काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्व मन्त्री प्रदीप पौडेलले स्वास्थ्य मन्त्री डा. सुधा शर्मा गौतमसँग भेट गरी आफ्नो कार्यकालमा अघि बढाइएका दीर्घकालीन स्वास्थ्य सुधारका पहलसहितको ‘प्रगति विवरण’ हस्तान्तरण गरेका छन्। उनले मन्त्रालयमै तयार पारिएको पुस्तक मन्त्री शर्मालाई बुझाउँदै ती कार्यक्रम मन्त्रालयकै सम्पत्ति भएकाले निरन्तरता पाउनेमा विश्वास व्यक्त गरे।
मन्त्री डा शर्माले पूर्वमन्त्री पौडेलका पालामा सुरु भएका महत्वपूर्ण कार्यक्रम, सुधार र बाँकी कार्यहरुलाई मन्त्रालयले निरन्तरता दिइरहेको बताइन्। आफ्नो कार्यकाल छोटो भए पनि मुख्यतः तीन महत्वपूर्ण नीतिगत सुधारलाई प्राथमिकतामा राखेर काम गरिरहेको उनको भनाइ थियो।
मन्त्री डा शर्माले स्वास्थ्य सामग्री खरिद प्रणाली सुधार, औषधिको मूल्य र गुणस्तर सुनिश्चितता तथा स्वास्थ्य बीमाको प्रभावकारिता बढाउन मन्त्रालय सक्रिय रहेको बताइन्।
उनका अनुसार हालको सरकार जनजीवन सुधार गर्ने मण्डेटसहित बनेकोले यिनै तीन विषयलाई पहिलो प्राथमिकता दिइएको हो।
क्लिनिकल पक्षमा पनि मन्त्रालयले तीन मुख्य क्षेत्रमा तत्काल ध्यान दिएको मन्त्री शर्माले बताइन्। उनका अनुसार मानसिक स्वास्थ्यलाई शीर्ष प्राथमिकतामा राखिएको छ । श्रमिकलाई विदेश जानु अघि र विदेशमै रहँदा आवश्यक पर्ने स्वास्थ्य परामर्श (काउन्सिलिङ) तथा सही सूचनामा पहुँच सुनिश्चित गर्न मन्त्रालयले काम गरिरहेको छ र लुम्बिनी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशलाई प्राथमिकतामा राखी मातृ तथा शिशु स्वास्थ्य सेवा सुधार अघि बढाइएको छ।
मन्त्री पौडेलले आफ्नो समयमा गरेका कामहरु र अधुरा कामहरुको पुस्तक प्रकाशित गरेका छन्।