काठमाडौं - आन्दोलनरत औषधि व्यवसायी संघले धर्नाका कार्यक्रमलाई निरन्तरता दिने भएको छ। औषधि ऐन २०३५ को दफा ११ को उपदफा ३ र ५ सच्याउनुपर्ने माग सहित आन्दोलनमा उत्रिएका संघले बिहीबारदेखि पुनः धर्ना कार्यक्रम गर्ने भएको हो।
सरकारलाई दिएको १० दिने अल्टिमेटमको समयमा पनि माग सम्बोधनका लागि कुनै पहल नभएको भन्दै पुनः धर्नाका कार्यक्रम सुरु गर्न लागेको औषधि व्यवसायी संघ काठमाडौं शाखाका महासचिव शुभमान श्रेष्ठले जानकारी दिए।
उनले भने, ‘औषधि व्यवस्था विभागले स्वास्थ्य मन्त्रालयलाई पत्र पठाएको भन्यो। हामीले मन्त्रीज्यूसँग कुरा गर्दा उहाँले यस बारे थाहा नभएको बताउनुभयो। त्यसपछि हामीले आफैँ पत्रहरु पठायौँ। अहिलेसम्म आधिकारिक रुपमा केही आएको छैन।’
बिहीबारदेखि सुरु हुने धर्नाका कार्यक्रम मंसिर १६ गतेसम्म गरिने उनले जानकारी दिए। उक्त अवधिमा पनि माग सम्बोधन नभए दोस्रो चरणका आन्दोलनका कार्यक्रम ल्याउन बाध्य हुने संघले जनाएको छ। संसदबाट संशोधित ऐन यही साउन १४ गतेबाट लागु भइसकेको छ।