कन्ट्याक्ट ट्रेसिङ अर्थात् संक्रमितसँग सम्पर्कमा आएका व्यक्तिहरुको पहिचान गर्ने कार्य। विश्व स्वास्थ्य संगठनले जनाएअनुसार लकडाउन महामारीसँग लड्ने दास्रो अस्त्र हो। भाइरस माथि विजय प्राप्त गर्नुछ भने हामीले चाल्ने पहिलो कदम भनेको संक्रमित र संक्रमितसँग सम्पर्कमा आएका सम्पूर्ण व्यतिmहरुको पहिचान नै हो। यो कार्य सवैभन्दा कुशलतापूर्वक गर्ने राष्ट्रहरुको सूचीमा दक्षिण कोरिया अग्रपंतिमा छ।
दक्षिण कोरियामा महामारी कसरी फैलियो अनि त्यहाँको सरकारले कसरी कन्ट्याक्ट ट्रेसिङ गर्यो भन्ने सन्दर्भमा एउटा रोचक सामाग्री पढ्न पाइन्छ, “बिरामी नम्बर ३१”।
डिसेम्बरको अन्त्य तिर चिनबाट फैलिएको कोभिड १९ को महामारी जनवरी २० तारिखमा गएर बल्ल दक्षिण कोरियामा पहिलोपटक पुष्टि भयो। पहिलो संक्रमित व्यक्ति वुहानबाट आएकी ३५ वर्षकी चाइनिज महिला थिइन्। वुहानबाट आएको भन्नासाथ उनलाई कोरिया प्रवेश लगत्तै आइसोलेसनमा राखिएको थियो। पहिलो संक्रमण भएको मितिले १ महिनासम्म त्यहाँ जम्मा ३० जनामा संक्रमण देखियो। त्यही अवधिमा संक्रमितलाई आइसोलेसनमा राख्नुको साथै उनीहरुसँग सम्पर्कमा आएका सयौंको पहिचान पनि गरियो। यसरी भाइरस देशमा प्रवेश गरिसकेको भएतापनि, संक्रमण जम्मा ३० जनामा मात्र सिमित थियो।
तर, जब ३१ औँ व्यक्ति संक्रमित भए, सवैथोक रातारात बदलियो।
३१ औँ नम्बर की बिरामी कसबाट संक्रमित हुन पुगिन भनेर त पत्ता लाग्न सकेको छैन तर उनी कहाँकहाँ गइन ? कसकसलाई भेटिन् र कोकोसँग कतिबेर सम्पर्कमा आइन्? भनेर चाहिँ त्यहाँको सरकारले नालीबेली निकाल्यो, जसको इतिवृतान्त यसप्रकार छ :
जनवरी २९ तारिखका दिन उनी राजधानी सिओलकै स्थानीय क्लबमा गएकी थिइन्। फेब्रुअरी ६ तारिखमा उनी सामान्य दुर्घटनामा परिन् र उपचारका लागि स्थानीय ओरिएन्टल अस्पताल पुगिन्, जहाँ उनलाई भर्ना गरियो। अस्पतालमै रहँदा अर्को दिन उनलाइ घाँटी दुख्ने समस्या देखियो। आफूलाई पहिला पनि यस्तो रुघाखोकी र घाँटी दुख्ने समस्या भइरहने र यो विचमा चिन पनि नगएको भनेर चिकित्सकहरुले सुझाउँदा सुझाउँदै पनि कोरोना भाइरसको परीक्षण गर्न अस्वीकार गरिन्।
यसैबिच फेब्रुअरी ९ तारिखका दिन त्यहिँको “सिनच्योन्जी” चर्चमा आयोजना भएको एक समारोहमा लगभग दुई घण्टा सरिक भइन्। त्यसको भोलिपल्ट अर्थात् फेब्रुअरी १० तारिखका दिन उनलाई ज्वरो आयो। त्यसपश्चात् पनि उनले जाँच गराउन अस्विकार गरिन्। केही अप्ठ्यारो महशुस हुन थालेपछि घरमै बसेकी उनी १५ फेब्रुअरीमा भने ट्याक्सी चढेर साथीसँग स्थानीय रेष्टुरेन्टमा डिनर खान गएकी थिइन्। अझ त्यो भन्दा कहालीलाग्दो त फेब्रुअरी १६ तारिखमा त्यही “सिनच्योन्जी” चर्चमा पुनः प्रार्थनाका लागि पुगिन्।
रुघा, खोकी र ज्वरोले असाध्यै गाल्न थालेपछि फेब्रुअरी १७ तारिखमा उनी पहिले गएको भन्दा फरक अस्पतालमा पुगिन् र सम्पूर्ण जाँच गर्ने अनुमति दिइन्। यसरी फेब्रुअरी १८ तारिखमा उनी दक्षिण कोरियाको ३१ औँ संक्रमित व्यक्ति बन्न पुगिन्।
दक्षिण कोरियामा अहिलेसम्म कोभिड १९ का ९ हजार ७८६ संक्रमित भेटिएका छन्। भनिन्छ, यी मध्य ८० प्रतिशत व्यतिmहरुमा संक्रमण तिनै ३१ औँ नम्बरकी महिलाबाट फैलिएको थियो। कोरियामा रहेका विज्ञहरुका अनुसार ३० जनामा संक्रमण देखिने बेलासम्म स्थिति उनीहरुको काबुमै थियो। सवै संक्रमित र संक्रमितसँग जोडिएका सवै राज्यको निगरानीमै थिए। तर, फगत एकजनाको लापरबाहीले गर्दा त्यसको मूल्य सिङ्गो कोरियाले चुकाउनु पर्यो।
ती महिलाको लापरबाही त एक ठाउँमा छँदैछ, अहिले आएर संक्रमण फैलनुको मूख्य दोष “सिनच्योन्जी” चर्चमाथि थोपरिएको छ। फेब्रुअरी ९ र १६ तारिखका दिन जतिखेर ३१ औँ बिरामी चर्च पुगेकी थिइन्, त्यतिखेर करिब नौ हजार ३ सय मानिस त्यहाँ जम्मा भएका थिए। चर्चको नियमअनुसार प्रार्थनाको समयमा करिब २ घण्टा त्यहाँ सवैजना एक अर्कासँग कुम जोडेर अनि घुँडा टेकेर बस्नुपर्ने रहेछ। त्यति मात्र नभइ प्रार्थनाको अवधिमा कुनैपनि वस्तु जस्तै मास्क, चस्मा आदिले आफ्नो अनुहार छोप्न नपाइदो रहेछ।
३१ औँ नम्बरकी ती महिलाले अस्पतालमा जाँच गराउन अस्वीकार गर्नुको पछाडि पनि त्यसै चर्चका पास्टरको प्रवचन मुख्य जिम्मेवार भएको बताइएको छ। कोभिड १९ को प्रकोप देखिएसँगै जब कोरियामा पनि सार्वजनिक सभा, सम्मेलन र धार्मिक गतिविधिहरुमा रोक लगाइनुपर्छ भनेर आवाज उठ्न थाल्यो, तब उनले पटकपटक आफ्ना प्रवचनहरुमा कोरोना भाइरस दुष्ट आत्माहरुले चर्च र धर्मको नाश गर्न चलाएको हौवा हो भनेका थिए।
पछि त्यस चर्चमा आएका मध्य १२ सय जनामा संक्रमण पुष्टि भएको थियो।
१७ फेब्रुअरीमा ३१ औं संक्रमण भेटिए पश्चात् ती संक्रमित कहाँकहाँ गएकी थिइन् भन्ने पत्ता लगाएर अत्यन्त छोटो समयमै कन्ट्याक्ट ट्रेसिङ गरिएको थियो। स्थानीय प्रशासनले केही दिनमै ९ र १६ फेब्रुअरीमा त्यस चर्चमा आएका ९ हजार तीन सय जनाकै नाम र ठेगानाको सम्पूर्ण जानकारी निकालेको थियो। त्यसपछि ती सबैको घरघरमा पुगेर उनीहरु र उनीहरु सम्पर्कमा आएका सबैको जाँच गरिएको थियो।
कोरियामा घटेको यस घटनाबाट हामीले दुई महत्वपूर्ण कुराको पाठ सिक्न सक्छौं। पहिलो भनेको एकजनाको मूख्र्याइँ वा लापरवाहीको मूल्य सिङ्गो देशले चुकाउन पर्ने हुन सक्छ, जसमा हजारौंको मृत्यु अनि लाखौँ जनताको भविष्य जोडिएको हुनसक्छ।
दोस्रो पाठ सरकार वा नेतृत्वमा बसेकाहरुका लागि महत्वपूर्ण छ। यदि यस भाइरस माथि विजय प्राप्त गर्नुछ भने हरेक संक्रमितसँग जोडिएका सयौँ, हजारौँ वा लाखौँ व्यक्तिको पहिचान गरी समयमै जाँच र उपचार गर्नुको विकल्प छैन।
(रोयटर्सको यो सामाग्री विशद दाहालले नेपालीमा अनुवाद गरेका हुन्।)