धरान- धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा 'जेन जि आन्दोलन'का क्रममा घाइते भएका व्यक्तिहरूलाई लक्षित गरी मनोसामाजिक परामर्श डेस्क गठन गरी सञ्चालनमा ल्याएको छ।
प्रतिष्ठानले स्वास्थ्य मन्त्रालयको निर्देशन अनुसार मनोसामाजिक परामर्श डेस्क सञ्चालनमा ल्याएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्री डा सुधा शर्मा गौतमले मन्त्रीको पदभार ग्रहण गरेको दिन जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरुका लागि लक्षित गर्दै मनोपरामर्श सेवा सञ्चालनमा ल्याउने योजना सुनाएकी थिइन्। सोही अनुसार मन्त्रालयले कात्तिक २० गते प्रतिष्ठान तथा अस्पतालहरुमा निर्देशन दिएको थियो।
प्रतिष्ठानले मन्त्रालयको निर्देशनअनुसार डेस्क सञ्चालनमा ल्याएको जानकारी दिएको छ। 'गत २०८२ साल भाद्र २३ र २४ गते भएको जेन–जL आन्दोलनबाट प्रभावित कतिपय व्यक्तिहरूमा देखिएको मनोसामाजिक समस्याको द्रुत रूपमा उपचार तथा परामर्श सेवा प्रदान गर्नु यो डेस्क गठनको मुख्य उद्देश्य रहेको छ,' प्रतिष्ठानद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
मनोसामाजिक परामर्श सेवालाई प्रभावकारी रूपमा सञ्चालन गर्नका लागि चिकित्सकहरूको समन्वयमा ६ सदस्यीय डेस्क गठन गरिएको छ। प्रतिष्ठानको साइकियाट्री (मनोरोग) विभागका प्रमुख प्रा.डा. धनरत्न शाक्यको संयोजकत्वमा डेस्क गठन गरिएको प्रतिष्ठानकी प्रवक्ता प्रा.डा. अन्जु प्रधानद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।