, करुना मगर, रेखा गौतम र धनलक्ष्मी तामाङ थिए। यसका साथै ओटी टेक्निसियन गणेशकुमार श्रेष्ठ पनि टोलीमा थिए।
कति छन् यस्ता बिरामी?
नेपालमा यो समस्या भएका बिरामी कति छन् भन्ने आधिकारिक तथ्यांक छैन। तर, चिकित्सकहरुले विभिन्न देशमा भएको अनुसन्धान र नेपालमा देखिएको बिरामीको अनुपातका आधारमा अनुमान लगाउने गरेका छन्।
डा शर्माका अनुसार यो समस्या १ लाख जनसंख्यामा २० जनामा हुने सम्भावना रहन्छ। नेपालको जनसंख्या ३ करोड छ भने करिब ६ हजारमा यो रोग हुनसक्ने अनुमान गरिएको छ।
यो रोगको लक्षण सबैमा देखा नपर्ने हुँदा कति बिरामीको उपचार नै नपाई मृत्यु हुने गरेको डा शर्मा बताउँछन्। ‘६० प्रतिशत मान्छेहरु बे्रन हेमरेज नै लिएर आउँछन्, त्यसपछि २० प्रतिशत छारेरोगको लक्षण लिएर आउँछन् भने १५ प्रतिशतमा लक्षण नदेखिन सक्छ,’ उनले भने, ‘५ प्रतिशतमा कोहीलाई टाउको दुख्ने तथा रिंगटा लाग्ने हुन्छ।’
शल्यक्रिया नसकिउन्जेल रातभर जाग्राम बसेँ
मानसिंह क्षेत्री, बिरामीका श्रीमान्, नवलपरासी
करिब १ महिना अगाडि दसैँको सप्तमीका दिन मेरी श्रीमती भाद्री चितवनको मौलाकालिका मन्दिर जाने भनेर सल्लाह गर्न साथीकोमा गएकी थिइन्। त्यहाँ एकछिन गफिएपछि बेहोस् भइन्। स्थानीय अस्पतालमा लाँदा चितवनको सिएमएसी लाने सल्लाह भयो।
त्यहाँ डा अजित श्रेष्ठले एभिएमको शंका गरी डा गोपालरमणलाई रेफर गर्दै मेडिसिटी पठाए। आखिर यहाँ पनि यही रोग पत्ता लाग्यो र अप्रेसन गर्न भनियो। डाक्टरले मलाई अप्रेसन लामो हुन सक्छ भनेर भनेका थिए तर यति लामो हुन सक्छ भनेर सोचिएको थिएन। बिहान ९ बजे ओटी लगिएको उनलाई मैले अर्को बिहानको ५ बजे हेर्न पाएँ।
त्यति समयको बीचमा डर नलागेको पनि होइन, तर विश्वास पनि थियो डाक्टरहरुले राम्रो गर्दिनुहुन्छ भन्ने। फेरि डा गोपालरमण अन्तर्राष्ट्रिय क्षेत्रमै राम्रो डाक्टर भन्ने सुनेको थिएँ। त्यति समयमा त्यहाँ ओटीमा रहेका नर्स, डाक्टर बेलाबेलामा आउनुहुन्थ्यो, अझै समय लाग्छ होला भनेर खबर गर्न। म रातभर त्यहीँ धैर्य गरेर बसेँ। मसँगै जेठान र साढु दाइ थिए। ३ जना निदाएनौँ पटक्कै।
यो दिन मेरो लागि यादगार दिन हो। पैसा खर्च भए पनि सफल उपचार भएको छ। अहिले श्रीमती हिँड्डुल गर्न सक्छिन्, ठिक छ, सायद छिट्टै घर फर्किन्छौँ होला। ठाउँमा आइएको रैछ भनेर खुसी छु। डाक्टरहरुले शल्यक्रिया सफल पार्दिनुभएकोमा खुसी छु।