हेल्लो काव्या,
केही चिठी यस्ता पनि हुन्छन्, जो सम्बोधन गरिएको पात्रलाई लेखिएको हुँदैन। यो चिठी पनि तिम्रा लागि लेखिएको होइन काव्या। यो चिठी यसकारण लेखिएको हो कि, त्यसरात तिलिचो बेस क्याम्पमा के भएको थियो संसारले थाहा पाउनुपर्छ।
काव्या, पहिलो पटक हाम्रो भेट हुँदा तिम्रा खुट्टा लड्खडाएका थिए। तिमी पूरै अचेत त थिइनौ तर सायद म को हुँ भनेर चिन्न सक्ने अवस्थामा तिमी थिइनौ। तर मेरो परिचय तिमीलाई दिनका लागि यो चिठी लेखेको होइन। यो चिठी लेख्नुको एउटै स्वार्थ छ , तिमीले भोगेको जस्तो नियति फेरि कसैले भोग्न नपरोस्।
तिलिचो बेस क्याम्पमा सिजनकै पहिलो हिउँ त्यस साँझ परिरहेको थियो। ठ्याक्कै त भन्न सक्दिनँ तर तापक्रम माइनसमै झरिसकेको थियो। ४१५० मिटरको अल्टिच्युड जहाँबाट बादल देख्न पनि तलतिर हेर्नपर्थ्यो, खोई कताबाट हो जमेका बरफ खसिरहेका थिए।
काव्या तिमी पनि ठिक त्यही बरफ जस्तै विस्तारै जम्दै गइरहेकी थियौ। लड्खडाएका खुट्टा टक्क अडिएका, न बोलाउँदा कुनै प्रतिक्रिया। घाँटी नजिकै बेस्सरी चिमोटिदिएँ, बल्ल तिमीले मेरो हात हटाउने प्रयास गर्यौ। सायद हाई अल्टिच्युड (लेक लागेर) तिम्रो मस्तिष्कमा पानी जम्मा हुने प्रक्रिया सुरु भइसकेको थियो।
रातिको आठ बजेको हुँदो हो तिम्रा साथीहरु हस्याङफस्याङ गर्दै म बसेको होटेल आइपुगेका थिए, ‘प्लिज हाम्रो साथीलाई हेरिदिनोस् न धेरै नै इमरजेन्सि छ,’ झोलामा भएका औषधि, स्टेथेस्कोप अनि अक्जिमिटर बोकेर म उनीहरुकै सारमा दौडिएँ।
फुसफुस परिरहेको हिउँको कसैलाई वास्ता भएन। टाउकोमा टोपी छ वा छैन, परवाह थिएन, बस् हामी दौडिरह्यौँ।
काव्या, सायद तिमी यहाँसम्म विस्तारै आइदिएको भए त्यो चिसोमा तिम्रा साथीहरुले त्यसरी दौडन पर्दैन थियो होला।
तिमी आत्तिरहेकी थियौ। तर मुखबाट आवाज भने पटक्कै आइरहेको थिएन। दुवै हातले जोडसँग आफ्नो टाउको समातिरहेकी थियौ, मानौँ तिम्रो टाउको भित्र बम फिट गरिएको छ र अबको केही क्षणमै त्यो ठूलो गर्जनका साथ बिस्फोट हुँदैछ।
म ढोकाबाट छिर्दै गर्दा तिमीले खाटबाट बसेर ढोकासम्मै पुग्ने गरी बान्ता गरिदियौ ठिक त्यसैगरी जसोगरी लामा दूरीका क्षेप्यास्त्रहरु आकाशमा फालिन्थे।
त्यसपछि त मुढो लडेको जसरी डङ्रङ्ग लड्यौ।
हत्तपत्त तिम्रा हात तानेर अक्जिमिटर जोड्न खोजेँ। नङ पालिस नलगाएको देब्रे हातको साइँली औँला मेरो छनोटमा पर्यो।साथीहरु भन्दै थिए, तिलिचो जाने भन्ने खबरले ऊ यति उत्साहित भई कि लगाइरहेको नङ पालिस पनि उसले पूरा गर्न भ्याइन।
लेकको यात्रा गर्दा यति बिघ्न हतार गर्न हुँदैन थियो काव्या।
अक्जिमिटरले तिम्रो रगतमा अक्सिजनको मात्रा जम्मा ६० देखायो।
काव्या, चाहेर पनि म त्यहाँ आत्तिन सक्दिनथेँ किनभने तिम्रा साथीहरु पहिल्यै निकै हतास थिए र ममा नै आशाको अन्तिम किरण देखिरहेका थिए।
एक महिना अघिको घटना सम्झिएँ, जतिखेर टिचिङ अस्पतालको इमर्जेन्सीमा ड्युटी गरिरहेको अवस्थामा यसैगरी रगतमा अक्सिजनको मात्रा ६० भएका बिरामी आएका थिए।
मलाई राम्रोसँग याद छ, काठमाडौँको सुविधासम्पन्न अस्पतालमा समेत उसलाई बचाउन निकै हम्मेहम्मे भएको थियो। तिमी त यस्तो ठाउँमा आएर बिरामी परेकी थियौ, जहाँ गर्न सकिने अधिकतम उपचार भनेको ढाडस दिनु मात्र थियो।
भाग्यवस होटलमा अक्सिजनको सिलिन्डर रहेछ।
'धेरैबेर चाहिँ चल्दैन है पोहोर नै लगाको २–३ जनालाई, एक घन्टा जतिलाई मात्र छ होला।'
साहुजीले अलिकति जागेको आशालाई पनि कच्याक्क कुल्चिदिए। काल टार्ने होइन, हाल टार्ने अस्त्र मात्र साहुजीसँग थियो, त्यसमा पनि अक्सिजन लगाएको मिनेटको सय रे, ५ मिनेटको पाँच सय, दस मिनेटको हजार। मैले अक्सिजन माक्स जोड्नु अगाडि तिम्रा पाँचै जना साथीको मुखमा एकपल्ट पुलुक्क हेरेँ। कसैले पनि साहुजीको यो दररेटमा प्रतिवाद गरेनन्।
काव्या तिमीलाई गम्भीर प्रकृतिको लेक लागेको थियो।
यसलाई हामी हाई अल्टिच्यूड सेरेब्रल इडेमा (हेस) पनि भन्छौँ। कम उचाइ भएको ठाउँबाट एक्कासि हिमाली तथा उच्च पहाडी भूभागमा पुग्दा लेक लाग्छ। लन्डन बसेर पढिरहेकी तिमीलाई पक्कै पनि यसबारे जानकारी थियो होला काव्या।
साथीहरुले बताएअनुसार पहिलो दिन बेसीसहर (८०० मिटर) बाट तिमी जिप चढेर एकै दिनमा खाङसार (३८०० मिटर) आइपुगेकी थियौ, अनि दोस्रो दिन तिलिचो बेस क्याम्प (४२०० मिटर)।
जतिजति माथि गयो, वायुमण्डलमा हावाको प्रेसर कम हुँदै जाने हुनाले हाम्रो शरीरले चाहिने जति मात्रामा अक्सिजन प्राप्त गर्न सक्दैन।
विस्तारैविस्तारै गरेर लेकमा पुग्दा शरीरले रातो रक्तकोशिका बढाउँदै जान्छ।
हेमोग्लोबिनको उत्पादन पनि क्रमशः बढाउँदै लैजान्छ, जसले गर्दा कम अक्सिजन प्राप्त भएको खण्डमा पनि शरीरले आफूलाई समायोजित गरिसकेको हुन्छ। तसर्थ उच्च भूभागमा यात्रा गर्नुछ भने २–४ दिन बढ्ता लगाएर भए पनि बास बस्दै यात्रा गर्नुपर्छ।
साहुजीको मिनेटको सय पर्ने अक्सिजनले अक्सिमिटरको सुइलाई केही उकालो त लगाएको थियो तर त्यतिले मात्र ज्यान जोगिँदैन भन्ने कुरा मैले राम्रोसँग बुझेको थिएँ। मसँग पनि खास औषधि केही थिएन।
एउटा रिसर्चको सिलसिलामा विगत केही दिनदेखि म र एक जना साथी तिलिचोमा थियौँ र आफ्ना लागि चाहिने केही आधारभूत औषधि मात्र हामीसँग थिए।
घोचो देखाएर बाघ धपाउन सकिँदैन काव्या। जब यही कुरा मैले तिम्रा साथीहरुलाई बताएको थिएँ, पाँचै जनाको आँखा रसाउन थाले।
मैले औषधिको झोला खोतलेँ।
एउटा सिरिन्जमा ‘डेक्जोना’ लोड गरेँ। तिम्री साथीले सुरुवाल तल सारिदिइन्, मैले पछाडि पट्टि सुई लगाइदिएँ। तिम्रो मस्तिष्कमा जम्दै गरेको पानी कम गर्ने यो नै सबैभन्दा उत्तम उपाय थियो।
काव्या सुईले त्यसरी निर्मम तरिकाले घोच्दा पनि तिमी बिल्कुल प्रतिक्रिया बिहिन थियौ। तर तिम्रो मुटु चलिरहेको छ भन्ने प्रमाण अक्जिमिटरमा १३० को गतिले दौडिरहेको मिटरले भने देखाइरहेको थियो। हिजो तिमीले यहाँ आइपुग्न जसरी हतार गरेकी थियौ, त्यसरी नै आज तिम्रो मुटुले धड्किन हतार गरिरहेको थियो।
साहुजी घडी हेर्दै खातामा पैसा जोड्दै थिए।
अक्सिजनले कतिखेर धर्म थेग्न छाड्छ टुङ्गो थिएन।
तिम्रो अवस्थामा पनि खासै सुधार भएको थिएन।
यस्तो अवस्थामा लेकको सबैभन्दा अचुक औषधि भनेको बेसी झर्नु नै हो। ५०० देखि १००० मिटर मात्रै तल झार्न सके पनि ज्यान जोगिने कुरा साथीहरुलाई बताएँ।
तर यति राति कसले झार्ने काव्या तिमीलाई तल।
घोडाले रातमा आँखा देख्दैन। बल्लतल्ल एक जना हिँड्न मिल्ने भीरको बाटो छ। यसमा पनि साहुजीले हलुका आशा देखाए।
'६० हजार लाग्छ, मेरो केटाहरुले तल खाङसार पुर्याइदिन्छ।' साहुजीको यस प्रस्तावमा पनि कसैले नाईं–नास्ती गरेनन्।
तर काव्या साहुजीका कोही पनि केटा खुट्टा टेक्ने अवस्थामा नै थिएनन्। जिउ तताउन खाए पनि रमले खुट्टा त लरबराइहाल्छ। हुन त रमको त्यो गन्ध तिम्रो र तिम्रा साथीहरुको मुखबाट पनि आइरहेको कुरा मैले अघि चाल पाइसकेको थिएँ।
काव्या, तिलिचो वा कुनै पनि हिमाली भूभागको यात्रा गर्नु नगरकोट वा ककनी पिकनिक गएजस्तो होइन। यसमा निकै नै धैर्यता अनि पथपरेज चाहिन्छ। चुरोट, रक्सी वा अन्य लागुपदार्थ सेवनले तिम्रो हिमालको यात्रालाई सदैव जोखिममा पार्छ।
तिम्रो मस्तिष्कमा एक्कासि पानी जमेर यो अवस्था आएको पक्कै पनि होइन। यो हुनु अगावै लेक लागेका अन्य संकेतहरु पक्कै महसुस गरेकी थियौ होला।
तिमी लेकमा जाँदै छौ र तिमीलाई टाउको दुख्न थाल्यो भने यसलाई कहिल्यै नजरअन्दाज गर्न हुँदैन।
'काव्याले श्रीखर्कमा हुँदै टाउको दुख्यो भनेकी थिई'
'अनि कसैले पनि आज यहाँ भन्दा माथि नजाउँ भनेर भन्नु भएन?'
'होइन, हामीले त एक दिन मनाङमै बसौँ अनि बल्ल माथि जाऔँला भनेका थियौँ तर काव्याको पर्सि रातिको लन्डनको फ्लाइट छ, त्यसैले यति हतारहतारमा आउन पर्यो।'
काव्या दस बजेको हुँदो हो तिमीले आफ्नो हात खुट्टा चलायौ। साहुजीको अक्सिजन अघि नै धिपधिप गर्न थालिसकेको थियो।
काव्या, काव्या हामी तिमीसँग बोल्न खोज्दै थियौँ तब तिमीले फेरि जोडले बान्ता गर्यौ। मेरा कपडा पूरै तिमीले अघि खाएको चाउचाउ सुपले ढाडिए। तर मलाई मेरा कपडा भन्दा पनि तिम्रो ज्यानको बढी पीर पर्न थाल्यो।
मैले अर्को सिरिन्जमा चार एमजि 'अन्डेम' लोड गरेँ अनि पाखुरा नसाबाट औषधि दिएँ तर पनि त्यस्तो खाले प्रोजेक्टाइल भोमिटिङले (जोडले वान्ता आउनु) खासै राम्रो संकेत गर्दैन। सम्भावित खतराहरुको बारे तिम्रा साथीहरुलाई जानकारी दिएँ।
सबै आत्तिइसकेका थिए।
यस्तो अवस्थामा तिम्रो घरमा थाहा दिने कि नदिने ठूलो द्विविधा भयो।
अन्त्यमा तिम्रो ममीलाई फोन गरेर बताउने निर्णयमा हामी पुग्यौँ किनभने काव्या तिम्रो अवस्था अत्यन्त जटिल भइसकेको थियो र तिमीलाई जसरी पनि तुरुन्त तल झार्नुपर्ने अवस्था थियो। तिम्रा अभिभावकले केही उपाय लगाउन सक्छन् कि भन्ने झिनो आश पलाएको थियो।
रातको ११ बजेको थियो, साहुजीले मिनेटको २०० लाग्ने सर्तमा उनको सेटलाइट फोन हामीलाई थमाइदिए।
'मानुषीजी नमस्ते, अहिले काव्या तिलिचो बेस क्याम्पमा छ र उसलाई गम्भीर प्रकृतिको लेक लागेर अचेत अवस्थामा छ। म पेसाले डाक्टर हुँ र मैले यहाँ उपलब्ध सम्पूर्ण औषधि प्रयोग गरिसकेको छु। तर उसको अवस्थामा सुधार भएको छैन। यस्तो बेला तुरुन्त उसलाई तल झार्न सकिएन भने जुनसुकै बेलामा पनि उसको ज्यानलाई खतरा हुनसक्छ।'
मैले १०० रुपैया अर्थात् ३० सेकेन्ड खर्च गरेर आफ्ना सम्पूर्ण कुरा राखिसक्दा अर्ध निन्द्रामै रहनुभएकी तिम्री ममी अक्क न बक्क पर्नुभएको थियो।
'मैले के गर्न सक्छु त' उहाँले यत्ति भन्नुभएको थियो।
'अन्टी हेलिकोप्टर' मैले यति भन्न नपाउँदै फोन टक्क काटियो।
म जसरी हुन्छ तिमीलाई तल झार्न चहन्थें काव्या। पर काउन्टरमा बिस्तारा मिलाउँदै गरेका साहुजीले हाँस्दै भने, 'यो बेला तिलिचोमा आउन सक्ने हेलिकोप्टर त अमेरिकाले पनि बनाएको छैन होला।”
हो, साहुजीको कुरा सोह्रै आना ठिक थियो। कुहिरोले जतिखेरै ढाकिरहने हाम्रा उच्च हिमाली क्षेत्रहरुमा दिउँसै त जतिखेर भन्यो त्यतिखेर हेलिकोप्टर आउन सक्दैनन् झन यो त मध्यरातको समय। पैसै मात्र भएर पनि सबै ठाउँमा सबैथोक उपलब्ध नहुन सक्छन्। त्यसैले काव्या यहाँ आउनुभन्दा अगाडि तिमीले धेरैकुरा सोच्नु पर्थ्यो।
– टाउको दुख्नु
– वाकवाकी लाग्नु, खान मन नलाग्नु
– थकान महसुस हुनु
– रिङ्गटा लाग्नु
यी सब लेक लाग्नुका संकेतहरु हुन्, जुन देखिनासाथ तिमीले जबरजस्ती झन् लेक उक्लन हुँदैन थियो। धेरै गाह्रो भएमा तल झर्ने नभए एक रात त्यहीँ बिताएर मात्र थप माथिको यात्रा तय गर्नु पर्दथ्यो।
तर तिमीले त यति लामो यात्रालाई दुई दिनमा छोट्याइदिएकी थियौ, अझ लेक लाग्दालाग्दैको अवस्थामा पनि।
यसरी लेक लाग्दालाग्दै पनि जबरजस्ती माथि चढ्दा मस्तिष्क साथै फोक्सोमा पानी जम्न थाल्छ, जसका कारण ज्यान गुमाएका थुप्रै उदाहरण छन् काव्या।
१२ बजे तिम्रो घरमा फेरि फोन घुमायौँ।
खरमा आगो सल्के जसरी खबर सबैतिर पुगिसकेको रहेछ। यस पटक तिम्रो मामाले फोन उठाउनु भयो।
लन्डनमा रहनुभएको तिम्रो बाबाले पनि चाल पाइसक्नुभएको रहेछ। उहाँहरुले गर्न सक्ने सबै उपायहरु लगाइसक्नु भएको रहेछ। तर पनि त्यतिखेर तिलिचो बेस क्याम्पमा हेलिकोप्टर पुर्याउन सक्ने सामथ्र्य कसैको भएन। तिम्रो अवस्थाबारे सोध्नु भएको थियो। मैले राम्रो छ भनेर भन्न सकिनँ।
साहुजीको अक्सिजन सिलिन्डर रित्तिसकेको थियो। बेलाबेलामा तिम्रा साथीहरुलाई माउथ टु माउथ (आफ्नो मुखबाट बिरामीको मुखमा) अक्सिजन दिन लगाउँथे। हामीसँग बोल्न सक्ने नभए पनि यो बीचमा तिमीले बान्ता भने गरेनौ।
१ बज्यो अर्थात् डेक्जोना सुई लगाको ४ घन्टा भइसकेको थियो।
फेरि तिम्री साथीलाई सुरुवाल तल सारिदिन अह्राएँ अनि उसैगरी पछाडि पट्टि सुई लगाइदिएँ। डेक्जोना मसँग रहेको औषधि मध्येको ब्रम्हास्त्र थियो। यस पटक सुई लगाउँदा भने तिमीले सायद दुखाइको अनुभव गर्यौ र मेरो हात त्यहाँबाट हटाउन खोज्यौ।
यो सुधारको संकेत थियो।
न म तिमीलाई चिन्दथेँ न तिम्रा साथीहरुलाई नै, तर यो चारपाँच घन्टाको बीचमा मलाई यस्तो लाग्न थालेको थियो कि, हामी सबै साथी हौँ र काठमाडौँदेखि सँगै आएका हौँ।
तिमीले मेरो हात हटाउन खोज्दा भित्रभित्रै औधी खुसी लागेको थियो काव्या।
अब पर्खनु बाहेका हामीसँग अर्को उपाय पनि थिएन।
तिम्रा साथीहरु एकएक गर्दै झकाउन थाले। तर म भने तिमीले कतिखेर आँखा खोल्छौ भनेर पर्खिरहेको थिएँ। बिहान पाँच बजे फेरि डेक्जोना एक पटक थप्नु थियो। सबै मस्त निदाइरहेका थिए। यस पटक कसैलाई उठाइनँ। आफैंले औषधि तयार गरेँ र लगाइदिएँ।
अइया....
८ घन्टापछि बल्ल तिम्रो आवाज सुन्न पाइयो काव्या। तिम्रो दुखाइको आवाजले निदाइरहेका साथीहरु पनि बिउँझिए।
तिमी भने सबैको मुहारमा हराएको कान्ति फिर्ता गरिदिएर फेरि मस्त सुतिरह्यौ।
बिहानको सात बजे हिउँले टलक्क टल्किएको खाङसार काङ हिमाल घामको पहिलो किरणले बल्ल पहेँलपुर बन्दै थियो।
राति गुँड पसेका डाँफेहरु बल्ल चल्मलाउँदै थिए होलान्, तब तिलिचो बेस क्याम्पमा गड्गडाउँदै चर्को आवाजका साथ हेलिकोप्टर आइपुग्यो।
हेलिकोप्टरबाट प्रतिष्ठित अस्पतालका एक डाक्टर र एक नर्स अक्सिजन सिलिन्डर र फेस मास्क लिएर झरे। तिनले क्षणभरमै तिमीलाई अक्सिजन लगाए, स्ट्रेचरमा राखे अनि हेलिकोप्टरमा छिराए।
त्यसको पाँच मिनेटमा हेलिकोप्टर सायद मनाङ पुग्यो होला अनि दस मिनेटमा पोखरा। १६०० मिटरको उचाइमा रहेको काठमाडौँ पुग्दा त तिमी बोल्ने भइसकेकी थियौ होला काव्या।
अहिले तिमी कहाँ छौ, के गर्दै छौ, मलाई केही पनि थाहा छैन।
यो पत्र तिमी समक्ष पुग्छ कि पुग्दैन त्यो पनि थाहा छैन तर एक पटक भेटेर तिमीलाई यत्ति भन्न मन छ, 'विस्तारै गए अवश्य पुगिन्छ, हतार गरे भन्न सकिँदैन।'
-(लेखक दाहाल त्रिवि शिक्षण अस्पतालमा इन्टर्नसिप गरिरहेका छन्)