दिन रात भनिन दिए मेरो साँझ, सुनौलो बिहान पनि !
बिर्सेर मेरा आचारविचार, उभिए तिम्रो पहिचान बनि !
लुकाइ पिडा र दुःख, छोडेर जमघट परिवारको सुख ।
खटिए सेवामा नहिच्किचाइ, लाजघिन अपमान नगनी !
तर विडम्बना !
म नर्स हुँ त्यो, म हुँ स्वास्थ्यकर्मी ! जसको श्रम शोषण बेतमास गर्यौ !
दिन गुज्रने गुजारा नचल्ने जागिर तिम्रा ! मानवमुल्य कै उपहास गर्यौ !
तिम्रा सेवाहरुको मूल्य चर्को, मेरा सेवा सुविधाहरुमा सेवाभाव बर्को ।
सेवाको नाउँमा न समभाव न छ सद्भाव, सेवाभाव कै सत्यानास गर्यौ !
खबरदार अब !
म तिम्रो दास होइन, मलाई मेरो भागको जस सम्मान देऊ !
म जिउँदो लास होइन, मेरो अस्तित्व आफू कै समान देऊ !
मेरो समय श्रमको छ मूल्य, मेरो विज्ञता विशेषता अतुल्य ।
तिम्रो नाफा कमाइ माग्दिन म, मेरो हकको तलबमान देऊ !