यो साल त यस्तै उस्तै भयो
हेर्नोस् अर्को वर्ष त जमेरै दशैँ मनाउने हो
घरमा, मामाघरमा मात्रै होइन
भर्खरभर्खरै बनेको ससुरालीमा समेत उसले यही भनेर टार्यो।
साथी भाइलाई पनि उसले आउँदो वर्षकै भाका दिएको छ।
चङ्गा पसलको साहुजीलाई इसारामै भन्यो,
अर्को वर्ष पक्का उडाउँछु
मुस्ताङबाट आएका च्याङग्राका बथानतिर त
उसले नजरै डुलाउन चाहेन।
ए त्यतातिर नहेर!
फुटेको मोबाइलको स्क्रिनतर्फ नहेर्न
च्यातिएको गोजीले पहिल्यै सचेत गरायो।
हुन त चौबाटोमा लगाएको पिङ खेल्न
तीन महिनादेखि नआएको तलब कुर्न पर्दैनथ्यो
तर एकैछिन अडिएर उसले पिङको धागो समाउन्जेल
आईसियूमा कति जनाको धागो छिनिने हो
त्यसको कुनै लेखाजोखा थिएन।
ठिक छ, यो साल यस्तै उस्तै भयो
अर्को साल मनग्गे पैसा कमाम्ला
मनग्गे छुट्टी बसौँला
अर्को वर्ष त जमेरै दशैँ मनाउँला।
हुन त केही वर्ष अघिसम्म
उसका लागि दशैँ भनेको एउटा बेग्लै माहोल थियो
घटस्थापना नआउँदै
होस्टलका कोठाहरुमा सुरु हुने ‘दशैँ प्रिमियर लिगहरु’ थिए
मल्टिप्लेक्समा हुने ‘खसी कप’हरु थिए
रातभर रातभर चल्ने दशैँ पार्टीहरु थिए
सबेरै आयोजना हुने
कहिले वारि त कहिले पारिका चियापानहरु थिए।
अब कहाँ त्यो माहोल बाँकी रह्यो र
सुन्दर भविष्यको खोजीमा, आज त्यो माहोल
अमेरिका र जर्मनीका गल्लीहरुमा भौंतारिरहेको छ
USMLE र PLAB को तयारीमा जुटिरहेको छ।
आफू भने विदेश नगएकोमा ऊ अनायासै झोक्किन्छ
झोकमा विचरा ड्युटी कोठामा अघिदेखि भुनभुनाइरहेका मच्छरहरु पर्छन्
एक जोडी मच्छरलाई मार हानेर उसले महाअष्टमी सेलिब्रेट गर्छ
अनि प्रफुल्लित हुँदै आफैंलाई सम्झाउँछ
यो साल त यस्तै उस्तै भयो
अर्को वर्ष भने जमेरै दशैँ मनाउने हो।
उसको अन्तर्मनले कति भनिरहन्छ
कहिले त ?
मनिटरका ट्याँट्याँ र टुँटुँ आवाजबाट टाढा
चराचुरुङ्गीका चिरबिर आवाज सुनेर घन्टौँ टहलिरहौँ
इमर्जेन्सीमा हुने कोलाहाल र चर्काचर्की होइन
श्रीमतीका गाली र गुनासाहरु एकटकले सुनिरहौँ
एम्बु ब्याग थिच्न छाडेर
केही समय भएपनी बुढा बा-आमाका गोडा थिचिरहुँ
रगतले होइन अबिरले हात रङ्ग्याउँ
लापरबाही गरिस भनेर धारे हात खाने होइन
‘कृतिश्च नारायणे’ भन्दै मान्यजनको आशिर्वाद थाप्न पाइयोस्।
पेटभरी समयमै खान पाइयोस्
समयमै सुत्न, उठ्न र शौच गर्न पाइयोस्
कास! वर्षमा एक दिन सुकुनले सास त फेर्न पाइयोस्।
आउँदा दशैँहरु यस्तै सुन्दर बनाउन संघर्ष गरिरहेको ऊ
झन् खुसी हुन्छ
जति दु:ख गर्नु छ, यसैपाली हो
अर्को वर्ष त जमेरै दशैँ मनाउने हो।
आफ्नो दशैँ कहिलेबाट खल्लो भयो त
आईसियूको एउटा कुनामा बसेर ऊ विगत एक दशकलाई सम्झन्छ
एमबीबीएस पढ्दा, दशैँ लगत्तै बोर्ड परीक्षा हुन्थ्यो
दशैँ बिदामा एक बोरा किताब नाइट बसमा हालेर घर लगेको
उसलाई हिजै जस्तो लाग्छ।
इन्टर्नसिप गर्दा, को घर जाने- चिठ्ठा थुतियो
नियतिले यहाँ पनि उसलाई नवरात्रभरि लेबर रुममा
लेबरकै हैसियतमा खडा गर्दियो।
दुई वर्ष दुर्गममा काम गर्दा, मेयर साप पहिल्यै जंगिन्थे
चाडबाडमा कहाँ स्वास्थ्यकर्मीले बिदा बस्न मिल्छ।
अहिले त झन् उसको चोला नै फेरिएको छ।
पोहोर मात्रै हो, तीन वर्षलाई
‘गधा बनी पाउँ’ भनेर
चिकित्सा शिक्षा आयोगमा आवेदन बुझाएको।
धत्! गधाले पनि कहीँ दशैँ मनाउँछ
ऊ आफैंले आफूलाई सम्झाउँछ
गधाको काम त दिनरात, घामपानी
केही नभनी चुपचाप भारी बोकिरहने हो
जोतिइरहने हो।
ता कि मानिसहरुले दशैँ मनाउन पाइरहून्।
सायद अर्को वर्ष त ऊ पनि पुन: मानिस बन्नेछ
यसपालि त यस्तै उस्तै भयो
अर्को वर्ष त जमेरै दशैँ मनाउने हो।
हुन त, उसले पोहोर-परार अनि परारको परार दशैँमा पनि
यसै भनेको थियो-
अर्को वर्ष त जमेरै दशैँ मनाउने हो।
-(डा विशद दाहाल काठमाडौं मेडिकल कलेजमा एमडी अध्ययनरत छन्।)
आवासीय चिकित्सक डा दाहालले यो कविता गत वर्ष लेखेका थिए। आवासीय चिकित्सकहरुको अवस्था यस पटक पनि गत वर्ष झैं रहेको छ। यस वर्ष पनि उनीहरुले जमेर दशैं मनाउन नपाउने भएका छन्। त्यसकारण दशैं सुरु भएसँगै डा दाहालको यो कविता फेरि प्रकाशित गरेका हौं।- सम्पादक