महिनावारी हुनु प्राकृतिक प्रक्रिया हो र महिलामा यो चक्र प्रजनन उमेरका अन्त्यतिर पुग्दा स्वाभाविक रूपमा स्थायी रूपमा बन्द हुन्छ। यो उमेरसँग सम्बन्धित हुँदै जाने र शरीरमा इस्ट्रोजेन हर्मोन क्रमशः कमी हुँदै जानुले हुने कुरा हो। प्रजनन उमेरकी महिलामा लगातार १२ महिनासम्म महिनावारी बन्द भएमा महिनावारी बन्द अथवा रजोनिवृत (Menopause – मेनोपोज) भएको मानिन्छ। महिनावारी बन्द हुने उमेर प्रायः वंशाणुगत रूपमा निर्भर हुन्छ र प्रत्येक महिलामा फरक पर्न सक्छ। नेशनल इन्स्टिच्युट अफ एजिङका अनुसार मेनोपोज हुने उमेर ४५–५५ वर्षको बीचमा पर्छ र औसत उमेर ५० वर्षको आसपास मानिन्छ (National Institute of Aging, 2024)।
महिनावारी बन्द (मेनोपज) का विभिन्न चरणहरू
(१) पहिलो अवस्था (पेरिमेनोपोज):
महिनावारी रोकिनुअघि देखिने अवस्था हो। यो अवस्था ४–१० वर्षसम्म रहन सक्छ र औसत अवधि ४–६ वर्ष रहने बताइन्छ। प्रायः ४० वर्षपछि सुरू हुने यो चरणमा धेरै महिलाले आफ्नो नियमित महिनावारी चक्रमा परिवर्तन महशुस गर्छन्। साथै हट फ्लस (Hot flush), निन्द्रामा समस्या, स्वभावमा परिवर्तन जस्ता लक्षणहरु देखिन सक्छन्।
(२) दोस्रो अवस्था (मेनोपोज):
यसमा महिनावारी स्थायी रूपमा बन्द हुन्छ। कम्तीमा लगातार १२ महिना महिनावारी नभएमा मेनोपोज भएको मानिन्छ। यस अवधिमा पनि विभिन्न लक्षणहरू जारी रहन सक्छन्।
(३) तेस्रो अवस्था (पोस्टमेनोपोज):
महिनावारी पूर्ण रूपमा बन्द भइसकेपछि देखिने अवस्था हो। यस समयमा पनि लक्षणहरू केही वर्षसम्म जारी रहन्छन् र प्रायः ४–६ वर्षपछि कम हुँदै जान्छन्।
महिलाको प्रजनन जीवनसँग जोडिएको यो स्वाभाविक परिवर्तनकाले महिनावारी बन्द हुनु भन्दा केही वर्षअघि र केही वर्षपछि विभिन्न शारीरिक तथा मानसिक लक्षणहरू देखिन सक्छन्। यी लक्षणका बारेमा महिला स्वयं र परिवार जनचेतनशील हुनु आवश्यक हुन्छ, नत्र सामान्य लक्षणलाई पनि गम्भीर रोग ठानेर अनावश्यक डर उत्पन्न हुन सक्छ।
देखिन सक्ने शारीरिक लक्षणहरू
अनुहार र घाँटी तातो हुने, पसिना आउने (हट फ्लस), राति अत्यधिक पसिना आउने, मुटुको धड्कन बढ्नु, सुत्न गाह्रो हुनु, हल्का आवाज वा दैनिकीमा सानो परिवर्तनले पनि निद्रा बिग्रनु, छिटोछिटो पिसाब लाग्नु, पिसाब रोक्न कठिनाई हुनु सामान्यतया देखिने लक्षण हुन्।
यसका साथै शरीर दुख्ने, हात–खुट्टा चसचस गर्ने, छाला सुख्खा हुने, यौन इच्छामा कमी आउने, महिनावारी अनियमित हुनु, कहिलेकाहीँ बढी रगत बग्ने, र तौल बढ्दै जाने जस्ता समस्या पनि देखिन सक्छन्।
देखिन सक्ने मानसिक लक्षणहरू
सानो कुरामा पनि चिन्ता बढ्नु, मन उदास हुनु, दिक्क लाग्नु, मनोभावमा चाँडै परिवर्तन आउनु (घरी खुसी–घरी रिस), स्मरणशक्ति कमजोर हुँदै जानु, ध्यान केन्द्रित गर्न गाह्रो हुनु आदि लक्षणहरू हुन सक्छन्।
मेनोपोजसँग सम्बन्धित अन्य स्वास्थ्य समस्या
महिनावारी बन्द हुनु अघि–पछि प्रजनन स्वास्थ्यसँग सम्बन्धित विभिन्न समस्या देखिन सक्छन्—जस्तै महिनावारीमा अनियमितता, अत्यधिक रगत बग्ने आदि। धेरै महिलामा हड्डी खिइनु (Osteoporosis) देखिन्छ, जसले हड्डी कमजोर बनाउँदै भाँचिने जोखिम बढाउँछ।
यससँगै उच्च रक्तचाप, मुटुरोग, कोलेस्टेरोल वृद्धि, मस्तिष्कघात, हृदयघात जस्ता समस्या भइरहने जोखिम पनि बढ्छ।
हर्मोन कमीका कारण पाठेघर खस्ने सम्भावना बढ्न सक्छ।
यिनै कारणहरूले पाठेघर, स्तन र अण्डाशय क्यान्सरको जोखिम पनि केही हदसम्म बढ्न सक्छ। त्यसैले महिलाले नियमित स्वास्थ्य परीक्षण गराइरहनु आवश्यक हुन्छ।
लक्षण कम गर्न अपनाउन सकिने उपाय
हट फ्लस कम गर्न ताजा हावा चल्ने कोठामा बस्नु राम्रो हुन्छ। गर्मी मौसममा पंखा चलाउने, चिसो पानी र झोल पदार्थ प्रशस्त पिउने, दिनमा कम्तिमा २–३ लिटर पानी सेवन गर्ने, नियमित रूपमा चिसो पानीले नुहाउनेजस्ता उपाय उपयोगी हुन्छन्। पसिना धेरै आउने भएकाले सुती कपडा प्रयोग गर्ने, सफा राख्ने र समयमै फेर्ने बानी बसाल्नु राम्रो हुन्छ।
जीवनशैली र खानपानमा ध्यान
सन्तुलित र पोषिलो भोजन आवश्यक हुन्छ—कार्बोहाइड्रेट, प्रोटीन, स्वस्थ चिल्लो, खनिज र पर्याप्त पानी समावेश हुने आहार। ताजा सागसब्जी, मौसमी फलफूल, बोक्रासहितको अन्न, गेडागुडी, भटमास तथा भटमासका परिकार उपयोगी हुन्छन्।
यदि माछा–मासु खाने बानी छ भने बोसो कम भएको मासु तथा अण्डा नियमित सेवन गर्न सकिन्छ।
हड्डी मजबुत बनाउन क्याल्सियम र भिटामिन डी अत्यावश्यक हुन्छ। दूध तथा दुग्धजन्य पदार्थ, च्याउ, माछा, अण्डा, कलेजो आदि क्याल्सियमका राम्रो स्रोत हुन्।
भिटामिन डी भने बिहान १५–३० मिनेट घाममा बस्दा स्वाभाविक रूपमा प्राप्त हुन्छ।
उच्च रक्तचाप, मुटु रोग, स्ट्रोक जोखिम बढ्ने भएकाले चिल्लो पदार्थ कम गर्नुपर्छ। तारेको, भुटेको, घ्यू, चीज, बटर, रातो मासु आदि सीमित गर्नुपर्छ। बदाम, ओखर, काजुजस्ता सुख्खाफल उचित मात्रामा सेवन गर्दा शरीरलाई आवश्यक स्वस्थ चिल्लो तथा प्रोटीन प्राप्त हुन्छ। नुनको मात्रा पनि घटाउँदै लैजानु उत्तिकै महत्त्वपूर्ण छ।
कसरत, योग तथा मानसिक स्वास्थ्य
शारीरिक तथा मानसिक स्वास्थ्यका लागि नियमित कसरत, योग, ध्यान तथा मनोरञ्जनात्मक क्रियाकलापले ठूलो सहयोग गर्छ। दैनिक कम्तिमा ३० मिनेट मध्यम स्तरको व्यायाम—छिटो हिँडाइ, योग, ध्यान, जिम-उपयुक्त हुन्छ।
मनोरञ्जन दिने गतिविधि (भोजभतेर, पूजा–आजा, साथीभाइसँग भेटघाट, गीत–नाच आदि)ले पनि मानसिक चाप कम गर्छ।
नियमित रूपमा कमर तथा तल्लो पेटका व्यायामले मांसपेशी मजबुत बनाइ पाठेघर खस्ने जोखिम कम गर्न मद्दत गर्छ।
निन्द्रासम्बन्धी सल्लाह
निद्रामा समस्या आए नियमित सुत्ने समय निर्धारण गर्नु, कोठामा शान्त वातावरण बनाउनू, उज्यालो कम गर्नु उपयोगी हुन्छ। साँझपख झोल पदार्थ कम सेवन गर्नु पिसाबका कारण निन्द्रा बिग्रन नदिन सहयोगी हुन्छ।
चिया, कफी, मसलादार खाना कम सेवन गर्नुपर्छ किनकि यिनले हट फ्लस र निन्द्रा समस्या बढाउन सक्छन्।
स्वास्थ्यलाई हानी गर्ने (सुर्तीजन्य पदार्थ, मद्यपान) जस्ता बानी परित्याग गर्नु आवश्यक हुन्छ।
चिकित्सकको सल्लाह
यदि माथि उल्लेखित उपायबाट पनि सुधार नआएमा चिकित्सकको सल्लाहअनुसार हर्मोन रिप्लेसमेन्ट थेरापी (HRT) लिन सकिन्छ।
निष्कर्ष
महिला आफैं र उनका परिवारजनले उमेरसँगै हुने यी परिवर्तनका बारेमा सचेत रहन सकेमा धेरै स्वास्थ्य समस्या समयमै रोक्न वा न्यूनिकरण गर्न सकिन्छ। मेनोपोजका लक्षण पहिचान गरी उचित व्यवस्थापन गर्न सकिएमा महिलाले स्वस्थ, उत्पादक र गुणस्तरीय जीवनयापन गर्न सक्छिन्।
(घिमिरे ललितपुर नर्सिङ क्याम्पस (पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान) सह–प्राध्यापक हुन्)