काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सामग्री खरिदसम्बन्धी विवाद निरुपणका लागि विज्ञ समिति गठन गरेर काम थालेको छ। समितिको नेतृत्व पूर्व–सचिव सुरेश प्रधान र व्यवस्थापन महाशाखाका पूर्व निर्देशक डा. भिमसिंह तिंकरीले गर्नेछन्। समितिमा मन्त्रालयका तर्फबाट डा. चुमनलाल दासले संयोजन गरिरहेका छन्। हालै महाशाखाको नेतृत्व सम्हालेका केशव पण्डितमा पनि समितिमा रहेका छन्।
प्रधान सार्वजनिक खरिद कार्यालयको सचिवका रुपमा समेत काम गरिसकेका व्यक्ति हुन्। डा तिंकरीले ४ वर्ष व्यवस्थापन महाशाखाको निर्देशकका रुपमा काम गरेका थिए। मन्त्री डा सुधा शर्मा गौतमले ४ वर्ष काम गर्दा समेत डा तिंकरी कुनै दाग नलागेर निस्किएको बताइन्। त्यसकारण यस विषयमा सुझाव दिन उनलाई विज्ञका रुपमा समितिमा राखिएको छ।
पछिल्ला वर्षहरुमा खरिद प्रक्रियामा लगातार विवाद बढेको छ। अख्तियारले १४ जना कर्मचारीमाथि मुद्दा दायर गरेपछि उनीहरु निलम्बित छन् । मन्त्री डा. गौतमले भनिन्, 'कर्मचारीको मनोबल कमजोर भएको छ। ऐन, नियम, प्रक्रिया वा कहाँ कमजोरी छ कि वा प्रक्रियागत त्रुटि नै भएकी भनेर हेर्न विज्ञहरुको समिति बनाएका हौं । उक्त समितिको सुझावले खरिदमा नीतिगत सुधारका लागि सघाउनेछ।'
समितिले अनौपचारिक रुपमा काम सुरु गरिसकेको डा दासले बताए। उनका अनुसार मंसिर ४ गतेदेखि नै काम सुरु भइसकेको छ। मन्त्रालय अन्तर्गतका निकायको खरिद प्रक्रिया कसरी सहज, पारदर्शी बनाउँदै गुणस्तरीय सामाग्री समेत खरिद गर्ने भन्ने विषयमा समिति केन्द्रीत रहनेछ। त्यसको अध्ययनपछि स्वास्थ्य सामाग्री खरिद सुझाव प्रतिवेदन बुझाउनेछ ।
अनावश्यक विवाद र आरोप खेप्नुपरेको भन्दै केही समयअघि मात्रै व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुख डा. पवनजंग रायमाझीले राजीनमा मागेका थिए। अन्य कर्मचारीहरु त्यहाँ सरुवा भएर जान हिचकिचाइरहेका छन्।