काठमाडौं - पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्कमा गरिएको वृद्धि तत्काल फिर्ता लिन माग गरेका छन्।
शुल्कमा गरिएको अस्वाभाविक वृद्धि खेदजनक भएको भन्दै उनले सरकारले यो निर्णय तुरुन्त फिर्ता लिनुपर्ने बताएका छन्।
पौडेलले भने, ‘फ्रि भिसा र फ्रि टिकटको कुरा गर्ने कहिल्यै लागु हुन नसकेको अवस्थामा सरकारले मारमा पार्ने गरी शुल्क मात्रै बढाएर सोही नाममा व्यापारलाई प्रश्रय दिए जस्तो देखियो। यो स्वाभाविक होइन।’
२०८१ भदौमा तत्कालीन अतिरिक्त स्वास्थ्य सचिव डा दिपेन्द्ररमण सिंहको संयोजकत्वमा बनेको समितिको प्रतिवेदनमा वैदेशिक रोजगारीमा जाने सबै श्रमिकलाई स्वास्थ्य बीमामा आवद्ध गराई स्वास्थ्य परीक्षण शुल्क बीमाबाटै व्यहोर्ने व्यवस्था गर्न सुझाव दिइएको थियो। तर सो सुझावलाई आधार मानेर गरिएको अघिल्लो मन्त्रीस्तरीय निर्णय कार्यान्वयन हुन रोकिएको उनले उल्लेख गरे।
सर्वसाधारण श्रमिकलाई स्वास्थ्य बीमा कार्यक्रममा अनिवार्य रूपमा आवद्ध गराई स्वास्थ्य परीक्षण शुल्क बीमाबाटै व्यहोर्नुपर्ने पौडेलको भनाइ छ। साथै, वैदेशिक रोजगारीमा जाने श्रमिकको उपचार खर्च रोजगारदाताबाटै व्यहोर्ने नीति लागु हुने गरी द्विपक्षीय सम्झौता गर्न पनि उनले माग गरेका छन्।